MENU

बैतडीमा उत्साहपूर्ण रुपमा उम्मेद्वारी दर्ता

भगीरथ अवस्थी आइतवार, कात्तिक ५, २०७४ 1023 पटक पढिएको

Share This

635-X-85_1

बैतडी : आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार बैतडीमा उत्साहपूर्ण रुपमा राजनीतिक दलले उम्मेद्वारी दर्ता गरेका छन्। नेपाली कांग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादीले वाम गठबन्धनका तर्फबाट उम्मेद्वारी दर्ता गरेका हुन्।

 

 

नयाँ संविधान जारी भएपछि पहिलो पटक हुन गइरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाका निर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस र राप्रपाको गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले उम्मेद्वारी दर्ता गरेका छन्। ‘लोकतान्त्रिक गठबन्धन अहिले आवश्यकता भएकाले राप्रपासंग गठबन्धन गरी उम्मेद्वारी गरेका हौं। हामी लोकतन्त्रमा विश्वास गर्नेहरुले एकजुट भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएकाले गठबन्धन निर्माण गरेका हौं,’ उम्मेद्वारी दर्ता पछि चन्दले भने ।

यस्तै बाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गरेका छन्। ‘वामशक्तिहरु एक भएर जानु अहिलेको आवश्यकता भएकाले हामीहरु बामगठबन्धन गरेर चुनावमा होमिएका हौं। नयाँ संविधान कार्यान्यवनका लागि पनि बाम एकता आवश्यक छ,’ उम्मेद्वारी दर्ता पछि भण्डारीले भने ।

यसैगरी प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनका साथै अन्य दलहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन्। बैतडी १ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी, वामगठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेद्वारी दर्ता गराएका छन्।

यसैगरी बैतडी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका गणेश चन्द, वामगठबन्धनका तर्फबाट नेकपा एमालेका लीलाधर भट्टले उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। उम्मेद्वारी दर्ता गराउने लोकतान्त्रिक गठबन्धनमा रहेका नेपाली कांग्रेस र राप्रपा तथा वामगठबन्धनमा रहेका नेकपा एमाले र माओवादी केन्द्रका उम्मेद्वारहरु बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। शान्तपूर्ण रुपमा उम्मेद्वारको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

महिला उम्मेद्वारी ‘शुन्य’
आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि बैतडीमा प्रत्यक्षतर्फ महिला उम्मेद्वारी शुन्य रहेको छ। आइतबार उम्मेद्वारी दर्ता गराएका मध्ये कुनै पार्टीबाट पनि महिला उम्मेद्वार नरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए।

राजनीतिक दलहरुले महिला नेतृत्वमाथि अझै पनि विश्वास गर्न नसकेका कारण महिलाको उम्मेद्वारी नपरेको दशरथचन्द नगरपालिकाकी उपमेयर मीना चन्दले बताइन्। उनले भनिन्, ‘ठूला भनिने राजनीतिक दलहरुले समेत महिलाको नेतृत्व स्वीकार गर्न सकिरहेका छैनन्। महिलालाई नेतृत्व दिन आनाकानी गरेकै कारण महिलाको नेतृत्वमा पहुँच पुग्न सकेको छैन् ।’

मुख्य राजनीतिक दलहरुले महिला नेतृत्वलाई स्वीकार गर्न नसकेकाले राष्ट्रिय राजनीतिमा महिलाको पहुँच पुग्न नसकेको पाटन नगरपालिकाकी उपमेयर सरस्वती कोलीले बताइन्। उनले भनिन्, ‘स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेद्वारी अनिवार्य गरे जस्तै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि प्रत्यक्ष तर्फ महिलाको सहभागिताका लागि अनिवार्य व्यवस्था गरिनुपर्छ ।’

स्थानीय तहको निर्वाचनमा महिलाको प्रतिनिधित्व भएपनि प्रदेशसभा र प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको निर्वाचनमा महिला जनप्रतिनिधि शुन्य हुने पक्का भएको छ। समानुपातिक तर्फ महिलाको अनिवार्य पचास प्रतिशत सहभागिता हुने व्यवस्था भएपनि प्रत्यक्ष तर्फ त्यस्तो कुनै व्यवस्था नभएकाले उम्मेद्वारीमा पुरुष नै हाबी भएका हुन्।

महिलाको राजनीतिमा पहुँच पुर्याउनका लागि दलहरुले आफ्ना संगठनभित्रै महिलालाई नेतृत्व दिनुपर्ने महिला अधिकारकर्मीहरुले बताएका छन्। ‘पहिला पार्टीको संरचनामा महिलालाई नेतृत्व दिनु आवश्यक छ। त्यसपछि मात्रै निर्वाचनमा महिलालाई प्रतिस्पर्धा गर्न दिइने छ ।’ महिला अधिकारकर्मी देवु ठगुन्नाले भनिन्, ‘गत असारमा भएको स्थानीय तहको निर्वाचनले स्थानीयस्तरमा महिला नेतृत्व जन्माएको छ। केही बर्षमा यो नेतृत्वमा केन्द्रमा पुग्ने अपेक्षा गर्न सकिन्छ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2