MENU

संरक्षणको अभावमा ऐतिहासिक देवल

635x90_3

खगेन्द्रबहादुर सिंह शनिवार, असोज २८, २०७४ 855 पटक पढिएको

Share This

635-X-85_1

दिपायलडोटीका विभिन्न स्थानमा बनाइएका ऐतिहासिक देवल संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेका छन् । नेपालमा बाइसे-चौबिसे राज्य छँदा बनेका ती देवलहरू अहिले जीर्ण अवस्थामा छन् । तिनीहरूको संरक्षण र प्रवद्र्धन गर्नसके ती क्षेत्रहरू ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल बन्नसक्ने देखिन्छ ।

 

तत्कालीन डोटी राज्यका ‘राजा निरय पाल'ले १४२० साल माघ शुक्ल पञ्चमीमा निर्माण गरेका शिखर नगरपालिका-७, उजलीगाउँ (साविकको लाटामाण्डौं गाविस)मा रहेका देवलहरू अहिले जीर्ण अवस्थामा छन् । राजा निरय पालले आफ्नी रानी हराएको बेला रानीको वियोगमा रानी प्राप्त होस् भन्दै ती देवलहरू निर्माण गरेको किंवदन्ती छ ।

सो समयमा देवालय अर्थात् मन्दिरका रूपमा निर्माण गरेको र पूजाआजासमेत गर्ने गरेको पाइन्छ । स्थानीयवासीका अनुसार धेरै पछिसम्म पनि ती देवलमा स्थानीयवासीले पूजाआजा गर्ने गरेका थिए । देवलहरूमा शिवलिंगसमेत रहेको र विसं १९७५ सम्म ती देवलमा पूजासमेत गर्ने गरेको बुझिएको छ । देवलमा विभिन्न किसिमका तस्बिर र आकृति कुँदिएका छन् ।

डोटीको चौखुट्टेमा रहेको सिद्धबाबा देवल ऐतिहासिक रहे पनि संरक्षण नहुँदा जीर्ण भइसकेको स्थानीयवासी कृष्ण खड्का बताउँछन् । ऐतिहासिक देवल संरक्षणका लागि स्थानीय तहबाट समेत पहल गरिनुपर्ने उनको भनाइ छ ।

राजा निरय पालले लाटामाण्डौंलगायत डोटीको देहिमाण्डौ, साविकको सुदूरपश्चिम क्षेत्रको क्षेत्रीय सदरमुकाम दिपायलस्थित भैरवकोट, डोटीको चौखुट्टे तथा डडेल्धुरा जिल्लाको कोटेली, अजयमेरुकोट लगायतका स्थानमा देवलहरू निर्माण गरेका हुन् । अहिले ती सबै देवल जीर्ण छन् । लाटामाण्डौं, उजलीगाउँका देवलहरू डोटी जोरायल गाउँपालिका निरौलीका राम भण्डारीले निर्माण गरिदिएको पाइन्छ ।

‘हाम्रो इतिहास के हो भन्ने कुरा मेटिँदै गइरहेकाले यसको संरक्षणका लागि सबैले आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने संस्कृतिविद् एवं पुराना पत्रकार धनबहादुर मल्ल बताउँछन् । उनले भने, ‘सरकारले समेत यस्ता किसिमका ऐतिहासिक स्थलको संरक्षणका लागि पहल गर्नुपर्छ ।'

धार्मिक पर्यटकीय स्थलका रूपमा देवल क्षेत्रलाई विकास गर्न सके यिनको संरक्षण हुने स्थानीय शिक्षक मुरलीधर भट्ट बताउँछन् । ‘लाटामाण्डौंका देवलहरू उत्खनन र संरक्षणका लागि नेपाल सरकार पुरातत्व विभागबाट समेत केही वर्षयता बजेट आउने गरेको गरेको छ', भट्टले भने, ‘पर्याप्त मात्रामा रकम अभावले गर्दा र माथिबाटै ठेक्का भएर आउने गरेकाले देवल संरक्षणको कुनै खास काम हुन सकिरहेको छैन ।'

राज्यले देशको ऐतिहासिकता बचाउँदै धार्मिक तथा पर्यटन विकासका लागि ध्यान दिनुपर्ने देखिन्छ । ‘सरकारले देवल संरक्षण तथा प्रचारप्रसारका लागि ध्यान नदिने हो भने जीर्ण बन्दै जाने र इतिहासमा मात्र सीमित रहनेछन्', स्थानीयवासी खेम भण्डारीले बताए ।

सयौं वर्षपहिले बनेका यी देवलको संरक्षण तथा प्रचारप्रसार नहुने हो भने नेपालमा रहेका यस्ता ऐतिहासिक क्षेत्रहरू हराउँदै जाने निश्चित छ । त्यसैले राज्यबाट समेत यस्ता ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र विकासका लागि समयमै सोच्नुपर्ने देखिन्छ ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2