MENU

ट्रम्प चीन जाँदा

रिचार्ड एन. हास शुक्रवार, कात्तिक २४, २०७४ 4041 पटक पढिएको

Share This

635-X-85_1

उत्तर कोरियाका आणविक सामग्रीमाथि नियन्त्रण कायम गर्न चीन र अमेरिकाबीच सहकार्य जरुरी छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प करिब दुई साताका लागि एसिया भ्रमणमा निस्किएका छन् । जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स भ्रमणमा निस्किएका ट्रम्प यतिबेला चीनमा छन् । भ्रमणको सबैभन्दा बढी प्राथमिकतामा चीन पर्नु स्वाभाविकै हो किनकि आर्थिक र रणनीतिक रूपमा अमेरिकाका लागि चीन सबैभन्दा महत्वपूर्ण राष्ट्र हो ।

अमेरिका र चीन संवादमा उत्तर कोरिया सबैभन्दा महत्वपूर्ण विषय हुनेछ किनकि ट्रम्पले उत्तर कोरियासिर्जित समस्या समाधानका लागि चिनियाँ नेतृत्वको सहयोगको आशा गरेका छन् । ट्रम्पले यसमा चीनको सहयोग किन खोज्दैछन् बुझ्न सकिन्छ । उत्तर कोरियाको आयातनिर्यातमा सबैभन्दा धेरै चीनको भूमि प्रयोग हुन्छ । चीनमाथि उत्तर कोरियाको निर्भरता बढी भएकाले उसले चाहेमा ठूलै दबाब दिन सक्छ ।

तर यसमा ट्रम्पलाई निराशा हात लाग्ने सम्भावना बढी छ । चीनले उत्तर कोरियामाथि सकेसम्मको दबाब दिने सम्भावना कम छ । त्यसो गर्दा उत्तर कोरिया अस्थिरतातर्फ जान सक्छ र त्यसको परिणाम चीनका लागि पनि झन् भयावह हुन सक्छ । चीनको उत्तर कोरिया नीतिको विडम्बना र खतरा के हो भने उत्तर कोरियालाई आणविक हतियार र क्षेप्यास्त्र बनाउन र सुधार गर्न समय दिँदा युद्धको सम्भावना बढ्छ । त्यति मात्र होइन, दक्षिण कोरिया वा जापान वा दुवै मुलुकले एकैचोटी उनीहरूको अहिलेको आणविक हतियार नबनाउने नीति पुनर्विचार गर्न सक्छन् । उत्तर कोरियाको आणविक कार्यक्रमबाट सबैभन्दा असुरक्षित अनुभव गर्ने मुलुक जापान र दक्षिण कोरिया नै हुन् । यी दुई मुलुक आणविक हतियारयुक्त हुनु चीनको रुचिविरुद्ध हुनेछ । तर अरू सरकारले झैं चीनले अहिलेको अप्ठेरो टार्न दीर्घकालका लागि बढी खतरनाक हुनसक्ने सम्भावनातर्फ ध्यान नदिन सक्छ।

 



चीन अमेरिका छलफलको एजेन्डामा उत्तर कोरियाबाहेक अरू विषय पनि छन् । दक्षिणी चीन समुद्र र ताइवानको अन्तर्राष्ट्रिय हैसियत जस्ता भूराजनीतिक विषयहरू छन् । सम्बोधन गरिनुपर्ने आर्थिक विषयहरू पनि छन् । जस्तै- चीनले बौद्धिक सम्पत्तिमाथिको अधिकार स्वीकार गरेको छैन, निर्यातमुखी उद्योगहरूलाई ठूलै मात्रामा सरकारी छुटहरू दिने गरेको छ र चीनको बजारमा अन्तर्राष्ट्रिय पहुँच सीमित गर्छ । चीनले त्यहाँ व्यापार गर्ने विदेशी कम्पनीहरूलाई अत्याधुनिक प्रविधि चीनमा हस्तान्तरण गर्नुपर्ने सर्त पनि राख्दै आएको छ ।

उत्तर र दक्षिण कोरियाबीचको पहिलो कोरियाली युद्धमा एकअर्काको पक्ष लिँदा अमेरिका र चीन प्रत्यक्ष युद्धमा होमिन पुगेका थिए । अब त्यसो नहोस् भन्ने अमेरिका चाहन्छ ।

