MENU

कस्ता कम्युनिस्ट पार्टी ?

मेखराज परियार बिहीबार, कात्तिक २३, २०७४ 1155 पटक पढिएको

Share This

635-X-85_1

मुलुक निर्वाचनमय बन्न पुगेको छ। मंसिर १० र २१ गते गरिने मतदाननिम्ति मनोनयन सम्पन्न भई उम्मेदवारहरू जित हासिल गर्ने होडमा लागेका छन्। उत्साह त किन पनि छ भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपश्चात् नयाँ संविधान २०७२ कार्यान्वयन हुनेछ।

Image may contain: 1 person, eyeglasses and closeup लोकतन्त्रनिम्ति आवधिक निर्वाचन जरुरी हो नै, संविधान कार्यान्वयनसँगै लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, विधिको शासन, सामाजिक न्याय अग्रगमन, समानता, समावेशीकरण लगायतका जनउपलब्धिको प्रत्यक्ष कार्यान्वयन हुन पुग्छ।

 

देश र जनताको मुक्ति, समृद्धि, विकास र शोषित-उत्पीडित वर्ग, समुदायको हक अधिकार स्थापित गरी मानव सभ्यता, स्थायित्व, शान्ति न्यायका निमित्त अघि बढ्ने आधार तयार हुँदैछ। कमजोर वर्ग, जातीय, क्षेत्रीय, लैंगिक, वर्गीय, धार्मिक, सामाजिक र राजनीतिक उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गर्ने एवं उनीहरूलाई प्राप्त भएको संवैधानिक हक उपलब्ध गराउने दिशातर्फ अब अघि बढ्न सकिन्छ। स्थायित्व, शान्ति, विश्वास र निर्णय क्षमता भएको नेतृत्व हुने हो भने अब देशमा अािर्थक वृद्धि, साधन स्रोत, रोजगार व्यापार व्यवसाय, अवसर र प्रगतिको ढोका खुल्नेछ।

निर्वाचनको घोषणा भएलगत्तै विभिन्न सानाठूला दलबीच तालमेल, गठबन्धन गर्ने र पार्टीहरूका एकता नै गर्ने प्रक्रिया चलिरहेकै छ। साना वाम कम्युनिस्ट पार्टीहरू अस्तित्व जोगाउन असम्भव देखेपछि माओवादी केन्द्र र नेकपा एमालेमा धमाधम समाहित हुन पुगे। दुई ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रका चुनावी गठबन्धन, एउटै घोषणापत्र निर्माण र चुनावपश्चात्, पार्टी एकता गरी एउटै शक्तिशाली वाम पार्टी निर्माण गर्ने समझदारी र घोषणाले मुलुकभित्र र बाहिरसमेत तरंग ल्गाउन सफल भयो।

एकता सम्बन्धमा विभिन्न अफवाह, भ्रम र दुष्प्रचार फैलाइए पनि यी दुई दलको एकताले तत्कालीन सन्दर्भमा स्थायित्व, एकता र धु्रवीकरण निर्माण गर्ने देखिन्छ। यसरी बन्ने दुई प्रमुख शक्ति एक, वाम प्रगतिशील पार्टी र अर्को कांग्रेस नेतृत्वको लोकतन्त्रवादी शक्ति निर्माण हुने देखिन्छ। तत्काल देशले सबल, स्थायित्वपूर्ण शक्ति निर्माण गर्ने अवस्था निर्माण गर्दछ भने ती शक्तिको भूमिकाले भविष्य निर्माण गर्दछ। ती शक्तिले सत्तामोह, स्वार्थ, जातिवाद, नातावाद, सम्पत्तिको लोभमा सत्ता र शक्तिकै निम्ति मात्रै खेल्न थाले भने वैकल्पिक शक्ति जन्मिनेछ, अन्यथा यस्ता धु्रवीकरण राष्ट्रिय हित र जनताको स्वार्थमा प्रयोग गर्न सके अति उत्तम हुने देखिन्छ।

