MENU

रियालिटी शोदेखि सेलिब्रेटीसम्म, १० स्टारका कथा

635x90_3

गोपाल दाहाल/किरण दहाल शुक्रवार, कात्तिक २४, २०७४ 25342 पटक पढिएको

Share This

635-X-85_1

सार्वजनिक मञ्चहरूमा देखिने मौका नपाएका प्रतिभालाई सतहमा ल्याइदिन्छन्- रियालिटी शोहरूले । टेलिभिजन सञ्चार र केबल नेटवर्कको विस्तारसँगै प्रचारमा आएका यस्ता शोले अनेकन प्रतिभालाई बजारमा स्थापित गरिदिएका छन् । टेलिभिजन च्यानलमा विभिन्न रियालिटी शोबाट आमदर्शकको आँखैअगाडि प्रतिस्पर्धा गरेर, दर्शकको भोटबाटै चयन भएर आएका स्थापित केही सेलिब्रेटीको विवरण यहाँ प्रस्तुत छ :

बुद्ध लामा

एपीवान एचडी टेलिभिजनले आयोजना गरेको पहिलो ‘नेपाल आइडल’का विजेता गायक बुद्ध लामाको पुख्र्यौली घर धादिङ हो । उनी अहिले परिवारसहित पोखरा बस्छन् । होटल म्यानेजमेन्टमा प्लस-टु गर्दैछन् ।

उनको घरमा एउटा क्यासेट थियो, गीत सुन्नका लागि दिदीले ल्याएकी थिइन् । दिदी कहिलेकाहीँ गीत सुन्दै कापीमा त्यसका शब्द उतार्थिन् । रेडियोको छेउमा बसेर बुद्धचाहिँ बजिरहेको गीत गुनगुनाइरहन्थे । भाइको यस्तो स्वभाव देखेर दिदीले उनलाई स्टुडियो पुर्‍याइदिइन् । ‘अब म्युजिक सिक्न पाइने भइयो’, उनको मुहारमा खुसी नाच्यो । घरको आर्थिक अवस्थाले लामो समयसम्म स्टुडियोमा बसेर म्युजिक सिक्ने अवस्थाचाहिँ थिएन । भन्छन्, ‘रहर भए पनि मैले लगातार संगीत सिक्न पाइनँ ।’ त्यसपछि घरमै बसेर क्यासेट सुन्दै म्युजिकको तृष्णा मेट्न थाले । हुर्कंदै जाँदा गीतसंगीतप्रतिको लगाव झनै बढ्न थाल्यो । यस्तो क्रेज देखेर पोखराकै एक स्टुडियोले बुद्धलाई सित्तैमा म्युजिक सिकाइदिने आश्वासन दियो । त्यसपछि उनी दैनिक स्टुडियो गएर रियाज गर्न थाले।

सानैदेखि उनलाई एउटा दबाब थियो । स्वतन्त्र भएर कतै हिँड्नै सक्दैनथे । घरको आर्थिक अवस्था कमजोर भएकाले उनी जिम्मेवारीहरूले घेरिइरहन्थे । सोच्थे, ‘मैले पैसा कमाएर बा-आमालाई खुसी राख्नुपर्छ ।’ उनको खुसीमा परिवारको भने सधैं साथ रह्यो । म्युजिकमा लाग्छु भन्दा परिवारको असन्तुष्टि कहिल्यै रहेन । बा-आमाको एउटै अपेक्षा थियो, ‘कसै गरे पनि छोराले पढाइ नबिगारोस्।

