MENU

तराईमा डेंगु प्रकोप : के हो डेंगु ? कसरी बच्ने ?

डा. मुकेशकुमार साह बुधवार, कात्तिक २२, २०७४ 2089 पटक पढिएको

Share This

635-X-85_1

 

नेपालको पूर्वी तथा मध्यतराईका विभिन्न भागमा लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने एक प्रकारको भाइरसको संक्रमणबाट फैलने रोग डेंगुको प्रकोप बढेको छ । झापाको बिर्तामोड र दमक, धनुषाको जनकपुर तथा ढल्केबर, महोत्तरीको बर्दिबासलगायतका तराईका सहरमा, डेंगु सरुवा रोगको रूपमा फैलिएकाले खतरा बढ्दो छ । बिर्तामोडमा करिब चार सयभन्दा बढी व्यक्ति डेंगुबाट संक्रमित भएका छन् भने दमकका विभिन्न भागका करिब १२ जना बिरामी सम्बन्धित रोगले ग्रसित भएको परीक्षणबाट पुष्टि भएको छ । धेरैको परीक्षण बाँकी नै छ ।

mukeshधनुषा र महोत्तरीमा पनि धेरै बिरामी डेंगु संक्रमित छन् । विभिन्न ठाउँमा गरी कुल पाँच सयभन्दा बढी बिरामी डेंगु रोगले ग्रसित भएको विभिन्न सञ्चारमाध्यमबाटै सार्वजनिक भएको छ । धेरै बिरामीको उपचार स्थानीय स्तरमै भए पनि केही बिरामीलाई सघन उपचारका लागि बाहिर रिफर गरिएको छ । रगत परीक्षण गर्दा उनीहरूमा 'एनएसवानएजी' प्रतिक्रियात्मक देखिएकाले बिरामी सम्बन्धित रोगको सुरुआती अवस्थामा रहेको बुझिन्छ । कति बिरामीमा आईजीएम पनि प्रतिक्रियात्मक देखिएको छ । रोग ठीक हुन लागेको बिरामीमा वा रोग सुरु भएको चार-पाँच दिनमा आईजीजी पनि प्रतिक्रियात्मक देखिन्छ ।

 



विश्वमा लामखुट्टेको टोकाइबाट शीघ्र फैलिने भाइरसको संक्रमणबाट हुने रोगमध्येको हो डेंगु । विश्वभर यस रोगको फैलावट भए पनि एसिया खासगरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग इन्डेमिक भएर समस्याको जड भएको छ । यो रोग ग्रसित भएको क्षेत्रका मानिसको आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा जनाइएको छ । नेपालीको जस्तो आर्थिक स्तर कम भएको समाजमा यो रोगको प्रकोपबाट धेरै प्रभाव पर्ने भएकाले सरकारले समयमै समाधान खोज्नु जरुरी छ ।

लक्षण

बिरामीमा सामान्य ज्वरो आउने, जिउहात दुख्ने, जोर्नी तथा टाउको दुख्ने र आलस्य हुनेजस्ता लक्षण भएमा चिकित्सकले अन्य रोग पहिचानका लागि गरिने परीक्षणका अलावा डेंगु रोगको पनि परीक्षण गर्ने अवस्था सिर्जना भएको छ । दुई वर्षअघि डेंगु रोगबाट नेपालको पूर्वीभाग काँकडभिट्टामा दुई बिरामीको मृत्यु भएको पुष्टिसँगै बिरामी रोग पहिचान भएको थाहा पाएर आत्तिने गरेको पाइएको छ, तर त्यसो गरिनु हुन्न ।

सरकारले डेंगु रोगको रोकथामका लागि आफ्नो टोली खटाउनेदेखि सक्रिय भएर रोगको पहिचान तथा नियन्त्रण तथा रोगको कारण उन्मूलनमा जोड दिनुपर्छ ।

तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ । शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीहरूबाट रगत शरीरका अन्य तन्तुहरूमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुने सक्ने भएकाले बेलामै उपचार गराउनु र चिकित्सकको निगरानीमा मात्र उपचार गराउनु बुद्धिमानी हुनेछ ।