देशमा ठूला दुईतीनवटा मात्रै पार्टी अस्तित्वमा हुने अवस्था निर्माण हुँदा कम्युनिस्ट पार्टीले पार्टीको उद्देश्य र भविष्यसँग जोडिएका भ्रामक त्रासदीहरू फैलाउँदैछ। विशेषगरी नेपाली कांग्रेसले अधिनायकवादको त्रास फैलाउँदैछ। संसदीय निर्वाचन लडेर कहीं अधिनायवाद आउँछ ? साम्यवादको भ्रम
नेपालमा सत्ता स्वार्थ, सम्पत्ति, पद हैसियत, दम्भ स्वदेशी तथा विदेशी षड्यन्त्रमा परी पार्टी विभाजन गर्नुलाई सामान्य रूपमा लिइन्छ। त्यसरी नै नेपाल कम्यनिस्ट पार्टीको विभाजन, अलगअलग सोच, बुझाइ, स्वार्थ मान्यताकै कारण थुप्रै कम्यनुनिस्ट नामधारी पार्टीहरू हुन पुगे।

यसमा आन्तरिक र बाह्य दुवै कारण महत्वपूर्ण छन्। देशकै दुई ठूला कथित कम्युनिस्ट पार्टी एकता हुनुलाई समेत सामान्य प्रक्रियाको रूपमा लिनुपर्दछ। स्वाभाविक रूपमा एमाले र माओवादी केन्द्रका बीचमा वैचारिकभन्दा पनि दृष्टिकोणमा भिन्नता छन्। लोकतन्त्रलाई नै मूल मन्त्र मान्दै र प्रगतीशील नामसारी वामपन्थी पार्टी एमालेको विगतका व्यवहार सबैसामु स्पष्ट नै छन्। लोकतन्त्रलाई बलियो बनाउन तल्लीन तर एकल जातीय खस-आर्य-पहाडे जातीयवादी एमाले साइनबोर्डमा ‘कम्युनिस्ट' नै हो।

माओवादीले लडेको दसबर्से जनयुद्धको समर्थन कहिले गर्न चाहेन एमालेले। त्यति मात्रै होइन, गणतन्त्र, धर्म निरपेक्षता, जातीय र क्षेत्रीय लैंगिक, धार्मिक,लगायतका उत्पीडित जाति, वर्ग क्षेत्र र समुदायको समानता एवं समावेशीकरणमा समेत बाधक बनेको थियो एमाले। जातीय उत्पीडनलगायतका कुसंस्कार, विकृति, विभेद, अन्यायविरुद्ध लडेको भनिएको दसबर्से जनविद्रोहमार्फत स्थापित माओवादी पार्टी फुटको दलदलमा फस्न पुग्यो। हाल माओवादी केन्द्र एमालेसँग पार्टी एकतानिम्ति अघि बढेको छ। यद्यपि उसले स्थापित गरेको जनताको महत्वपूर्ण मुद्दा के हुने भन्ने सवाल छँदैछ।

नेपालको इतिहासमा २०५०÷०५१ सालतिर जब नेकपा एमालेको विजय हुने स्थिति बन्यो, यस पार्टीका विरोधी शक्तिले ‘कम्युनिस्टले जिते भने ६० वर्ष पुगेकालाई मारिदिन्छ' भन्ने अफवाह फैलाइयो। तर २०५१ सालको मध्यावधि निर्वाचनपश्चात् गठन भएको एमालेका अध्यक्ष मनमोहन अधिकारीको सरकारले ७० वर्ष पुगेका वृद्धवृद्धालाई भत्ता दिने व्यवस्थाको सुरुआत गरे। नेकपा एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बन्ने र बहुमत प्राप्त गरी सरकार निर्माण गर्न पुगे साम्यवाद आउँछ या अधिनायकवाद ल्याउँछन् भन्नु हास्यास्पद हो। लोकतान्त्रिक शासन व्यवस्था र समाजवादी आर्थिक नीतिभन्दा टाढा अबको विश्व कतै जानै सक्दैन। बहुदलीय शासन प्रणाली, आवधिक निर्वाचन जनताको मन र मत प्राप्त गरी शासन सञ्चालन गर्ने विधिको विकल्प छैन। वाम प्रगतिशील पार्टीको एकता कथित साम्यवादको सपना देख्ने होइन, स्थायित्व, स्थिरता समृद्धि, विकास, भरोसा, संविधानको कार्यान्वयनको निम्ति हो र हुनुपर्छ।
जातिवादी कम्युनिस्ट !

