MENU

शिल्पीमा लाइन

635x90_3

विनीता मरहट्टा सोमवार, कात्तिक २०, २०७४ 975 पटक पढिएको

Share This

635-X-85_1

 

काठमाडौं : प्रतिस्पर्धाको युग, मान्छेलाई जन्मेदेखि प्रतिस्पर्धा गर्न सिकाइन्छ । कसले चाँडै पढ्ने, कसले धेरै नम्बर ल्याउने, त्यसलाई जित्ने, यसलाई जित्ने । यस्तै प्रतिस्पर्धामा जिन्दगी बितिसक्छ । यही प्रतिस्पर्धाको एउटा कथा हो नाटक ‘लाइन’ । शिल्पी थिएटरमा अमेरिकी लेखक, कलाकार तथा निर्देशक इजरेल होरोभित्जको नाटक ‘लाइन’ मञ्चन भइरहेको छ । अमेरिकाको परिवेशमा लेखिएको भए पनि यो नाटक हरेक देशका लागि उत्तिकै सान्दर्भिक छ । ‘लाइन’ अर्थात् पंक्ति ।

मानिसले पंक्तिमा पनि आफू पहिलो हुने प्रतिस्पर्धा गर्न छोड्दैन । लाइनमा बसेका पाँचजना व्यक्तिको पहिलो हुने द्वन्द्वमा नाटक केन्द्रित छ । लाइन केका लागि हो भन्ने थाहा छैन तर पहिलो हुन अनेक खालका प्रतिस्पर्धा हुन्छन् । विसंगतिवादी नाटकको विशेषता नै यही हो, नाटकले कुनै विषयलाई प्रस्ट अर्थ लगाउँदैन । विसंगतवादी रंगमञ्चलाई रोजेर निर्देशक आकांक्षा कार्कीले नाटकको अनुवाद र निर्देशन गरेकी हुन् । उनले नाटकमा आफ्नै अनुभव पनि समेट्न खोजेकी छन् । उनी आफैं असहज परिस्थितिबाट गुज्रिरहेका बेला यो नाटकसँग ठोक्किन पुगिन् ।

 

परिस्थितिलाई आफू अनुकूल परिचालन पार्न सक्ने प्रवृत्तिसँग उनले सामना गरेकी छन् । कथा घेराको प्रस्तुतिमा कलाकारको छनोट उपयुक्त छ । कलाकारले चरित्र अनुरूपको भूमिका निभाएका छन् । नाटकमा राजकुमार पुडासैनी, सुदाम सिके, लुःनिभा तुलाधर, सन्देश शाक्य र सरोज अर्यालको अभिनय छ । अभिनयसँगै कलाकारले आफ्नो गायन क्षमता पनि नाटकमा प्रस्तुत गरेका छन् । विश्व काफ्ले र सुशान्त चालिसेको वाद्यवादनले नाटकलाई संगीतमय बनाएको छ ।

शारीरिक कसरत नै हुने गरी कलाकारले नृत्य प्रतिभा देखाएका छन् । सुदामको अभिनयमा विसंगतवाद अनुभव गर्न सकिन्छ । राजकुमारले नाटकको सुरुवात प्रभावशाली बनाएका छन् । प्रायः चर्को संवाद बोलिरहने सरोज यो नाटकमा फरक देखिएका छन् । सरोजको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन दिएको छ । लुःनिभाको नृत्य र सन्देशको भद्र शैलीको फट्याइँ नाटकका रमाइला पक्ष हुन् ।

विदेशी नाटकलाई अनुवाद गर्दा आफ्नो परिवेशअनुसार ढालिन्छ । तीनमा प्रयोग भएका शब्दलाई लिँदा पनि आफ्नो समाज र दर्शकलाई ध्यान दिनपर्छ । ‘लाइन’ मा प्रयोग भएका केही अपाच्य शब्द दर्शकलाई नमिठो लाग्छ । यसले नाटकलाई कमजोर बनाएको छ । नाटक मंसिर ३ गतेसम्म मञ्चन हुनेछ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2