MENU

उम्मेदवार छनोटको सूत्र

डा. घनश्याम भट्ट बिहीबार, कात्तिक २३, २०७४ 640 पटक पढिएको

Share This

635-X-85_1

लोकतन्त्रमा दलले गरेका हरेक गल्तीको जनताले अनुमोदन गरे भने सुधार र परिवर्तन सम्भव हुँदैन

परिवर्तनको लालमोहर लगाउने अन्त्यमा जनअदालतबाटै हो । क्रान्ति वा परिवर्तनका हिमायती राजनीतिक दलले आफूअनुकूल परिवर्तनको परिभाषा दिने गरेकाले परिवर्तन देखिएको छैन । नेताले स्वास्नी, साला, छोरा, बुहारीलाई निर्वाचनमा उतार्नु यिनले जारी गरेका घोषणापत्रको विरुद्ध हुन्छ । राजनीतिमै भएका परिवारका सदस्यलाई टिकट दिँदा तुलनात्मक रूपले सहज निर्वाचन क्षेत्र खोज्नु वा तालमेल मिलाइदिनु पनि क्रान्तिकारी कदम होइन । आफ्नो जीवनको सम्पूर्ण समय दलमा समर्पण गर्ने कार्यकर्ताप्रति अन्याय गर्नु पनि क्रान्तिकारिता होइन । पञ्चायत र राजतन्त्र फालियो र आर्थिक क्रान्तिको नारासहित गणतन्त्र आयो । तर दीपक मनाङे, गणेश लामा र परशुराम खरेलहरू राजनीतिमा देखिए । जनआकांक्षामा खेलबाड गरियो भने संविधान नमान्ने र विद्रोहमा जाने दललाई एक सजिलो मौका मिल्नेछ । देशका लागि यो एक संवेदनशील सवाल हो ।

 

लामो समयदेखि सत्तामा सदावहार रहेर सुशासनमा सिन्को भाँच्न नसक्ने यथास्थितीवादीलाई ठेगान लगाउने एउटा झीनो अवसर निर्वाचन हो । झीनो किनभने कतिपय योग्यले टिकट नै पाएनन्, कतिपय ठाउँमा नयाँलाई रोज्ने अवसरै छैन । चालीसको दशकको लोकतान्त्रिक योद्धहरू उमेरले अहिले पाँच दशकको वरिपरि छन् । त्यसबेलाका लोकतान्त्रिक आन्दोलनका योद्धाहरूको बाक्लो उपस्थिति संसद्मा हुनुपर्ने यो उत्कृष्ट समय हो । कुनै पनि पेसामा पाँच दशकको उमेर एक परिपक्क उमेर हो । पञ्चायतसँग वा राजासँग लडेका कतिपय यस्ता योद्धाहरू आफ्नै दलसँग पराजित भइसकेका छन् ।

नेपाली कांग्रेसमा ठीक र बेठीकको आफ्नो अन्तरमनले व्याख्या गर्न सक्ने, कुनै आर्थिक घोटालामा नपरेका र वैचारिक द्वन्द्व गर्न सक्ने, आफ्नो जीवनको सम्पूर्ण ऊर्जावान् समय लोकतान्त्रिक आन्दोलनमा खर्चेका एक शालीन नेता धनराज गुरुङ टिकटको चयनमा परेनन् । गुरुङकै समकालीन एमालेका नेता जगन्नाथ खतिवडा पनि टिकटबाट वञ्चित भए । बद्री पाण्डे, गुरुराज घिमिरे र शंकर पोखरेल पनि आफ्नो दलको रोजाइमा परेनन् । जनअदालतभन्दा माथि रहेको दल अदालतले यिनलाई आगामी संसद्का लागि योग्य ठानेन ।