भनिन्छ- कम्युनिस्टहरूले जातीय कुरा गर्नै हुँदैन, वर्गको पो कुरा गर्ने। वर्गीय समस्या समाधान भए जातीय समस्या आफैं समाधान हुन पुग्छ। तथापि यी कम्युनिस्ट पार्टीभित्रको जातिवाद, कथित उच्च ब्राह्मण, क्षेत्रीय पहाडे, पुरुष एकल धार्मिक, क्षेत्रीयवाद जस्ता अतिवादको कसरी अन्त्य गर्ने ? भर्खर मात्रै एमाले र माओवादी पार्टीको गठबन्धन तथा पार्टी एकता निर्माणनिम्ति गठन गरिएको उच्चस्तरीय संयोजन समितिमा एमालेको तर्फबाट सहभागी नेताहरू एकै जाति, लिंग, क्षेत्र, वर्ग, धर्मका छन्। माओवादीबाट भने जनजाति पनि परे। दलित, महिला, मधेसी, उत्पीडित, जनजातिलगायतका अन्य जाति, वर्गको त निर्णायक स्थानमा पहुँच नै छैन। स्थापना कालदेखि नै नेपाल कम्युनिस्ट पार्टीको उद्देश्य उत्पीडित वर्गको मुक्ति भनिए पनि कथित उच्च जाति, सम्पन्न वर्ग, क्षेत्रकै मात्रै रजाइँ चलिआएकै छ।

कार्ल माक्र्स, लेनिन माओका सिद्धान्त र शिक्षादीक्षा प्राप्त गरेका र त्यसैलाई आदर्श मान्ने कमरेडहरूको मन, मस्तिष्क र व्यवहारमा उच्च जातीय अहंकार जीवित छन्। जनैधारी जातिवादी कथित कम्युनिस्ट भइरहनभन्दा भ्रम तोड्न जरुरी छ। जातीय, कुलिन, घराना, परम्परा, कुसंस्कारको विरुद्धमा लाग्ने प्रगतिशील शक्तिको जरुरी छ। राजनीति, शासन, प्रशासन, न्यायालय, सुरक्षा अंग, मिडिया, गैसस, संस्थान, आयोगलगायतका उच्च पद र ओहोदामा एकल खस आर्य नेतृत्व कहिलेसम्म ?

अब कोरा नारा, मीठा र क्रान्तिकारी भाषण, आश्वासन, शास्त्रीय एवं जडताको सहाराले जनताको निरीहतामाथि खेल्ने छुट कोही, कसैलाई छैन। जनतामा घृणा उत्पन्न हुन नदिन अझै समय बाँकी छ।

यस्तो स्थिति रहिरहेमा नयाँ जातीय द्वन्द्वको जन्म हुन सक्ने कुरालाई कसैले रोक्न सम्भव छैन। कथित कम्युनिस्ट पार्टीभित्रका एकल जातिको नेतृत्व अब सह्य र स्वीकार हुँदैन। त्यति मात्रै होइन, नयाँ संविधान कार्यान्वयनका निम्ति बनाइएको ऐन, कानुनमा समेत उत्पीडित वर्गलाई ठग्ने दुष्कार्य भएका छन्। फेरि उही कथित उच्च जातिका हातमा शासन प्रशासन पुग्नु गलत हो। हाम्रो जातीय समाजिक वर्गीय, लैंगिक, भाषिक, धार्मिक, सांस्कृतिक, समुदायगत विविधताको जगेर्ना गर्नु जरुरी छ। प्राकृतिक विधिता र मानवीय प्रवृत्तिको विविधतालाई सम्मानपूर्वक स्विकार्नुपर्छ। विभेदहरूबाट मुक्तिविना स्थायित्व, शान्ति न्याय, समृद्धि सम्भव छैन।

