MENU

कमलको सपना

635x90_3

राधा दुलाल कार्की आइतवार, कात्तिक १९, २०७४ 577 पटक पढिएको

Share This

635-X-85_1

 

कमल ! स्कुल जाऔं’, दीपकले भन्यो ।

कमलले उँधो मुन्टो पारेर ‘नजाने’ भन्दै टाउको हल्लायो । दीपक पनि केही नबोली स्कुलतिर लाग्यो । दीपकले बाटाभरि सोच्यो, ‘कमल सधैं पढ्नमा प्रथम हुन्थ्यो । नाम लेखाउने पैसा नभएर होला स्कुल नजाने भनेको ।’

दीपकले आफूसँग भएको पैसा तिरेर स्कुलमा कमलको नाम लेखाइदियो । त्यो पैसा उसले आफ्नो खुत्रुके फुटाएर ल्याएको थियो ।

दीपकले गएर त्यो खुसीको खबर कमललाई सुनायो । कमलले भन्यो, ‘तिम्रो पैसा किन खर्च गरेको ? ’

दीपकले भन्यो, ‘तिमी स्कुलमा नहँदा मलाई ज्यादै नरमाइलो लाग्यो त्यसैले । तिमीलाई खुसी लागेन पढ्न पाएर ? ’

‘खुसी त छु, तर खाना नखाएकै दुई दिन भइसक्यो । भोको पेटले पढ्न सकिँदो रहेनछ । म त ठूलो भएर खेत जोत्छु, बाली लगाउँछु अनि पेटभरि खान्छु । आमा र बहिनीलाई पनि खान दिन्छु’, कमलले भन्यो ।

दीपकले भन्यो, ‘गुरुआमाले तिमीलार्ई पढ्न लिएर आउनु भन्नुभएको छ नि त !’

‘अहँ, म त आमासँग मेला जान्छु ।’

दीपकले भन्यो, ‘त्यसो भए म स्कुलमा पढेर आउँछु, अनि बेलुका तिमीलाई पनि सिकाउँछु । हुन्छ ? ’

‘हुन्छ–हुन्छ’, कमलले खुसी हँदै भन्यो ।

त्यसपछि कमल दिनभरि काम गरेपछि बेलुका दीपककहाँ पढ्न जान थाल्यो । दीपकले पनि कक्षामा पढाएका सबै कुरा कमललाई सिकाउँथ्यो । त्यसो गर्दा दीपकलाई पनि पढाइमा सहयोग पुगेको थियो । कमल स्कुल नगए पनि पुस्तक पढेर प्रश्नको उत्तर सजिलैसँग दिन सक्ने भयो । दीपक कक्षा उत्तीर्ण हुँदै थियो । कमलले पनि दीपकका पुस्तक पढ्दै गयो ।

एक दिन गाउँका माहिला बाले कमलको घरमा आएर भने, ‘कान्छी ! म काठमाडौं जाने भएको छु, कमललाई साथी पठाइदेऊ न है !’

कमलकी आमाले माहिला बालाई भनिन्, ‘यति सानो फुच्चे के साथी हुन्छ र माहिलाबा !”

माहिला बाले कमलकी आमालाई भने, ‘मेरो बोल्ने साथी हुन्छ । सहर पनि हेरेर आउँछ ।’

कमलकी आमाले भनिन्, ‘ए कमल ! जान्छस् त माहिला बासँग सहर ? ’

कमलले भन्यो, ‘तपाईंले जा भने जान्छु ।’

‘माहिला बाका छोरा काठमाडौंमा बसेर पढेका, उता पनि ठूलो घर बनाएका छन् अरे ! राम्ररी गएस् नि !’

