MENU

विप्लव गतिविधिको नियन्त्रण

अन्नपूर्ण शुक्रवार, कात्तिक २४, २०७४ 3962 पटक पढिएको

Share This

635-X-85_1

सम्पादकीय

 

उम्मेदवारको प्रचारमा प्रयोग भएको मोटरसाइकलबाट मंगलबार गोरखामा हतियार समातियो । निर्वाचनको पूर्वसन्ध्यामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न स्थानमा उम्मेदवार धम्क्याएर चन्दा असुल्न थालेकाले तिनलाई पक्रन गृह मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निर्देशन दियो । यी घटनाले चुनावमा सुरक्षा निकायको सतर्कता र चनाखो उपस्थिति आवश्यक देखिन्छ ।

अघिल्लो साता जंगी अड्डामा बसेको नेपाली सेनाको पृतनापतिको बैठकले ‘विप्लव र उनका कार्यकर्ता जनस्तरबाटै बहिस्कृत भइसकेको’ निष्कर्ष निकाले पनि प्रमुख दलकै आपराधिक प्रवृत्तिका केही नेता-कार्यकर्ता तथा विप्लव माओवादीको सम्भावित सुरक्षा खतरालाई नजरअन्दाज गर्न मिल्दैन । निर्वाचन स्थलमा सामान्य हुलदंगाका घटना हुँदासमेत सर्वसाधारण डराउने अवस्थामा सानोतिनो बम या भरुवा बन्दुक पड्किँदा के होला ? त्यसबारे अहिल्यै मूल्यांकन गर्दै सोअनुसारको कार्ययोजना बनाउनुपर्छ।

 

अहिले पनि देशका कतिपय क्षेत्रमा भरुवा बन्दुक, कटुवा पेस्तोलजस्ता घरेलु हतियार परम्परा र संस्कृतिका नाममा प्रयोग हुने गरेका छन् । कतिपय आदिवासी-जनजातिको जन्ममृत्यु र विवाहजस्ता संकारमा कतिपय हतियारको प्रयोग अनिवार्य हुन्छ । त्यस्ता हतियारले चुनाव असुरक्षित पार्न सक्छ । गोरखामा बरामद भएको नाइन एमएम अटो पेस्तोल सानो हतियार हो । ठूलाभन्दा साना हतियार बढी घातक हुने, सहजै लुकाएर त्यसको ओसारपसार गर्न सकिने र सस्तो मूल्यमा पाइने भएकाले साना हतियार प्रयोगबारेमा पनि सरकार गम्भीर बन्नुपर्छ । चुनावमा सीमा क्षेत्रमा बढी मात्रामा साना हतियार प्रयोग हुने प्रहरी अनुसन्धानले देखाएको छ । सुरक्षालाई ध्यानमा राखेर मात्र चुनावको निष्पक्षताको विषयमा वकालत गर्न सकिने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्छ ।

त्यस्तै जनतानिम्ति राजनीति गरेको बताउने विप्लव र उनी नेतृत्वको माओवादीले पनि डरधम्कीको राजनीति तत्काल बन्द गर्नुपर्छ । सशस्त्र युद्ध, जनआन्दोलन हुँदै यहाँसम्म आइपुग्दा पनि उन्नाईसौं शताब्दीको रुमानी कम्युनिस्ट सपना त्याग्ने हिम्मत गर्नुपर्छ विप्लव समूहले । जनअधिकार, मजदुर अधिकार र समताका अन्य एजेन्डामा कसैको असहमति नरहे पनि जनता मालिक हुनलाई कसैले रोक्न नसक्ने आजको अवस्थामा बम, बारुद र बन्दुक बोकेर पैसा असुल्ने प्रवृत्ति सर्वथा अनुचित हो । त्यस्तो गतिविधि अब कोही पनि क्रान्तिकारी मान्न तयार छैनन् । यसर्थ जनतालाई बलियो बनाउनकै लागि गर्न लागिएको चुनाव बिथोल्ने गरी हुने कुनै हिंसात्मक गतिविधि स्वीकार्य छैन ।

अर्को रसदपानी र यातायातकै कारण पनि चुनाव खर्चिलो भइरहेको अवस्थामा धम्की दिएर चन्दा उठाउने गतिविधिका कारण उम्मेदवार र पार्टीको व्यय बढ्ने अवस्था छ । त्यसो हुन नदिन पनि यस्ता गतिविधिलाई सुरक्षा निकायले निगरानी र नियन्त्रण गनुपर्ने कुरो त छँदैछ, सर्वसाधारणले पनि धम्क्याउने व्यक्ति तथा समुदायलाई असहयोग गर्नुपर्छ । कुनै पनि दल र विद्रोही समूहको अन्तिम लक्ष्य हतियार बन्द क्रान्ति हुन सक्दैन । क्रान्ति त आमूल परिवर्तननिम्ति खास समयमा चालिने एउटा कदम पो हो ।

यस सन्दर्भमा पेरूमा कुनै बेला युद्ध चलाएका गोन्जालोलाई सम्झनु श्रेयस्कर हुन्छ । अहिले जेलजीवन बिताइरहेका गोन्जालोद्वारा दीक्षित उनका कतिपय नेता-कार्यकर्ता लागूऔषध ओसारपसार र अन्य खालका अपराधमा संलग्न छन् । विप्लवले पेरूबाट पाठ सिकेर तत्कालै शान्तिपूर्ण राजनीति स्विकानुपर्ने देखिन्छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2