MENU

दलीय उत्तरदायित्वको आशा

प्रा. श्रीधर गौतम बिहीबार, कात्तिक २३, २०७४ 513 पटक पढिएको

Share This

635-X-85_1

सर्वसाधारणको चाहना छ- राजनीतिक धु्रवीकरणले राष्ट्रिय एकता र चेतना बढाई देश विकासमा मूर्तरूप दिन सकोस

केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं कंग्रेस सम्पन्न भयो। खासगरी चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङ दोस्रो कार्यकालको लागि पुनः निर्वाचित भएपछि यसबाट चीन र विश्वका अन्य मुलुकमा पर्ने प्रभाव सम्बन्धमा थुप्रै टीकाटिप्पणी भए। चिनियाँ राष्ट्रपतिले उक्त अवसरमा दिएका अभिव्यक्ति पनि चर्चित भए।

Image may contain: 1 person

राष्ट्रपति सीले आफ्नो भाषणमा चीनको विकासको लागि राष्ट्रिय चेतनालाई अझ बढी पुनर्ताजगीकरण गर्नुपर्नेमा विशेष जोड दिएका थिए। त्यसैले उनले चीनको गौरवपूर्ण इतिहासको उल्लेख गरेर राष्ट्रिय चेतना कमजोर भएको अवस्थामा चीनले विदेशी आक्रमणको सिकार हुनुपरेको र चिनियाँ जनताले लज्जाजनक अवस्था भोग्नुपरेको स्मरण गराएका थिए। चीन फेरि त्यस्तो अवस्थामा कहिल्यै नपुगोस् भन्नाका लागि चीनमा राष्ट्रिय चेतना सुदृढ गराउनुपर्नेमा उनले जोड दिएका थिए। आज चीनमा साम्यवादी दल सत्तामा भए पनि माओत्से तुङको पालाको जस्तो अवस्था छैन र चीनमा देङ सियाओ पिङले ल्याएका आर्थिक सुधारका कदमअनुरूप नै चिनियाँ शासन व्यवस्था चलिरहेको छ।

 

 तैपनि चिनियाँ कम्युनिस्ट पार्टीले माओत्से तुङलाई उच्च महत्व दिएर मूल्यांकन गरेको छ र उनको नेतृत्वमा जापानी औपनिवेशक दासताबाट चीन मुक्त भएको र उनकै नेतृत्वमा जनवादी गणतान्त्रिक चीनको स्थापनालाई चीनको इतिहासमा अविस्मरणीय घटना मानेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाईसौं कंग्रेसले इतिहासलाई नबुझेसम्म वर्तमान र भविष्य बुझ्न नसकिने औंल्याएको छ। उक्त कंग्रेसले कुनै बाहिरी शक्तिले पुनः चीनको एकता र अखण्डतामाथि प्रहार गर्न नसकोस् भन्नेमा पनि जोड दिएको थियो। समग्रमा चीनले इतिहासबाट पाठ सिकेर एउटा उन्नत र समृद्ध देश बनाउने वाचा गरेको देखिन्छ।

चीनको उदाहरण नेपालको लागि सान्दर्भिक छ। आज देशमा राष्ट्रिय एकता र राष्ट्रिय चेतनाको कमी भएकाले देश झन्झन् गरिब र परनिर्भर हुँदै गएको छ।
०४७ को महत्वपूर्ण राजनीतिक घटनापछि नै राष्ट्रिय एकता र चेतनको लहर आएको भए आजसम्म देशले ठूलै उपलब्धि प्राप्त गर्ने थियो। तर त्यो घटना केवल घटनामा सीमित हुन गयो र क्रान्तिमा परिणत हुन सकेन। त्यतिबेलादेखि देशको आन्तरिक राजनीतिमा विदेशी शक्तिको प्रत्यक्ष संलग्नता सुरु भयो। त्यस्तो विदेशी हस्तक्षेपको मात्रा इतिहासको कालखण्डमा धेरै वा थोरै रूपमा निरन्तर रहिरहेको छ। ०१७ सालको काण्डपछि पनि त्यस्तो बाहिरी प्रभाव नेपाली राजनीतिमा रहँदै गयो। ०४६÷४७ तथा ०६२÷६३ को जनआन्दोलनपश्चात् पनि त्यही सिलसिला रह्यो।