गाउँमा हुने कार्यक्रमहरूमा बुद्ध कहिलेकाहीँ गीत गाउन जान्थे । त्यहाँबाट अलिअलि पैसा पनि आउँथ्यो । बुद्ध भन्छन्, ‘तर, मलाई एकदमै थोरै पैसा दिन्थे । ठूलाठूला मान्छेहरूले थुप्रै लिन्थे ।’एक दिन उनी इन्स्टिच्युटमा रियाज गरिरहेका थिए । त्यसै बेला सुने, ‘नेपाल आइडल’ हुँदैछ । पत्रपत्रिकामा ‘नेपाल आइडल’को विज्ञापन छापिएको थियो । उनलाई लाग्यो, ‘जति प्रचार गरे पनि नेपालमा नेपाल आइडल गर्दैनन् ।’ पछि अडिसन दिएपछि पक्का भयो, ‘आखिर नेपाल आइडल हुने नै भयो ।’ अडिसनमा उनले ‘आज तिम्रो कुरा चल्यो...’ बोलको गीत गाए ।

गाउँकै कार्यक्रममा कहिलेकाहीँ गाउँथे, ६ कक्षा पढ्दै गर्दा पहिलोपटक स्टेजमा ‘अलिकति नजर तिम्रो झुकाएर आऊ...’ बोलको गीत गए । यो गीत ६ कक्षा पढ्दा ‘बिग आइकन’मा गाएका थिए।

उनी प्रायः रोमान्टिङ गीत मन पराउँछन् । ‘नेपाल आइडल’ बुद्ध लामा अब म्युजिक छोडेर बस्न नसक्ने बताउँछन् । भन्छन्, ‘मैले आजसम्म जे गरेँ म्युजिकका लागि गरेँ, अझै राम्रो गर्न चाहन्छु ।’ अडिसन दिएर काठमाडौं आउँदै गर्दा उनलाई साथीहरूले भन्थे, ‘बुद्धे तँ काठमाडौंबाट कार चढेर आउनुपर्छ ।’ नेपाल आइडल भएका पनि उनले यति बेला कार पनि जितिसकेका छन् । अहिले उनी देशविदेशमा गीत गाउनमै व्यस्त छन् ।

दीपक लिम्बू

Dipak-Limbu-1नेपाली आधुनिक गीतमा परिचित नाम हो— दीपक लिम्बू । उनको यो परिचय गायन रियालिटी सो ‘नेपाली तारा’को विजेता भएपछि बनेको हो ।सुनसरी, प्रकाशपुरका दीपक ‘नेपाली तारा’भन्दा पहिले पनि ०५७ मा ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ र २०५८ मा ‘पूर्वाञ्चल आधुनिक गीत प्रतियोगिता’ लगायतका गायन प्रतिस्पर्धामा विजेता बनेका थिए तर ०६२ मा प्रथम नेपाली तारा जितेपछि उनको परिचय नेपालीमाझ फैलियो ।

‘नेपाली तारा’ विजेताका रूपमा त उनी चिनिए । तर, उनलाई गायकीबाट श्रोताको मन जित्न ठूलो चुनौती थपियो । विजेता भएपछि उनको एकल एल्बम बजारमा आयो । त्यसमा समावेश ‘हजार तारा आकाशमा’ले केही चर्चा त कमायो तर त्यसले आम श्रोतामाझ चिनाउन सकेन । करिब एक वर्षपछि निर्देशक दीपक श्रेष्ठको फिल्म ‘हिम्मत’मा उनले गाउने मौका पाए ।

डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा उनले गाएको ‘मैले त्यही भएर मन पराको..’ गीतले बजारमा दीपकलाई गायकका रूपमा चिनायो । त्यसपछि दीपकले धेरै फिल्ममा गाए । उनका एकपछि अर्का गीतहरू हिट भए । भन्छन्, ‘नेपाली तारा र यही गीत मेरो संगीत करिअरका टर्निङ प्वाइन्ट हुन् ।’

सानै छँदा बाबुआमा बितेपछि दाजु र दिदीहरूको सहारामा हुर्किए, दीपक । बाल्यकालमा बुवाआमाको माया नपाए पनि नेपाली ताराको प्लेटफर्मले उनले श्रोताहरूको माया पाए ।
गाउँमा सुनगाभा नामको क्लब थियो । त्यसैबाट गाउँथे, नाच्थे अनि नाटकमा अभिनय गर्थे उनी । देउसीभैलोले उनको कलाकारितालाई अझ सहयोग गर्‍यो । पछि धरान गएर दिदीको घरमा बस्दै 

