MENU

हिमालयन बैंकमा संस्थापक सेयरधनीबीच विवाद

635x90_3

सुजित महत शनिवार, कात्तिक २५, २०७४ 4798 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद चर्किएको छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो।

संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले प्रतिनिधित्व गरिरहेका छन्। मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ ) सञ्चालक समितिको अध्यक्ष छन्। एन ट्रेडिङ र छाया इन्टरनेसनल नरसिंहबहादुर श्रेष्ठको परिवारको हो। अध्यक्ष मनोजबहादुर र सञ्चालक प्रचण्डबहादुर नरसिंहबहादुरका छोरा हुन्। एन ट्रेडिङको १२.७१ प्रतिशत र छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ। आभा इन्टरनेसनल हिमालयशमशेर राणाको हो, जसको ११.३८ प्रतिशत सेयर छ। बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्व नगराइएपछि विवाद चर्किएको हो।

बैंकमा पाकिस्तानको हबिव बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ। उनीहरूको प्रतिनिधित्व बैंक सञ्चालक समितिमा छ।
केही अघिसम्म अरुण केसीले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए। केसीले खेतान समूह छाडेपछि म्युचुअल ट्रेडिङले सञ्चालक समितिबाट उनको मनोनयन फिर्ता गरी प्रसाद ज्ञवालीलाई गत भदौ ८ मा सिफारिस गरेको थियो। ज्ञवालीको नाम बैंकको सञ्चालक समितिमा प्रवेश नगराइएपछि विवाद चर्किएको हो।

बाफियाले संस्थापक सेयरधनी समूहको सञ्चालक समितिमा प्रतिनिधित्व संख्या चारबाट तीनवटामा घटाइदिएको छ। सञ्चालक समितिमा म्युचुअल ट्रेडिङको मनोनयन गर्न बहालवाला एकजना सञ्चालकलाई हटाउनुपर्ने भएपछि समितिले नयाँ सञ्चालक मनोनयनमा चासो नदिएको हो। बैंकमा ११.५७ प्रतिशत सेयर भएको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्वविहीन बनाई ८.८७ प्रतिशत सेयर भएको छाया इन्टरनेसनलको प्रतिनिधित्वलाई निरन्तरता दिइएपछि कम्पनी रजिस्ट्रार कार्यालय र राष्ट्र बैंकमा पनि निवेदन दिएको छ।

बैंकमा २१.६ प्रतिशत सेयर हुने नरसिंहबहादुर श्रेष्ठको परिवारबाट अध्यक्ष र सञ्चालक गरी दुईजनाको प्रतिनिधित्व छ। तर, ११.८५ प्रतिशत सेयर हुने खेतान समूहलाई बाहिर राखिएको छ। बढी सेयर हुँदाहुँदै पनि प्रतिनिधित्वबाट अलग गरिएपछि म्युचुअल ट्रेडिङले विशेष साधारणसभाको माग गरी निवेदन दिएको थियो। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सेयर योगदानमुताविक नयाँ सञ्चालक समिति गठनका लागि उसले विशेष साधारण सभा माग गरेको थियो। बाफियाअनुसार सञ्चालक समिति समायोजन गर्न राष्ट्र बैंकले निर्देशन दिइसकेको छ। तैपनि, सञ्चालक समितिले खेतान समूहको माग सुनुवाइ गरेको छैन।

बैंकका प्रमुख कार्यकारी (सीईओ) अशोक राणाले बैंकमा त्यस्तो कुनै विवाद नभएको बताउँछन्। ‘बाफियाअनुसार सञ्चालक समिति समायोजन गर्नुपर्नेचाहिँ हो,' उनले भने। हिमालयन बैंकमा लामो समयदेखि अध्यक्ष श्रेष्ठ र सीईओ राणाबीच विवाद छ। एक सञ्चालकका अनुसार सधँै विवाद गरिरहे पनि स्वार्थ मिल्दा दुवै एक हुने गर्छन्। केहीअघि सीईओ र सञ्चालक समिति दुवैको पदावधि सकिन लाग्दा दुवैले एकअर्कालाई सघाई पदावधि लम्ब्याएका थिए। हबिव बैंकको प्रतिनिधित्व गर्ने सधँै गुटबन्दीमा नलागी मौन रहने गर्छन्।

सन् १९९३ मै स्थापना भएको बैंकले विवादकै कारण अपेक्षित वृद्धि हासिल गर्न सकेको छैन। नाफामा उसलाई नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक आदिले पछि पारिसकेका छन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2