कमलकी आमाले गहभरि आँसु पार्दै छोरालाई काठमाडौं जान बिदा गरिन् ।

कमल माहिला बाको पछि लाग्यो । दुई दिनको यात्रापछि कमल र माहिला बा गाडीबाट उत्रिए । माहिला बा ट्याक्सी लिएर काठमाडौंको कपन पुगे तर छोराको घर पत्ता लगाउन सकेनन् । केही वर्षपहिले त पातलो बस्ती थियो । तर आजभोलि त घरैघर । कुन हो कुन छोराको घर, ठम्याउनै नसकिने । उनले धेरै जनालाई सोद्धा पनि बलबहादुर थापालाई चिन्नेहरू फेला पार्न सकेनन् । माहिला बा दिक्क भएर पसलको पेटीमा थ्याच्च बसे ।

‘ला, दाजुको घरको पत्तो लागेन । अब हामी कहाँ जाने माहिला बा ? ’, कमलले सोध्यो ।

‘पहिले त यतैतिर जस्तो लाग्थ्यो । फोन नम्बर भएको भए बलबहादुरलाई बोलाउन हुन्थ्यो । घरमै नम्बर छुटेर दुःख पाउने भइयो कमल !’, माहिला बाले भने ।

कमल घरको भित्तामा लेखिएका नामहरू नियाल्दै निकै पर पुग्यो । एउटा घरको ढोकामा ‘मिस्टर बलबहादुर थापा’ लेखिएको रहेछ । खुसी हुँदै आएर कमलले भन्यो, ‘माहिला बा ! त्यहाँ मिस्टर बलबहादुर थापा लेखेकोे रहेछ ।’

दुवैजना त्यही घरको मूल ढोकामा पुगे ।

‘घरमा को छ हँ ? ’, माहिला बाले ढोका ढकढक्याउँदै भने ।

भित्रबाट आवाज आयो, ‘कसलाई खोज्नुभएको हो ? ’

‘बलबहादुर थापालाई !’

‘ए, गाउँबाट बुबा आउनुभएछ ’, बलबहादुरले माहिला बालाई ढोग गरे ।

माहिला बाले भने, ‘कति बिघ्न घरहरू बनेछन् । घर खोज्दा–खोज्दा पत्ता नलागेर म त झन्डै फर्केकोे । कमलले तेरो घर पत्ता लगायो र पो !’

‘को कमल बुबा ? ’

‘यो तल्लाघरे कान्छाको छोरो हो । सेना र माओवादीको झडप हुँदा कान्छो मेलामा काम गर्दै थियो । गोली हानाहानमा गोली उछिट्टिएर कान्छाको कञ्चटमा लाग्यो र उसको निधन भयो । यो उसैको छोरो हो, कमल । यसकी बहिनी पनि छे । आमाले मेलापात गरेर हुर्काउँदैछे । केटो निकै चलाख रहेछ । यसलाई नल्याएको भए त घर पत्ता लगाउनै मुस्किल पर्ने रहेछ मलाई ।’

बलबहादुरले सोधे, ‘कसरी पत्ता लगायो कमलले ? ’

‘तेरो गेटमा नाम लेखेको रहेछ, त्यही हेरेर ।’

‘कतिमा पढ्छौं कमल ? ’

‘दुई कक्षा पढेर छाडेको । अहिले स्कुल गएको छैन ।’

‘अंग्रेजीमा लेखिएको नाम कसरी थाहा पायौ त ? ’

‘मैले दीपकको किताब पढेर जानेको हुँ ।’

माहिला बाले भने, ‘यो गाउँकै इमानदार र विश्वासिलो केटो हो, त्यसैले त साथी ल्याएको !’

‘बुबा ! मलाई पनि यस्तै इमानदार मान्छेकोे आवश्यकता छ । यसलाई यतै राखेर काम सिकाउँछु, हुन्छ ? ’

‘खै, मैले चार दिनका लागि लिएर जाऊँ है भन्दा त यसकी आमाले गहभरि आँसु पारेकी थिई । उसैलाई सोध्’, माहिला बाले भने ।

‘कमल ! तिमी मसँगै बस । बिहान–बेलुका पढ । दिउँसो मेरो अफिसमा काम गर । बेलाबेलामा घर पनि जाउला । हुँदैन त ? ’

कमलले मुन्टो हल्लायो ।

उसले मनमनै दीपकलाई भन्यो, ‘तिमीलाई धन्यवाद ! अब म मन लगाएर पढ्छु । बहिनीलाई पनि पढाउँछु । आमाको हेरविचार पनि गर्छु ।’      

                                    

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2