उनले अनु श्री वेनर्जी र विनोद प्रियदर्शी राईबाट संगीतको औपचारिक ज्ञान लिए । एल्बमको तयारीमा थिए, त्यही बेला ‘नेपाली तारा’को फारम खुलेको थाहा पाए । तर, उनले थाहा पाउँदा फाराम भर्ने समय सकिएर पुनः तीन दिन थपिएको रहेछ । त्यही अन्तिम समयमा फाराम भरे । उनको ट्याग नम्बर थियो १४२३ । गायन कला र भोटका आधारमा उनी विजेता बने । त्यसपछिका दिनमा उनले पाँच एल्बम र दर्जनौं चलचित्रमा गरी दुई हजारभन्दा बढी गीत रेकर्ड गराएका छन् । आफ्ना केही गीतमा अभिनयसमेत गरेका दीपक अहिले गायनका लागि अमेरिका पुगेका छन् ।

धर्मेन्द्र सेवान

Dharmendra-Sewangपहिलो ‘नेपाली तारा’को फाइनलमा दीपक लिम्बू र धर्मेन्द्र सेवानबीच कडा प्रतिस्पर्धा थियो । भोटका आधारमा दीपक प्रथम बने अनि धर्मेन्द्र दोस्रो ।प्रथम नेपाली तारामा दोस्रो बनेपछि नै हो- धर्मेन्द्रको पनि सांगीतिक परिचय बनेको । हुन त उनी सानैदेखि घरमै सांगीतिक माहोलमा हुर्किए । उनका बुवा बुद्धि परियार नाच्ने, गाउने गर्थे । बुद्धिले रचना गरेका गीतहरू ‘रेशम फिरिरी’, ‘हेर्दा राम्रो माछापुच्छ्रे’लगायत चर्चित थिए ।

पोखरामा जन्मेहुर्केका धर्मेन्द्रलाई पनि संगीतले आकर्षित गरिहाल्यो । बुवा नेपाल प्रहरीको सांस्कृतिक टोलीबाट नाच्ने गाउने गर्थे । धर्मेन्द्रले पनि पोखरामा साथीहरूसँग ब्यान्ड बनाए । त्यसपछि लेकसाइडको क्लबमा गाउन थाले । त्यहीँ सिकेको संगीतले उनलाई नेपाली तारामा भिड्ने आँट पलायो ।

नेपाली तारामा दोस्रो भएपछि उनी नेपाली सांगीतिक क्षेत्रमा गायकका रूपमा स्थापित भए । एल्बम, कलेक्सन गरी धेरै गीत रेकर्ड गराइसकेका उनले तेस्रो एल्बम ‘राष्ट्रको गीत’मा आफ्नै बुवाले रचना गरेका पुराना गीत पुनः आफ्नो स्वरमा रेकर्ड गराएका छन् । लाइभ म्युजिकमा गाउन बढी मन पराउने धर्मेन्द्र अहिले देशविदेशका सांगीतिक कार्यक्रममा पुग्ने गरेका छन् ।

उनले एसएलसी फेल भएपछि पढाइ छाडेका थिए । यो उनी नेपाली तारामा सहभागी हुनुअघिकै कथा हो । नेपाली तारा भएपछि उनलाई पढ्नुपर्ने रहेछ भन्ने लागिरह्यो । त्यसपछि पढाइलाई निरन्तरता दिएर बीए पास गरे ।

नेपाली तारामा अडिसन दिन जाँदा उनले सुरुमा गीत बिगारेका थिए तर निर्णायकहरूले अर्को गीत गाउन अवसर दिए । त्यसपछि मात्र उनी छनोटमा परेका हुन् । हजारौं सहभागीलाई पछि पार्दै उनी छनोट हुँदै गए र दोस्रो बने ।

