MENU

कफीबाटै जीवन धान्नेहरू

635x90_3

राजेश बर्मा शुक्रवार, कात्तिक १७, २०७४ 447 पटक पढिएको

Share This

635-X-85_1

कफी उत्पादन

विश्वभरि फैलिएको कफीको लोकप्रियता र आकर्षणबाट फूलकुमार लामा पनि बच्न सकेनन्। पर्यटन व्यवसायीसमेत रहेका उनले कफी क्षेत्रमा २१ वर्षअघि हात हाले। अचेल कफीको उत्पादन र व्यापारबाट उनलाई फुर्सदै छैन्।

उनलाई कामले कहिल्यै फुर्सद हुँदैन। उनी प्रायः लमजुङ, रसुवा, काभ्रेपलाञ्चोक, कास्कीतिर पुगिरहन्छन्। उनी कफीकै लागि डुलुवा बनेका छन्। ‘मलाई बेफुर्सदिलो बनाएको छ', लामा भन्छन, ‘पारिवारिक सदस्यहरू गिज्याउँछन्- कति डुलुवा बनेको भनेर।' कफीको लागि कुनाकन्दरा घुम्नु उनको सोख बनिसकेको छ। यसमै दुई दशक बिताइसकेपछि, उनी कफीको प्रेममा छन्।

 २०५२ सालमा सिन्धुपाल्चोकबाट सानो क्षेत्रफलबाट कफीको उत्पादन सुरु गरेका लामाको दिनरातको मेहनतकै कारण अहिले माउन्ट एभरेस्ट अर्गानिक कफी प्राइभेट लिमिटेड भन्ने ठूलो कम्पनी खडा भइसकेको छ।

अहिले उनले रसुवामा दुई सय रोपनीमा कफी उत्पादन गरिरहेका छन्। लमजुङमा थप चार सय रोपनी जग्गा खोजीमा छन्। लमजुङमा अहिले ६ सय रोपनीमा कफीका चेरी उत्पादन भइरहेका छन्। यस्तै कास्की र सिन्धुपाल्चोकमा केही रोपनीमा चेरीको उत्पादन गर्दैछन्। भन्छन्, ‘यत्रो वर्ष यही क्षेत्रका लागि ऊर्जाशील समय उत्सर्जन गरेँ। अब अर्को क्षेत्रमा जाने कल्पनासम्म गर्न सक्दिनँ। यही क्षेत्रले हाम्रो परिवारलाई धान्न सक्छ। मेरो दोस्रो पुस्ताले पनि यही क्षेत्रमा निरन्तरता दिनेछन्।'

 नेपालमा कफीको इतिहास ७८ वर्ष पुरानो छ। नेपालमा पहिलोपटक हीरा गिरीले कफीको बोट भित्र्याएका थिए। उनी जोगी थिए।

लामाले वार्षिक ३० मेट्रिकटन रोस्टिङ र ग्रिन विन्सको कारोबार गर्छन्। यसमध्ये ७० प्रतिशत अन्तर्राष्ट्रिय मुलुकमा कारोबार गर्छन् भने बाँकी ३० प्रतिशत काठमाडौं र पोखरामा कारोबार गर्छन्। कारोबारलाई टिकाउन उनले ६ जिल्लाबाट सहकारीमा आबद्ध र साना किसानले उत्पादन गर्ने कफी पनि संकलन गरी आवश्यक प्रशोधन गरी व्यापार गर्दै आएका छन्। साढे तीन करोडको लगानीमा सुरु भएको उनको यो व्यवसायमार्फत मुस्ताङ र ट्रिटर्न ब्रान्डमा दुई थरीका ब्रान्डेड कफी उत्पादन हुन्छ। मुस्ताङ ब्रान्डकै राजधानीमा अत्याधुनिक दुई कफी सप पनि सञ्चालनमा छ।

कफीले जीवन धानेका अर्को युवा व्यवसायी हुन्- डा.राजकुमार बञ्जारा। समाजशास्त्र र अर्गानिक कृषिमा पीएचडीसम्मको अध्ययन गरेका बञ्जारा पनि कफीका सफल व्यवसायी मानिन्छन्। जापानको टोकियो युनिर्भसिटीको प्राध्यापन पेसालाई तिलाञ्जली दिएर उनले व्यावसायिक रूपमै कृषि पेसालाई अँगालेका हुन्। ग्रिनल्यान्ड अर्गानिक फार्मबाट हिमालयन अरेबिका ब्रान्डमा ग्रिन विन्स र रोस्टिङ दुवै थरीको कफी उत्पादन गरेर स्वदेशदेखि विदेशसम्म कारोबार गर्दै आएका छन् उनले। १२ वर्षदेखि उनले यही पेसालाई निरन्तरता दिएका छन्।