अबको पाँच वर्षमा यिनीहरू आफूलाई युवा नेता भन्न पाउने छैनन् । उता विजय गच्छदार, वामदेव गौतम, गोपालमान श्रेष्ठ, रामचन्द्र पौडेल, माधव नेपाल, झलनाथ खनाल, प्रकाशमान सिंह आदि २०४८ सालदेखि निर्वाचनमा देखिएका नेताहरू भने दलको प्राथमिकतामा परे । नेपालको लोकतान्त्रिक आन्दोलनका यी योद्धाहरूले आफ्नो क्षमताले गर्न सक्ने सबै गर्ने मौका पाइसके । तुलनात्मक रूपले नयाँ नेताहरू प्रकाशशरण महत, ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र कृष्णबहादुर महराको क्षमता र सुशासन पनि छर्लंग भइसक्यो । राजनीति पाँचौं, तेस्रो र दोस्रोपटक प्रधानमन्त्री हुने मुद्दा प्रमुख भएकाले असफल भइसकेका ससाना नेताहरू पनि राजनीतिको केन्द्रमै छन् । यसको एउटै अर्थ हुन्छ- नेताले परिवर्तन जस्ता शब्दको प्रयोग जनहितमा नभएर केवल आफ्नो हितमा गरेका छन् ।

लोकतन्त्र उत्तम व्यवस्था हुँदाहुँदै पनि यसका खराब पक्ष पनि छन् । निर्वाचन एक क्रूर न्यायालय हो । अदालतले दुईजना असल व्याक्तिमध्ये एक छान्नुपर्‍यो भने अदालतको फैसला मान्य हुन्छ, त्यो सही भने हुँदैन । दुईजना फटाहा व्यक्तिको बीचमा पनि त्यस्तै हुन्छ । एकादेशमा एउटा न्यायाधीश रहेछन् । उनले एउटा अभियुक्तलाई हो वा होइनमा मात्र जवाफ दिन आदेश दिएछन् । अभियुक्तले त्यसो गर्न नसकिने भनेर प्रतिवाद गरेछ र उसले न्यायाधीशलाई एउटा प्रश्न गर्ने अनुमति लिएर सोधेछ । ‘ श्रीमान्, हजुरले घुस लिएर मुद्दाको फैसला गर्न छोड्नुभयो ? ’ हो वा होइनमा जवाफ दिनुस् । उसले भनेछ- श्रीमान्, प्रश्न नै ठीक भएन भने जवाफ हो र होइनमा दिन सकिन्न । जनअदालतमा केही यस्तै अप्रिय निर्वाचन क्षेत्रहरू छन् । प्रतिनिधिसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट देवराज चालिसे र रवीन्द्र अधिकारी यस्तै दुई कुशल पात्र जनअदालतमा छन् । युवा नेता रवीन्द्र अधिकारी पटकपटक सांसद भएर आफ्नो क्षमता देखाइसकेका नेता हुन् । संसद्मा उनी विवादित नेता होइनन् ।

त्रिभुवन विश्वविद्यालयमा एक बौद्धिक नेताका रूपमा स्थापित नेता चालिसे पञ्चायतविरुद्धको आन्दोलनका नायक हुन् । उनीपछि विश्वविद्यालय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका सभापतिसमेत भए । कास्की जिल्लाको हुनुको कारणले देवराज चालिसेलाई सांसदको टिकट अलि ढिलो प्राप्त भयो । कास्की- २ का जनताका लागि चालिसे र अधिकारीमध्ये एक रोज्नु एक असहज परिस्थिति हो । गुल्मीमा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीचको प्रतिस्पर्धा पनि लोकतन्त्रका लागि असहज हो । परिणाम जेसुकै भए पनि लोकतन्त्रमा यी स्वीकार भने गर्न सकिने अवस्था हुन् ।

कतिपय निर्वाचन क्षेत्रमा निर्वाचनको परिणामको आकलन गरेर पहिल्यै मिलाइसकिएको छ । अहिले तीनवटा यस्ता कुरुक्षेत्र उदाहरण योग्य छन्, जहाँको परिणामले लामो समयसम्म राजनीतिमा चर्चा पाउनेछ । कुरा सुरु गरौं कुरुक्षेत्र नम्बर १ अर्थात् चितवन- ३ बाट । तीन महिनाअघिसम्म कांग्रेसको सम्पूर्ण शक्ति पुष्पकमलकी छोरीलाई जिताउन लागेको थियो । निर्वाचन जितेका देवी ज्ञवाली कांग्रेसकै कारणले पराजित भए ।

