MENU

केनेडी र ख्रुस्चेभ, ट्रम्प र पुटिन

केशवप्रसाद भट्टराई मंगलवार, कात्तिक २१, २०७४ 3432 पटक पढिएको

Share This

635-X-85_1

अमेरिकाको यो अवस्थाले विश्वभर प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताका कालजयी मूल्यहरू नै प्रतिरक्षात्मक हुँदै गएका छन्

गएको अक्टोबर २१ तारिखका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सुरक्षा एजेन्सीहरूलाई ५४ वर्षअघि हत्या गरिएका अमेरिकाका ३५औं राष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी सबै फाइलहरू सार्वजनिक गर्न निर्देशन दिए । तर सीआईए र एफबीआईलगायतका सुरक्षा एजेन्सीहरूले राष्ट्रिय सुरक्षा, कानुन र व्यवस्था तथा विदेश सम्बन्धमा पर्ने असरलाई मध्यनजर गरी केही अति संवेदनशील फाइल गम्भीर अध्ययन गरेर मात्र तिनलाई सार्वजनिक गर्दै जान अनुमति मागे ।

KESHAV-prd-bhattarai-copy_22ट्रम्पले २६ अक्टोबरका दिन आगामी एक सय ८० दिनभित्र गोपनीय रहेका त्यस्ता कागजातको मिहिन अध्ययन गर्न समय दिएका छन् ।ट्रम्पको त्यस्तो आदेशपछि २६ अक्टोबरमा त्यहाँको सरकारी अभिलेखालयले केनेडीको हत्यासम्बन्धी दुई हजार आठ सय ९१ र यही नोभेम्बर ३ मा अरू त्यस्ता छ सय ७६ कागजातहरू सार्वजनिक गरेको छ ।

२७ अक्टोबरमा वासिंगटन पोस्टले उल्लेख गरेअनुसार केनेडीको हत्यासम्बन्धी अझै ३० हजार दस्ताबेज सार्वजनिक हुन बाँकी छ ।स्मरणीय छ, २२ नोभेम्बर, १९६३ को मध्यदिनमा टेक्सासको डलास सहरमा एउटा खुला कारबाट लाखौं जनताको स्वागत ग्रहण गर्दै अघि बढिरहेको बेलामा अकस्मात् केनेडीमाथि गोली प्रहार भयो । उनी त्यही ढले । तत्काल अस्पताल पुर्‍याइयो, तर गोली लागेको आधा घन्टामा नै उनलाई मृत घोषणा गरियो । ली हार्भे ओसवाल्ड नामको एउटा अमेरिकी जलसेनामा कार्यरत व्यक्तिले केनेडीको हत्या गरेको थियो ।

 



केनेडीको हत्या हुनुअघि सीआईएले क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोको बारम्बार हत्या प्रयास गरेको थियो र एउटा रिपोर्टमा क्यास्ट्रोले आफ्नो हत्या प्रयासमा संलग्न रहेका अमेरिकीहरू पनि सुरक्षित रहन नसक्ने चेतावनी दिएको एउटा रिपोर्टमा उल्लेखित छ । ओसवाल्ड क्युबा र सोभियत अधिकारीहरूसँग सम्पर्कमा रहने गरेको सोभियत संघमा बस्नका लागि उसले भिसा आवेदनसमेत दिएको थियो ।

सीआईएका निर्देशकसहितका उच्चाधिकारीहरूले केनेडीलाई क्यास्ट्रोले क्युबामा बलियो पकड कायम नराख्दै उनीविरुद्ध आक्रमण गर्न नसघाइए त्यसले मध्य र दक्षिण अमेरिकामा साम्यवादको लहर आउने बताएका थिए । 

