MENU

दलहरूका दास बन्नु हुँदैन नयाँ पुस्ता !

सुरेश आचार्य सोमवार, कात्तिक २०, २०७४ 1467 पटक पढिएको

Share This

635-X-85_1

 

नेपालमा पटकपटक राजनीतिक परिवर्तन भएका छन्, तर ती परिणाममुखी भएनन् । पछिल्लो ६५ वर्षमा थरीथरीका संविधान प्रयोग गरिएको हो, तर कुनैले काम गरेनन् । पुराना दलका चुनावी घोषणापत्र, विधान वा ती दलका नेताहरूको हुँकार सुन्ने र पढ्ने हो भने लाग्छ नेपालको राष्ट्रिय एकीकरण गरेका र यो देशलाई अहिलेसम्म जीवित राख्ने पनि वामपन्थी-साम्यवादी वा लोकतान्त्रिक खेमाका हुन् । राष्ट्र निर्माणलाई अस्वीकार गरेर राजनीति गर्ने नैतिक आधार यिनीहरूमा नहुनुपर्ने हो । ‘देशै नरहे हामी कहाँ रहन्छौं ? ’ नयाँ पुस्ताका लागि पनि यो गम्भीर भएर सोच्नुपर्ने कठिन प्रश्न हो ।

नेपाल र नेपाली जनताले इतिहासमा कहिल्यै पनि विदेशीको उपनिवेश हुनुपरेन । नेपालले सदैव आफ्नो स्वतन्त्र अस्तित्व, सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वतन्त्रता कायम राख्दै आएको छ । विश्वकै सबैभन्दा विशाल आबादी र अर्थतन्त्र भएका चीन र भारतका बीचमा अवस्थित निर्धन राष्ट्रको राष्ट्रिय एकीकरणलाई आत्मसात गर्न नसक्नेहरूले कसरी आफूलाई देशभक्त प्रमाणित गर्न सक्छन् ? ६० वर्ष उमेर नाघेका समूहका अहिलेका नेताले नै नेपाली जनताको सदासयता र मतदाताको सोझोपनको निरन्तर फाइदा उठाइरहेका छन् । यिनले बुझ्नुपर्छ- आजको पुस्ता राजनीतिक वाद र रुमानी क्रान्तिकारितामा विश्वास गर्दैन, यो नवीन पुस्ता स्वतन्त्रता, सुशासन, न्याय, सुरक्षा, अवसर, आत्मोन्नति, विकास र समृद्धिमा विश्वास गर्दछ ।



विभिन्न कालखण्डमा भएका परिवर्तनको उपलब्धिस्वरूप जनताद्वारा निर्मित नेपालको नयाँ संविधान जारी भएपछि नेपालको इतिहासमै पहिलोपटक संघीय राज्य प्रणालीको कार्यान्वयन हुन लागेको छ । यसकारण आसन्न मंसिर १० र २१ को आमनिर्वाचन हरेक दृष्टिले नयाँ पुस्ताका लागि महत्वपूर्ण र निर्णायक छ । यसैले राजनीतिमा युवाहरूको सशक्त हस्तक्षेप हुन जरुरी छ ।

विदेशी भूमिमा रगत-पसिना बगाउने झन्डै ५० लाख युवायुवती र तिनका परिवारजनले जनतालाई रोजगार, सेवा र सुरक्षासमेत दिन नसक्ने दल र तिनका उम्मेदवारलाई कुन आशा र अपेक्षाका साथ अब फेरि मतदान गर्ने ?

नेपालकै उदाहरण लिने हो भने पनि २००७ देखि २०४७ सम्म पहिलोपटक देशको प्रधानमन्त्री नियुक्त हुँदा अधिकांश व्यक्तिहरू ३३ देखि ३७ वर्षको उमेरका थिए । उनीहरूको कार्यक्षमता प्रशंसनीय नै थियो । जब ती मान्छे नै पटकपटक दोहोरिन थाले, त्यसपछि उनीहरूको प्रभावकारिता घट्दै गयो । २०४७ सालपश्चात् ४५ देखि ८७ वर्षको उमेरका प्रधानमन्त्री रहे । अहिले त २०१५ सालपछि जन्मेको पुस्ता राजनीतिको मुकाममा पुग्नै सक्तैनन् । यो पुस्तालाई सत्ता हस्तान्तरण गर्न नचाहने पुरानाहरूको प्रवृत्तिलाई नयाँ पुस्ताका मतदाताले स्वीकार गर्नु हुँदैन । नत्र, नयाँ पुस्ताले चाहेको प्रगति र आर्थिक-सामाजिक रूपान्तरण, अहिलेको र भावी पुस्ताको जीवनकालभर सम्भव देखिँदैन ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिका आगामी पाँच वर्ष नेपालका लागि अत्यधिक चुनौतीपूर्ण छन् । त्यसबेलाका चुनौतीहरूलाई सहजै अवसरमा रूपान्तरण गर्न सक्ने स्थिर र सशक्त युवा नेतृत्वको सरकार आवश्यक छ । अब राजनीतिक विवाद र कोरा नारामा समय खेर फाल्ने सुविधा नेपालीलाई छैन । यो त राष्ट्रिय समृद्धि र नवनिर्माणको स्पष्ट मार्गचित्र कार्यान्वयन गर्नुपर्ने बेला हो । नवीन पुस्ताको चाहनाबमोजिम २५० वर्षदेखिको एकात्मक राज्य प्रणालीको विधिवत् अन्त्य भई नेपाल नयाँ चरणको रूपान्तरणमा प्रवेश गर्नेछ । जुनबेला तात्कालिक चुनौतीहरू ज्यू“का त्यूँ रहनेछन् भने नेपाललाई युगान्तकारी बाटो हिँडाउने जिम्मेवारी नेतृत्वकै हुनेछ ।

