MENU

पुष्पलाल र ‘डन’ तन्त्र

टंक कार्की मंगलवार, कात्तिक २१, २०७४ 1307 पटक पढिएको

Share This

635-X-85_1

पुष्पलाललाई ‘डिथ्रोन’ गर्ने प्रवृत्तिले समाजबाट तिरस्कृत र आपराधिक व्यक्तिलाई बोकेर हिँडिराखेको छ

नेपाली कम्युनिस्ट आन्दोलन मुलुकको राजनीतिक शक्ति सन्तुलनको मूल प्रवाह हो । सँगसँगै, यसका सबलता र दुर्बलता दुवैको संयुक्त अभिव्यक्ति पनि हो यो । आन्दोलनभित्र रहेका विचलनको कुरालाई अहिलेका घटना, प्रवृत्ति र पात्र हेरेरमात्र हुँदैन, यसको मुहानमै पुग्नुपर्छ । पुष्पलाललाई पार्टीको महासचिवबाट हटाइएदेखि नै पार्टीमा विचलनको सूत्रपात भएको हो । उनलाई पार्टीको कुनै महाधिवेशनले हटाएको होइन।

tanka-karkiजे-जे आरोप लगाएर उनलाई त्यतिखेर हटाइयो, त्यतिखेरको परिवेश र आजको चेतनाले मूल्यांकन गर्दा ती कारण गलत सावित भए । सामाजिक लक्ष्यका ध्येयले भन्दा सत्ताप्राप्तिका छिनाझपटीले पुष्पलाललाई हटाइएको देखिन्छ । उनलाई उग्रवामपन्थी र कम पढेलेखेको भन्ने आरोप थियो, जसलाई आफ्नो कामबाटै उनले गलत सावित गर्न सफल भएका थिए।

गणतन्त्रका योजनाकार पुष्पलाल

बाईस वर्षको अल्लारे उमेरमा नै उनले ‘कम्युनिस्ट घोषणापत्र’ उल्था गरे र त्यसमा बीसबाईस पृष्ठको भूमिका लेखे । त्यस भूमिकामार्फत मार्क्सवादलाई नेपाली सन्दर्भमा व्याख्या गर्ने र नेपाली कम्युनिस्ट आन्दोलनको दिशानिर्देश गरेका छन् । जतिखेर उनले कम्युनिस्ट पार्टी निर्माण गरे, उनले घोषणापत्र निर्माणसमेत निर्माण गरे, त्यो घोषणापत्रमा समग्र कम्युनिस्ट आन्दोलनको भावी दिशा र कार्ययोजना पेस गरिएको छ । आजको नेपाली कम्युनिस्ट आन्दोलनका हरकोहीमा उनका ती दुई कृतिको छाप छ । उनको उचाइको अर्को वैचारिक नेता देखिँदैनन् । पुष्पलालका ती कृति कम्युनिस्ट आन्दोलनको भावभूमि तयार गर्न प्रभावकारी छन्।

 

पुष्पलालले गणतन्त्रको नारा अघि सारेकाले उनलाई उग्रवामपन्थीको आरोप लागेको हो । २००७ मा राजा त्रिभुवनले संविधानसभा घोषणा गरिसकेको पृष्ठभूमिमा र कम्युनिस्ट आदर्शका आधारमा उनले गणतन्त्रको माग गरेर पटक्कै गल्ती गरेका थिएनन् । तर तिनै कारण देखाएर उनलाई महासचिवबाट हटाइयो । त्यहींबाट नेपाली कम्युनिस्ट आन्दोलन विचार र सामाजिक मुद्दाकेन्द्रित भन्दा पनि सत्ता हत्याउने खेलमा लाग्यो र आन्दोलनको लक्ष्य ‘डिरेल’ भयो।

२८ सालको झापा आन्दोलनले त्यस्तो विचलनलाई केही सच्याउने प्रयत्न गर्‍यो । खास गरेर २०४६ को परिवर्तनको सेरोफेरोमा मदन भण्डारीले नेपालको राजनीतिक विकासक्रमको यथार्थमा ‘जबज’ भन्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिए । पछिल्ला कालखण्डमा भण्डारी र जबजको रट लगाउने तर त्यसको अन्तर्य नबुझ्नेको पार्टीमा हालीमुहाली बढ्दै गयो । पुष्पलाललाई ‘डिथ्रोन’ गर्ने शक्ति र प्रवृत्तिले नै अहिले पार्टीभित्र अपराधी र केवल पैसेलाई हुलेका हुन् ।

