MENU

भूपि शेरचनको अन्तिम अन्तर्वार्ता

635x90_3

अन्नपूर्ण शनिवार, कात्तिक २५, २०७४ 5952 पटक पढिएको

Share This

635-X-85_1

२०४६ साल वैशाख १६ गते। चर्चित कवि भूपि शेरचन लामो समयदेखि बिरामीले थलिएका थिए। थकाली संस्कृतिबारे अध्ययन गर्न रुचाउने सुरेन्द्र गौचन भिडियो क्यामेरा बोकेर नागपोखरीस्थित भूपिको घर पुगे। दम र मधुमेहले थलिएका भूपि सेतो सर्ट, खरानी रङको पाइन्ट लगाएर ओछ्यानमा पल्टिरहेका थिए।

भूपि बसेर बोल्नसक्ने अवस्थामा पनि थिएनन्। ओछ्यानमै पल्टिएर उनले करिब २५ मिनेट गरेको कुराकानीको भिडियो खिचे गौचनले। कुराकानीका क्रममा उनले आफ्नो एक चर्चित कवितासमेत पाठ गरे। अन्तर्वार्ता लिएको १५ दिन पनि नबित्दै जेठ १ गते भूपिको निधन भयो। सुरेन्द्रका अनुसार त्यही नै भूपिको अन्तिम अन्तर्वार्ता थियो। सुरेन्द्र गौचनसँग सुरक्षित रहेको भिडियोबाट राजु स्याङ्तानले अन्तर्वार्ता उतार गरेका छन्। उक्त अन्तर्वार्ता सामान्य सम्पादनसहित यहाँ प्रस्तुत छ।


१) कविज्यूको स्वास्थ्यको अनुमति दिएमा केही जिज्ञासाहरू लिएर आएको छु।

– हुन्छ सुरेन्द्रजी

२) सर्वप्रथम यस २०४६ सालको नयाँ वर्षको कामना कविज्यूलाई टक्र्याउँछु।

– धन्यवाद सुरेन्द्रजी। यहाँलाई पनि सपरिवार सुखद, मंगलमय नव वर्षको शुभकामना।

३) कविज्यूले कविता लेख्ने प्रेरणा कहाँबाट पाउनुभयो ? केही बताइदिनु हुन्छ कि ?      

सुरेन्द्रजी यो प्रश्न धेरैले मसँग गरे। मलाई लाग्छ, यो प्रश्न हरेक कविलाई गरिन्छ। मेरो अनुभवमा सुन्दाखेरि ज्यादै सजिलो प्रश्न भए पनि यसको उत्तर दिनलाई गाह्रो छ। म स्वयं कहिलेकाहीँ विचार गर्छु, मभित्र यो लेख्ने, एउटा कवि हुने प्रेरणा कहाँबाट जन्मियो ? कसबाट मैले पाएँ ? कहाँबाट मभित्र लेख्ने एउटा शक्ति कसले दियो ? कसरी पाएँ ? अथवा कसरी पलायो ? तर, म उत्तर पाउँदिनँ। हाल मुस्ताङ जिल्लामा पर्ने थाकखोला, मुक्तिनाथ मुनिका हामी थकालीहरूको जुन बस्ती छ, जसको अन्तिम गाउँ तुल्से भन्ने गाउँ जहाँ म जन्मिएँ। त्यहाँ नीलगिरि र धौलागिरि हातै मिलाउन सक्लान् जस्तो गरी बसेका छन्। जता हेर्‍यो त्यतै धुपी र सल्लाहरूको समूह छ। अगाडि कालीगण्डकी पछाडि थापाखोला। त्यहाँको भौगोलिक स्थिति हेर्दा मलाई लाग्छ, सुरेन्द्रजी त्यहाँ जन्मिने मान्छे ठूलो भएर कवि भएनन्, कलाकार भएनन् भने त्यो जग्गाको अपमान हुन्छ। त्यस्तो ठाउँमा आफू जन्मियो, एक। दुई, मलाई के लाग्छ भने सुरेन्द्रजी प्राकृतिक सौन्दर्यले मात्रै केही हुन्न। कवि हुनलाई, लेखक हुनलाई सानो बेलामा अथवा अलिकति त्योभन्दा विकसित अवस्थामा पनि कुनै न कुनै कुराले भित्रैसम्म घचघच्याउने गरी आघात पु¥याएको हुनुपर्छ। त्यसो नभईकन मानिसभित्रको संवेदना तिख्खर हुँदैन। मलाई लाग्छ, म पाँच वर्षको छँदा मेरो माताज्यूको जुन आकस्मिक निधन भयो र मैले जीवनको अन्तिम पलसम्म पनि आमाको मायाको अभाव अनुभूति गरेँ, त्यो अभावले पनि मेरो संवेदनालाई झन् तीक्ष्ण बनायो। यसले गर्दा मलाई कवि हुनुमा ठूलो मद्दत गर्‍या छ।