७५ रोपनी क्षेत्रफलमा कफीखेती गर्दै आएका उनले कफी सहकारी र साना किसानमार्फत लमजुङ, कास्की, सिन्धुपाल्चोक र ललितपुरबाट पनि वार्षिक ३० मेट्रिकटनका कफी उठाएर बिक्री गर्छन्। उनको दैनिकी पनि लामाको भन्दा भिन्न छैन्। बञ्जारा भन्छन्, ‘यो पेसाले मलाई पूर्ण रूपमा सन्तुष्टि दिएको छ। कुनै पछुतो लागेको छैन। अहिलेसम्म यसैले परिवार धानेको छ।

यो क्षेत्रमा अरू धेरै गर्न बाँकी नै छ।' उनी आफूलाई पूर्णकालीन रूपमा कफीका किसान र कारोबारी भन्न रुचाउँछन्। पाँच करोडको लगानीमा यो व्यवसाय सुरु गरेका उनी नेपालकै पहिलो कफी क्यु ग्रेडरसमेत हुन्। सानै उमेरमा यो पेसामा लागेर ख्याति कमाइसकेका बञ्जारा सन् २०१७ मा फ्रान्समा आयोजित कफीसम्बन्धी विश्वस्तरको प्रतिस्पर्धामा पुरस्कृतसमेत भइसकेका छन्। २०७२ मा नेपाल चिया तथा कफी विकास बोर्डले उत्कृष्ट कफी प्रशोधनकर्ता भनेर पनि सम्मान गरिसकेको छ।

पर्यटन व्यवसायीको रूपमा नाम चलेका भरत रेग्मी हिजोआज कफी व्यवसायी र उत्पादनकर्ताको रूपमा चिनिएका छन्। पछिल्लो ६ वर्षदेखि रेग्मी यो पेसामा छन्। उनलाई अब यो पेसा छोड्नै मन छैन। भ्रमणको क्रममा सात वर्षअघि इथियोेपिया पुगेका रेग्मीले त्यहाँको कफी संसारबाट हौसिएर क्षेत्र अँगालेका हुन्। अहिले हिमालय अर्गानिक कफी स्टेट भनेर धादिङमा ठूलो कफीको उत्पादन गृह सञ्चालनमा छन्। धादिङको तीन स्थानमा गरी अहिले पाँच सय रोपनीमा कफीको चेरी फल्न सुरु भएको छ। यस्तै मकवानपुरमा पनि ८० रोपनीमा कफीका चेरी फल्दै आएको छ। कफीको उत्पादन र व्यवसायमा उनले अहिलेसम्म आठ करोड रुपैयाँ लगानी गरिसकेका छन्।

यस्तो छ, कफीको इतिहास

नेपालको कफीको इतिहास ७८ वर्ष पुरानो छ। नेपालमा पहिलोपटक हीरा गिरीले कफीको बोट भित्र्याएका थिए। उनी जोगी थिए। बर्मामा जागिर गर्ने क्रममा नेपाल र बर्मा ओहोर-दोहोर गरिरहने गिरीले १९९५ मा बर्माबाट अरेबिया जातको बोट गुल्मीमा भित्र्याएका थिए। बर्माबाट ल्याएको कफीको बोट उनले गुल्मीको आमचौरमा रोपेका थिए। त्यही बोटबाट आज नेपालको ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ।

हाइल्यान्ड अर्गानिक कफी कम्पनीका अध्यक्ष कृष्ण घिमिरेका अनुसार, नेपालमा त्यही बेलादेखि गुल्मी जिल्लाबाट कफीको विकास क्रम सुरु भएको हो। गिरीले भित्र्याएको कफीको बोटले सन् २००१ र २००२ मा प्रचुर परिमाणमा कफीको उत्पादन दिएको थियो। २०२५ सम्म त किसानलाई पात खाने कि फल भन्नेसमेत चेतना थिएन। २०३० सालमा गुल्मीमा व्यावसायिक खेतीको सुत्रधार सुरु भयो। ‘किसानको प्रत्यक्ष सहभागितामा २०३३ सालदेखि गुल्मीमा कफीको व्यावसायिक रूपमा खेती सुरु भएको हो', घिमिरे भन्छन्, ‘२०३८ सम्म व्यावसायिक रूपमा उत्पादन भए पनि बजार अभावले किसानले ठूलै समस्या व्यहोर्नुपर्‍यो।' राजा वीरेन्द्र २०३९ मा गुल्मीको भ्रमण गर्ने क्रममा गुल्मीलाई कफी क्षेत्र घोषणा गरेका थिए। त्यो घोषणासँगै नेपालमा कफीको विकास क्रम सुरु भएको घिमिरेको भनाइ छ।

२०३६ मा आएर गुल्मीबाट सुक्खा चेरीको प्रशोधन सुरु भयो। त्यसपछि घिमिरेले नेपालमै पहिलोपटक नेपाल कम्पनी कफी कम्पनी दर्ता गरी व्यावसायिक रूपमा कफीको प्रशोधन गर्ने काम सुरु भयो। नेपालमा पहिलो पटक कफी भुटेर खान सिकाउने श्रेय पनि घिमिरेलाई जान्छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2