MENU

दुख्‍नुपर्छ, नदुखे बर्बाद हुन्छ

दीपा कोइराला शनिवार, कात्तिक २५, २०७४ 19359 पटक पढिएको

Share This

635-X-85_1

केही समयअघि एक आफन्तका एक्लो छोराले जीवन त्यागे । सम्पन्न परिवारका उनी पढाइमा पोख्त त थिए नै, सोही कारण अमेरिकामा छात्रवृत्ति पाएर केही समयअघि मात्र पढ्न त्यहाँ पुगेका थिए । ती बाबुको मृत्युले म अहिले विचलित छु । मनमा तर्कना आउँछन्- मथिंगल रन्किन्छ । ठान्छु- धन, सम्पन्नता, सम्मान, यौवन, पराक्रम, लोकप्रियता र आनन्द आदिको सीमा के?

झुप्रोमा वर्षौंदेखि दीर्घरोग लिएर बाँच्ने मान्छे पनि बेलाबेलामा हाँस्छन् । अपांगता भएका मान्छे आनन्दसाथ बाँच्छन्, रमाउँछन्, झुम्छन् र धक फुकाएर हाँस्छन् । घरका सबै भूकम्प र बाढीपहिरोमा परेर बित्दा पनि ‘कर्मको लेखा’ भनेर सहिदिने ‘एक्लो मान्छे’ हामीले देखेका छौं र पढेका छौं । आफ्ना प्रिय व्यक्तिले छोडेर भाग्दा पनि त्यसलाई सहन गरेर सहजै जीवन जिउने कति छन् । अस्तिको पीडा भुलेर भोलिपल्ट नयाँ जीवन सुरु गर्छन् ती । तर कतिपय मान्छे जिन्दगीलाई जादुगरको ‘छुमन्तर’ ठान्छन् र जादुमा झैं जीवनबाट एकाएक अलप हुन्छन् । अघिल्लो दिन ठीकठाक मान्छे अकस्मात के सोच्छ कुन्नि, भोलिपल्ट निर्जीवता रोज्छ ।

प्रत्येक मान्छेको जन्म, संस्कार, अवस्था, अवस्थिति, चेतना, बौद्धिकता अर्काको भन्दा विल्कुलै फरक हुने भएकाले मान्छे सबैको एउटै भोगाइ हुँदैन । तर पनि जीवनप्रति वितृष्णा हुनु वा मृत्यु प्यारो लाग्नुको कारण भने एउटै हुन जान्छ- अन्तर्निहित दुखाइ वा दर्द । पैसा र सम्पन्नता नभएको अवस्थालाई आम मान्छे दुःखी भन्छन् । दुःख बढी भौतिक हुन्छ, तर दुखाइ भने मानसिक र शारीरिक दुवै हुन्छ । भौतिक सुख हुँदाहुँदै जति पनि मान्छे जिन्दगीदेखि दिक्क मान्छन्, ती मान्छेका मनमा दुखाइ छ भन्ने बुझिन्छ । यस्ता दुखाइलाई विज्ञानले नाप्न सक्दैन । यस्ता दुखाइको उपचारका लागि मान्छेले आफूलाई होइन, अरूको जिन्दगी पनि पढ्नुपर्छ । संसार हेर्नुपर्छ ।

safalta-11-nov-2017

यस्तो आश्चर्य र अद्भुत जीवन अकस्मात् त्याग्नै मन लागे पनि जीवन त्याग्नुपूर्व अस्पतालको इमर्जेन्सी बेडमा सकीनसकी भेन्टिलेटरबाट सास फेरिरहेको मान्छे देख्नु र भेट्नुपर्छ । हात र गोडाविना नै जन्मिएका निक भुजिसिक जस्ता व्यक्तिका आत्मविश्वास जगाउने प्रवचन सुन्नुपर्छ । भौतिकशास्त्री स्टेफन हकिन्स र उनका अकल्पनीय वैज्ञानिक विचार र काम नियाल्नुपर्छ ।२१ वर्षको उमेरमा डाक्टरले ‘अब तिमी दुई वर्ष मात्र बाँच्छौ’ भनिएका उनी स्नायुसम्बन्धी मोटर न्युरोन नामक रोगले ग्रस्त भएर आज पनि बाँचिरहेका छन्, तर एक महान् र अद्भुत जीवन । बाँचेकामध्ये सबैभन्दा महान् भौतिकशास्त्री उनी न बोल्न सक्छन् न हिँड्न सक्छन् । तैपनि अनेक वैज्ञानिक उपकरणका सहायताले संसारभर विज्ञानका भाषण गर्दै हिँड्ने उनलाई मात्र नियाल्ने हो भने तपाईंहाम्रा सानातिना दुखाइ बेकार लाग्छन् ।

