MENU

‘जात्रा'लाई इनास अवार्ड

635x90_3

रामकला खड्का शनिवार, असोज २८, २०७४ 637 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : नेपाली चलचित्र जात्राले यस वर्षको इनास अवार्ड हात पारेको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले शुक्रबार राजधानीमा आयोजना गरेको पाचौं इनास अवार्ड कार्यक्रममा उक्त अवार्ड दिइएको हो।

कार्यक्रममा नायक बिपिन कार्कीले उक्त चलचित्रका लागि उत्कृष्ट नायकको उपाधि हात पारेका छन्। त्यस्तै नायिका सिर्जना सुब्बा उत्कृष्ट नायिका घोषित भएकी छन्। सुब्बाले चलचित्र ‘डाइङ क्यान्डल' लागि इनास अवार्ड प्राप्त गरेकी हुन्। त्यस्तै चर्चित हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको छ।

 

कार्यक्रममा उत्कृष्ट द्वन्द्व निर्देशकमा चलचित्र ‘लुट २' का राजकुमार उप्रेती, उत्कृष्ट कोरियोग्राफरमा चलचित्र ‘छक्का पञ्जा'बाट कविराज गहतराज, उत्कृष्ट सम्पादनमा चलचित्र ‘जात्रा'का लागि मित्र गुरुङ लगायतले अवार्ड हात पारे।

नेपाली साहित्य, संस्कृति र चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू राष्ट्रकवि माधव घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, गायक प्रेमध्वज प्रधान लगायतलाई सम्मानित गरिएको थियो। कार्यक्रममा निर्णायकमध्येबाट कलाकार रमेश बुढाथोकीले ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगले अझै अन्तर्राष्ट्रिय रूपमा आफ्नो ख्याति कमाउन नसकेको बताए।

अन्तरा इन्टरनेसनलको प्रस्तुतिमा आयोजित कार्यक्रममा इनासका अध्यक्ष पुष्प बरुवालले नेपाली चलचित्रमा यहाँको कला, संस्कृति र सम्पदा पनि जोडिएको हुनाले यसको प्रवद्र्धन र विस्तार अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने उद्देश्यले अवार्ड वितरण गरिएको बताए।

विभिन्न गीत र नृत्य प्रस्तुत गरिएको कार्यक्रममा इनास ग्लोबलको दक्षिण एसिया उपसंयोजकसमेत रहेकी नेपालको पहिलो महिला सरोदवादक रूपा न्यौपानेले सरोदमा मंगल धुन प्रस्तुत गरिन्। उनलाई तबलामा बैंकटिस्ट ढकाल र तानपुरामा रुमु न्यौपाने र नम्रता ढकालले साथ दिएका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघका वर्तमान कार्यसमितिका पदाधिकारी र सदस्यहरूको पनि उपस्थिति थियो।

कार्यक्रमको प्रमुख आतिथ्यता गरेका संघका अध्यक्ष शेष घलेले नेपाली चलचित्र, कला संस्कृति र संगीतलाई जोगाएर यसको प्रवद्र्धन गर्नु संघको पनि उद्देश्य रहेको प्रतिक्रिया दिए।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2