MENU

चुनावी गठबन्धन : स्वतन्त्र मताधिकारको अपहरण

डा. लोक भट्टराई बुधवार, कात्तिक २२, २०७४ 726 पटक पढिएको

Share This

635-X-85_1

 

संसदीय व्यवस्थामा निर्वाचनअघि गरिने चुनावी गठबन्धन स्वस्थ र पूर्ण प्रजातान्त्रिक संस्कार हैन । सबै पार्टीहरूले आआफ्नो सामथ्र्यअनुसार स्वस्थ र पूर्ण प्रतिस्पर्धात्मक वातावरणमा चुनावमा भाग लिइसकेपछि कुनै पार्टीको पनि बहुमत नआएको अवस्थामा कोयेलिसनमा सरकार बनाउने कुरा त बाँकी नै थियो र त्यो स्वाभाविक पनि हुन्थ्यो । त्यसो गर्दा जनतालाई उत्तर दिने ठाउँ पनि हुन्थ्यो । तर चुनाव अघिदेखि नै अप्राकृतिक हिसाबले सम्भावित निर्वाचन परिणामको अंकगणितलाई प्रभावित पार्ने खेल एक हिसाबले जनताको स्वतन्त्र मतदान गर्ने अधिकारको अपहरण हो भने पनि हुन्छ ।

lokbhattrai_1नत्र भने चुनावमा भोट खरिदबिक्री भयो भनेर एउटा उम्मेदवार वा तिनलाई मत बेच्ने मतदातालाई आक्षेप लगाइरहँदा पार्टीहरूले आफैं होलसेलमा मत खरिदबिक्रीमा उत्रिएको मेसै पाएका छैनन् । यसपटक यो अस्वस्थ परिपाटीको बढावा दिनेमा अगुवा भएका नाताले नेपालको राजनीतिमा एमालेको छवि पनि बिग्रिएको छ, उसको जनाधार पनि खस्किँदै छ र अझ खस्कनेवाला छ ।

गठबन्धन बनाउन नेपाली कांग्रेस पनि लागिरहेको भए पनि एमालेलाई जत्तिको अपजस कांग्रेसलाई जाँदैन । कारण के भने एमाले आफ्नो चाहनाले गठबन्धनका लागि उद्यत् भएको हो भने कांग्रेसचाहिँ वाम गठबन्धनद्वारा सिर्जित परिस्थितिलाई सामना गर्न बाध्यात्मक परिस्थितिमा गठबन्धन निर्माणतिर लागेको हो । गठबन्धन गर्दा कस्ता पार्टीहरूलाई कुन स्थितिमा कस्तो फाइदा हुन्छ र कस्तो स्थितिमा सोचेजस्तो फाइदा हुन्न भन्ने कुरा 'केस टु केस' फरक पर्ने विषय हो । साथमा पार्टीहरूलाई यसबाट हुने फाइदा र घाटा तत्कालीन र दीर्घकालीन रूपमा फरक खालको हुने गर्छ । त्यसकारण यो विषय पनि गठबन्धनसम्बन्धी बहसमा जोडिएर आउने विषय हो ।

प्रत्यक्षमा कुनै पनि सिट नजित्ने वा एकदम कम सिट मात्र जित्न सक्ने पार्टीहरूका लागि गठबन्धनले केही बढी सिट जित्ने मौका दिन सक्छ, तर त्यो कुरा गठबन्धनमा रहेका प्रभावशाली पार्टनरसँगको लेनदेन ती साना पार्टनरको पक्षमा कत्तिको सकारात्मक थियो भन्ने कुराले निर्धारण गर्छ । त्यससँगै ती साना पार्टीहरूको देशव्यापी रूपमा फैलिने अवसरलाई भने गठबन्धनले नकारात्मक प्रभाव पर्छ ।

 