सार्वजनिक भएका कागजातअनुसार ओसवाल्ड १९५८को अक्टोबरमा ब्रिटेन हुँदै फिनल्यान्ड पुगेको थियो र हेलसिन्कीस्थित सोभियत दूतावासबाट भिसा लिएर मस्को गएको थियो । उसले सोभियत अधिकारीहरूसमक्ष सोभियत संघको नागरिकता लिएर त्यहीं बस्ने इच्छासमेत जाहेर गरेको थियो । १९५९ मा त उसले भागेर सोभियत संघ जाने प्रयास पनि गरेको थियो ।

केनेडीको हत्याको दोस्रो दिन, २४ नोभेम्बर १९६३ मा ओसवाल्डलाई प्रहरीले सिटी जेलबाट काउन्टी जेलमा स्थानान्तरण गर्दै थियो । युवा र सुन्दर छविका कारण अमेरिकी इतिहासकै र खास गरेर महिलाहरूमाझ सर्वाधिक लोकप्रिय राष्ट्रपतिको हत्याराको जेलसारको घटनालाई लाखौं मानिसले टेलिभिजनमा हेरिरहेका थिए । त्यसैबेला डलासको एउटा नाइट क्लबका सञ्चालक ज्याक रुबीले सबैको दृष्टिसामु ओसवाल्डलाई गोली हानेर मारिदिए । गहन वेदना र आक्रोशको अवस्थामा आफूले ओसवाल्डलाई गोली हानेको र आफू कुनै षड्यन्त्रमा सामेल नभएको रुबीको भनाइ थियो । ओसवाल्ड हत्याको मुद्दा किनारा नलाग्दै क्यान्सरको कारण रूबीको मृत्यु भयो ।

२६ अक्टोबरमा सार्वजनिक भएका कागजातहरूमध्ये ब्रिटिस दैनिक दी टेलिग्राफले एउटा दस्ताबेजको प्रतिलिपि छापेको छ, जसअनुसार अमेरिकाको संघीय जाँच ब्युरोले सीआईएको लन्डनस्थित एक अधिकारीले पठाएको पत्र पनि छ । सो अनुसार बेलायतको जासुसी संगठन एमआई ५ ले सीआईएलाई उपलब्ध गराएको जानकारीअनुसार केनेडीको हत्या हुनुभन्दा ठीक २५ मिनेटअघि क्याम्ब्रिज न्युज दैनिकका एक वरिष्ठ संवाददातालाई कुनै अज्ञात व्यक्तिले फोन गरेर छिट्टै एउटा विष्मयकारी समाचारका लागि लन्डनस्थित अमेरिकी दूतावासमा सम्पर्क राख्न भनेको थियो ।

उता, डिसेम्बर १९६६ मा एफबीआईका निर्देशक जे. एड्गर हुभरले ह्वाइट हाउसमा पठाएको एउटा स्मरण पत्रमा सोभियत कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले केनेडीको हत्यामा अमेरिकाका उग्र दक्षिणपन्थीहरू र तत्कालीन उपराष्ट्रपति लिन्डन बी. जोन्सनलको हात भएको उल्लेख गर्ने गरेको बताएको छ । तर अधिकांश फाइलहरूले सोभियत र क्युबाली जासुसी संगठनतर्फ नै इशारा गरेको देखिन्छ ।

केनेडीको हत्या र केनेडी खु्रश्चेभ सम्बन्ध

२८ सेप्टेम्बर १९६३ मा ओसवाल्डले मेक्सिकोस्थित सोभियत दूतावासमा केजिबीका अधिकारी भ्यालरी कोस्टिकोभासँग अड्कीअड्की रूसी भाषामा गरेको कुराकानीसम्बन्धी अभिलेख हालै सार्वजनिक भएको छ । कोस्टिकोभा सोभियत संघको जासुसी संगठन-केजीबीको राजनीतिक हत्यासम्बन्धी विभागको अधिकारीसमेत रहेको पुष्टि भएको छ ।

एउटा क्युबाली जासुसले मेक्सिकोस्थित क्युबाको दूतावासमा भएको जाँचबुझको क्रममा ओसवाल्ड विलक्षण सुटर भएको समेत उल्लेख भएको बारे एउटा अमेरिकी इतिहाससम्बन्धी वेबसाइटमा हालै राखिएको छ ।

