MENU

चित्रमा सडक जीवन 

635x90_3

काठमाडौं शनिवार, असोज २८, २०७४ 577 पटक पढिएको

Share This

635-X-85_1

‘१० वर्षकी एउटी केटी सडकमा आई । चुरोट पिउन र गम सुँघ्न सिकी । म अहिले उन्नाइस वर्षकी भएँ ।' पेन्सिलले जसोतसो कोरेको आकार, त्यसमा साइनपेनले थपेको रङ । त्यसमा लेखिएका यी वाक्यमा पुगेपछि आँखा अडिन्छन् । यी केरमेटजस्ता लाग्ने सामान्य चित्रहरूमा जीवन भोगाइका त्रासद र अनिश्चित क्षणहरू पोतिएको भेटिन्छ ।

 

चित्रहरूकै लर्कोमा भेटिन्छ— सेतो कागजमा पेन्सिलले कोरिएको चित्र । चित्रमा दुई दृश्य छन् । एउटा दृश्यले झल्काउँछ— स्कुल जाने केटाकेटी, उनीहरूको रमाइलो र सम्मानित जीवन । अर्को दृश्यले देखाउँछ— सडकमा थोत्रो बोरा बोकेर हेपाइ सहँदै लर्खराइरहेको जीवन । यी दुवै जीवन भोगे काभ्रेका रोशन तामाङले । हराएको भाइ खोज्दाखोज्दै आठ वर्षमै सडकमा आइपुगेका उनले चार वर्षसम्म ‘सडक बालक'को जीवन बिताए ।

अहिले संरक्षणगृह ‘द बिग अम्ब्रेला'मा बसेर ७ कक्षामा अध्ययनरत तामाङले काठमाडौंमा शुक्रबारदेखि सुरु भएको तीनदिने कला प्रदर्शनीमा आफ्नो भोगाइको अनुभव पोखिदिए ।

चित्रमा सडक जीवन पोत्ने दोलखा चरीकोटका १४ वर्षे जित लामा अर्का पात्र हुन् । ‘द अम्ब्रेला हाउस'मै बसेर ७ कक्षा अध्ययनरत उनले करिब ६ वर्ष सडकमै बिताए । बुवाले रक्सी खाएर कुट्ने गरेपछि सहन नसकेर घर छाडी काठमाडौंको सडकमा आइपुगेका उनको चित्रमा पनि सडक जीवनको त्रासदी भेटिन्छ ।

चित्रमै पोखिएका छन्, काठमाडौं ओमबहालका दीपक थापामगर र दिनेश थापामगर । १२ वर्षे दीपक र १० वर्षे दिनेश कुनै बेला घरबाट भागेर वसन्तपुर क्षेत्रमा माग्ने काम गर्थे । त्यो जीवनमा अन्योल र अन्धकारभन्दा केही थिएन । रहर र इच्छाहरू बन्दी थिए । चित्रमा उनीहरूले त्यो त्रासदी र हालको सहजपन पोखेका छन् । त्यस्तैगरी पोखिन्छन् सजन परियार पनि । काभ्रेका १५ वर्षे परियारको चित्रमा स्कुल जाँदै गरेका बालबालिका र सडकमा फालिएका फोहोरको बोरा बोकेका बालबालिकाको फरक कोरिएको छ ।

कुनै समय विभिन्न कारणले सडक जीवन बिताउन बाध्य र अहिले संरक्षणमा रहेका ६५ जना बालबालिकाले कोरेका चित्रहरूको प्रदर्शनी सडक बालबालिकाको क्षेत्रमा काम गर्ने चार संस्थाको आयोजनामा सुरु भएको हो । शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनी बालबालिका संरक्षण एवं सेवा केन्द्र (सीपीसीएस), नेपाल बाल मजदुर सरोकार केन्द्र (सिविन), बाल वातावरण केन्द्र नेपाल (सीडब्लूसीएन) र एपीसी नेपालले ‘स्ट्रिट एन्ड बियोन्ड' (सडक र पर) शीर्षकमा आयोजना गरेका हुन् ।

सडक जीवन बिताएका बालबालिकाले पनि अवसर पाएमा अरू बालबालिकासरह प्रगति गर्न सक्छन् भन्ने देखाउन यो प्रदर्शनी आयोजना गरिएको आयोजक बताउँछन् । सिविनका कार्यक्रम अधिकृत विष्णु पौडेल भन्छन्, ‘अझै पनि सडक बालबालिकालाई हेयको भावले हेर्ने प्रवृत्ति छ । उनीहरू माया र अवसरको हकदार छन् ।'

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2