MENU

चुनावको मुखमा 'पापको गुरु !'

कृष्णमुरारी भण्डारी बुधवार, कात्तिक २२, २०७४ 21231 पटक पढिएको

Share This

635-X-85_1

मोही माग्ने ढुंग्रो लुकाउने !

 

नैतिक शिक्षा दिनका लागि आयोजित प्रवचनमा धेरै पहिले सुनेको र अहिलेसम्म पनि मनमा रहिरहेको एउटा कथाबाट आजको आलेख सुरु गरौं । कथा यस प्रकार छ : किसान- तपाईंहरू विद्वान् पण्डित हुनुहुन्छ, त्यसैले मलाई सधैं भनिरहनु हुन्छ, पाप गर्नु हुँदैन । मलाई सिकाइरहनुभएकाले तपाईं मेरो गुरु हुनुभयो । अनि मेरोजस्तै पापको पनि त गुरु होला नि ? पापको गुरु को हो ? मलाई बताइदिनुहोस् न पण्डितजी !पण्डित- किसानको अचम्मको प्रश्न सुनेर पण्डित जिल्लियो । केहीछिन गमेपछि भन्यो, म तिमीलाई यसको जवाफ अलि दिनपछि दिउँला है !

krishna-murari-bhandari_17त्यसपछि उसले धेरै पुस्तकहरू पढ्यो, तर पापको गुरु को हो भन्ने पत्तो लगाउन सकेन । किताबमा नभेटेपछि ऊ जसलाई भेटिन्छ, उसैलाई सोध्छु भनेर घरबाट निस्कियो । सहरमा पुगेपछि उसले एउटी वेश्यालाई भेट्यो र सोध्यो, पापको गुरु को होला मलाई बताइदिन सक्छौ ? वेश्या- सक्छु, किन नसक्नु तर म सानु जातकी हुँ पण्डित ! जवाफ पाउन तिमी मसँग मेरो डेरामा जानुपर्छ । पण्डित- त्यसले केही फरक पर्दैन । जाऊँ ।

वेश्या- हेर पण्डित, मेरो बस्ने ठाउँ यही हो । सोफा एउटै छ, आऊ यसैमा मसँग बस । तिमीलाई भोक पनि लाग्यो होला, म भोजन तयार गर्छु । पण्डित अन्कनाएको देखेर वेश्याले भनी, हेर मकहाँ भोजन गर्‍यौ भने पाँच स्वर्ण मुद्रा पनि तिमीलाई दिन्छु । पण्डित- मौन बसे । मनमनै खुसी भएर हिसाब गरे । ओहो के भयो त, खान पनि पाइने, स्वर्ण मुद्रा पनि पाइने । कसैले देखेको छैन क्यारे, के भयो र ? बरु यो त दुवै हातमा लड्डु पो भयो ! उनको अनुहारमा देखिएको खुसीबाट पण्डितको मनमा खेलेका कुरा वेश्याले सहजै अनुमान लगाई ।
वेश्या- खाना बनाएर थालमा हालेर ल्याई छेउमा स्वर्णमुद्राहरूसहित । भनी, पण्डितजी ल खाना खाऊँ ।

 



पण्डित- कसैले देखेको छैन क्यारे भन्ने सोच्दै आफ्ना सबै आचरण बिर्सिएर खाना मुछ्न थाले । वेश्या- पण्डितले गाँस मुखमा लैजान लागेका के थिए, थाल पूरै आफूतिर तानी । पण्डित- यो के गरेको ? खान लागेको थाल किन तानेकी ?
वेश्या- तिम्रो प्रश्नको जवाफ दिएको ! तिमीले मलाई सोधेका थियौ नि, पापको गुरु को हो, होइन ?
पण्डित- त्यो त हो ।वेश्या- हो, मैले तिमीलाई त्यही जवाफ दिएकी । यहाँ आउनुअघि तिमीले मैले दिएको खाना खान्नथ्यौ । तर मैले पाँच स्वर्ण मुद्रा पनि खानासँगै दिन्छु भन्दा खान्छु भन्यौ । साँच्चै हो कि होइन भनेर खाना बनाएर दिएँ तिमी त सहज खाना मुछ्न थाल्यौ अनि मैले थाल तानेर तिम्रो प्रश्नको जवाफ दिएकी हुँ ।