फलस्वरूप नेपाली राजनीतिमा स्थिरता आउन सकेन र प्रजातान्त्रिक व्यवस्थाले पनि संस्थागत विकासको रूप लिन सकेन। ०४६ देखि ०६२÷६३ सम्मको लामो समयमा पनि नेपालमा शिशु प्रजातन्त्र रहेको अवस्था भएको कुरो दोहोरिने गर्‍यो। अहिले नेपालमा राजतन्त्रको अवसान भई गणतन्त्र स्थापना भएको छ, तैपनि नेपाली राजनीतिमा स्थिरता छैन र देशमा सबै महत्वपूर्ण राजनीतिक घटना बाहिरी शक्तिबाट प्रभावित हुने गर्छन्।

संविधान निर्माण समयमा देशका प्रमुख राजनीतिक दलले देखाएको सहकार्य र एकता पनि लामो समयसम्म टिक्न सकेन। विदेशी प्रभावकै कारणले प्रमुख शक्ति विभाजित हुन गएर त्यसबाट संविधान कार्यान्वयन संकटमा पर्दै गयो। विडम्बना जुन राजनीतिक शक्ति मिलेर संविधान निर्माण गरे, तिनै शक्ति केही समयपछि व्यवस्थापिका-संसद्मा पक्षविपक्षमा उभिन गए र संविधान कार्यान्वयन गर्न सहकार्य गर्नुपर्ने ठाउँमा एउटा पक्षले संविधान संशोधनको पक्षमा वकालत गर्ने र अर्को पक्षले विरोध गर्ने अवस्था आयो।

एमाले र माओवादी केन्द्रको संयुक्त सरकार अचानक भंग हुन पुग्यो र दुई प्रमुख वामपन्थी दलहरूले स्थानीय तहको चुनावमा एकअर्काको विरोधमा प्रतिस्पर्धा गर्नुपर्‍यो। आज तिनै दुई वामपन्थी राजनीतिक शक्ति पुनः एक ठाउँमा आएर सँगसँगै प्रतिनिधिसभा र प्रदेशसभाको लागि चुनाव लडिरहेका छन्।
अहिले उनीहरूका बीचमा देखिएको मेल सायद परिस्थितिले उब्जाएको बाध्यता होला। यी दलहरूले अब पनि फुटेर राजनीति गर्ने हो भने देशमा बाहिरी शक्तिले कहिल्यै पनि स्थिरता आउन दिने छैनन् भन्ने आभास पाएको देखिन्छ। यो आभास सत्य ठहरिन सक्यो भने राष्ट्रिय एकतामा बल पुग्नेछ। चुनावपछि यिनीहरूका बीचमा पुनः सत्ताका लागि संघर्षको इतिहास दोहोरियो भने देश थप अस्थिरतातर्फ धकेलिनेछ। अहिलेसम्मको देशको जर्जर अवस्थाको लागि प्रमुख जिम्मेवार कारण राष्ट्रिय चेतनाको अभाव हुनु हो।
चीनले छोटो समयमा गरेको प्रगतिको पछाडिको प्रमुख कारण राष्ट्रिय स्वाभिमान र चेतना हो। आज उनीहरू एकातिर सयौं वर्षअगाडिको आफ्नो गौरवपूर्ण इतिहास र सभ्यतालाई पुनर्जीवित गर्न चाहन्छन् भने अर्कोतिर विदेशीले चिनियाँ जनतालाई अफिम युद्धमा फसाएर चीन र चिनियाँ जनतालाई विभाजित गरेर विशाल देशका जनतालाई पराधीन बनाएको लाजमर्दो इतिहासलाई फेरि दोहोरिन नदिन पनि उत्तिकै कटिबद्ध देखिन्छन्।

