MENU

नेपाली ‘एप' ले बदल्दैछ जीवन

635x90_3

गोपीकृष्ण ढुंगाना शनिवार, कात्तिक १८, २०७४ 9315 पटक पढिएको

Share This

635-X-85_1

अब सवारीसाधन नहुनेले एपको प्रयोगमार्फत थोरै पैसामा अरूकै मोटरसाइकल चढ्न सक्नेछन् । घर, डेरा, होस्टेल खोज्नका लागि घरभेटी डटकमले सहयोग गर्नेछ । तपाईंका विद्युतीय सामान बिग्रिए ‘सजिलो' एपले तपाईंलाई सहज उपाय सुझाइदिनेछ । कृषिका अनेक समस्यामा सहयोग गर्न ‘सोचवेयर' छ ।

 

‘कृषि घर' ले कृषकलाई खेतीपातीका विविध सूचना र मौसमलगायत विज्ञको सुविधा दिनेछ । ‘नेपा एक्सप्रेस' ले इ-कमर्स व्यापार गर्नेलाई ग्राहककहाँ पुग्न सहज बनाइदिन्छ । नेपालमा पदयात्रा गर्नेका लागि ‘हनीगाइड' छ, जसले कम रकम तिरेर सहज यात्रा गर्न सहज बनाउनेछ ।

‘प्रोडक्ट विद स्टोरी' सीमान्तकृत व्यक्ति तथा समूहले गर्ने हस्तकलालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग गर्नेछ । यी सबैका लागि एउटै सर्त हुनेछ, तपाईंसँग मोबाइलसँगै वाईफाई सुविधा । नेपाली युवायुवतीले सर्वसाधारणको सहजताका लागि तयार पारेका यी एपहरूको १० प्रतिशत मात्र पनि उपयोग भएको छैन, तर पनि इन्टरनेट र सहज स्मार्टफोनको उपलब्धतासँगै त्यसले बजार लिने पक्षमा कुनै शंका छैन । सूचना प्रविधिसम्बन्धी संस्था सिडस्टार्स काठमान्डुले एक साताअघि धेरै नेपाली एप्लिकेसनबीच प्रतियोगिता गराउँदा उत्कृष्ट ठानेका एप हुन् यी ।

डेरा र फ्ल्याट मोबाइलमा !
अब कोठा खोज्न हप्तौं घर-घर वा सडक-सडक चहार्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘घरबेटीडटकम' यसमार्फत आफूअनुकूलका कोठा, फ्लाट, घर वा होस्टेल आदि भाडामा लिन र दिन सकिन्छ । यसले कोठा, फ्लाट वा घर खाली हुनुअघि सूचित गर्नेछ भने खोजीमा रहेकाले आवश्यकताअनुसारका कोठा, फ्लाट, घर वा होस्टेल छान्न सक्नेछन् । यसमार्फत घरबेटीसँग तपाईंको सीधा सम्पर्कसमेत हुनेछ । हालसम्म २५० जनाभन्दा बढी प्रयोगकर्ताले यसैमार्फत कोठा पाइसकेको घरबेटीडटकमका कार्यकारी अधिकृत राजन दाहाल बताउँछन् । एप्स प्रयोग गर्न कुनै शुल्क तिर्नुपर्दैन ।

कृषकलाई सजिलो ‘सोचवेयर'
‘सोचवेयर' ले कृषकका काम सहज बनाउनुका साथै उनीहरूको समयसमेत जोगाउँछ । यसले च्याउ फार्म, कुखुरा फार्मलगायतका लागि तापक्रम, आद्रता र पानीको अवस्था आदि मापन गरी सोको जानकारी मोबाइलमा पठाउँछ । यसमार्फत फार्मबाहिर बसेरै पनि फार्मको अवस्था थाहा पाउन सकिन्छ । कानुनी दायराभित्र रहेर कृषिलाई प्रविधियुक्त र गुणस्तरीय बनाउने लक्ष्य यसको रहेको सोचवेयरकी कार्यकारी अधिकृत इदा रिजाल बताउँछिन् । यसमा थप फोटो, प्रोसेसिङ, स्मार्ट सीसीटीभीलगायत अन्य नवीन विशेषतामा काम गरिररहेको उनको भनाइ छ ।

