MENU

अविजित पाठकको अँगालोमा

635x90_3

दीपक सापकोटा आइतवार, कात्तिक १२, २०७४ 646 पटक पढिएको

Share This

635-X-85_1

 

साउन-भदौको झरीमा रेडियोले प्रायः बजाउँछ— ‘हर रात सपनीमा...।’ गीतले श्रोतालाई उदासीको गहिरो खाडलमा लैजान्छ । कवि÷गीतकार विप्लव प्रतीकले लेखेको यस गीतपछाडिको कथा पनि उदास छ ।गीतको कथा खोज्न ०४४ सालतिर फर्किनुपर्छ । लेफ्ट मुभमेन्टमा लागेका विप्लवका पिता कृष्णप्रसाद सर्वहारा (‘प्रेमको हत्या’, ‘विद्रोही आँसु’, ‘दुई छेस्का सलाई’, ‘दरबारकी केटी’ कथासंग्रहका लेखक) त्यति बेला पशुपतिनाथ छेउको देउपाटनमा माटोको घरमा बस्थे । विप्लवचाहिँ सिमेन्टको घरमा बस्थे, बहालमा ।

झरीले विप्लवलाई निकै तनाव दिन्थ्यो । आकाशमा चट्याङ बज्रिएपछि विप्लवलाई पिताको यादले सताउँथ्यो । उनलाई ऐँठन हुन्थ्यो । पिताकै यादमा उनले गीत लेखे, ‘हर रात सपनीमा ऐँठन हुन्छ...÷आगो र आँधी सोचिरहेछु÷भुइँचालोलाई थाम्छु भनी÷हर साँझ सहरमा हुरी चल्छ÷गाउँमा सायद छानै उड्यो कि? ’

 

०५६ मा दीप श्रेष्ठले यो गीत गाए । गीतले निकै ठूलो उचाइ प्राप्त गर्‍यो । गीत रेकर्ड भएको ठीक १८ वर्षपछि गायक दीपले फेरि यो गीत गाए— विप्लव प्रतीककै लागि । सन्दर्भ हो— विप्लवले पिताकै कथा, पितालाई नै समर्पण गरेर लेखेको पहिलो उपन्यास ‘अविजित’को विमोचन कार्यक्रम । दीपले गीतको भावभूमि सम्झिए र कार्यक्रमपछि विप्लवले पुराना साथी दीपलाई उपन्यास उपहार पनि दिए ।

कार्यक्रममा दीपमात्र होइन, विप्लवका पुराना मित्र अभिनेता सुनील थापा पनि उपस्थित थिए । उनले भने, ‘मेरो साथीले सुन्दर कविता र उपन्यास लेखिरहेकोमा म गर्व गर्छु ।’‘सपनाजस्तो लागिरहेछ मलाई सब । यस्तो मेरो नसिबमा होला, मैले कहिल्यै कल्पना गरेको थिइनँ।

अनि तपाईंहरू नै भन्नुस्, यो सपना नभए के हुन सक्छ मेरा लागि ? ’, दरबारमार्गस्थित डेजाभु क्लबमा आयोजित ‘अविजित’ विमोचन कार्यक्रममा विप्लवले भने, ‘हुन त मलाई मेरो जीवन नै सपनाजस्तो लाग्छ । जीवन सपना अनि यो क्षण— सुनौलो सपना । फरक यत्ति छ कि मैले देख्ने सपनामा ध्वनि विरलै हुन्छ, यहाँ भने म ध्वनि पनि सुनिरहेछु ।’

किताबले विप्लवका पिता कृष्णप्रसाद सर्वहाराको जीवन चित्रण गर्छ । ‘यस घडी विप्लवको पितालाई सम्झन्छु, उनी एक स्वतन्त्र र स्वाधीन मानिस थिए’, राजनीतिक चिन्तक प्रदीप गिरीले भने ।
किताब विमोचन प्रदीप गिरी, शिक्षाविद् केदारभक्त माथेमा, कवि÷गीतकार दुर्गालाल श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

