MENU

केरुङ-काठमाडौं रेलमार्ग बनाउन साढे दुई खर्ब !

635x90_3

राजु बास्कोटा शनिवार, कात्तिक २५, २०७४ 7056 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : नेपाल भ्रमणमा आएको चिनियाँ उच्च अधिकारीको टोलीले केरुङ-काठमाडौं (सय किमि) र काठमाडौं-पोखरा-लुम्बिनी (१ सय ८७ किमि) रेलमार्ग बनाउन सकिने प्रारम्भिक सम्भाव्यता औंल्याएको छ। गत सोमबारदेखि नेपाल भ्रमणमा रहेको चीनको नेसनल रेल-वे एडमिनिस्ट्रेसनका उपमन्त्री चियन चेङ नेतृत्वको २३ सदस्यीय टोलीले काठमाडौं हुँदै पोखरासम्म रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो। टोली शुक्रबारै चीन फर्किएको छ।

टोलीले नेपालमा चिनियाँ रेल ल्याउन आवश्यक पूर्वाधार निर्माण गर्न सकिने प्रारम्भिक सम्भाव्यता देखाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर केशवकुमार शर्माले बताए। चिनियाँ टोलीले केरुङदेखि काठमाडौंसम्म भू-बनोटका कारण रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि निर्माण सम्भावना भने औंल्याएको शर्माको भनाइ छ। उनले भने, ‘अब नेपालले चासो देखाउने र निर्माण प्रक्रियालाई अगाडि बढाउने अनुमति दिएको अवस्थामा चीनले थप सम्भाव्यता अध्ययन गर्ने भएको छ।'

नेपालको रेल विकासमा सहयोग गर्ने योजनासहित चिनियाँ टोलीले चासो दिएरै स्थलगत अध्ययन भ्रमण गरेको हो। यो रेलमार्ग निर्माण गर्न अब राजनीतिक प्रतिबद्धता चाहिने र नेपालको निम्ति आवश्यकताको विषय हो वा होइन, बनाउने कि नबनाउने भन्ने विषय राजनीतिक निर्णयमा भर पर्ने उनको बुझाइ छ। ‘नेपालको तर्फबाट सहयोग गर्ने र अगाडि बढाउने भन्ने निर्णय भयो भने हामीले रेलमार्ग निर्माणमा आवश्यक जमिन, उकालो-ओरालोको अवस्था, वन तथा वातावरणीय क्षेत्रसहितको भौतिक पूर्वाधार निर्माणको सम्पूर्ण तथ्यांक उपलब्ध गराउनुपर्ने छ', शर्माले शुक्रबार अन्नपूर्णसँग भने।

आगामी दिनमा रेलमार्ग निर्माणमा आवश्यक सहयोग र समन्वय गर्ने विषयमा मन्त्रालयका सचिव देवेन्द्र कार्की र चिनियाँ टोली प्रमुख चियानबीच दुईपक्षीय सहमतिपत्रमा हस्ताक्षरसहितको माइन्युट आदानप्रदान पनि भएको छ। चिनियाँ टोलीले स्थलगत भ्रमणपछि मन्त्रालयमा गरेको एक प्रस्तुतीकरणमा पनि द्विपक्षीय सहमति कार्यान्वयन गरेर जाने उल्लेख छ। टोलीले रेलमार्ग निर्माणमा उकालो-ओरोलोको समस्या र बाहिरबाट ऊर्जा सेवा दिने विषयलाई चुनौतीका रूपमा औंल्याएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए।


चीनको नेसनल रेल-वे एडमिनिस्ट्रेसनका उपमन्त्री चियन चेङ नेतृत्वको २३ सदस्यीय टोलीले काठमाडौं हुँदै पोखरासम्म रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो।

केरुङ-काठमाडौं रेलमार्ग निर्माण गर्न भने चिनियाँ टोलीले करिब दुई खर्ब ६९ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ। यो रकमबाट भौतिक पूर्वाधारको काम मात्रै गर्न सकिने र रेल किनेर दौडाउन भने थप लगानी आवश्यक पर्ने उल्लेख छ। काठमाडौं-पोखरा-लुम्बिनीको लागत भने अनुमान नगरिएको मन्त्रालयले जानकारी दिएको छ।

रेलमार्ग निर्माणमा चिनियाँ टोलीको स्थलगत निरीक्षणपछि अब रेल निर्माण हुन्छ भन्ने आशा जागेको उपाध्याय बताउँछन्। उनले भने, ‘रेलमार्ग निर्माण गर्न चिनियाँ टोलीले नेपालको सहयोग भएमा थप अध्ययन गरेर सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउन सकिनेसम्मको जानकारी दिएको छ।' चीनले हाल सिगात्सेसम्म रेल ल्याइसकेको छ। यो रेलमार्ग सन् २०२० मा केरुङसम्म विस्तार गर्ने उल्लेख छ। सिगात्से-केरुङ करिब साढे पाँच सय किलोमिटर रेलमार्ग विस्तार गर्न बाँकी छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2