प्रणालीले मात्र हुन्न

यहाँसम्म आन्दोलन आइपुग्दा एक-दुई वटा निश्कर्ष हाम्रा अगाडि छन् । गएको ७०-८० वर्षको अवधि नेपालको सामाजिक यथार्थसँग मेल खाने राजनीतिक प्रणालीको खोजीमा हामी लाग्यौं र २०६२÷६३ को जनआन्दोलनपछि हामीले त्यसलाई संघीय लोकतान्त्रिक गणतन्त्र भनेर परिभाषित गर्‍यौं । तर प्रणाली आफैंमा पर्याप्त हुँदो रहेनछ भन्ने पछिल्ला दश-आठ वर्षका अनुभवले संकेत गरेका छन् । प्रणालीसँग संगति राख्ने संरचना पनि चाहिँदो रहेछ । त्यो संरचना कस्तो बनाउने भन्ने मुलुकको सामाजिक यथार्थले निर्धारण गर्ने हो ।

दोस्रो पुस्तालाई सत्ता राजनीति हस्तान्तरण गरेर बिजुक्छेले आफूलाई ट्रेन्डसेटरका रूपमा स्थापित गरेका छन् । 

वर्गीय धु्रवीकरण, उच्च र निम्न वर्ग, १२४-२५ वटा जातजाति, धर्मसंस्कृति र भौगोलिक विविधता हाम्रो यथार्थ हो । यी सबै शक्तिलाई वर्ग विभाजन गर्दा तपाईं कुन वर्गमा उभिने, तपाईंको सामाजिक यथार्थलाई त्यो संरचनालाई कसरी मूल प्रवाहीकरणमा ल्याउने, हिमाल, पहाड र तराईका शक्तिलाई कसरी त्यो संरचनामा सामेल गर्ने भन्ने महत्वपूर्ण विषय हो । हामीकहाँ नपुगिराखेको विषय भनेको त्यही असन्तुलन हो । त्यसलाई सन्तुलनको दिशामा लैजाने प्रयत्न हुनुपर्छ अब।

त्यस्तै, अर्को महत्वपूर्ण विषय आर्थिक संरचना हो । संविधानमा त्रिखम्बे अर्थनीतिको व्यवस्था छ । हाम्रो मुलुक अन्ततः पुँजीवादको प्रारम्भिक चरणमा छ भन्ने आम सहमति हो । यदि त्यसो हो भने भावी दिशा के त ? अहिलेको भरे नै समाजादमा पुग्ने हो कि ? यसमा पर्याप्त गृहकार्य भएजस्तो लाग्दैन । हाम्रो आर्थिक र सामाजिक अवस्था हेर्दा यहाँ धेरै लामो समयसम्म पुँजीवाद नै हावी हुनेजस्तो देखिन्छ । तर १८÷१९ औं शताब्दीको जस्तो निर्बिघ्न पुँजीवादको रूपमा रहने सामाजिक-आर्थिक आधार छैन आज।

समाजवादी शक्तिको आफैंमा उपस्थिति, समाजवादी ध्येयका तर्कलाई मान्ने ठूलो जनमत छ । अहिले समाजवादको निम्ति उत्पादन शक्तिको अपेक्षित विकास भइसकेको छैन । त्यसो हुँदा त्यस विकासको दिशामा अहिलेको आन्दोलनले काम गर्नुपर्छ ।संविधानकै प्रावधानभित्र राज्यक्षेत्र र सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ । निजी क्षेत्रको भूमिकालाई स्वीकार गर्दागर्दै र प्ले गर्ने ठाउँ दिँदै गर्दा राज्यक्षेत्र र सहकारी दुवैलाई प्रवद्र्धन गर्नुपर्छ ।

राज्यक्षेत्रलाई प्रवद्र्धन गर्ने विषय भ्रष्टाचार न्यूनीकरणको विषय पनि हो । राज्यले गर्न खर्चलाई परिणाममुखी बनाउने भन्ने विषय पनि हो । राज्यक्षेत्रको खर्च मुलुकको समानुपातिक विकासमा कसरी लगाउने भन्ने हो । नीतिगत तहमा गरिबी न्यूनीकरणका लागि प्रभावकारी ढंगमा हाल्ने विषय हो । तर अहिलेको सहकारी सम्पत्तिवालाको सिन्डिकेट तयार गर्ने खालको छ । हामीले त सहकारीको माध्यमबाट तल्लो तहका मान्छेलाई संगठित गर्ने हो । यसर्थ, सार्वजनिक क्षेत्रलाई प्रभुत्व दिँदा मात्रै समाजवादी व्यवस्था स्थापित हुनसक्छ । हामी अहिले पुँजीवादको प्रारम्भिक चरणमा रहेकाले हाम्रा कार्यक्रम, शैली र संगठनलाई समाजवादमैत्री बनाउनु आवश्यक छ।

पुष्पलाललाई डिथ्रोन गर्नेबाटै ‘डन संस्कार’

