MENU

चुनावमै एकोहोरिऔं

अन्‍नपूर्ण बिहीबार, कात्तिक २, २०७४ 1041 पटक पढिएको

Share This

635-X-85_1

प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि त्यो विकल्प छैन। त्यसमाथि माओवादीले जेलाई आधार मानेर शंका उब्जाएको थियो, बिहीबार अदालतले प्रस्ट फैसला दिइसकेको छ । कदाचित भनेर माओवादीले संशय बढाउनुको कुनै अर्थ छैन अब । सर्वोच्च अदालतले सर्वेन्द्रनाथ शुक्लाले हालेको रिटमा अन्तरिम आदेश नदिएर माओवादीले उब्जाएको आशंकामा तुक नभएको प्रस्ट पारेको छ ।

 

अब निर्वाचन आयोगसामु दुइटा मतपत्र छाप्नुपर्ने बाध्यता छैन । त्यसलाई बाध्यकारी नबनाई प्रत्यक्षतर्फ दुइटा मतपत्र निर्माण गर्न सकिने सम्भावनालाई विचार गर्न सर्वोच्चको फैसलाले आग्रह गरेको छ । प्रत्यक्षतर्फको मतपत्र कात्तिक १० देखि छाप्ने तयारी छ भने समानुपातिकतर्फको मतपत्र १७ असोजबाटै छाप्न थालिसकिएको छ । यो सबै अवस्थालाई मध्यनजर गर्दै सर्वोच्चबाट फैसला आएको छ । यसले चुनाव सर्छ कि भन्ने जुन संशय खडा भएको थियो, त्यसको अन्त्य गरिदिएको छ।

बरू अब माओवादी केन्द्र प्रस्ट हुन जरुरी छ। उसको राजनीतिक प्रस्टताले चुनाव र धमिलिएको राजनीतिक वातावरणलाई सफा राख्न सघाउ पुर्‍याउँछ। एउटा दल विपक्षी पार्टीसँग चुनावी तालमेल र पार्टी एकीकरणमा अघि बढ्ने र सँगै सत्तारुढ सहयात्री पनि बन्ने भन्ने मेल खाने कुरा होइन।

निश्चय पनि एमाले र माओवादी केन्द्रबीच उनीहरूका राजनीतिक सहमति र समझदारीका आधारमा सहकार्य वा एकता हुन सक्छ । राजनीतिक, सैद्धान्तिक धरालत मिल्दा पार्टीहरू एक ठाउँमा आउनु अस्वाभाविक होइन । दलहरू बलियो हुनु भनेको लोकतान्त्रिक संस्कृति र व्यवस्था बलियो हुनु हो। यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन । तर माओवादीले दोहोरो भूमिका खोज्नु उचित हुन सक्दैन।

सरकारको सहयात्री पनि बन्ने र विपक्षीसँग एकता पनि गर्ने कुरा कुनै पनि सर्तमा स्वाभाविक मान्न सकिँदैन । देउवालाई सरकार सञ्चालन गर्न माओवादीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्छ। दुईतिरै खुट्टा हाल्न खोज्ने माओवादीमा विकसित पछिल्लो प्रवृत्तिबाट उसले बाहिर निस्कनुको विकल्प छैन। अध्यक्ष दाहालले देउवालाई दिएको वचन पूरा गर्दै तत्काल आफ्ना मन्त्रीलाई फिर्ता बोलाउन ढिलाइ गर्नु हुँदैन।

त्यस्तै प्रधानमन्त्री देउवाले पनि चुनावलाई आफ्नो मुख्य प्राथमिकतामा राखी त्यता केन्द्रित हुनुपर्छ। निर्वाचन आयोगले प्रधानमन्त्रीले चुनाव सार्ने आशय नराखेको प्रस्ट सन्देश दिएको छ। प्रमुख निर्वाचन आयुक्तले आफूहरू चुनावमै केन्द्रित भएको बताएका छन्। त्यसर्थ शंका र षड्यन्त्रको सिद्धान्तबाट बाहिर निस्केर सबै राजनीतिक शक्ति चुनावमा केन्द्रित होऔं।

नयाँ राजनीतिक प्रणालीलाई संस्थागत गर्दै अघि बढ्न नयाँ संविधानको बलियो कार्यान्वयन आवश्यक छ। स्थानीय तह निर्वाचनबाट प्रारम्भ भएको त्यो कार्यान्वयनको बाटो प्रदेश र केन्द्रको चुनावको सफलतापूर्वक सम्पन्न भएसँगै थप अघि बढ्नेछ। त्यसकारण सबै अग्रगामी राजनीतिक शक्ति चुनावमै एकोहोरिनुको विकल्प छैन।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2