MENU

कफी विचार प्रधान हुन्छ: अभि सुवेदीसँग

635x90_3

किरण दहाल शुक्रवार, कात्तिक १७, २०७४ 357 पटक पढिएको

Share This

635-X-85_1

अभि सुवेदी उतिबेला आईए पढ्दै थिए । एकदिन बालाजुबाट नुहाएर सुवेदीसहित तीनजना साथी न्युरोडस्थित एउटा चियापसल पसे । एकैछिनमा चिया पनि आयो । सबैले खान सुरु गरे । डढेको चिया ल्याएको भन्दै एक साथीले होटेलवालालाई थप्पड लगायो । त्यतिबेलाको घटना सम्झँदा सुवेदी हाँसो थाम्नै सक्दैनन्, ‘हा हा हा... । खासमा उसले चिया होइन, कफी ल्याएको थियो । साथीलाई डढेको चिया ल्याएछ भन्ने परेछ ।' कफी खाँदाको पहिलो अनुभव सुनाए सुवेदीले।

पहिलोपटक खाँदा त तीतोले मुख नै बिग्रिएको थियो । पुस्तकमा कफीबारे धेरै आउने हुनाले उनलाई लाग्थ्यो, ‘यो खानुपर्ने चीज हो । नत्र किताबमा किन आउँथ्यो !' उनले अक्षरबाटै कफीबारे थाहा पाए । कहिलेकाहीँ साहित्यकारको बीचमा पनि ‘कफी' शब्द सुनेका थिए । हिजोआज त उनलाई कफी शब्द सुन्नेबित्तिकै स्फुर्ति आउँछ । जाँड खानेहरू जाँडको बारेमा कुरा गर्दा जसरी जोसिन्छन् आफूलाई पनि कफीको मामलामा त्यस्तै हुने उनले बताए ।
त्यसपछि उनी निरन्तर कफी खान थाले, बानी नै लाग्यो । सस्तो पनि थियो । त्यतिबेला अहिलेजस्तो जहीँतहीँ कफी हाउस थिएन । कफी खानेहरू पनि थोरै थिए।

अंग्रेजी साहित्यको विद्यार्थी भएकाले कफीसँग उनको विशेष सम्बन्ध रह्यो । पढ्नका लागि बेलायत जाँदा पनि त्यहाँका पुराना कफी हाउस पुगे । १८औं शताब्दीमा खुलेका कफी हाउससम्म पुगे । कफीसँग आफ्नो दुई किसिमले सम्बन्ध रहेको बताउँछन् सुवेदी । एउटा ऐतिहासिक र अर्काे साहित्यिक । कफी खान थालेपछि उनले कफीको इतिहासको बारेमा पनि खुबै अध्ययन गरे । ‘१६औं शताब्दीमा इस्तानाबुलमा सुरु भएको रहेछ कफी । त्यसपछि युरोप आएको रहेछ', उनले भने, ‘शेक्सपियरकै पालाको कुरा हो यो । ह्याबरमासले पनि पब्लिक स्फेयरकोको कन्सेप्ट कफी हाउसहरूबाटै लिएका थिए ।'

केही वर्ष पहिले उनी मेक्सिकोको टेिम्पको सहर पुगे । नाटकको कामले मेक्सिको पुगेका उनले त्यहाँ पुग्नेबित्तिकै कफी हाउस खोज्न थाले । कफी हाउस नभएको सहर, उनलाई सहरजस्तै लाग्दैन । टेम्पिकोमा साथीहरूले धेरै हिँडाएर एउटा चिहानमा पुर्‍याए । मनमा डर पस्यो, साहित्य पढ्नेहरू अलि मूर्ख-मूर्ख हुन्छन् भन्ने उनले सुनेका थिए । एउटा सानो घरमा पुर्‍याइयो । घरको माथिल्लो तलामा उक्ँिलदै गर्दा कफीको वास्ना भर्‍र्याङमै आइपुग्यो । उनको खुसीको सीमा रहेन । बल्लबल्ल कफी खान पाइयो भनेर मुसुक्क हाँसे । कफी खाँदाका यस्ता घटना भने कमै छन् सुवेदीसँग । भन्छन्, ‘कफी विचार प्रधान हुन्छ । घटना प्रधान हैन ।'

कफीका पारखी यी प्राध्यापक दैनिकजसो धुम्बाराहीबाट ठमेलस्थित ‘हिमालयन जाभा हाउस' पुग्छन् । प्रायः बेलुकातिर । घरमै पनि पिउँछन् । घरमा पिउनभन्दा कफी हाउसमै पिउँदा मजा मान्छन् । एकदिन कफी पिउन पाएनन् भने घाँटीमा के-के अड्केजस्तो, केही नपुगेजस्तो हुन्छ । कफी लिइसकेपछि भने दिमाग फ्रेस भएको महसुस गर्छन् । तर, उनलाई शंका छ, ‘कफीमाथि कतै भ्रम पो हो कि यो ।'

गगन प्रधानले काठमाडौंमा हिमालयन जाभा खोलेपछि उनी खुसी भए । एकपटक त ठमेलस्थित हिमालयन जाभाको एउटा कोठा नै ‘अभि लन्च' भनेर राख्न खोजिएको थियो । किनकि, उनी दैनिकजसो त्यहाँ पुग्थे । आफ्नो नामको कोठा राख्न मानेनन् उनले । यही कफी हाउसमा बसेर उनले कलेजका धेरै काम गरेका छन् । धेरैलाई पीएचडी गराएका छन् । क्याफे जान्छन्, घण्टौं बस्छन्, कफी खान्छन्, विभिन्न विषयवस्तुमाथि सोच्छन् । उनले भने, ‘कफी भनेको चियाजस्तो हतार-हतार खाएर उठ्ने चीज हैन । विस्तार खाएर मजा लिने हो ।'

कहिलेकाहीँ उनी ‘एस्प्रेसो' पनि लिन्छन् । तर, यसले कफी जगत्मा गढबढी ल्याएजस्तो लाग्छ उनलाई । भन्छन्, ‘कफीको जुन ‘सिभिलाइजेसन' थियो त्यो नै बर्बाद पारिदियो ।'

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2