उनलाई कसैले ‘नेपाली ताराबाट गायक बनेको’ भनिदिँदा खुसी लाग्छ रे । उनलाई आफ्ना बाहरूले गाउने शैलीका मौलिक गीतहरू निकै मन पर्छ । त्यस्तै गीत गाउने गरेका उनी नेपाली संगीत क्षेत्रमा राम्रा गायकका रूपमा परिचित छन् ।

पार्श्व गायनमा पनि जम्दै गरेका धर्मेन्द्रले आफ्नै बाबुले रचना गरेको गीत ‘रेशम फिरिरी’कै नाममा ‘रेशम फिरिरी अडियो भिडियो प्रोडक्सन’ कम्पनी खोलेका छन् । यसैमार्फत उनी नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउन चाहन्छन् । भन्छन्, ‘नेपाली ताराका कारण म यहाँ छु, अब संगीत क्षेत्रमै केही गर्ने सोच छ ।’

 इन्दिरा जोशी

Indira-Joshi-(3)गायिका इन्दिरा जोशी नेपाली चलचित्र ‘लुट’को आइटम गीत ‘उध्रेको चोली...’ गाएपछि आम श्रोतामाझ छाएकी हुन् । तर, उनलाई गायन क्षेत्रमा चिनाउने काम भने ‘नेपाली तारा’ले नै गरेको हो।

नेपाली ताराको उत्कृष्ट पाँचसम्म पुगेकी इन्दिराले प्रतियोगिता त जितिनन् तर गायनमा लगातारको मेहनतले श्रोताहरूको मन जितिरहेकी छन् । गायनसँगै नृत्य गरेर दर्शकलाई आकर्षित गर्न सफल इन्दिरालाई धेरैले ‘नेपाली साकिरा’समेत भन्ने गरेका छन् ।

रियालिटी शो नेपाली ताराबाट आएकी इन्दिरा पछिल्लो समय अर्को रियालिटी शो नेपाल आइडलकी निर्णायक बनेपछि अझै चर्चामा आइन् । डोरेमी संगीत एकेडेमीबाट संगीत सिकेकी उनले देशविदेशका स्टेजमा पुगेर आफ्नो कला प्रस्तुत गरिसकेकी छन् ।

नेपाली तारामा सहभागी भएको अनुभवले नै आफूलाई नेपाल आइडलमा निर्णायक बन्न सहज भएको बताउँछिन इन्दिरा । ‘उस्तै फम्र्याट भएकाले मलाई नेपाली ताराको अनुभवले नेपाल आइडलमा काम गर्न धेरै सजिलो भयो’, उनी भन्छिन्, ‘रियालिटी शोबाटै आएको हुनाले म अरू निर्णायकभन्दा फरक थिएँ ।’

रियालिटी शोले छोटो समयमै नयाँ प्रतिभालाई स्थापित गराउने हुनाले प्रतिभा हुनेलाई यसको ठूलो महत्व हुने इन्दिराको बुझाइ छ । भन्छिन्, ‘रियालिटी शोहरूले दुईचार महिनामै धेरैलाई वर्षौं मेहनत गर्नेहरूमाझ पुर्‍याएको छ । धेरैको लाइफ नै चेन्ज गरिदिएको छ ।’

प्रशान्त तामाङ

prashant-tamangभारतीय टेलिभिजन टीभी च्यानल सोनीबाट प्रसारण भएको ‘इन्डियन आइडल’ २००७ मा विजेता भएपछि प्रशान्त तामाङको नाम पनि सांगीतिक क्षेत्रमा व्यापक चम्कियो ।नेपाली मूलका भारतीय युवा प्रशान्तलाई जिताउन धेरै नेपाली कम्मर कसेर लागेका थिए । उनीहरूले नेपालका गाउँसहरमा पैसा उठाएर भारत पुगी भोट हाले, विदेशमा रहेका नेपालीले पनि उत्तिकै साथ दिए प्रशान्तलाई जिताउन।