पुष्पलाललाई डिथ्रोन गर्नुपर्छ भन्ने शक्ति आज समाजबाट तिरस्कृत र आपराधिक व्यक्ति र शक्तिलाई काँधमा बोकेर हिँडिरहेको छ । यस प्रवृत्तिले वर्गमा आधारित संगठन बनाउनेभन्दा विस्तारै आफू प्रतिबद्ध हुनुपर्ने वर्गभन्दा अन्य वर्गको जासुसीतिर लाग्यो । त्यसैले पनि अहिले कम्युनिस्ट आन्दोलन मध्यम वर्गको पार्टी भएको छ । निजी हितमा मरिहत्ते गर्नेहरूको ‘इर्दगिर्द’ पार्टीमाथि छ ।

अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओली २-३ सय रुपैयाँका भरमा २०४८ को आमनिर्वाचन चुनाव जितेर आएका हुन् । अहिले स्थानीय तहदेखि सांसदसम्मको चुनावमा एउटा कम्युनिस्ट उम्मेदवार उठ्न र जित्न करोडौं रुपैयाँ चाहिने ? यस्तो शक्ति र प्रवृत्तिलाई पार्टी नेतृत्वले बोकेर हिँडेको छ, त्यो गलत छ ।

निष्ठाका मानिसभन्दा पनि चुनाव जित्ने नाममा जस्तासुकै मान्छे र प्रवृत्तिलाई बोक्नुले अन्ततः एउटा बिन्दुमा ‘क्रिटिकल मास’ तयार भइसकेपछि त्यसले गुणात्मक परिवर्तन ल्याउँछ । हामी त्यसतर्फ हिँडिरहेका छौं । खालि जित्ने नै मात्र लक्ष्य राख्दा ‘मोभमेन्ट’ को उद्देश्य प्राप्त हुँदैन, बरु आदर्शवान् व्यक्ति पार्टीबाट पलायन हुन्छन् । त्यसो हुँदा पार्टी र आन्दोलनलाई अपुरणीय क्षति हुन्छ ।

बिजुक्छेबाट सिकौं

आगामी चुनावमा आफैं उम्मेदवार नबनेर दोस्रो पुस्ताको प्रतिबद्ध कार्यकर्तालाई सत्ताराजनीति हस्तान्तरण गरेर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ उदाहरण बनेका छन् । उनी ट्रेन्ड सेट गर्न सफल भएका छन् । यो कामको पहिलो श्रेय गणेशमान सिंहलाई दिनुपर्ने हो तर गणेशमानले ‘ट्रेन्ड सेटिङ’ को काम गर्न सक्नु भएन । प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गर्ने काम लर्तरो थिएन, तर त्यो कामले अन्ततः उनैलाई घाटा पुर्‍यायो । उनको उद्देश्यलाई कमजोर बनाइयो र कांग्रेसमा पछि गलत प्रवृत्ति स्थापित भयो ।

प्रधानमन्त्री नभए पनि उनले राजनीतिक हस्तक्षेपका आधारलाई बलियो बनाउनुपथ्र्यो, तर सकेनन् । रोहितले यो कदम परिस्थिति हेरेर चालेजस्तो देखिन्छ । हर पार्टीको तल्लो तहदेखि नै सत्ता-राजनीतिको प्रयोग गर्नेबारे बहस र द्वन्द्व छ । हरहालतमा सत्तामा बस्नेले सत्ता थाम्ने र सत्तामा नहुनेले त्यसलाई कसरी हत्याउने भन्ने प्रचलन र हारालुछीलाई सच्याएर पार्टीको लक्ष्यसँग निष्ठावान् व्यक्तिमा सत्ताराजनीति हस्तान्तरण गर्दै जानुपर्छ भन्ने विचार पनि आउँदै गर्दा यस कदमले त्यसतर्फ सहयोग नै गर्छ ।

नेमकिपाका केही विषय लोभलाग्दा छन् । अरू पार्टीमा नभएको संस्कृति र संस्कार उनको पार्टीमा छ । चाहे संसद्मा होस् या अन्यत्र उनको संस्था बोल्छ । उनी र उनका अभिव्यक्तिमा व्यक्तिगत ‘हिरोइजम्’ देखिँदैन । उनका कार्यकर्ता पनि पार्टीभित्र पार्टी छलफलको निश्कर्षलाई मात्र सार्वजनिक गर्छन् । अन्य कम्युनिस्ट पार्टीमा पनि व्यक्ति बोल्छ, पार्टी बोल्दैन । तर उनको संगठनमा सामाजिक र सामूहिक विचार मात्रै प्रस्तुत हुन्छ । भक्तपुरमा मात्रै उनको बढी प्रभाव भए पनि त्यहाँको विकासमा उनले आफ्नो मोडल प्रस्तुत गरेका छन् ।