चीनले मात्र नभई भारतलगायतका अन्य देशले पनि राष्ट्रिय चेतनाको माध्यमबाट आफूलाई माथि उठाउँदै लगेका छन्। चीनजस्तै विशाल देश भारत पनि राष्ट्रिय चेतना अभावका कारण तुलनात्मक रूपले सानो राष्ट्रको अधीनमा सयौं वर्ष पिल्सिएरहनुपरेको थियो। आखिरमा भारतको स्वतन्त्रता संग्रामका नेताहरूले राष्ट्रिय चेतनाविना राष्ट्रिय मुक्ति र विकास सम्भव छैन भन्ने बुझेकै कारण लामो संघर्षपछि देशलाई स्वाधीन बनाए।

फलस्वरूप आज एसियाका शक्तिशाली देशमा चीन र भारत गनिन्छ। त्यसैगरी फ्रान्स र जापानको औपनिवेशिक दासताबाट मुक्त भएपछि मात्रै एसियाकै भियतनाम र कोरिया जस्ता देशले आर्थिक प्रगति गरी आज ती देश एसियाका उदीयमान आर्थिक शक्ति भएका छन्। इन्डोनेसिया, मलेसिया, सिंगापुर, श्रीलंका जस्ता अन्य एसियन देशको पनि यस्तै इतिहास छ। आज ती देशमा राष्ट्रिय चेतना तुलनात्मक रूपले बलियो छ। त्यहाँको राजनीतिक अवस्था पनि नेपालको भन्दा स्थिर र सबल छ।

नेपालको पनि गौरवपूर्ण इतिहास नभएको होइन, तर हामीले विस्तारै हाम्रा वीर पुर्खाहरूलाई बिर्संदै गयौं। भारतमा औपनिवेशिक शासन हुँदा पनि हाम्रा पुर्खाले ज्यानको बाजी लगाएर देशको एकता जोगाएका थिए। तर आज हाम्रो देशका सन्ततिमा वीर पुर्खा अर्थात् अमरसिंह थापा, बलभद्र कुँवर, लखनसिंह थापा, भीमसेन थापालगायतका देशका योद्धाले गरेको त्याग र बलिदानको बारेमा कमै ज्ञान पाइन्छ। हाम्रो शिक्षा प्रणालीमा राष्ट्रिय चेतना बढाउन पाठ्यसामग्री कमै राखिएका हुन्छन्। आजको नयाँ पुस्ताले आफ्नो इतिहास बुझ्न पाएनन् भने उनीहरूमा अहिलेको राजनीतिक अवस्था र अहिलेका नेताहरूको चरित्र देख्न निराश लाग्न सक्छ। त्यसैले पनि हामीले हाम्रो गौरवपूर्ण इतिहास झल्काउने विषयवस्तु विद्यालय एवं कलेजका पाठ्यपुस्तकमा राख्नुपर्छ।

आज चीन र भारतका विभिन्न तहमा पाठ्यपुस्तक हेर्‍यौं भने हामी त्यहाँ यस्ता सामग्री पाउने गर्छौं। त्यसैले भारत र चीनका युवा पुस्तामा देशको इतिहासको बारेमा राम्रो ज्ञान हुन्छ। हाम्रा पुर्खाबाट असल नियतले विदेशीसँग लड्दा केही गल्ती भए, तर ती गल्तीभन्दा उनीहरूले गरेका त्यागका काम महत्वपूर्ण छन्। उदाहरणका लागि कतिपय इतिहासकारले भीमसेन थापाको गल्तीले गर्दा नेपालले आफ्नो धेरै भूमि अंग्रेजसँगको लडाइँमा गुमाउनुपरेको बताएर उनको अवमूल्यन पनि गरेका छन्। तर भीमसेन थापा सच्चा देशभक्त थिए र उनको उद्देश्य देशलाई अंग्रेजको पञ्जाबाट मुक्त राख्नु नै थियो भने सबै प्रमाणबाट पुष्टि हुन्छ।