प्राविधिक र सेवाग्राही दुवैलाई सहज
‘सजिलो' ले ग्राहकलाई दैनिक आवश्यक पर्ने रेडियो, टीभी, घडी, मोबाइलजस्ता सामानको मर्मत सेवा एकै ठाउँमा सुलभ रूपमा उपलब्ध गराउँछ र सेवा दिनेलाई पनि ठूलो बजारको पहुँच दिलाउँछ । यसले ग्राहकको जीवनस्तर माथि उठाउन सहयोग गर्छ । ग्राहकले यो सेवा प्रयोग गर्न फोन नम्बर ५१८६०२३ वा ५१८६०२४ मा अथवा सामाजिक सञ्जाल, एसएमएस वा वेबसाइटमार्फत सम्पर्क गर्न सक्नेछन् । यसमार्फत चार महिनामै चार सय ५० घरमा सेवा दिएको सजिलो मर्मत सेवाका सहसंस्थापक सुजित रेग्मी बताउँछन् । एपलाई नेपाली भाषामा सरल ढंगमा बनाउन लागेको बताउँछन् रेग्मी ।

४. कृषकको कृषिघर
महत्वपूर्ण जानकारीलाई एकत्रित गरेर ‘कृषिघर' बाट कृषिसम्बन्धी संस्थानको टोल फ्री नम्बर, फोन नम्बर, बिमा इत्यादिबारे जानकारी लिन सकिन्छ । इन्टरनेट हुँदा कृषिसम्बन्धी अडियो/भिडियो पुस्तक, कालीमाटी बजार भाउ, मौसमसम्बन्धी जानकारी र अन्य कृषि समाचार पनि प्राप्त गर्न सकिन्छ । कृषिसम्बन्धी भिडियो, अडियो र पुस्तक एउटै एपमार्फत उपलब्ध रहेको यसका प्रमुख कार्यकारी अधिकृत अनिश श्रेष्ठ बताउँछन् ।

५. बजार पुर्‍याउने भरिया
सामान किनमेल गर्ने अनलाइन बजार नै हो ‘प्रडक्ट विद अ स्टोरी' तर यो नाफामूलक नभई नितान्त सामाजिक ‘स्टार्टअप' हो । यसमा पैसाको कारोबार प्रत्यक्ष हुन्छ । दुर्गम भेगका जनसमुदायका जनशक्तिको उत्थान गर्ने र कुनाकन्दराका कला र दुःखका कथा विश्वसामु लैजाने साथै नेपाली सीप र मौलिकता अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना यसमा समेटिएको यसका संस्थापक सुशान्त गौतम बताउँछन् ।

६. मोबाइलबाटै बाइक चढ्नुस्
अब सवारीसाधन नहुनेले पनि थोरै पैसा तिरेर बाइकमा यात्रा गर्न सक्नेछन् । यसका लागि तपाईंले ‘टुटल' नामको एप प्रयोग गर्नुपर्नेछ । अहिलेलाई यो सेवा काठमाडौं उपत्यकाभित्र उपलब्ध छ । एपमा दर्ता भएपछि मोटरसाइकल धनीले सूचना राख्ने र सोहीअनुसार कसैलाई सोही गन्तव्यका लागि यात्रुले सूचीकृत गरेपछि यो काम अघि बढ्नेछ । सवारी धनीले मान्छे ओसार्दा पैसा पनि पाउनेछन् । तीन किलोमिटरसम्म ६० रुपैयाँ र त्यसपछि किलोमिटर हेरी कति तिर्ने भन्ने एपले नै तय गर्नेछ ।

अलिकति महँगो लागे पनि सार्वजनिक सवारीमा कोचिनुपर्ने र महँगो र अपारदर्शी ट्याक्सीमा रकम तिर्नु नपर्ने हुनाले यो अनुकूल हुनेछ । प्रयोगवापत रकम सीधै वा डिजिटल कारोबार दुवैबाट गर्न सकिनेछ । कुन मोटरसाइकल कहाँ छ र कहाँ जाँदैछ भन्नेदेखि कसको मोटरसाइकलमा को चढेको छजस्ता सुरक्षाका सवाल पनि एपमा सूचीकृत हुनेछन् । यो सुरुआतमा युवा पुस्तामा लोकप्रिय बनेको छ । भूकम्प र नाकाबन्दीपछि इन्धन बचाउन र आपसमा सहयोग गर्ने उद्देश्यले अरूको बाइकमा लिफ्ट लिने काम भएबाट त्यसैबाट यो एप प्रभावित भएको हो । टुटलको सेवालाई उपत्यकाबाहिर लैजाने सोच बनाएको यसका संस्थापक उत्कृष्ट भट्ट बताउँछन् ।