ट्रम्पको आदेशपछि र त्यसअघि प्रकाशित गोप्य फाइलहरूमा उल्लेखित विवरणहरूले ओसवाल्डको सोभियत संघ र क्युबाको जासुसी संस्थाहरूसँगको सम्बन्धलाई अझ स्पष्टसँग बुझ्न क्यास्ट्रोको हत्या प्रयासमा अमेरिकी संलग्नता र केनेडी ख्रुश्चेभ सम्बन्धको स्तरबारे पनि केही प्रकाश पारिनु आवश्यक देखिन्छ-

केनेडी राष्ट्रपति हुनुभन्दा ठीक दुई वर्षअघि ८ जनवरी १९५९ मा अमेरिकी भूमिबाट करिब एक सय ६१ किलोमिटर परको क्युबामा अमेरिकानिकट फुल्गेन्सियो बाटिस्टाको सत्ता पल्टाएर ३३ वर्षीय फिडेल क्यास्ट्रोको कम्युनिस्ट सेनाले सत्ता कब्जा गरेको थियो । केनेडीको शपथ ग्रहणलगत्तै सीआईएका उपनिर्देशक रिचार्ड बिसेलले राष्ट्रपतिलाई ग्वाटेमालामा सीआईएले निर्वासित क्युबालीलाई क्युवामाथि आक्रमण गर्ने प्रशिक्षण दिइरहेको जानकारी गराएको बारे चर्चित अमेरिकी पत्रकार पिटर बेनर्टले दी इकारस सिन्ड्रोम-अ हिस्ट्री अफ अमेरिकन हुब्रिस नामक पुस्तकमा उल्लेख गरेका छन्।
सीआईएका निर्देशकसहितका उच्चाधिकारीहरूले केनेडीलाई क्यास्ट्रोले क्युबामा बलियो पकड कायम नराख्दै उनीविरुद्ध आक्रमण गर्न नसघाइए त्यसले मध्य र दक्षिण अमेरिकामा साम्यवादको लहर आउने बताएका थिए ।

आन्तरिक राजनीतिक वाध्यता र आफ्ना सहयोगीको दबाबमाझ क्यास्ट्रोविरोधी विद्रोहीहरूलाई आक्रमणको आदेश दिन केनेडी बाध्य भए । १७ अप्रिल १९६१मा सीआईए प्रशिक्षित करिब दुई हजार निर्वासित क्युबालीहरूले ‘बे अफ पिग्स’ को किनाराबाट क्युवामाथि आक्रमण गरे । आक्रमणको दुई दिनमै क्यास्ट्रोको सेनाबाट उनीहरू पराजित भए ।

उक्त आक्रमण अकल्पनीय रूपमा मूर्खतापूर्ण रणनीतिको सिकार भएको विश्लेषकहरूले उल्लेख गरेका छन्-पहिलो त सीआईएले प्रतिबद्ध क्यास्ट्रो र कम्युनिस्टविरोधी लडाकुहरूलाई पन्छाएर बाटिस्टा समर्थकहरूलाई प्रशिक्षण दिएको थियो । आक्रमण सफल भएमा बाटिस्टाको पुनः सत्तारोहणलाई सहज बनाउन स्वयं बाटिस्टाको दबाबमा त्यसो गरिएको थियो । अर्को, आफ्नै सेनासहित राज्यसत्ता नियन्त्रण गरेर बसेको कम्युनिस्ट शासनविरुद्ध दुई हजारको सानो संख्याको कुनै व्यक्ति विशेषप्रति बफादार सेनालाई कुनै ब्याकअपबिनै आक्रमण गर्न पठाउनु थियो । स्मरणीय छ, ‘ब्याकअप’ को लागि अमेरिकी हवाई सेनालाई पठाउने सीआईए र अमेरिकी सुरक्षा अधिकारीहरूको आग्रहलाई केनेडीले अस्वीकार गरेका थिए ।