सामान्यत: पार्टीको भविष्यभन्दा आफ्नो तात्कालिक फाइदा हेर्ने एकदुई प्रभावशाली नेताले हाँकेको ससाना पार्टीमा गठबन्धनमा संलग्न हुने आतुरता रहन्छ । कारण के भने यस उपायबाट थोरै स्रोत र शक्ति परिचालन गरेर पनि ती साना पार्टीका नेता आफू र तिनका आसेपासेलाई पुग्ने सिट सजिलै प्राप्त गर्ने सम्भावना रहन्छ । ठूला पार्टी जो आफूले मात्र बहुमत ल्याउन नसक्ने तर अर्को कुनै पार्टीसँगको गठबन्धनबाट चाहिँ त्यो सम्भव हुने देख्छन् तब तिनीहरू त्यसका लागि लालायित हुन्छन्।

अब एमाले कार्यकर्ताले आफ्नो पार्टीलाई माओवादीको वैशाखीमा अडेको पार्टीको रूपमा बुझ्न थाल्नु त्यस पार्टीको दीर्घकालीन भविष्यका लागि राम्रो संकेत हैन । 

त्यही कुराले अहिले वाम गठबन्धनअन्तर्गत एमालेको लागि उत्प्रेरित गरेको हो । एक अर्थमा भन्ने हो भने यसले एमालेभित्र रहेको उग्र सत्तालिप्सालाई पनि मुखरित गरेको छ । अर्थात् एमाले सत्ता बाहिर रहनै नसक्ने गरी आतुर भएको देखिएको छ । यसले एमालेलाई तत्कालीन र दीर्घकालीन रूपमा कसरी फाइदा वा बेफाइदा गरेको छ भन्ने कुरा बुझ्न विषयलाई गहिरोसँग हेर्नु जरुरी छ । तर एउटा कुरा प्रस्ट के हो भने एमालेजस्तो जनाधार विस्तार गर्दै गएको पार्टीलाई यस्तो कार्यले क्षणिक फाइदा दिएछ नै भने पनि दीर्घकालीन रूपले ठूलो नोक्सानी पुर्‍याउने देखिन्छ ।

कार्यकर्ता र मतदाताको मनोविज्ञान

एमालेको तल्लो स्तरका कार्यकर्ताको पंक्ति परि श्रमी छ भन्नेमा शंका छैन । हिजोसम्म ती कार्यकर्ता आफ्नो पार्टी सुसंगठित र सबभन्दा बलियो ठान्थे । तर जुन डर र लालचका कारण एमाले केन्द्रीय नेतृत्व गठबन्धन गर्न आतुर भयो, त्यसले त्यसको कार्यकर्तापंक्तिमा भने नसोचेजस्तो निराशाको सुनामी ल्याइदिएको छ । एक अर्थमा भुइँको टिप्दा पोल्टाको खस्ने स्थितिमा एमाले पुगेको छ र त्यो कुरा एमाले नेतृत्वले पटक्कै बुझेको देखिँदैन । हिजोसम्म आफ्नो पार्टीलाई सर्वशक्तिमान मान्ने कार्यकर्ता कतै आफ्नो बुझाइ भ्रम रहेछ कि, आफूले सोचेजस्तो आफ्नो पार्टी बलियो रहेनछ कि, अन्य जिल्लामा हाम्रो पार्टी रहेनछ कि भन्ने द्विविधाको स्थितिमा पुगेका छन् ।

फलत: त्यसले तिनको ऊर्जा सिनित्तै घटाइदिएको छ । हिजोदेखि उत्साहित भएर एमालेलाई भोट हाल्दै आएका मतदातामा पनि त्यस्तै मनोविज्ञानले काम गरेको देखिन्छ । लडाकु सेनामा जसरी विजयको रक्तसञ्चार भइरहँदा सेनापतिले आत्मसमर्पण गरिदिन्छन् र त्यसबाट जे प्रभाव त्यो अग्रगामी सेनाको मनमा पर्छ, ठीक त्यही स्थिति बनेको छ एमाले र उसका कार्यकर्ताबीच । अब एमाले कार्यकर्ताले आफ्नो पार्टीलाई माओवादीको वैशाखीमा अडेको पार्टीको रूपमा बुझ्न थाल्नु त्यस पार्टीको दीर्घकालीन भविष्यका लागि राम्रो संकेत हैन । अब निराश कार्यकर्ता लिएर माओवादीको भोटको बलमा एमालेले कति सिट जित्ला हेर्नलायक कुरा त्यो हुने भएको छ ।