पण्डित- कसरी जवाफ भयो, खान लागेको थाल तानेर ? मैले कुरो बुझिनँ नगरबधू ! वेश्या- स्वर्ण मुद्राको लोभमा तिमीले पण्डितको आचरण बिस्र्यौ । त्यही जानकारी दिनका लागि थाल तानेकी हुँ । पडित, तिम्रो प्रश्न 'पापको गुरु लोभ हो' भनेर मैले जवाफ दिइसकें । अब हात धोउ र आफ्नो बाटो तताऊ !

लोभी पण्डितलाई वेश्याले उदाहरणसहित जुन जवाफ दिई त्यसले पाखण्डीहरूको दोहोलो काढेको जस्तो लागेर पाठकसमक्ष प्रस्तुत गरेको हुँ । तर यो नैतिक कथा प्रस्तुत गरेर आजको लेखमा भन्न खोजेको कुरा के मात्र हो भने प्रदेश र संघीय संसद्को चुनावमा देश जसरी हेलिएको छ, पार्टीका नेताले जुन घोषणापत्र सार्वजनिक गरेका छन्, त्यसबारे सानो सवाल उठाउन मात्र खोजिएको हो । विस्तारमा त पण्डितहरूले चिरफार गर्ने नै छन् ।

घोषणापत्रमा दलहरूले गरिब जनताको दु:खको गीत गाएका छन् । दु:ख र अप्ठेरोबारे सहानुभूति जनाउँदै उनीहरूले जिते जादुगरले मरेको मानिसलाई जिउँदो बनाए झैं गरिबीलाई तीन कोस टाढा भगाइदिनेछन् । शिक्षा-स्वास्थ्य नि:शुल्क उपलब्ध गराउनेछन् । हरेक व्यक्तिलाई यसरी रोजगार दिलाउनेछन् कि बेरोजगार उनीहरूले जितेपछि रहने छैन । जलविद्युत् विकासदेखि कृषिको आधुनिकीकरण यसरी गरिने छ कि नेपालको पहिचान विश्वमै विद्युत् र खाद्यान्न निर्यात गर्ने देशको रूपमा हुनेछ । बाटोघाटो, रेलमार्गदेखि जल यातायात र केवलकारले नपुगिने नेपालको कुनाकन्दरा नै बाँकी रहने छैन । उद्योगधन्धा यसरी फस्टाउने छ कि चीन र भारतका मजदुर यहाँ काम गर्न वर्क परमिट लिएर आउन थाल्नेछन् । नेपालीको प्रतिव्यक्ति आयले विकसित देशलाई उछिन्नेछ ।

हामी वैधानिक चोर, डाँका, हुँडारहरूलाई जनताको सही प्रतिनिधि भनेर आफ्नो अमूल्य मतदान गरिरहेका छौं । यो गलत मात्र होइन, भ्रष्टाचार पनि हो ।

घोषणापत्रका गफ पढिरहँदा र उम्मेदवारका भाषण सुन्दासुन्दै यताउता फर्किएको त उनीहरूबाहेक अरू कोही परिवर्तन भएको देखिनँ । समाज परिवर्तन गराउने कुरा फलाक्दै हिँड्नेहरू स्वयंमा कति परिवर्तन भए ? तर उनीहरूलाई मत दिएर जिताउने मतदाता यसपालि पनि उनीहरूकै पोथ्रा पढेर उनीहरूलाई नै भोट दिन लालायित रहेको पो पाइयो, काठमाडौं, ललितपुर र भक्तपुरका गाउँ र सहरहरूमा डुल्दाफेरि ।

