MENU

सयौंबाट छानिएका अब्बल नेपाली कथा

635x90_3

नितु घले शनिवार, कात्तिक २५, २०७४ 1057 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौं : फिल्म साउथ एसियाकी निर्देशक मितु बर्माले भर्खरै सम्पन्न ‘फिल्म साउथ एसिया'मा तीन सयवटा वृत्तचित्रबाट छानिएका उत्कृष्ट ६३ मा पर्न सफल केही नेपाली फिल्मले शक्तिशाली कथावस्तु बोकेको बताएकी छन्। दक्षिण एसियाका जल्दाबल्दा विषयलाई मुख्य मुद्दा बनाइएको फेस्टिभलमा विदेशी मूलका निर्माताले बनाएका नेपाली कथा धेरै थिए भने नेपाली फिल्म निर्माताले बनाएका वृत्तचित्र थोरै।

‘महोत्सवमा अवार्ड जित्नु मात्रै ठूलो कुरा होइन। सहभागी हुन पाउनु पनि महत्वपूर्ण कुरा हो', ‘सेभ गंगामाया'का निर्देशक गोपाल सिवाकोटीले भने। ‘राजनीतिक रूपमा निकै संवेदनशील विषय मानिएको गंगामायामाथिको डकुमेन्ट्री नेपालमा देखाउन देलान् कि नदेलान् भन्ने चिन्ता थियो।'

नोभेम्बर ५ मा सम्पन्न फेस्टिभलमा सहभागी ‘सेभ गंगामाया'को कथालाई आफूले अतुलनीय प्रयासका रूपमा हेरेको बर्माले बताइन्। फिल्ममा न्याय र मानवअधिकारका लागि गंगामाया अधिकारीले गरेको संघर्ष यसमा समेटिएको छ। छोरा गुमाइसकेपछि मानवअधिकार र न्यायका लागि लडिरहेकी गंगामायाले श्रीमान् पनि गुमाइन् तर न्यायका लागि भोकभोकै लामो लडाइँ लडिरहेकी छन्।

उनको कथा वृत्तचित्रमा उतार्न निकै चुनौती बेहोर्नु परेको सिवाकोटीले बताए। फिल्म फेस्टिभलमा अर्का वृत्तचित्र निर्माता केसाङ छेतेनका दुईवटा वृत्तचित्रले स्थान पाएका थिए। उनले ‘ट्रिम्बलिङ माउन्टेन' र ‘हस्पिटल' नामका दुईवटा वृत्तचित्र निर्माण गरेका थिए। ट्रिम्बलिङ माउन्टेनमा २०७२ सालको वैशाखमा आएको विनाशकारी भूकम्पपछि लाङटाङमा भएको परिवर्तन र त्यहाँका बासिन्दामा परेको प्रभाव देखाइएको छ। हस्पिटलमा कालीकोटमा रहेको सरकारी अस्पतालको कथा समेटिएको छ।

प्रणय लिम्बू र डम्बरकृष्ण श्रेष्ठको ‘सतिसालभित्रको डँढेलो' नामक अर्को वृत्तचित्रमा एउटा गायकले सीमान्तकृत वर्गका लागि उठाएको आवाजका बारेमा चित्रण गरिएको छ। विष्णु कल्पितको ‘सवारी' नामको वृत्तचित्र पनि महोत्सवमा छनोटमा परेको थियो। यसमा विशिष्ट व्यक्तिको सवारीका समयमा आमनागरिकले भोग्नु परेका कष्ट समेटिएको छ। ‘स्टुडेन्ड क्याटेगरी'मा सहभागी राजन कठेतको वृत्तचित्र ‘स्ल्पिट इन्डस'मा बसाइँ सरेर पोर्चुगल पुगी त्यहाँ बार्बर सप चलाइरहेका नेपालीको कथा समेटिएको छ।

‘नेपालीले पाएको यो स्थान उल्लेखनीय छ तर पनि यस्ता फेस्टिभलमा भारतको प्रभुत्व कायमै छ', निर्देशक सिवाकोटीले भने, ‘विभिन्न दृष्टिमा उनीहरू अब्बल छन्। गुणस्तरका हिसाबमा, प्राविधिक रूपमा, प्रतिस्पर्धाका आधारमा उनीहरू अगाडि छन्। अवार्ड जित्न नेपालीले अझै सुधार गर्नुपर्छ। तर पनि सहभागी हुन पाउँदा उत्साहित भएको छु।'

बर्माले नेपाली फिल्म निर्माताले निकै मार्मिक तथा महत्वपूर्ण विषय समेटेको बताइन्। भनिन्, ‘यस्ता प्लेटफर्ममार्फत पीडितको आवाज बाहिर निकाल्नुपर्छ, उनीहरूलाई केवल सान्त्वना दिएर मात्र पुग्दैन।'

महोत्सवमा अवार्ड जित्नु मात्रै ठूलो कुरा होइन। सहभागी हुन पाउनु पनि महत्वपूर्ण कुरा हो। राजनीतिक रूपमा निकै संवेदनशील विषय मानिएको गंगामायामाथिको डकुमेन्ट्री नेपालमा देखाउन देलान् कि नदेलान् भन्ने चिन्ता थियो।
गोपाल सिवाकोटी÷निर्देशक, सेभ गंगामाया

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2