प्रशान्तका बुवा भारतीय प्रहरीमा जागिरे थिए । बुवाको दुर्घटनामा निधन भए पनि प्रशान्तले प्रहरीमा जागिरको अवसर पाए । प्रहरी अर्केस्ट्रामा गाउने गरेका प्रशान्तले ‘इन्डियन आइडल’मा भाग लिए । र, सबैको मन जित्दै विजेता बने । दार्जिलिङको तुङ्सुङमा जन्मिएका उनले संगीतको औपचारिक ज्ञान त लिएका थिएनन् तर निरन्तरको अभ्यासले भारतको ठूलो गायन प्रतिस्पर्धामा विजेता बने।इन्डियन आइडल बनेपछि उनले सोनी टीभीसँगको एक करोडको करार पाए । सँगै एउटा कार र एल्बम निकाल्ने अवसर पाए । नेपाल सरकारले प्रशान्तलाई नेपाल पर्यटन वर्ष २०११ को सद्भावना राजदूत नियुक्त गरेर सम्मान पनि प्रदान गर्‍यो।

इन्डियन आइडल विजेता बनेपछि उनले थुप्रै नेपाली गीत गाए भने फिल्ममा समेत अभिनय गरे । उनले गोर्खापल्टन, परदेशी, अँगालो यो मायाको, निशानी लगायतका फिल्ममा अभिनय गरे । तर, अभिनयमा उनी खासै जम्न सकेनन् । गायनमा पनि उनले सोचेजस्तो सफलता हात पार्न सकेनन् । अहिले उनी सांगीतिक क्षेत्रमा गुमनाम छन्।

प्रशान्त इन्डियन आइडलमा सहभागी भएपछि नेपालीहरू रियालिटी शोमा बढी नजिक भए । उनलाई जिताउन नेपाल र भारतका विभिन्न ठाउँमा अभियान चलाउनेमध्ये एक थिए— हेयर डिजाइनर निलडेविड कटवाल । दार्जिलिङमा सडकमै कपाल काटेर संकलन भएको पैसाले प्रशान्तलाई भोट दिन सहयोग गरेका उनी भन्छन्, ‘त्यस बेला प्रशान्त र इन्डियन आइडलका नाममा नेपालीहरू एकजुट भएका थियौं र भारतीय मूलका नेपालीसँग पनि हामीलाई रियालिटी शोले नजिक बनाएको थियो।’

 सन्तोष लामा

santosh-lama‘नेपाली तारा’को दोस्रो संस्करणमा धादिङ, नौबिसेका सन्तोष लामा विजेता बने । प्रतियोगिता जितेपछि उनी नेपाली सांगीतिक आकाशमा ‘नयाँ गायक’का रूपमा स्थापित भए । नेपाली तारा-२ को धरान, नारायणघाट, बुटवल, नेपालगन्ज, पोखरा र काठमाडौंमा भएको अडिसनमा जम्मा ११ हजार तीन सय ४५ सहभागी थिए, त्यसैमध्येका एक सन्तोषले निर्णायकको निर्णय र दर्शकको भोटका आधारमा विभिन्न चरण पार गर्दै गए र फाइनलमा ६ लाख भोट पाएर विजेता घोषित भए । त्यसपछि उनको दैनिकी बदलियो । गीत रेकर्डिङ र देशविदेशका सांगीतिक कार्यक्रममा उनको व्यस्तता निकै बढ्यो।

विजेता बनेसँगै दुई लाख नगद, एउटा मोटरसाइकल अनि मलेसिया र सिंगापुर भ्रमणको अवसर, एकल एल्बम र म्युजिक भिडियो निर्माणको अवसर पाए । अहिलेसम्म उनले चार सयभन्दा बढी गीत रेकर्ड गराएका छन् । अहिले पनि उनी विभिन्न ठाउँका स्टेज कार्यक्रममा पुग्छन् । ‘बटुवा’, ‘अम्बर’, ‘अक्षता’जस्ता एल्बम बजारमा ल्याएका उनी पछिल्लो समय एल्बमभन्दा सिंगल ट्र्याक निकालिरहेका छन् ।