पंक्तिकारले देवी ज्ञवालीप्रति सहानुभूतिपूर्वक केही शब्दहरू यसै लोकप्रिय राष्ट्रिय दैनिकमा लेखेको थियो । अहिले देवी ज्ञवालीको तिनै मत च्यात्नेसँग अंकमाल गरिरहेको तस्बिर सामाजिक सञ्जालमा देख्दा आफैंप्रति ग्लानि भएर आउँछ । सैद्धान्तिक निकृष्टताको यो उदाहरण पञ्चायत वा राजतन्त्रसमेतमा कहिल्यै देखिएको थिएन । अहिले कांग्रेसको पूर्ण शक्ति त्यहाँ पुष्पकमलको विपक्षमा र राप्रपाको पक्षमा लागेको छ । २०३६ सालदेखि कांग्रेसको बाहुल्य देखिएको निर्वाचन क्षेत्रमा जनअदालतको फैसला भने माओवादी वा राप्रपाको पक्षमा हुनेछ ।

अर्को चर्चाको केन्द्रमा रहेको कुरुक्षेत्र नम्बर २ अर्थात् कैलाली— ५ हो । त्यहाँका जनताले यसपालि त्यो क्षेत्रसँग कुनै साइनो नभएको उम्मेदवार उपहार पाएका
छन्, आरजु देउवाको रूपमा । आरजु त्यहाँको भूगोल, प्राकृतिक सम्पदा, विकासका पूर्वाधार वा जनभावानासँग अपरिचित व्यक्ति हुन् । उनले कैलाली— ५ रोज्ने कारण हो, त्यहाँ कांग्रेस तुलनात्मक रूपले सुदृढ स्थितिमा हुनु र उनी आफ्नो दलका अध्यक्षकी पत्नी हुनु ।

कैलाली— ५ ले देउवाजस्तो एक योग्य उम्मेदवार पाउनु अन्यथा नहोला तर उनले त्यहाँ टिकट पाउनुमा आफूमा निहित शक्तिको प्रयोग गर्नु उनकै लोकतान्त्रिक दलका कार्यकर्ताका लागि राम्रो सन्देश होइन । त्यहाँ २०३६ सालदेखि कांग्रेसको मोर्चा सम्हालेका कार्यकर्ताको पालो अझै आएन । चर्चा गर्नयोग्य अर्को क्षेत्र हो कुरुक्षेत्र नम्बर ३, अर्थात् झापा— ३, राप्रपाका एक युवा उम्मेदवार त्यस क्षेत्रमा लोकप्रिय छन् । आफू मजबुत भएको क्षेत्रमा राप्रपाले कांग्रेसको सहयोग मागेर तालमेल गर्नु अस्वाभाविक होइन । यसले अन्य निर्वाचन क्षेत्रमा समेत कांग्रेसलाई फाइदा गर्ने थियो । कांग्रेसले कृष्णप्रसाद सिटौलाको लागि त्यो गठबन्धन तोड्यो ।

छपटक निर्वाचनमा जानेलाई पूर्णविराम लगाउन सके परिवर्तन आफंै देखिनेछ । प्रत्येक दलका कार्यकर्ताले देशलाई परिवर्तनकारी नेतृत्व दिन सक्नेका पक्षमा उभिने यो उत्तम बेला हो । नत्र नेताले देश बिगार्‍यो भनेर अर्को चार वर्ष गाउनुपर्नेछ ।

