MENU

कलाले जोडेको नेपाल-चीन सम्बन्ध

635x90_3

विनीता मरहट्टा शुक्रवार, कात्तिक १०, २०७४ 1075 पटक पढिएको

Share This

635-X-85_1

 

काठमाडौं : सन् १९५५ मा चीनमा भएको सांस्कृतिक क्रान्तिमा ‘रेड गार्ड’ले धार्मिक सांस्कृतिक धरोहरहरू भत्काइरहेका थिए । नेपाली कलाकार अरनिकोले बनाएको श्वेत प्यागोडा भत्काउन खोज्दा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाई आफैं गएर ‘रेड गार्ड’लाई रोकेका थिए । नेपालसँगको पुरानो सम्बन्धका रूपमा लिइने श्वेत प्यागोडा प्रधानमन्त्रीले जोगाएका थिए ।

त्यति बेलै देखिको बलियो सम्बन्धलाई दुई देशका कलाकारले अझैसम्म खुकुलो हुन दिएका छैनन् । बर्सेनि नेपालबाट चीन जाने र चीनबाट नेपाल आउने कलाकारको संख्या बाक्लिँदै गएको छ । चीनको हेवेई प्रान्तस्थित एमरेन गुम्बाका धर्मगुरु तथा कलाकार सी थोङ साङ आफ्ना चित्र बोकेर नेपाल आएका छन्।

 

 

उनका चित्र बिहीबारदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शन भइरहेको छ । चीनमा ठूलाठूला ग्यालरीमा चित्र प्रदर्शन गरेका सीले नेपालसँगको गहिरो सम्बन्ध महसुस गरेर यहाँ आएको बताए । उनका चित्र नियाल्दै संस्कृतिविद् सत्यमोहन जोशीले नौलो धारका यी चित्रले नेपालीका लागि फरक स्वाद दिने बताए । चित्रमा धेरै रङ प्रयोग भएको छैन । श्यामश्वेत चित्रहरूले विषयवस्तुलाई सांकेतिक रूपमा प्रस्तुत गरेका छन् । उनले भने, ‘सांकेतिक रूपमा दर्शन समेटिएको छ ।’

जति बेला सीको मस्तिष्कमा कुनै विकारयुक्त सोच हुँदैन त्यति बेला उनी सिर्जनामा मग्न हुन्छन् । भित्री शान्ति र चेतना पाएपछि जुनसुकै काम पनि आनन्दसाथ गर्न सकिने तर्क गर्दै उनले धर्मगुरुबाट कलाकार बन्नुको कारण प्रस्ट्याए ।

चित्रमा एउटै चरित्रलाई फरकफरक मुद्रामा प्रस्तुत गरिएको छ । बुद्धको यात्रामा हिँडिरहेको एक व्यक्ति चित्रमा देखिन्छ । फरकफरक समयमा ऊभित्रको भाव चालीसभन्दा बढी चित्रमा प्रस्तुत भएका छन् । धर्मको यात्रामा हिँडेको व्यक्तिलाई चित्रकार सीले आफ्नै भाव र सोचबाट समेटेका छन् ।

चित्रमा प्रकृतिसँगको प्रेम पनि देखिन्छ । शान्तिको मार्ग समाएपछि प्रकृतिसँग पनि बात मार्न सकिने उनको तर्क चित्रमा पनि प्रस्टै देखिन्छ । ध्यान गरेर शान्त र खुसी भएको अवस्थामा उनी चित्र कोर्न बस्छन् । जति बेला उनको मस्तिष्कमा कुनै विकारयुक्त सोच हुँदैन त्यति बेला उनी सिर्जनामा मग्न हुन्छन् । भित्री शान्ति र चेतना पाएपछि जुनसुकै काम पनि आनन्दसाथ गर्न सकिने तर्क दिँदै उनले धर्मगुरुबाट कलाकार बन्नुको कारण प्रस्ट्याए । उनले चित्र बनाउन थालेको तीन वर्षमात्र भयो।

अग्रज कलाकार किरण मानन्धर सीका चित्रलाई ‘मेडिटेसन’ भन्छन् । एकै बसाइमा सिध्याउने, हेर्दा सजिलोजस्तो लाग्ने यी चित्रमा गहिरो दर्शन रहेको मानन्धरले बताए । चीनका परम्परागत चित्रहरू प्रायः श्यामश्वेत नै हुन्छन् । सुमी मसीको प्रयोगबाट जलरङमा ‘फ्लो’ विधिबाट यी चित्र तयार भएका छन् । हेर्दा एकै बसाइमा तयार हुने देखिए पनि यसमा तीनचार पत्रमा रङ थप्दै काम गर्नुपर्छ । विश्वप्रसिद्ध कलाकार भ्यानगगले ‘उडकट’ विधिबाट सुरु गरेका चित्रहरूमा सबैले अनुभूति भेट्थे । मानन्धरले सीका चित्रलाई पनि भ्यानगगकै चित्रसँग जोडे । भने, ‘संसारमै यो विधि चलिआएको छ । नेपाली कलाकारले यो प्रदर्शनीबाट धेरै सिक्न सक्छन् ।’

सीका चित्रमा क्यानभासका रङहरू फरकफरक छन् । क्यानभास पनि दर्शनअनुसार नै चयन गरेका हुन् । चित्रको छेउमा विषयवस्तुबारे लेखिएको लिपि पनि छ । चिनियाँ अक्षरले चित्रमा बुट्टाको काम गरेको भान हुन्छ ।

चिनियाँहरू कागजको आविष्कारपूर्व नै भित्तामा यस्तै चित्र बनाउँथे । कागज पहिलोपटक चीनमा नै बन्यो । त्यसमा चित्र बनाउन अभ्यस्त भएका चिनियाँहरू अहिलेसम्म पनि जलरङको यो विधिमा संसारमा सबैभन्दा अगाडि छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2