यी दुई महत्वपूर्ण र शक्तिशाली राष्ट्रहरूबीच असहमति बढाउने यस्ता धेरै र अप्ठेरा विषयहरू छन् । चीन र अमेरिकाबीचको सम्बन्ध थप बिग्रँदै जान्छ भन्ने निराशावादीहरूको अनुमानलाई यस्ता अप्ठेराहरूले सही सावित गर्ने हुन् कि जस्तो लाग्छ । यी निराशावादीको तर्क के हो भने उदीयमान र स्थापित शक्तिहरूबीच चरम प्रतिस्पर्धा र युद्ध इतिहासमा बारम्बार दोहोरिने प्रवृत्ति हुन् ।

हार्वड विश्वविद्यालयका राजनीतिशास्त्री ग्राहम अलाइसनद्वारा लिखित र भर्खरै प्रकाशित पुस्तक ‘डेस्टाइन्ड फर वार’ ‘थुसिडाइड्स ट्र्याप’ मा केन्द्रित छ । अन्तर्राष्ट्रिय राजनीतिको अध्ययनमा ‘थुसिडाइड्स ट्र्याप’ को अवधारणा ग्रीसका २५०० वर्षअगाडिका इतिहासकार थुसिडाइड्सको नामबाट बनेको हो । थुसिडाइड्सले त्यसबेलाको उदयीमान राज्य एथेन्स र महाशक्ति स्पार्टाबीचको प्रतिस्पर्धाका कारण पेलोपोनेसियन युद्ध भएको व्याख्या गरेका छन् ।

अन्तर्राष्ट्रिय राजनीतिको अध्ययनमा उदयीमान र स्थापित शक्तिको प्रतिस्पर्धा र द्वन्द्व व्याख्या गर्न ‘थुसिडाइड्स ट्र्याप’ को अवधारणा प्रयोग गरिन्छ । यो अवधारणाले उदयीमान शक्तिले आफ्नो प्रभाव र दबाब बढाउन खोज्दा र स्थापित शक्तिले उसको दबदबा रहेको यथास्थिति कायम राख्न खोज्दा उनीहरू एकअर्कासँगको तीव्र प्रतिस्पर्धामा फस्ने बताउँछ । शीतयुद्धकालमा अमेरिका र सोभियत संघको अन्त्यहीन जस्तो देखिएको प्रतिस्पर्धाको व्याख्या गर्न पनि यो अवधारणा प्रयोग गरिएको थियो । दक्षिण एसियामा भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई यो धारणाको सहयोगले व्याख्या गर्ने गरिन्छ । अलाइसनले उनको पुस्तकमा अहिलेको विश्व राजनीतिमा अमेरिका र चीन यस्तै अन्त्यहीन प्रतिस्पर्धाको शृंखलामा फसेको र अन्त्यमा यी दुईबीच युद्ध हुन सक्ने पूर्वानुमान गरेका छन् ।

यसअघि यी शक्तिशाली दुई मुलुकबीच युद्ध हुन सक्ने पूर्वानुमान गरिएका थिएनन् । आणविक हतियारले एकअर्काका डरले प्रत्यक्ष युद्ध रोक्छ भनी शीतयुद्धकालमा गरिएका व्याख्याहरूलाई अलाइसनको अनुमानले स्विकारेको छैन । शीतयुद्धकालमा आणविक हतियारका कारण सिर्जित सन्तुलनले अमेरिका र सोभियत संघबीच प्रत्यक्ष युद्ध नभएको व्याख्या बौद्धिक वर्ग र राजनीतिज्ञहरूका बीच सर्वस्वीकार्य जस्तै थियो । ताइवानका विषयमा समेत अमेरिका र चीन सहमतिमा पुग्ने सम्भावना न्यून देखिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धमा कूटनीतिको स्थान छ, तर यसले सबै समाधान दिन सक्दैन ।