इराकमा सद्दाम हुसेन राष्ट्रवादी नेता थिए। हो, उनी तुलनात्मक रूपमा तानाशाही स्वभावका थिए। उनले इराकलाई अमेरिकी आक्रमण र त्यसको प्रभावबाट मुक्त पार्न राष्ट्रिय अडान छोडेनन् र आखिरसम्म अमेरिकी आक्रमणविरुद्ध लडिरहे। हो, उनकै कारणले इराकमा अमेरिकी आक्रमण भई देशै छियाछिया भयो। आज इराक टुक्रिएर दुई देशमा विभाजित हुने अवस्थामा पुगेको छ। सद्दाम हुसेनलाई मारिएको एक दशक बितिसक्दा पनि त्यहाँको अवस्था झनै जर्नर बनेको छ। उनको पालाको जस्तो इराकको विकास निर्माण अब एउटा सपनाजस्तो भएको छ।

त्यसैले पुर्खाबाट असल नियतबाट भएका कमीकमजोरीभन्दा पनि उनीहरूको जीवनका प्रमुख विशेषतालाई जनमानसमा परिचित गराउँदै जाँदा राष्ट्रिय चेतना बलियो हुने हो। चिनियाँ कम्युनिस्ट पार्टीले माओत्से तुङको पालामा सन् १९६६ देखि १९७० सम्म भएको सांस्कृतिक क्रान्तिलाई एउटा ठूलो भूल मान्छ, तर त्यसले चिनियाँ कम्युनिस्ट पार्टीको अवमूल्यन गरेको छैन। चीनका सबै पाठ्यपुस्तकमा कुनै न कुनै रूपमा माओत्से तुङको योगदानमा चर्चा हुन्छ। चिनियाँ कम्युनिस्ट पार्टीले माओले गरेका गल्तीको तुलनामा उनले देशको एकता र चेतनाको लागि पुर्‍याएको देन कयौं गुना माथि भएको भनी मूल्यांकन गरेको छ।

हामीले हाम्रो देशमा पनि पृथ्वीनारायण शाहदेखि लिएर विगतमा हाम्रा पुर्खाले गरेका कामको मूल्यांकन वैज्ञानिक ढंगबाट गर्नुपर्छ। कसको योगदानले राष्ट्रको हित भयो र राष्ट्रिय चेतना बढ्यो भन्ने हेक्का राख्नुपर्छ। राणाको जहानियाँ शासन अन्त्यका लागि योगदान पुर्‍याउनेहरूको पनि सम्मान गर्नुपर्छ। अप्रजातान्त्रिक व्यवस्था स्थापित गर्ने काम गरेर राजा महेन्द्रले नेपाली इतिहासमा एउटा ठूलो धब्बा लगाए। तैपनि त्यतिबेलाको परिस्थितिमा उत्तरी सीमामा चीनसँग सम्झौता गरी कोदारी राजमार्ग निर्माण, चक्रपथ निर्माण, संयुक्त राष्ट्रसंघमा नेपाललाई सदस्य बनाउने र असलंग्न राष्ट्रको सदस्य बनाउने कामको हामीले उचित मूल्यांकन गर्नुपर्छ। त्यसैगरी बहुदलीय व्यवस्थाअन्तर्गत पनि जुनसुकै दलका नेताले राष्ट्रिय हित र चेतना अभिवृद्धिको काम गरेका छन् भने वैचारिक आग्रहबाट माथि उठेर त्यस्तो कदमको कदर गर्नुपर्छ।

नेपालले नेपाली विशेषतासहितको राजनीतिक परम्परा स्थापित गर्नुपर्छ। यसनिम्ति आवश्यक सर्त भनेको राष्ट्रिय एकता र चेतना बढाउने हुनैपर्छ। यदि यी दुई विशेषता भएनन् भने देश विकास नहुने मात्रै होइन, राष्ट्रिय अखण्डता पनि जोगाउन सकिँदैन।

यही परम्परा भारत, अमेरिका, बेलायतलगायतका देशमा पाइन्छ। संसदीय व्यवस्था पञ्चायती व्यवस्थाभन्दा बढी प्रगतिशील हो र यसै व्यवस्थाअन्तर्गतका बीपी कोइराला, गणेशमान सिंह, मदन भण्डारी एवं मनमोहन अधिकारी जस्ता नेताका पालामा भएगरेका कार्यको मूल्यांकन पनि गुण र दोषकै आधारमा गर्नुपर्छ। भिन्न वैचारिक पार्टीका नेता हुँदैमा उनीहरूले गरेका कामको निरपेक्ष रूपमा समर्थन अथवा विरोध गर्दा स्वस्थ राजनीतिक संस्कार बस्न सक्दैन। मुख्य कुरा कसको कामले राष्ट्रिय एकता र चेतना बढ्यो अथवा देशको स्वाभिमान बढ्यो भन्ने हो।