यो के हो ? किन यस्तो गएगुज्रिएको सोच राखेर मतदाता निम्छरा भएका होलान् ? के नीतिकथाको पण्डितजस्तै हाम्रा मतदाताहरू पनि स्वर्णमुद्राको लोभमा परेर आफ्नो आचरण र अधिकार बिर्सिएर जस्तै सोच महिना दिनअघिदेखि नै बनाएका हुन् ? हुन् भने सार्वभौमसत्तासम्पन्न भनिने जनताको यो एकदमै गलत प्रवृत्ति र हचुवा तथा हेलचक्राइँपूर्ण बानी व्यवहार हो । आफ्ना सन्तान भविष्यका कर्णधार अथवा नयाँ पुस्ताप्रतिको गद्दारी र बेइमानी हो । गणेशमानको शब्दमा भन्दा भेडो हो । 
जितेर गएपछि माखो नमार्ने गैरजिम्मेवार र अनैतिक जनप्रतिनिधिलाई जति दोष लगाउँछौं, तीभन्दा हामी मतदाता एक रौंजति पनि कम भ्रष्टाचारी रहेनछौं । छातीमा हात राखेर भन्ने हो भने हाम्रै सन्तानले भविष्यमा ती भ्रष्ट नेतालाई भन्दा तिनलाई पवित्र मत खसालेर अपराध गर्न प्रमाणपत्र दिने हामी मतदातालाई सराप्नेछन् । हामी पनि अपराधीलाई सघाएवापत रौरव नरकमा घाँटीघाँटीसम्म गुहुको पोखरीमा डुबेर आफ्नै सन्तानले बाबुआमा र हजुरबा-हजुरआमाले गुहु खाएर भोट हालेकाले हामीले दु:ख पाउनुपरेको हो भनेर सरापेको टुलुटुलु हेरिरहने छौं ।

यहींनिर दुई महिनाजति अघि अमेरिकाका ब्रिट स्टेफिन्सले न्युयोर्क टाइम्स भन्ने पत्रिकामा लेखेको लेखको सम्झना आयो । उनले भनेका छन्, यस्तै चुनावमा जनताका शिक्षा, स्वास्थ्य, रोजगारका कुरा उठाउनेहरूले नै हाम्रो शिक्षा, स्वास्थ्य र रोजगार ध्वस्त बनाइरहेका छन् । तर हामी वैधानिक चोर, डाँका, हुँडारहरूलाई जनताको सही प्रतिनिधि भनेर आफ्नो अमूल्य मतदान गरिरहेका छौं । यो गलत मात्र होइन, भ्रष्टाचार पनि हो ।

हामी किन मत माग्न आउने यी मुसमुन्द्रे ब्वाँसाहरूलाई प्रश्न गर्दैनौं ? के गरिस् तैंले निर्वाचित भएर गएपछि ? के गर्‍यो तेरो पार्टीले, पटकपटक सत्तामा पुगेर ? के भोट माग्न आउनेसँग र त्यसलाई ल्याउने लाउकेसँग प्रश्न गर्न र तिनलाई अलोकप्रिय लाग्ने विचार प्रकट गर्न हामी मतदाता किन हच्किने ? किन खुला दिमागले हामीले आफ्ना कुरा वामपन्थी होस् कि दक्षिणपन्थी गठबन्धनका उम्मेदवारसँग नराख्ने ?

न्युयोर्क टाइम्सका ती लेखक पण्डित ब्रिट स्टेफिन्सले पश्चिमी विद्वत् समाजमा हरेकले आफूलाई आलोचनात्मक रूपमा हेर्ने दाबी गर्दै आफ्नो लेखमा भनेका छन्- सुकरात होमरसँग झगडा गर्दथे । एरिस्टोटल प्लेटोसँग विद्रोह नै गर्थे । लक, हब्स र रूसोसँग असहमति प्रकट गरिरहन्थे । नित्से त हरेकसँग झगडै गर्थे । विद्वान् विट्गेन्स्टिन त आफैंसँग झगडा गरिरहन्थे । उनले औंलो ठड्याउँदै सचेत गराएका पनि छन्, तर यी झगडा कहिले पनि व्यक्तिगत स्वार्थका लागि हुँदैनथे । कुनै निश्चित राजनीतिक वा सिद्धान्त र व्यवहारविरुद्ध नै हुन्थ्यो । आश्चर्यलाग्दो कुरा के भने, उनले जोड दिँदै भने- हाम्रा पण्डितहरूका ती झगडा केही दशक र कहिले त शताब्दीसम्मै चलिरहन्थे । विरोध जनाउने विद्वान्को निधन भइसके पनि उसले उठाएकोे सवालले निरन्तरता पाउँथ्यो !

