MENU

जीर्ण बन्दै बालमन्दिर

महेश केसी शनिवार, असोज २८, २०७४ 507 पटक पढिएको

Share This

635-X-85_1

मुसीकोट : पश्चिम रुकुमको सदरमुकाम खलंगामा रहेको पुरानो र महत्वपूर्ण बालमन्दिर सरोकारवालाको बेवास्ताका कारण जीर्ण र कुरूप बन्दै गएको छ । २०३४ सालमा नेपाल बाल संगठनद्वारा स्थापना गरिएको बालमन्दिरको चारैतिरको पर्खाल भत्किँदै गएको छ ।

 यहाँ रहेका भवन पनि कमजोर बन्दै गएका छन् । खलंगा बजारको मध्य भागमा भएका कारण विभिन्न सार्वजनिक समारोह तथा कार्यक्रम गर्न बालमन्दिरको प्रांगण प्रयोग गर्ने गरिएको भए पनि पर्खाल भत्किएपछि यो क्षेत्र हाल खुला खेलमैदान बन्न पुगको छ । बजारको मुख्य भागमा रहेको सार्वजनिक सम्पत्तिको बेवास्ता गरिँदा बजारको सुन्दरतामा असर परेको स्थानीय पहलबहादुर खड्का बताउँछन् ।

स्थापनाकालदेखि नै बालमन्दिर प्राथमिक विद्यालय थियो । तर, दुई वर्षअघि यहाँको विद्यालयलाई सदरमुकामकै त्रिभुवन जनता माध्यमिक विद्यालयमा गाभिएपछि यसको संरक्षणमा झन् लापरबाही भएको हो । नेपाल बाल संगठनअन्तर्गत जिल्ला बाल संगठनको स्वामित्वमा रहेको यो संरचनाको आवश्यक संरक्षण र सम्बद्र्धन गर्न बजेट अभाव रहेको जिल्ला बाल संगठनका उपाध्यक्ष गोरखबहादुर केसीको भनाइ छ । ‘बजेट अभावकै कारण हामीले यसको आवश्यक संरक्षण गर्न सकिरहेका छौनांै', उपाध्यक्ष खड्का भन्छन्, ‘पहिले साबिक जिल्ला विकास समिति र खलंगा गाविसबाट केही बजेट आउँथ्यो अब जिविस जिसस र गाविस नगरपालिका भएपछि बजेट आउन छाडेका कारण समस्या भएको छ ।'

जिल्ला बाल संगठनले यसको स्वामित्व मुसीकोट नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको जानकारी दिँदै उपाध्यक्ष केसीले नगरपालिकाले नै यसको संरक्षण र विकास गर्नुपर्ने बताए । मुसीकोट नगरपालिकाका प्रमुख देवीलाल गौतमले भने, ‘नगरपालिकालाई जिम्मा लगाउने निर्णय भएको कुनै जानकारी हामीलाई आएको छैन । त्यस्तो भएको हो भने पनि हामी बालमन्दिरको हेरालो मात्रै बस्दैनौं । यसको पूर्ण स्वामित्व नै नगरपालिकामा आउने हो भने आफ्नो ढंगले विकास गरेर सुन्दर बनाउँछौं ।' १७ सय बर्गमिटर क्षेत्रफलमा फैलिएको बलमन्दिरमा चारवटा भवन छन् ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2