वास्तवमा अमेरिका र चीन शीतयुद्धकालमा उनीहरूका साझा प्रतिस्पर्धी सोभियत संघका कारण बनेको राम्रो सम्बन्ध पछि तुलनात्मक रूपमा सहज राख्न सफल भएका छन्, सोभियत संघ विश्वको मानचित्रबाट हराइसकेको २५ वर्षभन्दा बढी भइसक्दा पनि । बृहत् आर्थिक सम्बन्धका कारण सहज सम्बन्ध राख्नुपर्ने अवस्थामा यी दुई मुलुकहरू छन् । आर्थिक विकासका लागि चीनलाई बाह्य वातावरण स्थिर हुनुपर्ने हुनाले नेताहरूले धेरै सोचविचार गरेर सावधानीका साथ निर्णय लिने र कदम चाल्ने गरिरहेका छन् ।

तर पनि निराशावादीहरूको चासोलाई पूरै अस्वीकार गर्न भने सकिँदैन । कहिलेकाहीं राष्ट्रहरू राष्ट्रिय स्वार्थअनुरूप काम गर्न सफल हुँदैनन् भने कहिले नचाहँदा-नचाहँदै पनि परिस्थिति नियन्त्रणबाहिर जान्छ । उदाहरणका लागि चीनका नेताहरू अर्थतन्त्रको वृद्धिदर घट्दै गइरहेको अवस्थामा जनमत भड्किन नदिन आक्रामक र राष्ट्रवादी बन्न सक्छन् । विभिन्न क्षेत्रीय व्यापार सम्झौता र समझदारीमा अमेरिका पछाडि हट्दै जाँदा चीनले त्यसबाट सिर्जित रिक्ततामा अवसर छोप्न प्रयास गर्न सक्छ । यसरी पनि चीन र अमेरिकाबीचको द्वन्द्व बढ्न सक्छ ।

तर अमेरिका र चीन सम्बन्धमा आउने उथलपुथलले विश्व राजनीतिलाई नै ठूलै असर पार्नेछ । व्यापार र आर्थिक विषयहरूलाई लिएर चीन र त्यहाँका राष्ट्रपति सी जिनपिङको आलोचना गर्ने ट्रम्प अब भने सन्तुलित भएर प्रस्तुत हुनुपर्नेछ । उनले दुई मुलुकबीचको व्यापारमा अमेरिकाका वैध चासोहरू उठाउनु र सम्बोधन गराउनुपर्नेछ, तर व्यापार द्वन्द्व सुरु नगरीकन । सीले पनि उनको र चिनियाँ कम्युनिस्ट पार्टीको लोकप्रियतामा ह्रास नआउने गरी उनका अमेरिकी समकक्षी (ट्रम्प) लाई सन्तुष्ट पार्न कोसिस गर्नुपर्छ ।

दुई राष्ट्रपतिको छलफलमा उत्तर कोरिया कठिन परीक्षणको विषय हुनेछ । ट्रम्प र सीले कोरियाली प्रायद्वीपमा निम्तिन सक्ने सम्भावित संकट निवारण गर्ने विकल्प पत्ता लगाउनुपर्छ । नत्र कूटनीति असफल भएर अमेरिका र उत्तर कोरियाबीच युद्ध भएमा परिणाम व्यवस्थापन गर्ने उपायहरूका बारेमा उनीहरूले सोच्नुपर्छ । युद्ध भइहालेमा अमेरिका र चीनबीचको प्रत्यक्ष द्वन्द्व नहोस् भन्ने सुनिश्चित गरिनुपर्छ । उत्तर र दक्षिण कोरियाबीचको पहिलो कोरियाली युद्धमा एकअर्काको पक्ष लिँदा अमेरिका र चीन प्रत्यक्ष युद्धमा होमिन पुगेका थिए । अब त्यसो नहोस् भन्ने अमेरिका चाहन्छ । उत्तर कोरियाका आणविक सामग्रीमाथि नियन्त्रण कायम गर्न पनि चीन र अमेरिकाबीच सहकार्य जरुरी छ । यसका लागि चातुर्य र सीपयुक्त कूटनीति चाहिन्छ । आशा गरौं- यस्तो कूटनीतिको सुरुआत ट्रम्प र सीले गर्नेछन् ।

-हास अमेरिकी सरकारका विभिन्न महत्वपूर्ण पदमा रहेर काम गरिसकेका बौद्धिक व्यक्ति हुन् । उनले जर्ज डब्लू बुस राष्ट्रपति हुँदा उत्तरी आयरल्यान्डका लागि राष्ट्रपतिको विशेष दूत भएर काम गरेका थिए ।
(प्रोजेक्ट सिन्डिकेटबाट अनूदित)

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2