त्यसले गर्दा बे अफ पिग्स लज्जास्पद पराजयको दृष्टान्त बन्यो । उक्त घटनाले केनेडीलाई तोडेको देखिन्छ । अमेरिकी सेनाध्यक्ष लाइमन लेम्निचरले पछि आएर केनेडीको उक्त कार्यलाई निन्दनीय र आपराधिक कार्य समेत बताए । आइजनहावरले त्यसलाई चरम कायरतापूर्ण भनेर आलोचना गरे । त्यस घटनापछि कयौं दिनसम्म कार्यालय समयपछि केनेडी आफ्नो ओच्छ्यानमा घोप्टो परेर रूने गरेको उनकी पत्नी ज्याक्लिन केनेडीले बताएको बारे विलियम लोइस्टनबर्गले अमेरिकन प्रेसिडेन्ट नामक पुस्तकमा लेखेका छन् ।

रुजवेल्ट, ट्रुमन, आइजनहावर जस्ता घाग र दृढ इच्छाशक्ति भएका राष्ट्रपतिहरूको उत्तराधिकारीको रूपमा आएका केनेडीको व्यक्तित्वका ती पाटाहरूबारे सोभियत नेता निकिता ख्रुस्चेभले मिहिन अध्ययन गरिरहेकै थिए । त्यसैले केनेडीको अनुभवहीनता र रणनीतिक अकुशलताबाट फाइदा लिने उद्देश्य स्वाभाविकरूपमा खु्रस्चेभले राखे ।

दोस्रो विश्व युद्धपछि अमेरिका, सोभियत संघ, ब्रिटेन र फ्रान्सले चार भाग लगाएर बर्लिनमा शासन गरिरहेका थिए । अमेरिका, बेलायत र फ्रान्सको नियन्त्रणमा रहेको भागलाई पश्चिम बर्लिन भन्न थालियो । पछि पश्चिम बर्लिनलाई पश्चिम जर्मनीको प्रशासनअन्तर्गत राखियो र सोभियत नियन्त्रणमा रहेको पूर्वी बर्लिन सोभियत नियन्त्रणकै पूर्वी जर्मनीअन्तर्गत थियो । तर पश्चिम बर्लिन वरीपरीबाट पूर्वी बर्लिन र पूर्वी जर्मनीबाट घेरिएको थियो ।

बे अफ पिग्स घटनालगत्तै जुनमा भियनामा सोभियत नेता खु्रस्चेभ र अमेरिकी राष्ट्रपति केनेडीबीचको शीर्ष वार्तामा ख्रुस्चेभले केनेडीलाई एउटा अल्लारे केटालाई जस्तै छाँसेको र हेपेको स्वयं केनेडीले बताएका छन् । ब्रिटिस प्रधानमन्त्री हेरोल्ड मयाक्मिलनले पनि आफ्ना सहयोगीहरूसँग कुरागर्दै केनेडी साह्रै काँचा र कमजोर नेतृत्व क्षमताका भएको बताएकोबारे लोइस्टनवर्गको पूर्वोक्त पुस्तकमा उल्लेख छ । भियना बैठकमा ख्रुस्चेभले बर्लिनका सम्बन्धमा पश्चिम बर्लिनमाथिको अमेरिका, बेलायत र फ्रान्सको नियन्त्रण अन्त्य गरेर बर्लिनलाई स्वतन्त्र सहर बनाउने प्रस्ताव राखे । सो प्रस्तावलाई अस्वीकार गरेमा पश्चिम बर्लिनमाथि आक्रमण गर्ने र पश्चिम बर्लिनविरुद्ध नाकाबन्दीसमेत गरिने चेतावनी दिए । १३ अगस्ट १९६१मा खु्रस्चेभले पूर्व र पश्चिम बर्लिनबीचको सीमानामा पर्खाल लगाउन थालियो ।

