MENU

शुक्रबार विशेष 'शैली' : कफीको फेरिँदो स्वाद..

635x90_3

लक्ष्मण श्रेष्ठ शुक्रवार, कात्तिक १७, २०७४ 9572 पटक पढिएको

Share This

635-X-85_1

अनुमानित समयभन्दा पहिल्यै जाडो लिएर आएको काठमाडौंको फुसफुसे बिहान, म एउटा क्याफेको कुनामा बसेर अमेरिकानोको चुस्की लिइरहेछु। अगाडिको काउचमा एक जोडी खुसखुस गफिइरहेछन् कफीको चुस्कीसँगै। केटीको हातमा क्यापेचिनोको कप छ, केटाकोमा अमेरिकानो। पलेँटी कसेर बस्न मिल्ने बनाइएको अर्को लाउन्जमा केही भद्रभलाद्मी कहिले मध्यम, कहिले ठूलो स्वरमा राष्ट्रिय राजनीतिबारे बहस गरिरहेका छन्। किताबका र्‍याकनेरको सानो टेबल, कुर्सी कुनै कफीप्रेमी पाठकको प्रतीक्षा गरिरहेछ। क्याफेको ढोका खोल्नासाथ देखा पर्ने कफी मेसिनमा एउटी सुन्दर युवती स्टिम्ड वाटर र कफीसँग चकचक गरिरहिछन्।

अचेल काठमाडौंको बिहान यसैगरी सुरु हुन थालेको छ। कुनै बेला रेडियो नेपालले बजाउने ‘मुना चियाको समय'लाई कफीले बिस्तारै आफ्नो बनाइरहेको छ।
काठमाडौंमा बिन्स कफीको कथा धेरै पुरानो होइन। सन् १९९९ मा गगन प्रधानले कफी स्टेसनको जग बसाइरहँदा यहाँका चिया पसलहरूमा दूध, चिनीको घोलमा माथिबाट झ्यास्स थपिएका नेस्क्याफे टाइपका इन्स्ट्यान्ट कफी नै कफीको रूपमा परिचित थिए।

 

मानिसहरूले कफीको कालो झोललाई विभिन्न तरिकाले पिउन थालेको इतिहास भने कम्तीमा चार सय वर्ष भइसकेको थियो। जेके रोलिङले एडिनबर्गको क्याफे ‘द एलिफेन्ट हाउस'मा बसेर ह्यारी पोर्टरको पहिलो भागको ड्राफ्ट सकेको चार वर्ष भइसकेको थियो। सिमोन डी बुभोले पेरिसको ‘क्याफे डी फ्लोरे'मा बसेर संसार हल्लाउने कृति ‘द सेकेन्ड सेक्स' लेखेर प्रकाशन गरेको आधा शताब्दी बितिसकेको थियो।

टीएस इलियट, फ्रान्ज काफ्का, स्कट फिचगेराल्ड, सात्र्र, कामुजस्ता संसारप्रसिद्ध लेखकहरू कफीको कडा स्वादमा जिब्रो लट्ठ्याई संसारबाट बिदा भइसकेका थिए। अमेरिकी स्वतन्त्रताको घोषणापत्र लेख्ने थोमस जेफरसनले कफीलाई ‘सभ्य संसारको लोकप्रिय पेय पदार्थ' घोषणा गरेको पनि दुई सय वर्ष पुगिसकेको थियो।

 पन्ध्रौं शताब्दीमा अरब प्रायद्वीपमा सुरु भएको कफीको खेती र व्यापार अहिलेको सुविधायुक्त आरामदायी काउच सहितका क्याफेसम्म आइपुग्दा लामो बाटो हिँडेको छ।

दोस्रो सहस्राब्दीको पहिलो वर्षमा प्रवेश गर्दैगर्दा गगनले कफीलाई नेपाल भित्र्याए। विदेशी मुलुकबाट धूलो बनेर प्लास्टिक प्याकेटमा आउने कफीको ठाउँमा नेपालका कफी दानाहरू मेसिनमा पिँधिएर कालो झोल बन्न थाले। त्यहीँबाट हो, नेपाली जिब्रोमा कफीको स्वादले बास गर्न थालेको। त्यसपछि हो, चर्चित स्तम्भ ‘कफी गफ'का लेखक नारायण वाग्लेले क्याफेकै डेस्कमा नेपाली आख्यानलाई नयाँ मोड दिने उपन्यास ‘पल्पसा क्याफे' लेखेको। त्यसपछि हो, बुद्धिसागर दिनदिनै क्याफे पसेर उपन्यास लेख्न थालेको। त्यसपछि हो, काठमाडौंमा कफीको कडा स्वादसँगै पिरतीका नयाँ गाथाहरू कोरिन थालेको। र, क्याफेहरू जमघट केन्द्रदेखि बौद्धिक विमर्शको वैकल्पिक थलो बन्न थालेको।