सामान्य वा भाइरल ज्वरो भए पनि सामान्यरूपमा नलिन र डेंगु प्रकोपित क्षेत्रका वासिन्दाले समयमै अस्पताल आउन पंक्तिकार सुझाउन चाहन्छ, तर यो रोग लागिहाल्यो भनेर आत्तिने र त्रासमा बस्ने पनि गर्नु हुँदैन किनकि अधिकांश रोगीलाई सामान्य उपचारपछि घर फर्काउन सकिन्छ । केही पाँच प्रतिशत बिरामीमा मात्र यो रोग विकराल रूपमा आउने गर्दछ, जसको सघन उपचार आवश्यक हुन्छ।

रोगको पहिचान केही बिरामीमा गरिए पनि धेरै बिरामीको पहिचान हुन सकेको छैन । किनकि सामान्य ज्वरो आएका बिरामी मेडिकल पसल गएर सामान्य औषधी सेवन गर्ने परम्परा हाम्रो समाजमा स्थापित छ । डाक्टरको सल्लाह लिन रोगले थलिएपछि मात्र आउने वैचारिक तथा आर्थिक रूपको गरिबी पनि हाम्रो समाजमै छ । सरकारले चासो नदिने हो भने यस रोगले यस क्षेत्रमा विकराल रूप लिन सक्छ र धेरैको ज्यान खतरामा हुनेछ ।

कसरी बच्ने

विभिन्न मानिसको शरीरमा विभिन्न चार प्रकारको रूप धारण गर्न सक्ने डीईएन वान, टु, थ्री, र फोर (एक प्रकारको डेंगु) भाइरसको संक्रमणबाट यो रोग मानिसमा स्थापित हुन्छ । यो रोग मुख्यत: स्त्रीजातिका एडिज मच्छडको टोकाइबाट मानिसमा सर्ने गर्छ । पानी जम्ने ठाउँ, एयर कन्डिसन, फूलका गमला, पुराना टायर, नरिबलका खोस्टा, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यो रोग फैलिने सम्भावना रहन्छ । उक्त प्रजातिका मच्छड सौखिन मानिन्छन् । त्यसैले मुख्यत: सफा पानीमा फैलिने भएकाले फोहोर नाली भएको ठाउँभन्दा घर र घरआसपासका पानी जम्ने पुराना भाँडाकुँडामा बस्ने लामखुट्टेबाट यो रोग फैलिने सम्भावना हुन्छ ।

तसर्थ आफ्नो घर सफाइ गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथामको उपाय हो । साथै मच्छडको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा मच्छड धुप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ ।

यस रोगको उपचार सुरुमा चिकित्सकको निगरानीमा लक्षणअनुसार गरिने हुन्छ । शरीरमा पानीको मात्रा कम भए सोहीअनुसार पानीको मात्रा कम हुन नदिन स्लाइन चढाउनुपर्ने हुन्छ, तर शरीरमा प्लेटलेटको मात्र कम भएमा कम्पोनेन्ट ब्लड (सेतो रगत) चढाउनुपर्ने हुन्छ । बिरामी सिकिस्त भएमा सघन उपचार कक्षमा चौबीसै घन्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिनुपर्ने भएकाले सम्बन्धित स्वास्थ्यकर्मीले पनि यस रोगको उपचारको कुनै खास पद्धतिअनुसार उपचार गर्नुपर्छ ।

सरकारमातहतका निकाय तथा स्थानीय निकायले यस प्रकारका रोगबारेमा जनचेतना दिनेदेखि उचित व्यवस्थापन गर्दै रोग नियन्त्रणमा चासो दिनुपर्ने र बिरामीको उपचारमा सरकारी सहयोगको व्यवस्था गर्दै रोग नियन्त्रणमा समेत रफ्तारमा काम गर्नुपर्नेमा सरकार यस रोगबारेमा कछुवा गतिमा अगाडि बढिरहेको छ, यस क्षेत्रका आम जनता दिनानुदिन रोगले ग्रसित हुँदैछन्, सरकार भने मौन छ ।

कुनै खास क्षेत्रमा फैलिएको रोगको नियन्त्रणदेखि बिरामीको उपचारमा सरकार नै सक्रिय हुनुपर्ने हुन्छ । सरकारले यस प्रकारको रोगको रोकथामका लागि आफ्नो टोली खटाउनेदेखि सक्रिय भएर रोगको पहिचान तथा नियन्त्रण तथा रोगको कारण उन्मूलनमा जोड दिनु आजको आवश्यकता हो । 
-डा. साह निम्स नेसनल हस्पिटल दमकका मेडिकल सुपरिटेन्डेन्ट हुन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2