MENU

काठमाडौँका एकआने कवि श्रवण मुकारुङ

635x90_3

राजु स्याङ्तान मंगलवार, कात्तिक ७, २०७४ 2108 पटक पढिएको

Share This

635-X-85_1

लोकप्रिय कवि तथा प्राज्ञ श्रवण मुकारुङले काठमाडौँ शहर भोगेको तीन दशक भयो । काठमाडौँले उनलाई भोग्यो वा उनले काठमाडौँ भोगे ? यसको स्पष्ट उत्तर श्रवणसँग छैन । काव्यिक लयमा यति चाहिँ भन्छन्, ‘अलिकति मैले काठमाडौँलाई भोगेँ होला, अलिकति काठमाडौँले मलाई भोग्यो होला ।’

लामो समय हो, ३० वर्ष । यत्तिका वर्ष काठमाडौँ बसेपछि श्रवण यहाँका एक–एक गल्लीसँग परिचित हुने नै भए । अझ भनुँ, गल्लीविद् हुने नै भए ।

कहिल्यै व्यवस्थित हुन सकेन श्रवणको जिन्दगी । शहरमा एक चपरी माटो किन्न खोज्छन्, तर आर्थिक हैसियतले अनुमति दिँदैन । ‘म त एकआने पो रहेछु,’ उनले ठट्टा गर्दै भने पनि यो उनको जिन्दगीको निर्मम यथार्थ हो, ‘३५ वर्षअघि मसँग जोरजाम गर्दा एक आना जग्गा किन्न पुग्ने पैसा हुन्थ्यो । आज पनि किन्न खोज्छु, एक आना मात्रै किन्न पुग्ने पैसा जम्मा हुन्छ । म त एकआने पो रहेछु ।’

काठमाडौँमा दिशाभ्रम

भोजपुर, दिल्पा ट्याम्के पहाडको घमाइलो घाम हेर्दै हुर्केका श्रवण गाउँमै डरमर्दो क्रान्तिकारी कवि थिए । देवकोटा, रिमाल, भूपि, इन्द्रबहादुर राई, वासु शशी, शंकर लामिछानेलाई उतै गाउँमा पढिभ्याएका थिए । ‘पञ्चायतलाई सिध्याउनुपर्छ’ भन्ने कविता सानैमा लेखे । कविताको डायरी बोकेर गोठालो जाँदाजाँदै ठूलो साहित्यकार बन्ने सपना जाग्यो । त्यो सपनाले हुत्याएर उनलाई काठमाडौँ ल्याइपु¥यो ।

२०४१ सालमा एसएलसी दिएपछि श्रवणलाई लाग्यो– अब शहर पस्नुपर्छ, काठमाडौँ गएर ठूलो कवि बन्नुपर्छ । १६ वर्षे अल्लारेलाई साँघुरो भो भोजपुर बजार । साँघुरो भो पाखोरेखो । मनभित्र गुम्सिएका उकुसमुकुस ट्याम्के डाँडाले थाम्न नसक्ने भो ।

एकदिन भालेको पहिलो डाकमै ब्युँझिए श्रवण । लगाए सुरुवाल–कमिज । ढल्काए टोपी । हातमा बोके लौरो । झोलामा हाले माना दुईएक चामल र गुन्द्रुक । अनि कविताको डायरी ।

 

तोक्माले भारी अड्याउँदै भारी बोकिरहेका भरियाका ताँतीसँग हाँस्दै, गीत गाउँदै, सँगै खाँदै अनि खोला किनारमा बास बस्दै, पिखुवाको २२ जंघार तरेर चार दिन चार रात हिँडेर श्रवण धरान आइपुगे । धरान बजारमा जीवनमा पहिलो पटक उनले कोक खाए । भन्छन्, ‘उँभै आयो । निल्नै सकिएन । ग्यास हुन्छ भन्ने के था ?’

