MENU

जमिलाको जुठो

635x90_3

कृष्णराज सर्वहारी आइतवार, असोज २९, २०७४ 859 पटक पढिएको

Share This

635-X-85_1

बालकथा

 

चारबर्से जमिला साह्रै चकचक गर्छे । फर्‍याक फुरुक गरिरहन्छे ऊ । नानाथरी प्रश्न गरेर बा आमालाई हैरान पार्छे । स्कुलमा पनि शिक्षकलाई नयाँनयाँ प्रश्न गरेर चकित बनाउँछे । यही जिज्ञासु बानीले कक्षामा अब्बल छे ऊ । नाच्न, गाउनमा पनि उस्तै सिपालु ।
यसपालिको दसैं भने निकै खल्लो भयो उसको । न निधारमा रातो टीका, न कानमा जमरा । न त घरमा खसी नै मार हाने । शुद्ध शाकाहारी दसैं थियो जमिलाको घरमा ।
krishnaजमिलाले बालाई प्रश्न गरेर उल्लीबिल्ली पारी, ‘बा हामीले टीका किन नलगाएको ।’
जुठो परेको थियो नि त ।
अनि हाम्रो घरमा खसी किन न काटेको ?
जुठो परेको थियो नि त ।
होइन, केमा जुठो पर्‍यो ? त्यो जुठो त फाल्दिए हुन्थ्यो नि ।
यो पछिल्लो प्रश्नले जमिलाका बाबालाई तनाव भयो । उनले छोरीलाई काखमा बसाले । भित्तामा माला लगाइएको तस्बिर देखाउँदै छोरीलाई सोधे, ‘त्यो कसको तस्बिर हो ? ’
जमिलाले भनी, ‘हजुरआमाको हो ।’
बाले भने, ‘हो, त्यही हजुरआमा बितेर यसपालि हाम्रो दसैं जुठो भयो । त्यसैले टीका पनि लगाएनौं । खसी मार पनि हानेनौं । बुझ्यौ तिमीले ? ’ जमिलाले बुझेझैं गरी टाउको हल्लाई ।
बा भन्दै गए, ‘तर क्यै छैन, मैले छोरीलाई त नयाँ लुगा ल्याइदिएकै छु नि । अनि नयाँनयाँ खेलौना पनि ल्याइदिएको छुँ । जाउ एकछिन बाहिर गएर खेल त ।’
तर जमिला बाहिर गइन । बरु उसको मनमा हजुरआमासँग बसेको, खेलेको, खाएको, गीत सुनाएको, कथा भनेको झल्झल्ती याद आयो ।
ऊ टोलाएर बसिरही ।
बाले सोधे, ‘के भो हाम्री गुडियालाई ? ’
जमिलाले तस्बिरको हजुरआमालाई हेर्दै सोधी, ‘अनि, हजुरआमालाई नयाँ फूलमाला लगाइदिन मिल्छ त ? ’

बाले भने, ‘मिल्छ नि ।’
त्यसो भए त म फूल टिप्छु । गाँस्छु । अनि, हजुरआमालाई लगाइदिन्छु नि है ?
उसले बाबाको प्रत्युत्तर पनि सुन्ने वास्ता गरिन । खुर्रर फूलबारीतिर दौडिई ।
जमिला टिप्दै गरेका फूलहरूसँग कुराकानी गर्न थाली ।
बुझ्यौ फूलहरू । हाम्री हजुरआमा बितेर हाम्रो यसपालिको दसैं मनाउन जुठो परेको रे नि त । मैले हजुरआमाको तस्बिरमा माला लगाइदिन तिमी फूलहरूलाई टिप्न आएको । दुःख नमान ल ।
जमिलाले फूल टिपेर ल्याई । र, हजुरआमाको तस्बिरमा लगाइदिई । अनि, बल्ल बाहिर खेल्न गई।

छिमेकी काकीले जमिलालाई डाक्नु भयो । र, कचौराभरि मासु दिँदै भन्नुभयो, ‘ल नानी खाऊ । तिम्रो घरमा मासु पाकेको छैन क्यारे ।’
जमिलाले भनी, ‘आन्टी, म मासु खान्न है । हाम्रो घरमा त जुठो परेको छ रे नि त । त्यसैले माछा, मासु खान्न हुन्न रे नि त ।’

जमिलाका कुराले छिमेकी काकीले हाँस्दै भन्नुभयो, ‘केटाकेटीले खाए क्यै हुन्न, नानी ।’
जमिलले ठूला मान्छेले झैं भनी, ‘नाइँ म त खान्न । म पनि बुझ्ने भइसके नि आन्टी ।’
काकीले कचौराको मासुभित्र लग्दै भन्नु भयो, ‘अचेलका केटाकेटीसँग तर्क गर्न के सकिएला र ।’
केही दिनपछि जमिलाको हजुरआमाको बरखी पनि सकियो । उसले आफ्नो जन्म दिन पनि मनाई । तिहारको छेको पारेर उसका मामा केही दिन बस्ने गरी विदेशबाट आए । मामाले ल्याएका अनेक खेलौना, उपहार पाएर ऊ दंग परी । मामाको स्वागतका लागि भान्सामा दिनहुँ माछा, मासु पाक्न थाल्यो । तिहार मामासँगै मनाउन पाइने भो भनेर ऊ निकै दंग थिई ।

जमिलाको घरमा खरायो पनि पालिएको थियो । ऊ स्कुल जानुअघि र आएपछि खरायोसँग भलाकुसारी गर्थी । मन मिल्ने साथीजस्तै थियो खरायो, जमिलाको लागि । ‘ल पुन्टु म स्कुल गएँ । बाइबाइ’ भनेर हात हल्लाउँदै स्कुल जान्थी ऊ ।
एकदिन उसका मामाले ठट्टा पनि गरे, ‘दिदी भिनाजु अब अर्को तयारी गर्नु पर्‍यो । ह्याँ, जमिला भान्जीले खरायोलाई भाइ मानेर खेल्छिन् ।’

यसरी मामाले ठट्टा गरेकै साँझ त हो नि । जमिला स्कुलबाट आएर लुगा फुकाली, हात मुख धोइ । खोरमा हेर्न जाँदा त उसको प्यारो पुन्टु खरायो मरेको पो रहेछ । ऊ निकै बेरसम्म रोइ । मामाले यताउती डुलाए पनि उसको हिक्का रोकिएन । रुँदारुँदै निदाइछे ।
साँझको खाना खाने बेलामात्रै ब्युँझिइ ऊ ।

भान्सामा मासु पाकेको थियो । खाना पस्किँदै गरेको आमालाई जमिलाले घुरेर हेरी । आमाले सोध्नुभयो, ‘नानुलाई आज सन्चो भएन कि क्या हो ? ’
जमिलाले आमालाई हकारी, ‘आज मासु किन पकाएको ? ’
आमाले भनिन्, ‘मामा आउनुभएको छ नि त ।’
जमिलाले रुँदै भनी, ‘तपाईंहरूलाई थाहा छैन । आज मेरो खरायो मरेर जुठो परेको । म मासु भात खान्न । तपार्इंहरूले पनि नखानू ।’

परिवारका सबै एकपल्ट गललल्ल हाँसे । जमिलाको मन राखी दिन त्यो दिन कसैले मासु खाएनन्।
मामाले भाञ्जीको गालामा चुप्प म्वाइँ खाँदै भने, ‘मेरी जमिला भाञ्जी कति ज्ञानी, अब हामी तिहार रमाइलोसँग मनाउँला है ।’

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2