विचारबाट पनि उब्जिन्छ दुखाइ

खप्तडबाबा भन्छन्, ‘सबैभन्दा सूक्ष्म हुनाको कारणले बिजुली आदि सारा वस्तुभन्दा पनि विचारको बल बढी मानिएको छ । जड वस्तुभन्दा चेतन र सूक्ष्म वस्तुमा सदैव अधिक बल हुन्छ । जस्तो- ढंगाभन्दा माटो सूक्ष्म छ र माटोमा ढुंगाभन्दा पनि अधिक बल छ । ढुंगाभन्दा माटोमा जडता कम छ, त्यसैले ढुंगाको अपेक्षा माटोमा जीवनशक्ति धेरै छ । माटोभन्दा पानी अधिक सूक्ष्म छ, पातलो छ त्यसैले त्योभन्दा पानी ज्यादा उपयोगी र बलवान् छ ।’ मान्छेका विचारलाई सयौं विषयले प्रभाव पार्ने भएकाले पनि त्यो जेलिएको हुन्छ ।

२१ वर्षको उमेरमा डाक्टरले ‘अब तिमी दुई वर्ष मात्र बाँच्छौ’ भनिएका भौतिकशास्त्री स्टेफन हकिन्स स्नायुसम्बन्धी मोटर न्युरोन नामक रोगले ग्रस्त भएर आज पनि बाँचिरहेका छन् । तर एक महान् र अद्भुत जीवन ।

खप्तडबाबाले नै उल्लेख गरेका छन्, ‘एक विद्वान्ले लेखेका छन्- प्रकाशको गति एक सेकेन्डमा १,८६,००० माइल भए झैं विचारको गति प्रवाह ४०,००० निलदेखि सत्तरी हजार निल माइलसम्म हुन्छ ।’ यसबाट थाहा हुन्छ विचारको प्रभाव हाम्रो जीवनमा कति हुन्छ भन्ने । आफैं जेलिएको विचारबाट हामी मुक्त हुन सकेनौं भने जीवन धेरै जटिल बन्छ । त्यसैले हामीले सधैं सुनेको ‘सादा जीवन उच्च विचार’ लाई जीवनमा अपनाउन सकियो भने जीवन धन्य बन्छ । आफ्नो एक जीवनबाट अरू थुपै्र जीवनको कल्याणसमेत गर्न सक्छौं । अर्कोपटक प्राप्त हुने निश्चिन्तता नभएको यो अमूल्य जीवन फाल्ने त कुनै चाहनै हुँदैन ।

‘म घर बनाउँछु’ भनेर तपाईंले पहिलोपटक कहिल्यै सोच्नुभयो ? प्रारम्भमा तपाईंले बनाएको घर वास्तवमा हावाको महल नै थियो किनभने त्यो केवल कल्पना थियो । योगीहरूको सिद्धान्त के छ भने विचार एउटा परम् बलवती शक्ति हो र विचारहरूद्वारा जे चाह्यो त्यही हुन सक्छ । पृथ्वीनारायण शाहले पहिलोपटक बाईसे र चौबीसे राज्य मिलाएर नेपाल बनाउँछु भन्ने भाव वा विचार लिएका कारण नेपाल बनेको हो । प्रथम र द्वितीय विश्वयुद्ध पनि त्यस समयका शासकको विचारकै कारण सिर्जित भएको हो । विचारबाट भौतिक निर्माण र विनाश हुन सके झैं विचारकै परिणति हुन् मानसिक दुःख।

मन खेतसमान भएकाले त्यसमा केही न केही विचार उत्पन्न हुँदै गर्ने र कुनै विचारले सुख त कसैले दुःख दिने भएकाले त्यसमा ध्यान दिँदा जीवन सुध्रिने मत छ खप्तड बाबाको । गीतामा अर्जुनको मन साह्रै चञ्चल र उद्वेलित हुने हुँदा त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने प्रश्न गर्छन् कृष्णलाई । उत्तरमा कृष्ण भन्छन्- बारम्बारको अभ्यासले र वैराग्य भावले यो सम्भव छ ।