भक्तपुर गएर हर्दा त्यहाँको आर्थिक सामाजिक विकासमा बिजुक्छे दत्तचित्त भएर लागेको देखिन्छ । बिजुक्छेको उपस्थिति र पकडबिना पञ्चायतकालीन भक्तपुरले आजको स्वरूप लिने थिएन । उनी पनि समाजवादी गणतन्त्र र जनताको प्रजातन्त्रको कुरा गर्छन् । समाजवादी गणतन्त्र रणनीतिक कार्यक्रम हो, तात्कालिन कार्यक्रम होइन । त्यो रणनीतिक लक्ष्यसँग तात्कालिक कार्यक्रम कसरी जोड्ने भन्नेबारे छलफल हुनै बाँकी छ।

मालाको भारी बोक्नेलाई माक्र्सको सन्देशविकृतिको जडको कुरा गर्दा स्वयं मार्क्सवादी स्रष्टा के सोच्थे भन्ने पनि जानौं । घाँटी नै भाँचिने गरी माला लगाउने, प्रशस्ति र महिमा गान गाइदिउन् भन्ने अपेक्षा र चर्तिकला देखिन्छ अहिलेका कम्युनिस्ट नेताहरूमा । कार्ल माक्र्सले डब्लूएस ब्लसलाई एउटा चिठी लेखे, ‘म र एंगेल्सलाई वैयक्तिक प्रतिष्ठाको निम्ति परालको त्यान्द्रोजति पनि प्रवाह छैन । 

यसलाई झुटो ठान्नुहुन्छ भने म दुइटा उदाहरण दिन्छु । हामीले कम्युनिस्ट लिगमा सामेल हुनुअघि एउटा सर्त राख्यौं, लिगका मान्छेसँग तिम्रो विधानमा रहेको व्यक्ति पूजाको प्रावधान हटाउँछौ भने मात्र हामी लिगमा सामेल हुन्छौं । अर्को, जतिखेर हामी सामेल भयौं, हाम्रो बारेमा प्रशंसाको पुल बाँधियो, त्यसलाई तत्कालै निरुत्साहित र प्रतिवाद गर्‍यौं । हामीले त त्यसो गर्‍यौं, कम्युनिस्ट लिगका वरिष्ठ नेता लासाल भने उल्टो बाटो हिँडे । उनी प्रशंसा र व्यक्तिगत प्रतिष्ठाका भोगी थिए ।’ एंगेल्सले कार्ल ग्रुन भन्ने अर्को पात्रका कुरा गरेका छन् । ती कम्युनिस्ट लिगभित्रका षड्यन्त्रका प्रणेता थिए । तिनै कार्ल ग्रुन र लासालका चेला छन् हाम्रोमा । तिनकै कारण कम्युनिस्ट पार्टी यति भुत्ते र आदर्शविमुख देखिएको हो ।

निचोड

कम्युनिस्ट आन्दोलनमा अहिले चार कार्यभार प्रमुख छन् ।क. संरचनात्मक पुनर्संरचना । मार्क्सवादले परिलक्षित गरेको वर्गलाई प्राथमिकतामा राखेर मिश्रत समाजका राउटे र दुसाधसम्मका सबै शक्तिलाई समेटेर त्यसो गर्नु आवश्यक छ । त्यसो हुँदा उनीहरू झोला बोक्नेमात्रै होइन, पार्टीको कार्यकारीसम्म हुन सकुन् ।

ख. आर्थिक विकासको दिशा । संविधानले नै समाजवादोन्मुख त्रिखम्बे अर्थनीति भनिसकेपछि निजी क्षेत्रलाई ‘प्ले’ गर्न उपयुक्त मैदान बनाउँदा-बनाउँदै राज्य क्षेत्रलाई प्रभावकारी र सफा बनाई जनस्तरलाई त्यसमा सहभागी बनाउने, सहरीमात्रै होइन ग्रामीण योजना बनाएर सिमान्त विकास पुर्‍याउने ।

ग. प्रष्ट विदेश नीति । कसैको प्रभावक्षेत्रमा नरही आफ्नो राष्ट्रिय स्वार्थमा सीधा उभिने विदेश नीति अबको विदशे नीति हुनुपर्छ नेपालको ।

घ. सांस्कृतिक जागरण । अघिल्ला तीनवटा कामलाई सहयोग गर्नेगरी सांस्कृतिक पुनर्जागरणको अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ । व्यक्ति होइन, विचार, आदर्श र लक्ष्यलाई प्रमुख बनाउँदै त्यो आधारमा पार्टी पुनर्गठन हुनुपर्छ । सांस्कृतिक सामन्तवादबाट पिण्ड छुटाउन सकेमात्र आदर्श समाज बन्न सक्छ ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2