१६ अक्टोबर १९६२ मा अमेरिकी जासुसी विमान यु-२ ले क्युबामा सोभियत संघले अमेरिकालाई लक्ष गरेर मध्यम दूरीका क्षेप्यास्त्र तैनाथ गरिरहेको जानकारी दियो । तत्काल त्यस्तो तैनाथीसम्बन्धी निर्माणाधीन भौतिक पूर्वाधारविरुद्ध हवाई आक्रमणदेखि आणविक प्रहारसम्मका सम्भावनाबारे अमेरिकी प्रशासन पक्ष-विपक्षमा रह्यो । अमेरिका-सोभियत सम्बन्धमा एकपछि अर्को तनाव थपिँदै जाँदा २७ अक्टोबर १९६२ मा सोभियत संघले क्युबाबाट क्षेप्यास्त्र प्रहार गरेर एउटा अमेरिकी जासुसी विमान खसाल्यो । त्यसका पाइलट मारिए ।

उक्त आक्रमणविरुद्ध कठोर प्रतिकार गरिने निर्णय अमेरिकालगायतका मित्र राष्ट्रहरूले गरे । लगत्तै सोभियत नेता ख्रुस्चेभ्ले केनेडीसमक्ष भूमध्य सागरमा तैनाथ पोलारिस पनडुब्बी र टर्कीमा तैनाथ क्षेप्यास्त्र प्रणाली हटाएमा क्युवामा कुनै क्षेप्यास्त्र प्रणाली स्थापना नगरिने प्रतिबद्धतासहितको पत्र पठाए । ख्रुस्चेभको प्रस्तावमा दुई मुलुकबीच गोप्य सहमति भयो ।

प्रजातान्त्रिक प्रणालीका आन्तरिक अभावमध्ये पनि बर्लिन र क्युवा संकटमा सोभियत संघका कमजोरी प्रदर्शित भएको दुवै पक्षका त्यस्ता कमजोरीले दोस्रो विश्व युद्ध पछाडिको युरोपको दुई ध्रुवमा भएको विभाजनलाई नै थप बल प्रदान गर्‍यो भन्ने मत पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले आफ्नो पुस्तक डिप्लोमेसीमा उल्लेख गरेका छन् ।

रुजवेल्ट, ट्रुमन नीति र केनेडी-ख्रुस्चेभ सम्बन्ध माझ ट्रम्प-पुटिन सन्दर्भ

ह्वील चेयरमा बसेर अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टले दोस्रो विश्वयुद्धको सफल नेतृत्व गरे । युद्ध निष्कर्षमा नपुग्दै अप्रिल १९४५मा उनको निधन भयो । शपथग्रहणको दिन मात्रै राष्ट्रपति रुजवेल्ट लाई भेटेका र आणविक युद्धसामग्री र सोभियत संघको रणनीतिबारे आफ्ना पूर्वाधिकारीबाट कुनै ब्रिफिङ समेत लिन नपाएका रुजवेल्टका अनुभवहीन उत्तराधिकारी ह्यारी ट्रुमनको नेतृत्व क्षमता सम्बन्धमा अमेरिकाभित्र र बाहिर सघन चिन्ता र चासो थियो । युद्ध टुंगिएको थिएन । युरोप क्षतविक्षत् र मनोवलहीन थियो । जापानले आत्मसमर्पण गर्न अस्वीकार गरिरहेको थियो ।

जापानविरुद्ध अणुबम प्रहार भयो र युद्ध अन्त्य भयो । राष्ट्र संघको स्थापना, युरोपको पुनर्निर्माणको लागि मार्शल प्लानको रूपमा मानव इतिहासकै सबैभन्दा ठूलो पुनर्निर्माण परियोजना घोषणा र त्यसको असाधारण रूपमा सफल कार्यान्वयन ट्रुमन नेतृत्वमा सम्भव भयो । उनले एसिया, अफ्रिका र दक्षिण अमेरिकामा कृषि, स्वास्थ्य, शिक्षा, यातायात जस्ता विकासका पूर्वाधारहरू निर्माणमा विराट परिमाणको सहयोगको उद्देश्यले २० जनवरी १९४९ मा आफ्नो सपथ ग्रहण समारोहमानै ‘प्वाइन्ट फोर प्रोग्राम’ घोषणा गरे ।