रात्रि बस चढेर उनी काठमाडौँ आइपुगे । कविताको पाण्डुलिपि बोकेर सरासर काका बुलु मुकारुङको कोठामा पुगे । सुनाए काकालाई पहिलो पटक कविता । कविता सुनेर काका तर्सिए । काकाले भने, ‘यस्तो पनि कविता हुन्छ ? यो त मार खाने कविता भयो । नारा भो नारा ।’ पञ्यायतविरुद्धको कविता थियो त्यो ।

पहिलो पटक काठमाडौँ आउँदा श्रवणलाई दिशाभ्रम भयो । पूर्वबाट होइन, अप्ठेरो ठाउँबाट घाम झुल्किरहेको देखे । पूर्व–पश्चिम ठम्याउन सकेनन् । दिशाभ्रम धेरै दिनसम्म रहिरह्यो ।

३५ वर्षअघि कवि श्रवण मुकारुङसँग जोरजाम गर्दा एक आना जग्गा किन्न पुग्ने पैसा हुन्थ्यो । आज पनि किन्न खोज्छन्, एक आना मात्रै किन्न पुग्ने पैसा जम्मा हुन्छ । भन्छन्, ‘म त एकआने पो रहेछु ।’

काकाको पछि लागेर उनी रेडियो नेपाल पुगे । पाण्डव सुनुवारको चौतारी कार्यक्रममा गीत गाएर फर्किएको रात श्रवणलाई अबेरसम्म निन्द्रा परेन । कवि बन्छु भनेर शहर पसेको मान्छे गायक पो बन्छु कि क्या हो जस्तो लागिरह्यो । त्यो भक्तपुर, त्यो सिनेमा घर, त्यो बसपार्क रत्नपार्क घुम्दाघुम्दै महिना बित्यो । एसएलसीको नतिजा आयो । तर, उनको नाम आएन । 
‘एक वर्षपछि फेरि तयारी गरेर एसएलसी पास गरेँ,’ उनले सम्झिए ।

नेता श्रवण 

उनी आरआर क्याम्पसमा भर्ना भए । केही समय काकासँग बसेर पुतलीसडकमा मासिक ३ सय ५० मा एक्लै बस्न थाले । छ महिनाको लागि भए पनि अस्थायी जागिर थियो । स्टोभ किने, पाँच सयको खाट र एउटा कराई किने । ‘कराई अहिले पनि छ मसँगै,’ उनले सम्झिए, ‘पाँच रुपैयाँमा रायोको साग आउँथ्यो । त्यसलाई धोएर काट्यो, दुइटा आलु हाल्यो, अनि झोल हाल्यो, टन्न खायो ।’

कविताको पाण्डुलिपि सिरानीमा छुटेन । ठूलो साहित्यकार बन्छु भन्ने सपना जिउँदै थियो । कविता सुनाउन पाउने मञ्चको खोजीमा हिँड्न थाले । साहित्य सन्ध्या गए । प्रतिभाप्रवाहमा पुगे । त्यहीँ भेटे उनले पहिलो पटक पारिजात । ‘पहिलो पटक उहाँको अगाडि कविता सुनाएँ,’ उनले सम्झिए, ‘उहाँले यो एक बसाइमा लेखिएको कविता होइन भन्नुभयो ।’ निकै साधना गरेको भनी श्रवणको तारिफ गरिन् उनले । त्यसपछि उनले उत्साह भन्ने पत्रिकामा उनको कविता छापिदिइन् ।

क्याम्समा पढ्दा डरमर्दो ‘पोलिटिक्स’मा लहसिए उनी । अनेरास्ववियुको राजनीतिमा होमिए । मेघालय काण्डमा जेलसमेत परे । ‘हनुमान ढोकामा तीन दिन जेल बसेँ,’ उनले सुनाए, ‘त्यसपछि छोडिदियो । थोत्रो साइकल क्याम्पसमै राखेको थिएँ । साइकल लिन आएँ । हेर्छु त भित्ताभरि पोस्टर नै पोस्टर । लेखिएको थियो, ‘हाम्रा नेताद्वय जगन्नाथ खतिवडा र श्रवणकुमार राई जिन्दावाद ! विद्यार्थी आन्दोलन अमर रहोस् ! पञ्चायती व्यवस्था मुर्दावाद ।’ राजनीतिमा उनी जोस्सिएर लागे । आन्दोलन गरे । कविता सुनाए । गितार बजाउँदै गीत गाए । कौसीबाट श्रवणलाई हेर्ने केटीहरूको भीड उस्तै हुन्थ्यो । जहाँ श्रवण त्यहाँ भीड । तहल्का मच्चिन थाल्यो क्याम्पसमा । स्ववियुको चुनाव आयो । सभापति उठ्ने पालो श्रवणको थियो । तर, पालो पाए, वामदेव गौतमका भतिजाले ।