७. घरमै सामान
ग्राहकको घरदैलोसम्म समान पुर्‍याइदिने तेस्रो पक्ष हो- नेपा एक्सप्रेस । ग्राहकसँगको रकम बुझिदिनेदेखि देशभरका विभिन्न एजेन्ट र शाखामार्फत २४ घन्टाभित्र ग्राहकको घरसम्मै समान पुर्‍याइदिने काम नेपा एक्सप्रेसले गर्छ । काठमाडौंमा मुख्य कार्यालय रहेको यसको पोखरा, इटहरी, धरान, विराटनगर, नारायणघाट, चितवन, बुटवल, दाङ, नेपालगन्ज र महेन्द्रनगर गरी प्रमुख सहरमा शाखा छन् ।

स्थापनाको वर्ष दिनभित्र ५५ हजारभन्दा बढी समान घरदैलोसम्म पुर्‍याउन सफल भइसकेको छ नेपा एक्सप्रेस । सबै सहरमा शाखा विस्तार गर्ने यसको लक्ष्य छ । वेब पोर्टल र मोबाइल एपमार्फत कार्य सम्पादन हुने यस कम्पनीले पूर्णतया अनलाइन प्रणालीमा काम गर्छ । हालसम्म ९० भन्दा बढी व्यावसायिक ग्राहक बनाइसकेको नेपा एक्सप्रेसले आफ्ना प्रयोगकर्ता कम्पनीलाई सम्पूर्ण पार्सलहरूको अवस्था अनलाइन जाँच गर्नुका साथै उनीहरूका ग्राहकहरूका प्रतिक्रिया लिन मद्दत गर्दछ । हालसम्म व्यावसायिक ग्राहककेन्द्रित कम्पनीले मोबाइल एप बनाएसँगै व्यक्तिगत सरसमान र चिठीपत्रहरू पनि गन्तव्यसम्म पुर्‍याइदिने नेपा एक्सप्रेसका प्रमुख कार्यकारी अधिकृत संगम सिंह बताउँछिन् ।

८. मोबाइलबाटै हिमाल चढ्ने !
विश्वभर हिमाली पदयात्री तथा क्लाइम्बरले पर्याप्त जानकारीको अभावमा धेरै समस्या भोग्दै आएका छन् । जानकारीकै अभावमा पदयात्रीले टे«ेकिङका क्रममा धेरै पैसा तिर्नुपर्ने अवस्था छ, तर यो एपले पदयात्रीलाई थोरै खर्चमा राम्रा र रोचक अनुभव बटुल्न सक्ने गरी माउन्टेन चढ्ने अवसर प्रदान गर्नेछ । हनीगाइडले हिमालको मौसम, ट्रेकिङ र क्लाइम्बिङको अनुकूल समयलगायतका बारेमा जानकारी दिनेछ । यसमा बसोवासका लागि होटेल, लज, खानपिनको सूचना उपलब्ध छ । अब चाँडै एपमा एउटै ठाउँबाट बुकिङ गर्न मिल्नेजस्ता सुविधा थपिने हनीगाइडको योजना छ ।

यो एप प्रयोग गर्न कठिन छैन । डाउनलोड गरेपछि आफू जाने क्षेत्र (अन्नपूर्ण बेसक्याम्प, अन्नपूर्ण सर्किट वा माउन्ट एभरेस्ट आदि) किन्नुपर्छ र त्यसपछि बुकिङ गरेपछि अन्य सबै विषयमा प्रवेश गर्ने बाटो खुल्नेछ । १४ महिनामा १० हजार पदयात्रीले यो एप डाउनलोड गरेका छन् । हालसम्म यो एप किनेर चलाउनुपर्छ, यसको मूल्य चार सय १५ रुपैयाँसम्म पर्छ । यसमा फ्लाइट आदिको सुविधा थपेपछि एप निःशुल्क बनाइने हनीगाइडकी सञ्चार अधिकृत दक्षिणा खड्काले बताइन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2