सो घोषणा गर्दै ट्रुमनले विश्वभर अभाव र गरिबीको पीडामा बाँचिरहेका मानिसलाई आशा बाँड्दै भने-आज पहिलोपटक मानव समुदायसँग आफ्ना अभाव र पीडाहरू अन्त्य गर्न पर्याप्त ज्ञान, विज्ञान, प्रविधि र सीप उपलब्ध छ । ट्रुमन घोषणापछिका वर्षहरूमा विश्वका अर्बौं मानिसहरू विज्ञान र प्रविधिको उन्नत उपयोगबाट रोग, भोक र गरिबीबाट मुक्त भए । स्मरणीय छ, मानव जातिलाई रोग, भोक र गरिबीबाट मुक्ति दिने ज्ञान, विज्ञान र प्रविधिको आविष्कार, उपयोग र विकासमा सबैभन्दा ठूलो योगदान अमेरिकाको रह्यो ।

१९५३ मा ड्वाइट आइजनहावर अमेरिकाका ३४औं राष्ट्रपति भए । बीसौं शताब्दीको आरम्भदेखि उनीबराबर योग्यता र अनुभव भएको र त्यति विख्यात अर्को कुनै व्यक्ति अमेरिकी राष्ट्रपति नभएको अमेरिकी इतिहासले बताउँछ । पहिलो र दोस्रो विश्व युद्धका महायोद्धा हुँदै पाँचतारे जनरल, अमेरिकी सेना प्रमुख, नाटोको सर्वोच्च सेनापतिहुँदै राष्ट्रपति भएका आइजनहावर राष्ट्रपति बनेपछि उनको सैनिक व्यक्तित्वलाई लिएर अमेरिका र विश्वभर चिन्ता थियो । तर युद्ध मैदानमा रहेर असंख्य मृत्यु, पीडा, कष्ट, बेदना, छटपटी देखेका र भोगेका आइजनहावरले निर्वाचन अभियानको क्रममा नै घोषणा गरेका थिए - ‘अमेरिकी जनता विजय होइन शान्ति चाहन्छन् ।’ आफू राष्ट्रपति भएमा आफैं कोरिया पुगेर शान्ति स्थापना गर्ने प्रतिबद्धता उनले जाहेर गरे ।

१६ अप्रिल १९५३ मा अमेरिकी सम्पादक समाजसमक्ष सम्बोधन गर्दै आइजनहावरले तत्कालीन समयको लागि नयाँ र क्रान्तिकारी धारणा अघि सारेका थिए । उनका अनुसार ‘संसारका कुनै मानिस अर्को कसैको शत्रु हुनै सक्दैन । हरेक मुलुकको सुरक्षा र कल्याण अन्य मुलुकहरूको सहयोग र विश्वासमा निर्भर हुन्छ । हरेक मुलुक आफ्नो राजनीतिक र आर्थिक प्रणाली रोज्न स्वतन्त्र छ र कुनै अर्को मुलुकलाई कुनै राजनीतिक र आर्थिक व्यवस्था अवलम्बन गर्न दबाब दिने अधिकार छैन । दिगो शान्ति हातहतियारको होडबाजीमा नभएर मुलुकहरूबीचका सम्बन्धहरू परस्पर विश्वास र न्यायमा आधारित हुन्छन् ।’

रुजवेल्टदेखि केनेडीसम्मका कार्यकालका माथिका केही सन्दर्भहरूसँगै त्यसपछि रोनाल्ड रेगन र जर्ज हर्वर्ट वाकर बुस बाहेकका कुनै राष्ट्रपतिले अमेरिकाको विश्वव्यापी शक्ति, प्रभाव र सम्मानको नेतृत्व गर्न नसकिरहेको सन्दर्भमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प निराशाजनक छविका साथ प्रस्तुत भएका छन् । प्रश्न उठ्न सक्छ-कतै रूस उनलाई अर्को केनेडीको रूपमा व्यवहार त गर्दै छैन ? 