कफीलाई अझै पनि नेपाली समाजको मुख्य पेय पदार्थ मान्न गाह्रो छ। तर, नेपाली पेय स्वभावमा कफीको कडकपनले स्थान जमाउन थालिसकेको छ। दुई दशक पनि नपुग्दै काठमाडौंमा करिब पाँच सय कफीघर स्थापित भइसकेका छन्। काठमाडौंबाहिर पोखरा, बुटवल, नारायणघाट, इटहरीजस्ता सहरहरूमा पनि कफीघर धमाधम खुल्दैछन्। आखिर किन यसरी विस्तारित भइरहेछन् कफी स्टेसनहरू ? के छ कफीमा ? के कारणले कफी स्टेसनहरू चियाअड्डा र दारुअड्डाको विकल्प बन्न खोजिरहेछन् ?

कफी लोकप्रिय हुनुको कारण यसको स्वाद हुनसक्छ। वैज्ञानिक अनुसन्धानले भनेका छन्— कफीमा क्याफिन हुन्छ जसले अल्छिपन हटाउँछ, जाँगर बढाउँछ, स्फूर्ति जगाउँछ। कफीमा हुने ‘ट्रिगोनेलाइन' भन्ने पदार्थले मस्तिष्क क्षय हुनबाट जोगाउँछ। कफीलाई विशिष्ट स्वाद दिने ‘कावेह्वेल' र ‘क्याफेस्टोल'ले क्यान्सर कोषबाट जोगाउँछन्। क्याफिनको अर्को विशिष्ट भूमिका पनि हुन्छ, यसले लत लगाउँछ। कफीको स्वाद लिइसकेको जिब्रोले झट्ट त्यो स्वाद बिर्सन मान्दैन। तर, कफी लोकप्रिय हुनुका पछाडि स्वाद मात्र जिम्मेवार छैन।

लेखक बुद्धिसागरको विचारमा क्याफेको वातावरण पनि यसको प्रमुख कारक हो। ‘क्याफेमा चियापसलमा जस्तो कहिले ग्राहक चिया सकेर जाला भन्ने हतारो गरिँदैन। क्याफेको स्पेस नैे ठूलो हुन्छ', उनी भन्छन्, ‘क्याफे खाने ठाउँ मात्र होइन, लामो समय कुराकानी गरेर बस्ने ठाउँ पनि हो।'

बुद्धिसागरको जस्तै मान्यता छ, अर्का लेखक कुमार नगरकोटीको पनि। विश्वसाहित्य अध्ययन गर्दा लेखकहरूले उल्लेख गर्ने कफी प्रसंगले कफीका पारखी बनेका नगरकोटीको विचारमा क्याफेको वातावरण नै सुन्दर हुन्छ। ‘क्याफेको इन्टेरियर डिजाइन, त्यहाँको लेआउटदेखि मेनुको डिजाइनसम्म कलात्मक हुन्छ, त्यसले मन हर्छ', नगरकोटी भन्छन्।

अर्की लेखक कुमारी लामाका लागि क्याफे पढ्ने ठाउँ हो। क्याफेको कुनामा बसेर किताब पढ्न रुचाउने उनी बेलायत पढ्न जाँदादेखि कफीकी पारखी भएकी थिइन्। पहिले क्याफेमा साह्रै कममात्र नेपाली देखिने भए पनि अचेल रैथानेको भीड बढ्दै गएको महसुस गर्छिन् उनी। भन्छिन्, ‘कफीमा युवाको रुचि बढिरहेको छ। के पुरुष, के महिला क्याफेमा समान उपस्थिति देखिन्छ।'