‘मेरो पहिलो प्रेम साहित्य हो र साहित्य स्वतन्त्रताको अनुसरण हो’, गिरी आफ्नो सम्भाषणको बीचबीचमा हिन्दी कविताका श्लोक पनि सुनाउँथे । मूख्य पात्र ‘अविजित’बाट आफू निकै प्रभावित बनेको गिरीले सुनाए । ‘अविजित संघर्षबाट बनेको चरित्र हो । किताबले क्रान्ति, अन्धविश्वास र भ्रान्तिको कथा भन्छ ।’ गिरीले किताबले विप्लवको जीवन दर्शनभन्दा पनि समयको एउटा कालखण्डमाथि घोत्लिन पाठकलाई बाध्य बनाउने बताए । ‘किताब यस्तो छ, जहाँ सपनाको कुनै स्थान छैन’, गिरीले भने ।

शिक्षाविद् केदारभक्त माथेमाले अहिलेको वर्तमान समयमा गुणवत्ता साहित्य हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । संसारमा हरेक दिन थपिँदै गएका एप्सहरूले साहित्यको महत्वलाई विस्थापित गर्दै लगेकोमा उनी चिन्तित थिए । ‘कविता, उपन्यास पढ्नु कुनै पनि हालतमा कमिक्स पढ्नु होइन, उपन्यास विस्तारै पढ्ने विधा हो र यो उपन्यास बुझ्न विस्तारै पढ्नुपर्छ’, माथेमाले भने, ‘कथाको मुख्य पात्र अविजित मेरै उमेरको छ । लाग्यो, उपन्यासका घटनाहरूमाथि म पनि सामेल थिएँ ।’

गीतकार दुर्गालाल श्रेष्ठले किताब ‘पढिरहेको होइन, चलचित्र हेरिरहेको’ अनुभूति भएको सुनाए । ‘सिर्जनाको लोकार्पण एउटा शुभमुहूर्त हो । कविता तत्व साहित्यको सबैभन्दा महत्वपूर्ण पक्ष हो । उपन्यासमा त्यो तत्व भरपूर छ’, प्रतीक कथा र चरित्र चित्रणमा निकै निपूण भएको दुर्गालालले बताए ।

‘अविजित’को कथा काठमाडौंकै सेरोफेरोमा छ । अविजित राजनीतिक रूपले सचेत छ । तर, ऊ जीवनमा कहिल्यै सफल हुँदैन । महिलाहरूका सम्बन्धमा अझ असफल लाग्छ । उपन्यासमा तीनजना महिलाको उपस्थिति गाढा रूपमा देखिन्छ र तीनैजनाले घर छोडेर गएको कथा बुनिएको छ।

असन, मैतीदेवी, गल्लीहरूका ससाना पसल, नेवारी खाजाघर, ऐला, भुटन आदिबारे विप्लवले किताबमा लेखेका छन् । धर्मभक्त माथेमालाई राणाहरूले रूखमा झुन्ड्याएको दृश्य देखेको मुख्य पात्र अविजित ०४६ सालसम्म एउटा आदर्श लिएर राजनीतिक परिवर्तनमा लागिरहन्छ । ०४६ को राजनीतिक आन्दोलनपछि उपन्यासको अन्त्य हुन्छ ।

जन्म-कथा

उपन्यासको रचनागर्भ सुानउँदै विप्वल भावुक बने । डेजाभु क्लबमा बलेका अनेक चर्का बत्तीमाझ लामो, सेतो कपाल पालेका प्रतीकको अनुहारको चमक अरू बेलाभन्दा भिन्नै थियो । उनले केही आफूले देखेका र केही अरूबाट पिताबारे सुनेका कथा उपन्यासमा लेखेको बताए । ‘अमेरिकामा छँदा कुन्नि के लहड जाग्यो, उपन्यास लेख्न बसेँ । अमेरिका बसाइमा मैले रोड ट्रिप गरेँ, अठारपांग्रे ट्रकमा चढेर महादेश दर्शन गरेँ, घरिघरि रेल यात्राको लुत्फ उठाएँ ।

काम गर्न गएकै थिइनँ, कमाइ हुने कुरै भएन । तैपनि भयो कमाइ । कमाइ ‘अविजित’ थियो । अमेरिकाप्रति आभारी छु म । त्यहाँको बसाइले मैले जे पाएँ, त्यो यही अविजित हो । अमेरिकाले मलाई केही दियो भने अविजित दियो’, प्रतीकले किताबको रचनाबारे सुनाए, ‘नौ वर्षभित्र नौपटक म अविजितको संसारमा डुलेको छु । आज मेरो काखबाट उम्केर अविजित तपाईंहरूको अँगालोमा आएको छ ।’ 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2