सीआईए र फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टनलाई हराउन र डोनाल्ड ट्रम्पलाई जिताउन विभिन्न रूसी जासुसी संगठनहरूले काम गरेको बारे अमेरिकी सञ्चारमाध्यमहरूले भनेकोभन्यै छन् । संसारको सर्वाधिक शक्तिशाली राष्ट्रको सर्वोच्च कार्यकारी अधिकारीको निर्वाचनमा हराउने र जिताउने भूमिकामा कुनै अर्को मुलुकको जासुसी संगठनहरूको भूमिका रहेको आफैंमा अमेरिकाको शक्ति,सम्मान र विश्वव्यापी प्रभावविरुद्धको क्रुरतम प्रहार हो ।


हालै स्पेनबाट अलग हुने क्याटालेनियाको जनमत संग्रहमा रूसी प्रेरणा र भूमिका रहेकोबारे वासिंगटन पोस्ट, वासिंगटन टाइम्स, पोलिटिको, भ्वाइस अफ अमेरिका जस्ता अमेरिकी र बेलायतबाट प्रकाशित हुने दी इन्डिपेन्डेन्ट जस्ता सञ्चारमाध्यमहरूले लेखेका छन् । युरोपियन युनियनबाट बेलायतको बहिर्गमनमा पनि रूसी हात रहेको ब्रिटिस अधिकारीहरूको आशंकाबारे ब्रिटिस र अमेरिकी समाचारपत्रहरूले लेखिरहेका छन् । सिरिया र इरान सवालमा अमेरिकी नीतिलाई रूसले असफल गरिदिएको छ । पश्चिम युरोपलगायत एसिया, अफ्रिका र दक्षिण अमेरिकामा भ्लादिमिर पुटिन र सी जिनपिङको व्यक्तित्वको प्रभाव बढ्दै गएको देखिन्छ ।


उत्तर कोरियाले अमेरिका र उसका सुरक्षा छाताअन्तर्गतका जापान र कोरियाविरुद्ध निरन्तर आणविक आक्रमणको धम्की दिइरहेको छ तर अमेरिका किमकर्तब्यविमूढ देखिन्छ ।स्वतन्त्र र प्रजातान्त्रिक विश्वको एकछत्र नेतृत्व गरिरहेको अमेरिकाको यो अवस्थाले विश्वभर प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताका कालजयी मूल्यहरू नै प्रतिरक्षात्मक हुँदै गएका छन् ।

विश्वको सर्वाधिक ठूलो र शक्तिशाली अर्थतन्त्र, आधुनिक ज्ञान,विज्ञान र प्रविधिको असीमित भण्डारसँगै अकल्पनीय ठूलो सैनिक सामथ्र्यसहित विश्व व्यवस्थाको नेतृत्व गरिरहेको मुलुकको यो अवस्था समग्र विश्वको शान्ति, सुरक्षा र समृद्धिका लक्षहरूमाथिको सबैभन्दा ठूलो चुनौती हो । प्रश्न उठ्ने गरेको छ-दुनियाका अन्य मुलुकका आम मानिसले अमेरिकाप्रतिको पहिलो धारणा त्यहाँका राष्ट्रपतिले आफ्नो सार्वजनिक छविबाट निर्माण गर्दछन् भन्ने कुरा कतै अमेरिकीहरूले नबुझेका त छैनन् ? 
-भट्टराई नेपाल इन्स्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज (निस)सँग सम्बद्ध छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2