मानवशास्त्री सुरेश ढकाल भने कफी लोकप्रिय हुनुमा अलि भिन्दै कारण देख्छन्। उनको विचारमा कफी ‘बजारले निर्माण गरेको लत' हो। बजारले मागभन्दा पनि आपूर्ति सिर्जना गरेर कफी संस्कृति बढाइरहेको ठम्याइ छ उनको। तर, क्याफेहरू भेटघाट र गफगाफका लागि सहज भएको भने अस्वीकार गर्दैनन् उनी। ‘क्याफे एकखालका मानिसहरूका लागि पब्लिक स्पेस पनि बनिरहेछ', ढकाल भन्छन्। उनी कफीलाई आधुनिकतासँग जोड्छन्। कफी खानु आधुनिक हुनु हो भन्ने सोचले पनि कफी संस्कृति विकासमा टेवा पुर्‍याएको तर्क छ उनको। ‘कफी आधुनिकता, सहर, उच्च वर्ग र पश्चिमा पहिचानसँग जोडिन्छ', ढकालको विश्लेषण छ।

त्यसो त उपभोगले मात्र कफी संस्कृति बढाएको पक्कै होइन। कफीमा लगानी र इलमको खोजीले पनि कफी संस्कृति बढाउन उल्लेखनीय भूमिका खेलेको छ। पाँच वर्ष अरूकै क्याफेमा काम गरेपछि काठमाडौं लाजिम्पाटमा एक वर्षअघि ‘ड्रिम्स एस्प्रेसो कफी' खोलेकी मनीषा कार्कीका लागि क्याफे वैदेशिक रोजगारीको विकल्प बनेको छ। अहिले त उनी कफी बनाउने बारिस्ता ट्रेनिङ पनि दिन थालिसकेकी छन्।

डेढ महिनाको तालिम सकेर क्याफे खोल्नका लागि उपयुक्त स्थान खोजिरहेका काभ्रेका कालसाङ लामाको निम्ति पनि कफी इलम बनेको छ। पेप्सीकोलाका सुवास रम्तेल पनि क्याफेमै करिअर बनाउन खोजिरहेछन्।

पन्ध्रौं शताब्दीमा अरब प्रायद्वीपमा सुरु भएको कफीको खेती र व्यापार अहिलेको सुविधायुक्त आरामदायी काउच सहितका क्याफेसम्म आइपुग्दा लामो बाटो हिँडेको छ। सोह्रौं शताब्दीमा पर्सिया, इजिप्ट, सिरिया र टर्कीमा कफी लोकिप्रय भएको थियो। १७औं शताब्दीमा यो युरोप छिर्‍यो। जहाँजहाँ गयो कफीले आफूसँगै एउटा पहिचान लिएर गयो। सुरुदेखि नै कफी घरबाट बाहिर निस्केर सार्वजनिक स्थल बन्यो। कफीघरहरू गफगाफ, संगीत श्रवण, समकालीन घटनाबारेको छलफल आदिका केन्द्र बने। त्यसैले कफीघरहरूलाई ‘विद्वान्हरूको घर' पनि भनिन्थ्यो। एक पेन्नीमा कफी पाइने भएकाले र क्याफेमा बसेर विश्वविद्यालयमा जस्तै बहस र छलफल गरिने भएकाले बेलायतमा त कफीघरलाई ‘पेन्नी विश्वविद्यालय' भनिन्थ्यो।

यो लामो र संसारभरको भ्रमणबाट एक्काइसौं शताब्दीको झुल्कोसँगै नेपाल छिरेको कफीले नेपाली जिब्रोमा बास माग्न थालिसकेको छ। मूलतः सहरिया जीवनशैलीको एउटा महत्र्वपूर्ण हिस्सा बन्दै गएका छन्, कफी र क्याफे। तर, कफी भित्र्याउने गगन प्रधानको दृष्टिमा नेपाली उपभोक्तामा कफीको ज्ञान भने विकास भइसकेको छैन। त्यसका लागि त फरक फरक स्वादका कफी चाख्नुपर्छ। कफी अड्डाहरू चाहर्नुपर्छ। जब कि हिमालयन जाभामा मात्रै ६० प्रकारका कफी पाइन्छन्।

विश्वप्रसिद्ध कफी पारखी

कफीबाटै जीवन धान्नेहरू

 

पत्रकार नारायण वाग्लेसँग कुराकानी : सर्वसाधारणको पहुँचबाहिर कफी

कफीबारे के भन्छन् डाक्टर ?

अभिनेत्रीका कफी क्याफे 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2