शरीरको ‘टिस्यु’ भत्किँदा दुख्छ

चिकित्सा विज्ञानका अनुसार शरीरमा चार प्रकारका टिस्यु हुन्छन् र तिनै टिस्यु भत्किँदा वा त्यसमा हानि पुगेपछिको प्रतिक्रिया हो दुखाइ । टिस्युमा समस्या भएको कुरा मस्तिष्कमा पुगेपछि दुखाइबारेमा हामी थाहा पाउँछौं । दुखाइ शरीरको प्रतिरक्षा प्रणाली हो । यसले हामीलाई थप टिस्यु नबिगार्न वा जोगाउन सचेत गराउँछ । हाम्रा शरीरका स्नायुमार्फत त्यो जानकारी मस्तिष्कमा नपुग्दो हो त हामीले दुखेको भाग जोगाउन पहल गर्ने थिएनौं । विज्ञानको बुझाइमा प्रत्येक मान्छेले दुखाइलाई बेग्लाबेग्लै रूपमा बुझ्छ र दुखाइकै आधारमा उपचार गर्नुपर्ने कतिपय रोग चिकित्सकका लागि जटिल भइदिन्छ । दुखाइ सबैका लागि एउटै भइदिए चिकित्सकलाई दुखाइको कारण पहिल्याएर उपचार गर्न सहज हुने रहेछ ।

आफ्ना प्रिय व्यक्ति बितेपछि उन÷उसको सम्झनामा वरपीपल रोप्नुको अर्थ हो दुखाइलाई शक्तिमा बदल्नु ।

चिकित्साशास्त्रका अनुसार यस्ता दुखाइमा मस्तिष्कले दुखाइको नराम्रो प्रभाव हटाउन डोपामाइन नामक केमिकलसमेत सिर्जना गर्न सक्छ । एउटा अनुमानअनुसार भौतिक दुखाइकै कारण सिर्जित उपचार, गुम्ने जागिर र छुट्ने कार्यदिनका कारण अमेरिकामा वार्षिक ६ अर्ब डलरको क्षति हुने गर्छ । त्यति मात्रै होइन, दुखाइबारेमा अध्ययन-अनुसन्धान गर्ने अनेक संस्था छन् । उनीहरू पनि ठान्छन्- दुखाइ भौतिक मात्र हुन्न । त्यसलाई मनोभाव, विश्वास, व्यक्तित्व र सामाजिक तत्वले प्रभाव पार्छ ।

शरीमा हुने घाउ, चोट र जलन वैयक्तिक र जटिल ‘फेनोमेनन’ भएको उनीहरूको बुझाइ छ । यसकारण दुखाइको व्याख्या गर्न कठिन रहेको समेत बताइन्छ । दुखाइ अध्ययनका लागि अन्तर्राष्टिय संस्था (आईसाप) १९७३ मा स्थापित भएको छ र एक सय ३३ देशमा सात हजार दुई सय सदस्य छन्।

दुखाइ ‘इन्डिकेटर’ र ऊर्जा पनि

प्रायः सबै रोगको प्रमुख लक्षण दुखाइ या असहजता हो । विश्व स्वास्थ्य संगठनले दुखाइलाई ‘शरीरको टिस्यु भत्काउने वा बिगार्ने त्यस्तो वास्तविक अथवा सम्भावित अप्रिय शारीरिक अथवा भावनात्मक अनुभव’ भनेर व्याख्या गरेको छ । शरीर केवल छालाले मोरिएको हाड, मासु, रगत, अनेक अंग र तन्तुको संयोजन मात्रै होइन भन्ने तथ्यलाई यो ‘भौतिक परिभाषा’ ले पनि संकेत गर्छ । बुझेर ल्याउँदा दुखाइ कलाकारको जटिल चित्रजस्तै रहेछ । कुनै खास परिस्थितिबाट गुज्रेका हामीलाई आफ्नो रोजाइको अथवा अनुकूलको परिस्थिति नहुँदा मन दुख्ने रहेछ । वर्षौं एउटै तरिकाबाट चलेका शरीरको अंगमा अकस्मात ठक्कर लाग्दा वा फुट्दा÷काट्दा शरीर दुख्ने रहेछ ।

आफन्त र प्रियजन गुम्दा हुने दुखाइ त बढो कष्टकर हुने कुरा हामी सबैलाई थाहा छ । दुखाइले हामीलाई विक्षिप्त बनाए पनि त्यो पनि एउटा ऊर्जा हो । कतिपय मान्छे आफ्ना प्रिय मान्छेको सम्झनामा वरपीपल रोप्छन् । कति मान्छे आफ्ना सन्ततिको मृत्युमा स्कुल र अस्पताल खोल्छन् । केही मान्छे अनाथ आ श्रम खोल्छन् । आफन्तको विछोडमा कतिपय व्यक्ति पुराना खराब आदत छोडेर आध्यात्मिक र नैतिक जीवन जिउँछन् । प्रेमीप्रेमिकाले धोका दिँदा कतिपय व्यक्ति आफूलाई लोकप्रिय या धनधान्यपूर्ण बनाएर अझै सक्षम र योग्य वरवधू खोज्छन् र ‘देखाइदिन्छन्’ । यसर्थ दुखाइ हाम्रो गुरु पनि हो । दुख्दा असह्य भए पनि कालान्तरमा त्यसले हाम्रा जीवन बदलिदिन सक्छ।



 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2