MENU

कारबाहीबाट बच्न अनुगमनको विरोध

राजेश बर्मा शनिवार, कात्तिक २५, २०७४ 1673 पटक पढिएको

Share This

635-X-85_1

सार्वजनिक यातायातमा बेथिति

 

काठमाडौं : यातायात व्यवसायीले सरकारी अनुगमनको विरोध गरेका छन्। तोकिएभन्दा बढी भाडा असुलेर यात्रु ठग्ने सवारीसाधनलाई कारबाही गर्न सरकारले उपत्यकामा सार्वजनिक सवारीसाधनको अनुगमन थालेपछि व्यवसायीले त्यसको विरोध गरेका हुन्। अनुगमनका कारण जथाभावी भाडा उठाउन नपाइने र कारबाहीमा पर्ने डरले व्यवसायी विरोधमा उत्रिएका छन्।

यात्रुबाट निर्धारित दरभन्दा बढी भाडा असुल गर्ने सार्वजनिक सवारीसाधनविरुद्ध आपूर्ति विभागले विशेष अनुगमन सुुरु गरेको छ। विभागले ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र उपभोक्तावादीको सहयोगमा गत मंगलबारदेखि उपत्यकामा गुड्ने सवारीको विशेष अनुगमन थालेको हो। सरकारले कडाइका साथ अनुगमन गरेर बढी भाडा असुल गर्ने व्यवसायीसँग तीन हजारदेखि पाँच हजार जरिवाना तिराउन थालेको छ। अनुगमन सुरु भएको चार दिनमै व्यवसायीले विरोध जनाउँदै अनुगमन नै रोक्न दबाबसमेत दिन थालेको आपूर्ति विभागले जानकारी दिएको छ।

मंगलबार आयोजना गरिएको सर्वपक्षीय बैठकमा विभागले बढी भाडा लिने सवारीसाधन र चालक दुवैलाई पक्राउ गरी थुन्ने र जरिवाना गराउने निर्णय गरेको थियो। व्यवसायीको चर्को दबाबपछि विभाग सवारीसाधन र चालकलाई नियन्त्रणमा लिने विषयमा गरेको निर्णयबाट पछि हटेको छ।

आपूर्ति विभागले व्यवसायीले वैज्ञानिक भाडादर समायोजन नहुँदासम्म अनुगमन गरेर सवारीसाधनसँग जरिवाना गराउन पाइँदैन भनेर दबाबसमेत दिन थालेको आपूर्ति विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए। ‘व्यवसायीको जस्तोसुकै दबाब र असहयोग भए पनि हामी अनुगमन रोक्दैनौं', निर्देशक श्रेष्ठले भने, ‘अहिलेलाई चालक र सवारीसाधनलाई नियन्त्रणमा लिने निर्णयबाट केही दिनका लागि हामी पछि सरेका छौं। तर, आइतबारदेखि अटेर गर्ने सवारीसाधन र चालकलाई थुन्न हामी पछि पर्दैनौं।'

 

सरकारले ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र उपभोक्तावादीको सहयोगमा गत मंगलबारदेखि उपत्यकामा गुड्ने सवारीको विशेष अनुगमन थालेको हो।

बढी भाडा असुल गर्ने यातायात व्यवसायीविरुद्ध अनुगमन सुरु भएपछि यो समयमा चार सयभन्दा बढी सवारीसाधनबाट तीन हजारदेखि पाँच हजार रुपैयाँ जरिवाना गराइएको श्रेष्ठले जानकारी दिए। यातायात व्यवस्था ऐनअनुसार यात्रुबाट बढी भाडा लिएर ठगी गरेका चार सय सवारीसाधनबाट औसत साढे चार हजार रुपैयाँका दरले गराएको जरिवाना जोड्दा १८ लाख रुपैयाँ पुगेको श्रेष्ठले बताए। ‘यति ठूलो परिमाणमा जरिवाना गराउँदा सुधार हुनुपर्ने हो तर कुनै सुधार हुँदैन', उनले भने, ‘दैनिक एकैपटक साढे दुई सय सवारीसाधनलाई जरिवाना तिराएका छौं। तर अवस्था उस्तै भेटिएकाले अर्काे सातादेखि अटेर गरी सुधार नगर्ने सवारी चालक र कन्डक्टरलाई पक्राउ गरी थुन्ने योजना अघि सार्दै छौं।'

गत २०७२ माघ २४ गते यातायात व्यवस्था विभागले प्रतिलिटर डिजेलको मूल्य ७५ र पेट्रोलको मूल्य ९९ कायम हुँदा शून्यदेखि चार किलोमिटरको दूरीमा न्यूनतम भाडादर १३ रुपैयाँ कायम गरेको थियो। तर यातायात व्यवसायीको दादागिरीका कारण यात्रुले अहिलेसम्म छोटो दूरीमा १५ रुपैयाँ नै तिर्नुपर्ने बाध्यता छ। सवारीसाधनले न्यूनतम दूरीमा यात्रा गर्नेबाट दुई रुपैयाँ बढीका दरले १५ रुपैयाँ असुल्दै आएको छ।

यसरी अवैध रूपमा उठाइने अतिरिक्त दुई रुपैयाँका दरले यातायात व्यवसायीले यात्रुबाट दैनिक लाखौं असुल गर्छन्। व्यवसायीले सरकारले तोकेको न्यूनतम भाडादरभन्दा बढी रकम यात्रुबाट असुल गरी उपत्यकाबाट हरेक दिन एक करोड रुपैयाँभन्दा बढी ठगी गर्दै आएको बताइएको छ।

सार्वजनिक यातायात व्यवसायीको छातासंगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने सरकारले निर्धारण गरेको न्यूनतम दूरीको १३ रुपैयाँले व्यवसायीलाई नपोसाउने दाबी गरेको छ। महासंघका महासचिव सरोज सिटौलाले घुमाउरो पारामा सवारीसाधनले सबैभन्दा कम दूरीमा असुल गरेको १५ रुपैयाँ ठीकै रहेको मौन स्वीकृतिको जनाउसमेत दिएका छन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2