MENU

शरीर, मृत्यु र भय

स्वामी आनन्द अर्हत शनिवार, कात्तिक २५, २०७४ 5149 पटक पढिएको

Share This

635-X-85_1

सचेतन प्रक्रिया सधैं सुरुचिपूर्ण, अनुभवले परिपूर्ण र रूपान्तरणकारी हुन्छ

‘ब्रेड, बटर र सेक्स’ मा तल्लीन मानव समाजको मूल्यको आधार लोभ र भयमा टिकेको छ । एउटा मानिस मर्न लागेको रहेछ । उसको मृत्युशड्ढयाको वरपर जम्मा भएका मानिसले उसले केही बर्बराइरहेको देखेछन् । उसको मुखैनजिकै कान लगेर सुन्दा ती व्यक्ति तीनछक परेछन् । मर्न लागेको व्यक्तिले सैतानको नाम पो जपिरहेको रहेछ । आश्चर्यचकित हुँदै ती मानिसहरूले उसलाई सोधेछन्, ‘मर्ने बेलामा भगवान्को नाम जप्न छोडेर किन सैतानको नाम जपेको ? ’ उसले भनेछ, ‘तिमीहरू कुरो बुझ्दैनौ । भगवान्को सट्टा सैतानसँग जम्काभेट भयो भने के गर्ने ? त्यसै पो भइहाल्छ कि ! त्यसैले म जोखिम मोल्न चाहन्न । तिमीहरू मेरो समय बर्बाद नगर ।’

Ananda-Arhatमनुस्यको शरीर बन्ने पञ्चमहाभूत पृथ्वी, जल, अग्नि, वायु र आकाशको असन्तुलनबाट पैदा हुने नकारात्मक ऊर्जा हुन्- भय, मोह, क्रोध, इच्छा र सन्ताप । यी संवेग मानव शरीरका पञ्चतत्वहरू नकारात्मक स्थितिमा कार्य गर्ने अवस्थामा पैदा हुँदा सक्रिय हुन्छन् । शरीरसँगको अतिशय तादात्म्यले भयको उदय हुन्छ । दिव्यताको आरोहणमा अभय नै पहिलो कदम हो ।

भय पृथ्वी तत्व (शरीर) मा अतिशय दबाबले पैदा हुन्छ, जुन पछि मनको अचेतन कुनामा जम्मा हुन्छ थाल्छ । शरीर भरपोषण मात्रै गर्न जन्मिएका जनावरमा यो संवेग ‘सर्भाइबल ड्राइभ’ को मुख्य कारण हो । यस्तै ‘म शरीर हुँ’ भन्ने भ्रान्तिपूर्ण प्रतीतिबाट मनुस्यमा पनि भय शक्तिशाली भएर आउँछ । साधारणतः ‘ब्रेड, बटर र सेक्स’ मा तल्लीन मानव समाजको धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक मूल्य, मान्यताको आधार लोभ र भयमा टिकेको हुन्छ ।

बाहिरबाट भय जति लुकाउन खोजिन्छ, त्यति नै यसले भित्रभित्र आफ्नो साम्राज्य खडा गर्न थाल्छ । वास्तवमा हामीले आफूलाई जानेको पनि शरीरको माध्यमबाटै हो । त्यसैले साधारण मनले शरीरभन्दा गहिरो आयाममा प्रवेश गर्न जरुरी ठान्दैनन् । तर शरीर जीर्ण हुँदै गएपछि जब यो भर गर्नलायकको रहँदैन, त्यसपछि हामी भित्री सान्त्वना खोज्न धार्मिक बन्न खोज्छौं । त्यो पनि भयकै उपज हो ।

त्यसैले त हिजोसम्म जसका आँखालाई ‘तारासमान’ भन्थ्यौं, मर्नेबित्तिकै हामी उस÷उनको शरीरलाई जतिसक्दो चाँडो तह लगाउन चाहन्छौं । मृत शरीर हाम्रो मनका लागि भयको एक प्रतीक हो । त्यसैले बुद्धले आफ्ना नयाँ भिक्षुहरूलाई यो भयबाट मुक्त हुन केही समय मानिस जलाउने घाटमा पठाउनुहुन्थ्यो र आगोको ज्वालाले खरानी बनाइरहेको लासमा ध्यान गर्न भन्नुहुन्थ्यो । भिक्षुहरूका लागि जीवनको क्षणभंगुरताको बोध गर्ने यो एक रूपान्तरकारी उपाय थियो । यो विधिबाट भयमुक्तिको सूत्रपात हुन्छ र जीवनलाई एक सानो अहंकारको दायराबाट मुक्त गरी स्वतन्त्रता दिन्छ।

अचेल बढ्दो अनिँदोपनले मानिस गहिरो निद्रामा पुग्नै सक्दैन । औषधिका माध्यमबाट निद्रा गहिरो भए पनि निद्रापछि केही सुतें भन्ने कुराको मानसिक सन्तुष्टि त होला, तर यसले आल्हाद र उत्साह दिँदैन ।