राजनीतिक निर्लज्जताको कुरा त झन् कांग्रेसले सहयोग गर्न खोजेका राप्रपाका त्यहाँका उम्मेदवारलाई वाम गठबन्धनले पनि सहयोग गर्ने घोषणा गर्‍यो । वाम भोटको बाहुल्य भएको झापामा जनअदालतले भने कांग्रेस वा राप्रपाको पक्षमा फैसला गर्नेछ । यी कुरुक्षेत्रबाट निस्कने नकारात्मक परिणामले संविधान नमान्ने विद्रोही पक्षलाई प्रत्यक्ष फाइदा हुनेछ । उता मधेसमा अधिकारका लागि नाकाबन्दीसम्मको आन्दोलन भयो । तिनै आन्दोलनका योद्धाहरूले आफ्नै बलमा जनअदालतमा जाने हिम्मत गर्न सकेनन् । ती प्रत्येक मधेसी नेताहरूका विरुद्ध मधेसी नै निर्वाचनमा छन् ।

उपेन्द्र यादव र महन्थ ठाकुरलाई कांग्रेसको र हृदयेश त्रिपाठीलाई एमालेको भोट चाहिएको छ । थोरै भए पनि जनअदालतमा केही ठोस विकल्पहरू बाँकी नै छन् । जनताका हातमा झीनो आशा बाँकी छ । लंका जलाउन एक काँटी काफी हुन्छ । काठमाडौं— १ मा रवीन्द्र मि श्र र प्रकाशमान सिंहबीचको निर्वाचन एक श्यामश्वेतको अवस्था हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंहको ठूलो योगदान छ, तर अहिले नयाँ नेपालको निर्माण गर्ने अभियान हो । सिंहको योग्यता र क्षमता अब अपरिचित रहेन । मि श्रले आफ्नो नाम, दाम र पेसा छोडेर एक ठूलै जोखिम मोलेर राजनीतिमा आएका छन् । नेपालमा कुनै सफल पेसाकर्मीले यति ठूलो जोखिम मोलेर राजनीति रोजेको अहिलेसम्म छैन ।

मिश्रको विजयले ठूला राजनीतिक दलमा समेत सुधारको एक सकारात्मक सन्देश दिनेछ । काठमाडांै २ मा माधव नेपाल देशका प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । आगामी सरकार केपी ओलीको बनेछ भने पनि उनी आफ्नो पालो आउने लोभमा एक शक्ति केन्द्रको रूपमा सरकारको अस्थिरताको पक्षमा उभिनेछन् । त्यो स्वयं एमालेकै हितमा हुँदैन । यसको विकल्पमा सूर्यराज आचार्य एक दूरगामी दृष्टिकोण भएका उम्मेदवार हुन् । दीपक कुइँकेल पनि संसदीय अनुभव भएका ऊर्जावान् युवा हुन् । सुशासन र क्षमता देखिसकिएका ईश्वर पोखरेल र प्रकाशशरण महत दुवैको तुलनामा काठमाडौं— ५ मा उज्ज्वल थापा परिवर्तनका लागि एक यस्तै उपयुक्त पात्र हुन् ।

यिनका अलावा सुशासन र परिवर्तनका लागि गगन थापा, नवीन्द्रराज जोशी, योगेश भट्टराई, घनश्याम भुसाल, विश्वप्रकाश शर्मा, उदयशमशेर राणा, राजेन्द्र लिंग्देन आदि संसद्मा हुन आवश्यक छ । नयाँ बौद्धिक युवा वर्गमा सुमित्रासिंह लामा, मिलन पाण्डे र रमेश चिलुवालहरू पनि जनअदालतमा छन् । सुशासनमा उत्कृष्टता प्रदर्शन गरिसकेका जनार्दन शर्मा, गोकर्ण बिष्ट, नवीन्द्रराज जोशी, गगन थापा जुन दलको भए पनि फरक पर्दैन ।

लोकतन्त्रमा दलले गरेका हरेक गल्तीको जनताले अनुमोदन गरे भने सुधार र परिवर्तन सम्भव हुँदैन । छपटक निर्वाचनमा जानेलाई पूर्णविराम लगाउन सके परिवर्तन आफैं देखिनेछ । प्रत्येक दलका कार्यकर्ताले देशलाई परिवर्तनकारी नेतृत्व दिन सक्नेका पक्षमा उभिने यो उत्तम बेला हो । नत्र नेताले देश बिगार्‍यो भनेर अर्को चार वर्ष गाउनुपर्नेछ ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2