१५ वर्षमै बुवा गुमाएका सन्तोषले हजुरआमा, आमा र दाजुको साथ-सहयोगले संगीतमा केही गर्ने अठोट लिए । र, नेपाली तारामा सहभागी हुन पुगे । उनी संगीतकर्मलाई आफ्नो धर्म मान्छन् । सांगीतिक धर्मको पालना गर्दै जीवन अगाडि बढाउने उनको अठोट छ।

 प्रताप लामा

pratap-lama‘नेपाली तारा-३’ को विजेता बनेपछि मोरङ, सिजुवाका प्रताप लामा नेपाली संगीतप्रेमीको नजरमा परेका हुन् । नेपाल टेलिभिजनबाट प्रसारित नेपाली ताराको नयाँ विजेता बनेपछि उनलाई पनि देशविदेशबाट कार्यक्रमको निम्तो आयो । यही रियालिटी-शो ले उनलाई देशैभरि परिचित बनायो । विदेशका नेपालीमाझ भेटघाट गर्ने, सँगै गाउने र नाच्ने अवसर दिलायो । विजेता बनेपछि प्रतापले नगद दुई लाख ५० हजार, मोटरसाइकल र तीनवटा गीत गाउने अवसर पाए । त्यसले उनलाई सांगीतिक क्षेत्रमा अघि बढ्न ठूलै मद्दत गर्‍यो।

त्यसअघि प्रताप विभिन्न रेस्टुरेन्टमा गीत गाउँथे । त्यहीँ निखारिएको उनको गलाले उनलाई जितसम्म पुर्‍यायो । प्रतापभन्दा अघि नेपाली तारा-२ मा उनका दाजु सूर्यकिरण लामा दोस्रो भएका थिए । दाजुकै बाटोमा हिँडेका प्रताप भने प्रथम भए।

नेपाली तारामा विजेता बनेका प्रताप हालसालै सम्पन्न नेपाल आइडलमा पनि सहभागी थिए । तर, उनको आइडल यात्रा अघि बढ्न सकेन । उनी अहिले गीत रेकर्डिङ र विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन्।

तेरिया फौजामगर

teriya-fauja-magar-copyरूपन्देही रुद्रपुर गाविसकी तेरिया फौजामगर भारतको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स लिटिल मास्टर’की विजेता हुन् । सन् २०१४ मा नृत्य प्रतियोगिता ‘डीआईडी’ जितेकी तेरिया नेपालको नाम विश्वमा चिनाउँदै स्टार बनेकी हुन् । नेपालको सामान्य परिवारकी तेरिया भारतजस्तो ठूलो मुलुकमा ४० हजार प्रतियोगीलाई पछि पार्दै विजेता बनेकी हुन् । कलर्स टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखलाजा’को सिजन ९ को विजेता बनेपछि उनको चर्चा झनै चुलिएको थियो।

‘झलक दिखलाजा’मा अन्य प्रतियोगिताका विजेताको मात्र प्रतिस्पर्धा भएको थियो । १३ वर्षकै उमेरमा सिनियर डान्स स्टारलाई पनि छायामा पारेर तेरियाले उपाधि जितिन् । डीआईडी विजेताकै रूपमा उनलाई ‘झलक दिखलाजा’मा सहभागी गराइएको थियो । १२ जोडी सिनियर महिला-पुरुष डान्सरको प्रतिस्पर्धा चलेको कार्यक्रममा तेरियालगायत पाँचजना जुनियर डान्सरलाई च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो । च्यालेन्जर मध्येबाट तेरिया मात्र फाइनलमा पुगेकी थिइन् ।

उनको प्रतिस्पर्धी ‘झलक दिखलाजा’का पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहप च्याम्पियनसिपका विजेता सानतनु महेश्वरी थिए । नृत्य कौशलले उनलाई नेपालमा मात्र सीमित राखेको छैन । सानै उमेरमा नामसँगै लाखौं रुपैयाँ कमाएकी छन् उनले । ४० भन्दा बढी देशमा पुगेर आफ्नो प्रतिभा देखाइसकेकी उनी दिल खोलेर आफूलाई नेपालको छोरी भन्न रुचाउँछिन् ।