हिमाल, पहाड र तराईमधेसका नेपालीले आफ्नो जीविकोपार्जनका क्रममा देश विकासको लागि चुहाएको पसिनाको मूल्य अनमोल छ । खासगरी हाम्रा देशका किसानले बीउविजन, मलखाद र सिँचाइ अभावमा पनि दुःखकष्ट गरी खेतबारीमा उत्पादन गरेर, हाम्रा श्रमिक वर्गले पसिना चुहाएर न्यून पारि श्रमिकमा बनीबुतो गरी आफ्ना सन्ततिलाई भरणपोषण र शिक्षादीक्षा दिएकै छन् ।

हाम्रा सेना र प्रहरी जवानले विकट भूभागमा होस् या भूकम्पका बेला अदम्य साहसका साथ आफूलाई सुम्पेको काम गरेका छन् । तिनीहरूले देशको सिमानाको रक्षा, कठिनतम भूभागमा राजमार्ग र पूर्वाधारको निर्माण, विपद् व्यवस्थापन तथा जीउधनको रक्षा गर्दै आएका छन् । नेपालको अर्थतन्त्र र विकासको गति कमजोर भए पनि हाम्रा उद्यमी, सिल्पी, यातायात, निर्माण व्यवसायीहरू र परदेशमा बसोवास गर्ने गैरआवासीय नेपालीका साथै वैदेशिक रोजगारमा जाने युवायुवतीले मातृभूमिको अर्थतन्त्र र विकास टिकाएर राख्न ठूलै गुण लगाएका छन् । हाम्रा प्राविधिकहरूका ज्ञान र सीपबाट देश विकासको आधारशिला पाएको छ । यिनीहरूको विवेक र मेहनत नेपाललाई प्रगतिपथमा अघि बढाउने टेको बनेको छ ।

भ्रष्टाचारको आहालमा डुबेका, अख्तियारले डाम्न लागेका वा डाम्ने तयारी गरेका, जनताको करबाट उठेको राज्यकोषको करोडौं रुपैयाँबाट स्वास्थ्योपचार गर्ने बानी परेका, सुरक्षा ‘थ्रेट’ नभई वर्षौंदेखि सुरक्षाका नाममा व्यक्तिगत सुविधा लिन पल्केका र जानीजानी मुलुकको संक्रमणकाल लम्ब्याएर राजनीतिक अस्थिरता कायम राख्नेहरूबाट मुलुकमा सकारात्मक परिवर्तनको अपेक्षा गर्न सकिँदैन । विदेशी भूमिमा रगत-पसिना बगाउने झन्डै ५० लाख युवायुवती र तिनका परिवारजनले जनतालाई रोजगार, सेवा र सुरक्षासमेत दिन नसक्ने दल र तिनका उम्मेदवारलाई कुन आशा र अपेक्षाका साथ अब फेरि मतदान गर्ने ?

आसन्न आमचुनावमा ६० वर्षभन्दा कम उमेर समूहका ८० प्रतिशत जनताको प्रतिनिधित्व गर्ने नयाँ पुस्ताका उम्मेदवारलाई विजयी गराउनु आवश्यक छैन र ? देशभरिका मतदाताले आफू कुनै राजनीतिक पार्टीको ब“धुवा मजदुर वा दास होइन, एक स्वतन्त्र नागरिक र एक निर्बन्धन मतदाता हो भन्ने मनन गर्नु आवश्यक छ । जुनसुकै पार्टीका किन नहोऊन्, नया“ सोच, विचार, जोस भएका नया“ पुस्ताका उम्मेदवारलाई विजयी गराउनेतर्फ स्वतस्फूर्त अभियान घरघरबाट सुरु गर्नैपर्छ । होइन भने ‘घुम्दै फिर्दै रुम्जाटार !’ मात्र हुन्छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2