सपनामा मैतिदेवी

राजनीति फापेन । कविता नै लेख्न थाले । मैतीदेवी सरे । त्यहाँ आठ वर्ष बसे । साथीहरूको आउजाउ बाक्लो हुन थाल्यो । अब कोठा कोठा जस्तो रहेन । मिनी होस्टेल हुन थाल्यो । गाउँबाट जर्किनका जर्किन लोकल लिएर आउने साथीहरू बढे । कोठैकोठा भएको नेवारको घर थियो । अर्थ सचिवदेखि मजदुरसम्म त्यहाँ बस्थे । कविदेखि वकिलसम्म त्यहीँ । उनले सम्झिए, ‘त्यो मेरो पिक समय थियो । नयाँ–नयाँ साहित्यकार साथीहरू बन्ने चरण थियो ।’ त्यही भेट भयो कवि रमेश क्षितिजदेखि विप्लव ढकाल र रमेश पौडेलसम्म । त्यहीँ भेटिए नवीन सुब्बा, अहिलेका फिल्म निर्देशक । भन्छन्, ‘दुःख टू मच थियो । तर, धेरै साथीहरू आउने जाने भइरहन्थ्यो ।’ चर्चित गीत ‘माथि माथि सैलुङेमा’, ‘एलम्बर’ नाटक, अर्काे चर्चित गीत ‘तिमी तारेभीर’ उनले त्यहीँ लेखे ।

मैतीदेवीबाट चराले गुँड सारेजस्तै श्रवणले आफ्ना थाङ्नाभोटा अनेकौँ ठाउँ सारिरहे । तर, अहिले पनि उनको स्मृतिमा मैतिदेवीको अँध्यारो कोठा आइरहन्छ । झस्किन्छन् बेलाबेलामा । राति ऐँठन हुन्छ उनलाई । रेडियोमा पुरस्कार जिते त्यहीँबाट । राजाबाट पुरस्कार थापे त्यहीँबाट । घरबेटीको सग्लो अनुहार कहिलेकाँही उनको मानसपटलमा घुम्छ ।

राजाको हातबाट श्रवणले पुरस्कार थापेको घरबेटीले थाहा पाए । तर पैसा पाएनन् घरबेटीले । ढोकामा उभिएर घरबेटीले भनेका थिए, ‘राजाको हातबाट पुरस्कार पाउने मान्छे यस्तो छ ? पैसा चाहिँ दिँदैन,’ गनगन गर्दै फर्किन्थे घरबेटी ।

एक पटक उनी बस्ने घरमा ठूलो आतंक मच्चियो । त्यो थियो उडुस आतंक । बसी नसक्नुभयो । मट्टीतेल छर्किए, गएन । नुन छर्किए, गएन । तीन सालसम्म उडुसले वंश चलायो । कहाँबाट सल्कियो यो आतंक भनेर उनले खोजबिन गरे । ‘अन्तिममा पत्ता लाग्यो,’ उनले सम्झिए, ‘झापाली केटाहरूले आँप र चामल ल्याउँदा उडुस पनि ल्याएछन् ।’

श्रवणको सपनामा अहिले पनि त्यो घर, साहुजी आउँछ । झल्यास्स ब्युँझन्छन् । हराउँछन् कता कता । ‘त्यो कोठामा केही समान छुटेको छ जस्तो हुन्छ,’ उनले भने, ‘मेरो कमिज त्यही ढोकामा झुन्डिरहेको छ जस्तो लाग्छ ।’