दीर्घकालीन असर

राजनीतिक समाजशास्त्रका विद्वान्हरू भन्छन्- दूरगामी दृष्टि भएका नेताले गठबन्धन गरे पनि फरक जनाधार र फरक सिद्धान्तका पार्टीसँग गर्न रुचाउँछन् । त्यो यसकारण कि त्यसो गर्दा नोक्सानी कम र फाइदा बढी हुन्छ । त्यसो गर्दा आफूलाई भोट कहिल्यै वा कमै मात्र दिने गरेको वर्ग वा क्षेत्रसम्म जाने र तिनको मन जित्ने अवसर प्राप्त हुन्छ । गठबन्धन गरेपछि कतिपय ठाउँ अर्को पार्टनरलाई दिनुपर्ने हुन्छ र आफ्ना मतदातालाई अरू नै पार्टीको चिन्हमा भोट देऊ भन्नुपर्ने हुन्छ । त्यो गठबन्धन उही पार्टनरसँग पटकपटकको चुनावमा समेत भई नै रह्यो भने गठबन्धन गर्नु पहिला ती मतदाताले कसलाई समर्थन गर्दथे भन्ने बिर्संदै गएर नयाँ पार्टीलाई नै आफ्नो ठान्ने स्थितिसमेत सिर्जना हुन्छ । यसरी अन्तत: थुप्रै निर्वाचन क्षेत्रबाट त्यो पहिलाको पार्टी हराएर जाने खतरासमेत रहन्छ ।

प्रचण्डको कूटनीतिक सफलता

वाम गठबन्धनले प्रचण्डलाई दुई हातमा लड्डु भनेजस्तो भएको छ । अस्ति स्थानीय निर्वाचनमा कांग्रेससँग तालमेल गर्दा विचारधारात्मक भिन्नताले सोचेजस्तो फाइदा नभएको सोचेका हुन सक्छन् प्रचण्डले । भरतपुरको गाईजात्रा त सबैसामु जगजाहेर छ । चितवनलाई आफ्नो 'बेस' बनाइरहेका प्रचण्डले अस्तिको भरतपुर काण्डका कारण आफैंलाई पनि चुनाव जित्न गाह्रो पो पर्ने हो कि भन्ने सोचेको देखिन्छ । त्यसमाथि पहिलाजस्तो एकभन्दा बढी निर्वाचन क्षेत्रबाट चुनाव लड्न पाउने व्यवस्था पनि नयाँ संविधानले खारेज गरिदिएको छ ।

तसर्थ एमालेसँग गठबन्धन हुँदा 'विचारधारा' को समस्या पनि नहुने, भरतपुर मुद्दा बल्झिनेभन्दा सुल्झिने र माओवादीबाट जित्नेहरू उसको आफ्नै चुनाव चिह्नका कारण आफैंसँग रहिरहनेसमेतका कारण यो गठबन्धन आफू र आफ्नो पार्टीका लागि हरेक हिसाबले फलदायी हुने निक्र्योल प्रचण्डले निकालेका हुन सक्छन् ।

आकर्षक सिट जितेको खण्डमा एमालेलाई छोडेर अरू नै पार्टीसँग सरकार बनाउने बाटो पनि माओवादीलाई खुला रहिरहने सम्भावना त थियो र छ नै । त्यस हिसाबले हरेक कोणबाट हेर्दा यस गठबन्धनबाट गुमाउने एमाले र जित्ने माओवादी पार्टी र प्रचण्ड नै भएको प्रस्ट देखिएको छ । बरु राम्रो सदुपयोग गर्न जाने कांग्रेसले पनि यसलाई आफ्नो पक्षमा पार्ने रणनीति बनाउन सक्छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2