MENU

उबेलाको तिहार

635x90_3

रामकला खड्का आइतवार, असोज २९, २०७४ 2310 पटक पढिएको

Share This

635-X-85_1

अहिले बाह्रै मास बजारमा फलफूल पाइन्छ, त्यो पनि स्वदेशदेखि विदेशसम्मका । तर, उति बेला काठमाडौं सहरको मध्य भाग वसन्तपुर झोछेँमा समेत फलफूलको बजार भनेको तिहारमै मात्र लाग्थ्यो । त्यो पुरानो रमझम अहिले पटक्कै महसुस हुँदैन बालसाहित्यकार शान्तदास मानन्धरलाई । नेवार परिवारमा जन्मिएकाले देउसीभैलो खेल्ने खासै चलन थिएन । तर, नेवारहरूको नयाँ वर्ष सुरु हुने दिन न्ह्यु दो भने उनलाई असाध्यै रमाइलो लाग्थ्यो ।

हरेक मानिसले बिहान उठ्नेबित्तिकै नयाँ जीवन प्राप्त भयो भन्ने महसुस गरेझैं उक्त दिन म्हपूजामा आफ्नै शरीर पूजा गर्दा उनलाई पनि आफू शुद्ध भएँ भन्ने लाग्थ्यो । साना केटाकेटी भएकाले सबैले माया त गर्थे नै, साथसाथै पूजा पनि गर्ने गर्थे उनलाई । त्यसैले आफूले मीठो खान र राम्रो लगाउन पाउने मात्रै नभई परिवारमा सम्मान पनि पाउने भएकाले तिहार आउँदा असाध्यै खुसी हुने गर्थे बालसाहित्यकार मानन्धर ।

केटाकेटी छँदा देउसी खेलेको, पिङ खेलेको, गीत गाएको र नाचेको सम्झँदा अहिले पनि बच्चै हुन पाए हुन्थ्योजस्तो लाग्छ बालसाहित्यकार गोपाल पराजुलीलाई । आफ्नो यही तिर्सना मेट्न सात वर्षीय नातिसँग खेल्ने गरेको बताउने पराजुलीले भने, ‘अहिले पनि गाउँमै गएर बस्न पाए हुन्थ्यो र बच्चा भएर त्यसैगरी नाच्न र खेल्न पाए हुन्थ्यो ।’ गाउँमै भए पनि दसैंतिहारमा नयाँ लुगा लगाउन पाइने र नयाँ मान्छे भेट्न पाइने हुनाले यो पक्ष पनि उनलाई साह्रै रमाइलो लाग्थ्यो । देउसी खेल्न जाँदा उनको समूहमा २०÷२५ जना हुन्थे ।

समूहमा अलि जेठोबाठोले भट्याउँथ्यो भने अरूले उनलाई नै साथ दिन्थे । दियो बत्ती बालेर नाङ्लाभरि धान चामलसहित श्रद्धापूर्वक ल्याएर दिने सेलरोटी, पुरी खाएर दंग पर्ने गरेको उनले बताए । त्यति बेला नोट भनेको देखेकै थिएनन् उनले । देउसीका दक्षिणा बाँड्दा कहिले दुई पैसा त कहिले पाँच वा दस पैसा भागमा पथ्र्यो । अहिले भने तिहार मनाउने तरिकामा पनि विकृति आउन थालेको बताउँदै उनले भने, ‘अहिलेका केटीकेटी देउसीभैलो भन्दा पनि मोबाइल र टेलिभिजनमै व्यस्त हुन थालेका छन् । पढ्न लेख्न पनि छाडिसकेका छन् ।’

काठमाडौंको हनुमानढोकाबाट १० किलोमिटर उत्तरपूर्वमा पर्ने गाउँ आरुबारीमा जन्मिएका बालसाहित्यकार विजय चालिसेका अनुसार त्यति बेला गाउँमा मनोरञ्जन भन्नु नै चाडबाड मात्रै थियो । चाडबाड आउँदा निकै प्रफुल्ल हुने उनी तिहार आयो भन्नासाथ मनमा अनेकौं रमाइला क्षण सजाउँथे । गाउँ नजिकैको चौरमा बाँस गाडेर मोटो डोरीले हाल्लिने पिङ खेल्दाको क्षण उनलाई सबैभन्दा बढी आकर्षक लाग्थ्यो । तर, योपटक त धेरै मच्चाउँछु भन्दै पिङ खेलेका एक साथी लडेको घटना पनि उनलाई याद छ ।

आफ्ना पालामा धेरै मान्छे देख्न पनि मुस्किल पथ्र्यो रे उनलाई । देउसीभैली खेल्ने दिनमा अँध्यारो रातमा परैबाट देखिने लालटिन र मैनटोल बोकेर १५÷२० जनाको समूहमा आउने टोलीले देउसी भट्याएको सुन्न आँखा मिच्दै उठ्थे उनी । अलि ठूलो भएपछि चिसोमा काम्दै देउसी भट्याउँदै हिँड्दा बाटोमा ठाउँठाउँमा लडेको पनि उनलाई अझै सम्झना छ । सेलरोटी खान पनि तिहारै कुर्नुपथ्र्यो । मगमग वासना आउने सेलरोटी खान पाउँदाको रमाइलो पनि भिन्नै छ । सबैभन्दा महत्वपूर्ण त नयाँ लुगा लगाएर निदारभरि सप्तरंगी टीकामा सजिँदा आफू राजकुमार नै भएजस्तो लाग्थ्यो उनलाई ।

२०११ सालमा स्याङ्जा जिल्लाको दार्सिङ् दहथुम गाविसमा जन्मिएकी गंगा कर्मचार्य पौडेलले आफूलाई मासुभात खान दशैं र सेलरोटी खान तिहार नै पर्खन पर्ने बताइन् । ‘कम्प्युटर , टिभी, मोवाइल, टयाब्लेट जस्ता मनोरञ्जनाका साधन नभएकोले उबेलामा हामी केटकेटीहरुका लागि मिठो खाने राम्रो लाउने र मनोरञ्जन गर्ने माध्याम नै चाडपर्व हुन्थ्यो’ यसैकारण सँधै दशैं तिहार कुरेर बस्ने पनि उनले सुनाइन् ।

खासगरि तिहारमा सयपत्री, मखमली, गोदावरी फुलफुलेर, लक्ष्मी पुजाका दिन घर घरमा बत्ती बालेर गाउँनै झिलिमिली देखिने हुँदा तिहारमा अझ बढि रमाउँथें म । फुलको माला उनेर मान्छेलाई मात्र होइन घरका कुकुर, गाई, गोरुलाई पनि लगाईदिँदा त उनी झन् दङ्ग पर्थिन् । आफ्ना तीन दिदीबहिनी मात्रै भएकाले उनी काकाका छोराहरुलाई टिका लगाइदिन्थीन् । टीका नलाई खाए पाप लाग्छ भन्थे । त्यसैले भोकले खपि नसक्नु भएपछि उनी खानेकुरालाई टुलुटुलु हेर्दै घुटुघुटु थुक निल्ने गर्थिन् । एकपल्ट त मन थाम्नै नसकेर सगुन दिन राखेको अण्डा टिपेर क्वाप्प खाएको पनि बालसाहित्यकार पौडेलले बिर्सेकी छैनन् ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2