MENU

जुनु र मीना

635x90_3

आस्मा खनाल आइतवार, कात्तिक १२, २०७४ 1215 पटक पढिएको

Share This

635-X-85_1

अंकुर कथा

 

aasmaशनिबारको दिन थियो । ‘जुनु नुहाउन आऊ’, आमा जुनुलाई नुहाउन बोलाउँदै हुनुहुन्थ्यो । उनी भने बाबाले हिजोमात्र ल्याइदिनु भएको नयाँ रङको बाकस चलाउनमा व्यस्त थिइन् । आमाले कति पटक बोलाउँदा पनि उनी जाँदै गइनन् । अटेरी गरेर बसिरहिन् । उनको एउटा नराम्रो बानी थियो । उनलाई नुहाउन फिटिक्कै मन पर्दैन । जुनु नुहाउन नमानी आमाबाट भागेर उनको मिल्ने साथी मीनालाई नयाँ रङको बाकस देखाउन गइन् । मीनाको घरमा पुग्दा मीना त नुहाउन लागेकी रहिछिन् । आमाले मीनालाई नुहाइदिँदै हुनुहुन्थ्यो । त्यसैले त्यतिञ्जेल जुनु कुरेर बसिरहिन् ।

नुहाइसकेपछि आमाले मीनालाई राम्रो र सफा लुगा लगाइदिनुभयो र कपाल पनि कोरी दिनुभयो । त्यसपछि जुनु र मीना दुवैजना नयाँ रङको बाकस चलाउन थाले । दुवैले चित्र पनि बनाए । जुनु र मीना दुवैजनाको चित्र एकदम राम्रो थियो । दुवै जना यो चित्र अरूलाई देखाउने सोच लिई बाहिर निक्लिए।

 

मीनालाई सफा र राम्री देखिएको थियो भने जुनुलाई फोहोरी देखिएको थियो । जुनु र मीना चौरमा खेल्दै थिए । चौरमा गएर उनीहरूले सुरज र अनितालाई भेटे र आ–आफ्नो चित्र देखाए । साथीहरूले मीनाको चित्र बढी हेर्न खोजे तर जुनुको त्यत्ति हेरेनन् । यो देखेर जुनुलाई नराम्रो लाग्यो । जुनु र मीना चौरमा खेल्दै थिए । त्यत्तिकैमा बाहिरी देशबाट आएका केही मानिस उनीहरूको अगाडि आइपुगे । मीनालाई सफा र राम्री देखिएकाले केही मानिसले उनको फोटो खिचे र केहीले सँगै काखमा लिए । जुनुलाई भने कसैले वास्ता गरेनन् । यो देखेर जुनुलाई नराम्रो लाग्यो । 

खेलिसकेपछि घर जाने बेलामा जुनुले मीनालाई ‘आज मानिसले मेरो फोटो किन खिचेनन् ? ’ भनेर गुनासो गरिनन् । तर जुनुले ‘मलाई यसबारेमा केही थाहा छैन’ भनिन् । जुनुलाई अत्यन्त नरमाइलो लागिरहेको थियो । त्यसैले उनी सरासर घरमा गइन् र कोठामा गएर टोलाएर बसिन् । आमाले जुनुलाई कत्ति बोलाउनुभयो तर जुनु जाँदै गइनन् । त्यसपछि आमा खाजा लिएर जुनुकै कोठामा जानुभयो र जुनुलाई फकाउन थाल्नुभयो । ‘दिउँसो के के भएको थियो ? ’ भनी सोध्नुभयो । जुनुले रुँदै सबै कुरा भनिन् र आमालाई सोधिन्, ‘आमा ती मानिसले मेरो फोटो किन नखिचेका ? ’ यो सुनी आमाले मुस्कुराउँदै भन्नुभयो, ‘मानिसले सफा मान्छे मन पराउँछन् फोहरी होइन, मीना नुहाएर सफा लुगा लगाएर सफा, राम्री भएकी थिइन् तर तिमी त नुहाउन मान्दिनौ, गन्हाउने भएर हिँड्छौ । 

त्यही भएर उनीहरूले तिमीसँग फोटो खिचेनन् । यदि तिमी फोहरी नै भएर हिँड्यौं भने तिमीलाई साथीहरूले पनि बोलाउन र खेल्न छोड्दिन्छन् । त्यसैले नुहाउनुपर्छ र सफा हुनुपर्छ । अनिमात्र सबैले मन पराउँछन् । फोहरी मानिसलाई कसैले पनि मन पराउँदैनन् ।’ यो कुरा सुनी जुनु झसंग भइन् र आमालाई नुहाइदिनु भनिन् र सफा लुगा पनि लगाइन् । आमाले कपाल पनि कोरी दिनुभयो । अब उनी पनि सफा र राम्री देखिइन् । त्यसबेलादेखि मीना र जुनु दुवै सफा भएर हिँड्न थाले र सबैले उनीहरूलाई माया गर्दै फोटो पनि खिचे । यो देखेर आमा निकै खुसी हुनुभएको थियो ।