पार्वती राई

parbati-rai-copyलोकदोहोरी होस् या तीजको गीत- पार्वतीकै वर्चश्व छ । नेपाल टेलिभिजमा प्रसारित नृत्य प्रतियोगिता रियालिटी शो ‘छमछमी’मा उत्कृष्ट पाँचमा पर्न सफल पार्वती राई अहिलेकी चल्तीकी मोडल हुन् । सात वर्षअघि ‘छमछमी’मा सहभागी हुँदा उनले ठूलो सपना देखेकी थिइन् । त्यो उनको जीवनकै सबैभन्दा महत्वपूर्ण समय बन्यो ।

पाँच सयभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट पाँचमा पुग्दा हौसला निकै बढे पनि ‘छमछमी यात्रा’ त्यसभन्दा लामो हुन सकेन । रियालिटी शोको यात्रामा नम्बर एकमा पुग्न नसके पनि त्यसपछिको नृत्य यात्रामा उनको उपस्थिति सधैं बलियो रहेको छ । उत्कृष्ट पाँचसम्म पुगेर बाहिरिएपछि उनको कलाकार जीवन झनै क्रियाशील देखियो । कुशल नृत्यांगनासँगै उनी कोरियोग्राफर पनि हुन् । कौडा, मारुनी, घाटु, सालैजो, टप्पा, साकेला, धिमालजस्ता परम्परागत सांस्कृतिक नृत्यसँगै आधुनिक र साल्सामा पनि पारंगत पार्वतीको जीवनको मोड ‘छमछमी’ले फेरिदियो । ‘छमछमी’ नै त्यो प्लेटफर्म हो, जसले नारायणटारकी पार्वतीलाई सेलिब्रेटी बनायो ।

गजित विष्ट

gajit-bista१० वर्षअघि ‘सुपर एक्टिङ कम्पिटिसन’ रियालिटी शोमा उत्कृष्ट १० भित्र परेपछि गजित विष्टलाई हिरो बन्ने सपनानजिक पुगेझैं लागेको थियो । शो टेलिभिजनमा प्रसारण नै भएन । अभिनयको भोक लिएर काठमाडौं छिरेका गजितले अर्को रियालिटी शो ‘खोजी प्रतिभाको २०६७’मा आफ्नो सपनाको बाटो खोजे । रियालिटी शोमा फस्ट रनरअप भएका गजित अन्ततः गन्तव्यमा पुगे । शोका निर्देशक तथा सञ्चालक दिनेश डीसीले उनलाई चलचित्रमा ब्रेक दिए । चलचित्र ‘मायाज बार’बाट गजितको अभिनय-यात्रा सुरु भयो । चलचित्र उनको सेलिब्रिटी बन्ने खुड्किलो बन्यो ।

त्यस चलचित्रबाट उनले उत्कृष्ट डेब्यु एक्टरको अवार्ड पनि हात पारे । उनले आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । रियालिटी शोले उनको सपना पूरा नगरेको भए सायद यति बेला उनी विद्यालयहरूमा नृत्य प्रशिक्षकका रूपमा काम गरिरहेका हुन्थे । रियालिटी शोमा सहभागी हुनुपूर्व उनी नृत्य प्रशिक्षककै रूपमा काम गर्थे ।

नृत्य प्रशिक्षकका रूपमा उनको कमाइ पनि राम्रै थियो । तर, उनीभित्रको नायक-सपना पनि जीवितै थियो । त्यसलाई ‘खोजी प्रतिभाको’ले ब्यूँताइदियो । त्यही प्लेटफर्मले उनलाई आज अभिनेता तथा निर्देशक गजित विष्ट बनाएको हो ।

रियालिटी क्रेज

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2