MENU

वायु प्रदूषण घटाउन यातायातमा जोर बिजोर प्रणाली लागु गरिने

एजेन्सी शुक्रवार, कात्तिक २४, २०७४ 9014 पटक पढिएको

Share This

635-X-85_1

नयाँ दिल्ली : भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार पनि तुवाँलो नहटेपछि वायु प्रदूषण घटाउन स्थानीय सरकारले यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ ।सरकारले आउने सोमबारदेखि ५ दिनसम्म त्यहाँका सवारीसाधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्ने बिहीबार जनाएको हो । तर यो नियम दुईपांग्रे र महिलाले चलाउने सवारीसाधनमा लागू हुने छैन । दिल्ली सरकारले जोर बिजोर प्रभावकारी नभएर रद्द गरिने जनाएको छ ।

यो नियम बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म लागू हुनेछ । ‘जोर बिजोर प्रणाली लागू भएपछि दिल्लीमा एक दिन जोर नम्बरका र अर्कोदिन बिजोर नम्बरका सवारीसाधन गुड्नेछन्’, दिल्लीका यातायातमन्त्री कैलास गहलोतले भने, ‘तर महिलाले चलाउने र दुईपांग्रे सवारीसाधनमा यो नियम लाग्ने छैन।’

उनले दिल्लीको वातावरण र वायु प्रदूषण मध्यनजर गरी दिल्ली वरपरका राज्यका मुख्यमन्त्रीको बैठक बोलाएर समस्या समाधान गरिने बताए । सरकारले दिल्ली यातायात कर्पोरेसनलाई जोर बिजोर लागू भएका बेला ५ सय बस भाडामा लिएर भए पनि सहज आवागमनको व्यवस्था गर्न आग्रह गरेको छ ।

 

गत वर्ष पनि दिल्ली सरकारले वायु प्रदूषण नियन्त्रण गर्न जोर बिजोर प्रणाली लागू गरेको थियो । जोर बिजोर लागू गर्दाको परिणाम स्पष्ट नभए पनि सरकारले यसबाट प्रदूषण घटेको दाबी गरेका थियो।

प्रदूषणबाट दिक्क भएका दिल्लीवासीले फेरि एकपल्ट जोर बिजोर प्रणाली प्रयोग गर्ने मौका पाएका छन् । तर यसबाट हुने उपलब्धिबारे भने दिल्लीवासी एकमत छैनन् । कतिपयले सार्वजनिक यातायातमा सुधान नहुन्जेल यस्ता कुनै पनि योजना प्रभावकारी नहुने बताएका छन् ।अहिले दिल्लीको जनसंख्या १ करोड ७० लाख छ भने सवारीसाधनको संख्या करिब १ करोड छ । यसबाहेक पनि छिमेकी राज्य हरियाणा र उत्तरप्रदेशबाट दैनिक लाखौं सवारीसाधन दिल्ली आउँछन् । यस्तो स्थितिमा केही प्रश्न गर्छन् जोर बिजोर प्रणाली कसरी लागू गर्न सकिन्छ ?

सेन्टर फर साइन्स एन्ड इन्भाइरनमेन्टको गत वर्षको प्रतिवेदनमा उल्लेखित तथ्यांकमाथि विश्वास गर्ने भए सन् २०१६ जनवरीमा दिल्लीको प्रदूषण नियन्त्रणमा आएको थियो । गत वर्ष अप्रिलमा जोर बिजोर प्रणाली लागू हुँदा त्यहाँको वातावरण अहिलेको भन्दा राम्रो स्थितिमा थियो । सेन्टरका अनुसार जोर बिजोर लागू गरेपछिका ७ दिनमा त्यहाँको प्रदूषणस्तर धेरै घटेको थियो ।

नयाँ दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले कहिलेसम्म विद्यालय बन्द गर्ने वातावरणविदहरूसँग सल्लाह गरिरहेको जानकारी दिए । उनले दिल्लीमा घन्टैपिच्छेको वायु प्रदूषण मापन र अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

भारतीय मेडिकल संघ आईएमएले प्रदूषणबाट उत्पन्न स्वास्थ्य जोखिम न्यून गर्न आवश्यक प्रयासका लागि आह्वान गरेको छ । दिल्लीको स्थानीय सरकारले बुधबार मात्र त्यहाँ जनस्वास्थ्य संकटकालको घोषणा गरेको जानकारी दिएको थियो । दिल्ली सरकारको घोषणापछि सार्वजनिक स्थलमा हुने खुला कार्यक्रमको संख्या घटेको छ ।

दिल्लीमा बढ्दो तुवाँलोको अवस्था यस्तै रहे आगामी १९ नोभेम्बरमा हुने म्याराथन प्रतियोगिता पनि स्थगित हुनसक्ने आशंका गरिएको छ । आईएमएले भने प्रतियोगिता स्थगन गर्न सुझाव दिएको छ ।त्यहाँ प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ७० गुणासम्म बढी छ । प्रदूषण घटाउन विशेष पहल गर्न सबैले सरकारसँग आग्रह गरेका छन् । भारत सरकारले प्रदूषणकै कारण नयाँ दिल्लीका सबै प्राथमिक विद्यालय बुधबारदेखि अनिश्चितकालका लागि बन्द गरेको थियो ।

नयाँ दिल्ली विश्वकै सबभन्दा प्रदूषित सहरमध्ये पर्छ । दिल्लीलाई लगातार तेस्रो दिन बिहीबार पनि बाक्लो तुवाँलोले ढाकेको छ । राजधानी नयाँ दिल्लीमा प्रायशः बर्सेनि जाडोयाम सुरु भएपछि यसैगरी बाक्लो तुवाँलो लाग्ने गर्छ । केही वर्षयता नयाँ दिल्लीमा वायु प्रदूषण अत्यधिक बढ्दै गएकाले समस्या उत्पन्न हुने थालेको छ ।

नयाँ दिल्लीको औद्योगिकीकरण, फोहोर र सवारीसाधनको चापलाई वायु प्रदूषणको प्रमुख कारक मानिन्छ । स्वास्थ्य अधिकारीहरूले अझै १÷२ दिनमात्र पनि यसैगरी तुवाँलो लागिरहे यसले सर्वसाधारणको स्वास्थ्यमा समस्या आउन सक्ने चेतावनी दिएका छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2