अझ महत्वपूर्ण र रोचक कुरा त के भने ती झगडा गलतफहमी भएर गरिएका हुन्नथे । सारभूत रूपमा वैचारिक प्रतिपक्षका विचारहरू गहन रूपमा पढेर मात्र त्यसमाथि निर्मम प्रहार गरिन्थ्यो । त्यसैले कसैसँग असहमत हुन वैचारिक प्रतिपक्षका विचारहरू गहन र व्यापक रूपमा पढेर, त्यसबारे टिपोटहरू बनाउँदै सचेत भएर मात्र असहमत हुनेले आफ्ना समानान्तर विचार अगाडि बढाउँथ्यो । त्यसैले कसैसँग असहमत हुन सर्वप्रथम उसका कुरा राम्ररी बुझ्नुपर्छ । वामपन्थी घोषणापत्रले गरेका गफ र दक्षिणपन्थी गठबन्धनको तथ्यांक मिथ्यांकको चाङले मतदाताको मनलाई तान्न सक्दैन ।

तिनीभित्रका मरमसलाबारे पण्डितले स्वर्णमुद्राको लोभमा आफ्ना आचरण छोडेजसरी होइन कि ब्रिट स्टेफिन्सले जसरी गहन अध्ययन, गम्भीर श्रवण, सूक्ष्म नजर लगाएर असहमत भएका विचारलाई हेर्नु, बुझ्नु र पढ्नुपर्छ । यस्ता कुरा गर्दा नैतिकवान् हुन पनि जरुरी छ । शंकाको सुविधा जहिले पनि प्रस्तोतालाई दिनुपर्छ किनभने उसको उद्देश्यप्रति सहानुभूति राखेर मात्र उठेको चुरोको आलोचनामा निर्ममता अपनाउनुपर्छ ।

तर प्रमुख दलहरूको जसरी भए पनि चुनाव जित्न गरेको हडबडीलाई देख्दा लाग्छ, उनीहरूको नियत नै पहिलाजस्तै मतदातालाई गुमराहमा पारेर चुनाव जित्नु हो । यिनलाई यही निर्वाचनमा मतदाताले सशक्त भएर जवाफ नदिने हो भने आउँदो कार्यकाल पनि ठग्ने र लुट्ने र झुक्याउने छन् । त्यसैले निर्वाचनको पूर्वसन्ध्यामा महत्वपूर्ण भूमिका पत्रकारिता जगत्ले निर्वाह गर्नैपर्छ । यसका लागि पत्रकारले सबैभन्दा पहिला दलको झोले हुन छोड्नैपर्छ । दलीय बर्को ओढेर गरिएको व्यावसायिक पत्रकारिता होइन ।

पत्रकारिता अरू बन्दव्यापार वा व्यवसाय जस्तो होइन । न यो सामान ढुवानी गर्ने ट्रक ड्राइभरी हो, न त तात्तातो मोमो बेच्ने व्यापार नै । मुलुक भनेको भेट्न आउनेलाई अस्तुको अंश हालेर पकाइएको काट्टो र त्यो खुवाउने किरियापुत्री होइन ! यही कटु सत्य पत्रकारले निर्वाचनका बेला मतदातासमक्ष पस्किनैपर्छ किनभने सरकार यतिबेला सुशासनको माखौल उडाउने षड्यन्त्रमा लहसिएको छ । निर्वाचन आयोगलाईसम्म धम्क्याइरहेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2