आज देशमा स्वस्थ राजनीतिक प्रतिस्पर्धा र संस्कृति बढाउनुपर्ने आवश्यकता छ। यसरी एकातिर देशलाई सम्पूर्ण रूपमा विदेशीको हस्तक्षेपकारी भूमिकालाई समाप्त गर्नुपरेको छ भने अर्कोतिर देशमा विद्यमान जिम्मेवार दलले प्रजातान्त्रिक शैलीमा राष्ट्रिय हितमा हातेमालो गर्दै जानुपर्छ र कुनै दल अथवा नेताले त्यसको हितविपरीत काम गर्ने प्रयास गरेमा सम्झौतारहित रूपमा संघर्ष पनि गर्नुपर्छ। यसरी एकता र संघर्षको बाटोबाट मात्रै देशलाई एउटा राजनीतिक अस्थिरताको भुमरीबाट मुक्त गर्न सकिन्छ।

अहिले देशमा राजनीतिक ध्रुवीकरण भइरहेको छ, त्यो आफैंमा अस्वाभाविक हुँदैन। संसदीय प्रजातन्त्रमा यस्ता अभ्यास हुने गर्छन्। तर यी अभ्यास विदेशी प्रभावबाट मुक्त हुनुपर्छ र देश र जनताको समग्र हित र चिन्ताबाट प्रेरित हुनुपर्छ। चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौं कंग्रेसले जसरी चीनलाई सुहाउने अर्थात् चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थालाई निरन्तरता दिने कुरा गरेको छ, त्यो उसको आन्तरिक विषय हो। नेपालले पनि नेपाली विशेषतासहितको राजनीतिक परम्परा स्थापित गर्नुपर्छ। यसको लागि आवश्यक सर्त भनेको राष्ट्रिय एकता र चेतना बढाउने हुनैपर्छ। यदि यी दुई विशेषता भएनन् भने देश विकास नहुने मात्रै होइन, राष्ट्रिय अखण्डता पनि जोगाउन सकिँदैन।

यो दुःखको कुरा हो कि २००७ सालदेखि अहिलेसम्म हामी राष्ट्रिय अखण्डता र सार्वभौमिकता बलियो भएको अवस्थामा छैनौं। यसका लागि हामी सबै जिम्मेवार छौं र यो सामूहिक उत्तरदायित्व हो। तर यसको सुरुआत दलहरूबाट पनि हुनुपर्छ। सबै क्षेत्रको वातावरण सुधार्न सर्वप्रथम राजनीतिक वातावरणको प्रमुख भूमिका हुन्छ। राजनीति सुध्रिएन भने सबै क्षेत्र अस्तव्यस्त रहने गर्छ। अब हुन लागिरहेको चुनावले देशमा एउटा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ र यो एउटा सांस्कारिक अभ्यसको रूपमा सीमित हुनु हुँदैन।

अहिले देखिएको राजनीतिक धु्रवीकरणले राष्ट्रिय एकता र चेतना बढाई देशको विकासलाई मूर्तरूप दिन सकोस् भने सर्वसाधारणको चाहना छ। फेरि पनि दलहरू आपसमा निहित स्वार्थ र सत्ता प्राप्तिका लागि आपसमा नलडून्। अब पनि यही प्रवृत्ति दोहोरियो भने विदेशी शक्तिले थप चलखेल गर्ने मौका पाउनेछन् भने देश झन्झन् पराधीनतातर्फ धकेलिनेछ। हामी राजनीतिक दलहरूलाई देशप्रति उत्तरदायी भई अन्य देशको उदाहरणबाट पाठ सिकेर नेपाली जनतालाई गरिबी, बेरोजगार र राष्ट्रिय अपमानको स्थितिबाट मुक्ति दिलाउन आग्रह गर्दछौं।



720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2