जुन समाजले केवल शरीर सजावटलाई नै सौन्दर्य र सुखको मापदण्ड बनाउँछ, त्यति नै त्यो समाज भयभीत भएर जिउँछ । त्यस्तो समाजमा जीवनको अकाट्य सत्य ‘मृत्यु’ शब्दैसँग मानिसहरू डराउन थाल्छन् । आजको समाज करिब यस्तै अवस्थामा छ । जब मनुस्यमा भयको उदय हुन्छ, त्यसले करोडौं वर्ष विकासको गरेर पाएको शरीरमा रहेको सबैभन्दा उच्च केन्द्र मस्तिष्कको कार्यक्षमता र सक्रियतालाई पूर्णरूपले अवरुद्ध गर्छ । भयभीत अवस्थामा मनुष्यको सोचविचार, परिस्थितिको सही र गलत आकलन गर्ने, वस्तुहरूलाई चिन्ने कार्य गर्ने मस्तिष्कको केन्द्र बन्द हुन्छ । अब उसको जीवन व्यवहार र शरीरका भित्री क्रियाकलाप आफूलाई कसरी बचाउने भन्नेमा मात्र केन्द्रित हुन्छन् ।
भयको कुनै जायज कारण छ भने भयको स्थिति पार भएपछि पुरानै अवस्थामा फर्किएर आउनुपर्छ । तर घटना बितिसकेपछि पनि भय मनमा बसिरह्यो भने यो समस्या हो । यस्तो मनोगत स्थितिमा डर, चिन्ता र ‘प्यानिक एटेक’ जस्ता भयका अनेक रूप अनायासै देखिन्छन् । भयको यो बहुरूपी अभिव्यक्तिबाट आज आफैंभित्रै एक्लै कुरा गर्ने मनोरोगदेखि मृत्यको अवतरण यमराजसम्मको दर्शन मानिसले गर्छ ।

भयको भित्री मनोविज्ञान बुझ्न र नियन्त्रणमा राख्न एक बहुआयामिक प्रयास गर्नुपर्छ । भयको आडमा जन्मिने संवेगलाई नियन्त्रणमा राख्न सकिन्छ । यसको एक पहिलो उपाय भनेको ठीक तरिकाले शरीरलाई दिइने व्यायाम हो । अमेरिकी सरकारले आफ्ना जनतालाई भौतिक व्यायाममा अभिप्रेरित गर्ने महत्र्वपूर्ण स्वास्थ्य कार्यक्रम ‘हेल्दी पिपल- २०२०’ ले सन् २०२० सम्म १८ वर्षमाथिको जनसंख्याको ५० प्रतिशत नागरिकलाई हप्तामा घटीमा पाँच दिन दैनिक ३० मिनेट व्यायाम गर्नाले दीर्घायु र स्वस्थ जीवनमा प्रभावकारी परिवर्तन ल्याउने लक्ष्य लिएको छ ।

प्रत्येक दिन बिहान करिब ३० मिनेटजति शरीरका सबै भागलाई उचित तरिकाले स्ट्रेचिङ गर्ने (तन्काउने) या योगका साधारण आसन पनि मिलाएर गर्ने गरी केहीबेर पूर्ण वि श्रान्तिको अवस्था (जस्तै शवासन) मा शरीरलाई बोधपूर्वक छोड्दै जाने अभ्यासले शरीर विस्तारै आफ्नो नैसर्गिक निश्चलतामा फर्किन थाल्छ । यो क्रिया र अक्रियाको अभ्यास गहन हुन थालेपछि मनमा जम्मा भएका नकारात्मक भाव र दमन गरिएका अनेकौं संवेग शरीरका माध्यमबाट विस्तारै निर्जरा भएर निस्कन थाल्छन् ।

दमित संवेगहरूलाई विसर्जन गर्ने यो एक निरापद र अति प्रभावकारी तरिका हो । शरीर र मन एकै ऊर्जाका दुई अभिव्यक्ति हुन् । शरीरमा अनुभव भएको वि श्रान्तिले मनको गहिरो अचेतनमा बसेका समस्यालाई तिरोहित हुने पृष्ठभूमि र पथ निर्माण गर्छ । वास्तवमा निद्रामा यही प्रक्रिया हुन्छ । त्यसैले गहिरो निद्रापछि बिहान हामी ताजा र उत्साहित महसुस गर्छौं । तर अचेल बढ्दो अनिँदोपनले मानिस गहिरो निद्रामा पुग्नै सक्दैन । औषधिका माध्यमबाट निद्रा गहिरो भए पनि निद्रापछि केही सुतें भन्ने कुराको मानसिक सन्तुष्टि त होला, तर यसले आल्हाद र उत्साह दिँदैन ।

निद्रा गहन रूपले एक अचेतन प्रक्रिया हो । समाजमा जतिजति मानसिक सक्रियता बढ्दै जान्छ, ऊर्जा सन्तुलन मिलाउन जानिएन भने त्यतित्यति निद्रा हराउँदै जान्छ । अतिशय चञ्चल मनको कारणले अनिँदोपन आजको विश्वको यथार्थ बनेको छ । निद्रा प्राकृतिक औषधि हो । निद्रा अचेत अवस्थाको ध्यान हो भने ध्यान सचेतन निद्रा हो । सचेतन प्रक्रिया सधैं सुरुचिपूर्ण, अनुभवले परिपूर्ण र रूपान्तरणकारी हुन्छ । शरीरसँगको मित्रताबाट मनसँगैको मित्रता सुरु गरौं ।



 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2