उनी त्यसपछि ललितपुर सरे । त्यसपछि कोटेश्वर, बालुवाटार त्यसपछि... । तीन दशकमा १५ ठाउँ जति सरिसके ।

मातका अड्डाहरू

श्रवण सबैभन्दा धेरै हिँडेको गल्ती हो मैतिदेवीको गल्ली । त्यसपछि पुतलीसडक, डिल्लीबजारको गल्ली । गल्ली वरपरका भट्टीपसलमा श्रवणले मदिरामय साँझ नबिताएका सायदै थिए । ‘तर, रक्सी खाएर कसैको हानि गरिएन,’ श्रवणले भने ।

डिल्लीबजार पिपलबोट मास्तिर पहिला–पहिला अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले दारु खाने गरेको अड्डामा पनि उनी खूब जान्थे । ‘त्यहाँ रक्सी सारै मीठो पाइने,’ उनले सुनाए, त्यहाँका पसलेले भन्थे, ‘यहाँ दारु खानेहरू कोही सांसद् भए, कोही मन्त्री । अब त आउनै छाड्यो ।’ उनको अर्को अड्डा छ असनभित्र । पहिला–पहिला गए पनि आजभोलि जाँदैनन् । आजभोलि यही ठाउँ भन्ने छैन । अचेल मदिरा मोह पनि त्यतिसारो छैन उनलाई ।


काठमाडौँले दियो के ? लियो के ?

काठमाडौँबारे श्रवणको आफ्नै धारणा छ । उनी काठमाडौँमा अवसर देख्छन् । इमानदारीपूर्वक लागिरह्यो भने व्यक्तिको भविष्य यहाँ राम्रो हुने उनको भनाइ छ । ‘सिंगो नेपाललाई बुझ्न सकिन्छ,’ उनले भने, ‘विविध संस्कृतिको संगमस्थल बनेको छ काठमाडौँ । यहाँ आफूलाई बनाउन सकिन्छ, सपना पूरा गर्न सकिन्छ ।’

उनलाई शहरका धनाढ्यहरू असभ्य लाग्छन् । ‘संसारमै नभएका असभ्य मानिसहरू यहाँ छन्,’ उनले भने, ‘आफ्नो घरमा मार्बलै मार्बल ! फोहर फाल्ने चाहिँ सडकमा । आफू कुकुर पाल्ने, पिसाब फेराउन सार्वजनिक ठाउँमा लाने । अर्काको गमलाबाट फूल चोरेर मन्दिरमा चढाउने । पाखण्डीहरू छन् यहाँ ।’ 
अनि यहाँका घरबेटीहरूसँग पनि उनको आक्रोश छ, ‘भाडा बढाको बढाकै गर्छन् । कुनै नियम–कानुन छैन । आफ्नै कोठामा खुर्सानी झ्याइँ पार्न हुन्न ।’

यद्यपि, उनी काठमाडौँलाई गाली गर्दैनन् । कवि आहुतिले एक ठाउँमा भनेका छन्, ‘यहाँ एक थरी कवि काठमाडौँलाई गर्नुसम्म गाली गरेर कविता लेख्छन् तर उनीहरूको सपना–जपना यहाँ एउटा घर बनाउनु हुन्छ ।’ उनी आहुतिले भनेजस्ता कवि होइनन् । काठमाडौँको विरोधमा कविता पनि लेखेका छैनन् । शहरको विकृत संस्कृतिबारे आलोचनात्मक दृष्टि चाहिँ छ उनीसँग । ‘शहर कुरूप बनाउनुमा हाम्रो पनि हिस्सा छ,’ उनको कथन छ ।

शहरले प्रत्येक मानिसलाई केही दिने र केही लिने उनको बुझाइ छ । ‘शहरले मबाट केही लिएको छ,’ उनले भने, ‘शहरले मलाई केही दिएको छ । म शहरप्रति ऋणी छु । जन्मेर १६ वर्ष मात्रै गाउँमा बसेछु । ३५ वर्ष त मैले यही बिताएँ । यही शहरले बचायो ।’

अन्नपूर्ण सम्पूर्णमा प्रकाशित

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2