कम्युनिस्ट पार्टीको भविष्य

राष्ट्रले आफ्नो शासकीय स्वरूप तयार गरिसकेको छ। जनमत प्राप्त गरी शासन सञ्चालन गर्नु अनिवार्य भइसक्यो। बहुदलीय लोकतन्त्र, संघीय गणतन्त्र, विधिको शासन, स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, वाक् स्वतन्त्रता, मानव मर्यादा, समानता र समानुपातकि समावेशीकरण हाम्रो देशको नीति हो। प्रगतिशील वाम पार्टीहरूले देशमा रहेका गरिबी, अशिक्षा, कुरीति, रुढीवाढी, बेरोजगार, अमानवता, असभ्यतता, अन्याय, विभेद, अत्याचार, अन्धविश्वास र अविवेकविरुद्ध संघर्षशील रहनैपर्दछ। शासन व्यवस्था परिवर्तननिम्ति हजारौंको सहादत भएको छ। सहिदको आदर्श मन्त्री बन्नु, परिवारको भलो, नातावाद, जातिवादमा रमाउनु होइन। राष्ट्रको भलो, जनताको मुक्ति र स्वतन्त्रता, विकास, समानता, समृद्धिको निम्ति वाम शक्तिको भूमिका महत्वपूर्ण रहनै पर्दछ।

जुनसुकै र जहाँसुकै एक कम्युनिस्ट पार्टीको कार्यकर्ता अन्यायविरुद्ध लड्नुपर्दछ। सत्ताविरोधी, क्रान्तिकारी भाषाको प्रयोग, आक्रोश, विद्रोह बन्नु र बोल्नुमात्रै कम्युनिस्ट हुनु होइन। जनमत प्राप्त गरी जनताका जनजीविका, अप्ठ्यारा, दुःख, पिरमर्का समाधान गर्नु पनि दायित्व हो। जनता सामान्य औषधोपचार, न्यून शिक्षाको हक, पोषण, समानता इत्यादि अधिकारबाट वञ्चित हुनुपर्ने तर नेतृत्व वर्ग भने अकूत सम्पत्ति जोड्न र जोगाउन, भ्रष्टाचार गर्न, आफ्ना आफन्तको सम्पत्ति र भविष्य निर्माण गर्न मात्रै लाग्ने हो भने केको कम्युनिस्ट पार्टी ? जनताको दैनिक जीवनयापनमा सहजता ल्याइदिन जरुरी छ। अब कोरा नारा, मीठा र क्रान्तिकारी भाषण, आश्वासन, शास्त्रीय एवं जडताको सहाराले जनताको निरीहतामाथि खेल्ने छुट कोही, कसैलाई छैन। जनतामा घृणा उत्पन्न हुन नदिन अझै समय बाँकी छ।

अब प्रशिक्षणको सूत्र बदलौं, सत्ता ‘बन्दुकको नालबाट होइन, जनताको मतद्वारा प्राप्त हुन्छ' मत प्राप्त गर्न जनताको मन जित्न जरुरी हुन्छ। १७ हजार (जनता) को सहादत, बलिदानी, करोडौं सम्पत्तिको क्षति, हजारौंकौ घरवारविहीन, लाखौं प्रभावित भई प्राप्त भएका जनउपब्धिको संरक्षण एवं संविधान कार्यान्वयन गरी थप परिमार्जन गर्न जरुरी छ। उत्पीडित वर्ग, सीमान्तकृत जाति, दलित, मुस्लिम समुदाय, महिला, पिछडिएका क्षेत्र, बहिष्कृत धर्म, संस्कृति, विभेदको सिकार बन्न पुगेका निमुखा जनताको भविष्य सुनिश्चित गर्न कम्युनिस्ट पार्टीको बलियो उपस्थिति जरुरी छ। जनताको ताकत, जनमत, भरोसा आशा र विश्वासलाई जीवित राख्दै राष्ट्रको समृद्धि स्थायित्व, दीर्घ शान्ति, समानता, न्याय दिलाउनु कम्युनिस्ट पार्टीको उद्देश्य हुन्। जनताका साथ र सहयोग लिएर अघि बढ्न सके मात्रै दलको भविष्य सुरक्षित रहनेछ। वाम प्रगतिशील पार्टीको औचित्य त्यतिबेला मात्रै पुष्टि हुनेछ।


720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2