एकदिन विद्यालयमा चित्र प्रतियोगिता भएको थियो । त्यस प्रतियोगितामा जुनु र मीना दुवैजना सहभागी भए । जुनुले प्रतियोगितामा बाबाले ल्याइदिनुभएको त्यही नयाँ रङको बाकस प्रयोग गरिन् । यस पटक चित्र प्रतियोगितामा जुनु प्रथम भइन् र मीना द्वितीय भइन् । त्यसबेलादेखि जुनु र मीना दुवैको फोटो विद्यालयको सूचना पाटीमा टाँसियो । पुरस्कार पनि दिइयो । आमा यो देखेर निकै खुसी हुनुभयो । त्यसपछि जुनु पनि अझ बढी मेहनती हुन थालिन् ।

सधैं मुस्कुराउन थालेकी जुनु निराश हुन थालिन् । उनको आँखा दुख्न थाल्यो । उनले आफ्नो आँखा दुखेको कुरा घरमा कसैलाई पनि भनेकी थिइनन् । जुनु र मीना विद्यालयमा खाली समयमा पज्जल बनाएर खेल्ने गर्थे । तर आजभोलि जुनुले राम्ररी देख्दिनन् । त्यसैले उनले पज्जल खेल्न छाडिदिइन् । यो देखेर मीनाले ‘किन नखेलेको, के भयो ? ’ भनेर सोधिन् । जुनुले आँखा दुखेको कुरा बताइन् । यो सुनी मीनाले आँखा दुखेको कुरा घरमा भनी हाल्नुपर्छ, नत्र पछि झन् दुख्छ भनेर सम्झाइन् । 

यो सुन्ने बित्तिक्कै विद्यालयबाट घर गएपछि जुनुले बाबालाई आँखा दुखेको र राम्ररी नदेखेको कुरा बताइन् । बाबाले ‘भोलि नै आँखा जँचाउन जाने ल’ भनेर जुनुलाई सम्झाउनुभयो र खाना खुवाएर सुताउनुभयो । भोलिपल्ट बिहानै जुनु बाबासँगै आँखा जचाउन आँखा अस्पताल गइन् । त्यहाँ निकै लामो लाइन थियो । पालो आएपछि डाक्टरले जुनु र बाबालाई बोलाउनुभयो । जुनुलाई एकदम डर लागिरहेको थियो । आँखा जाँच गरिसकेपछि डाक्टर अंकलले जुनुलाई सोध्नुभयो,‘ तिमी घरमा धेरै नजिकबाट टेलिभिजन हेर्छौ हो ? कम्प्युटरमा पनि गेम धेरै खेल्छौ हो ? ’ डाक्टर अंकलले सबै कुरा थाहा पाएको देखेर जुनुलाई डर लाग्यो ।

डर र लाजले उनी केही बोल्न सकिनन् किनकि उनी सधैं अगाडि बसेर टेलिभिजन हेर्ने र कम्प्युटरमा पनि गेम धेरै खेल्ने गर्थिन् । ‘तिमीले धेरै टेलिभिजन हेर्ने र कम्प्युटरमा गेम धेरै खेल्ने गरेको भएर तिम्रो आँखा दुखेको हो’, डाक्टर अंकलले भन्नुभयो । अहिले औषधिमात्रै हाले पुग्छ भन्दै डाक्टरले अबदेखि धेरै टेलिभिजन र कम्प्युटर नहेर्ने सुझाव दिनुभयो । यदि भनेको मानेन भने चस्मा लगाएरमात्र नहुने, आँखा नै बिग्रिन सक्ने चेतावनी पनि उनलाई डाक्टर अंकलले दिनुभयो । यो सुनी जुनु झसंग भइन् र अबदेखि टेलिभिजन धेरै नहेर्ने र कम्प्युटरमा गेम पनि धेरै नखेल्ने निधो उनले गरिन् । अब जुनुको आँखा ठीक भइसकेको छ । उनी मीनासँग सजिलै पज्जल खेल्छिन् । उनी टेलिभिजन र कम्प्युटर पनि धेरै चलाउँदिनन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2