४) कविज्यूका कविताहरूमध्ये मन पर्ने कविता केही छन् भने वाचन गरिदिनुहोला !

म प्रयासचाहिँ गर्छु सुरेन्द्रजी।

(कवितासंग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पल्टाउँदै ‘तितरा, बट्टाई र भक्कुका राँगोका सन्तानहरूप्रति’ शीर्षक कविता वाचन गरे।) हामी नेपालीहरूको अवस्था विशेष गरेर, हाम्रा पहाडी दाइभाइहरूको अवस्था, जनजीवन त्यसलाई लिएर मैले निकै वर्षअगाडि लेख्या हुँ। मेरा केही अझ बढी स्तरीय मानिएका कविताहरू म आज पाठ गर्न सक्दिनँ सुरेन्द्रजी। यो दमको रोगले गर्दा मलाई गाह्रो पर्छ। स्वास्थ्यले गर्दा मैले सकिनँ अरू।

५) कविज्यूका नयाँ कृतिहरू केही थपिएका छन् कि ?

नयाँ छ सुरेन्द्रजी। तर, मुख्य रूपबाट यसपल्ट ०४२ साल वैशाख १ गतेबाट म बिरामी परेको। अँ... त्योभन्दा अघि मैले दुइटा काव्य (लेखेको) हो। एउटाचाहिँ ‘प्राज्ञिक अदालतमा साक्षीको बयान’ काव्य नाटक भनेर त्यसको रूपरेखाहरू जम्मै बनाइसक्या थिएँ। अलिअलि खेस्रा पनि तयार पारेँ। मैले जति पारखीहरूलाई सुनाएँ, तिनले खुब मन पराएका थिए। अर्कोतिर मैले आफ्नो जीवनमाथि आधारित एउटा लघु काव्य (लेखेको छु) जसको शीर्षक म एकछिनमा भन्छु। त्यो के भन्देखि सुरेन्द्रजी म जन्मेको गाउँको नाम टुकुचे। अहिले मेरो घर जुन काठमाडौंमा छ, त्यो ठाउँ टुकुचाकै छेउमा छ। चार वर्ष अगाडिको कुरा हो। यसो सोचेँ, यो मेरा विगत झन्डै ४९/५० वर्षको उपलब्धि के ? ती कुराहरू सोचेपछि त्यो लघु काव्यको विषय बन्न गएको हो। शीर्षक मैले दियाथेँ— टुक्चेदेखि टुकुचासम्म। टुक्चेदेखि टुकुचासम्म बितेका ५० वर्षमा के उपलब्धि भयो ?       जीवनको मैले के पाएँ ?       जीवनभित्र मैले के पाएँ ? जीवनले मबाट के पायो ? तर, अपशोच यी खेस्राकै रूपमा रहे। वैशाख १ गते अप्रत्याशित रूपमा जुन किसिमले म बिरामी परेँ, त्यसपछि घरदेखि अस्पताल, अस्पतालदेखि घरको जुन लामो अटुट क्रम चल्यो त्यसले गर्दा मैले सकिनँ। तिनै ताका केही फुटकर लामा कविताहरू पनि लेखेथेँ। अहिले श्वासको जुन अप्ठेरोले गर्दा मैले सुनाउन सकिनँ। भविष्यमा कुनै दिन म सुनाउनेछु।

६) प्रज्ञाप्रतिष्ठानमा कहिलेदेखि प्रवेश गर्नुभयो ? त्यसबारे केही बताइदिनुहुन्छ कि ?      

प्रज्ञाप्रतिष्ठानमा म २०३६ सालमा मनोनीत भा हुँ। त्यहाँ एकपटकमा पाँच वर्षका लागि सदस्यहरू मनोनीत हुन्छन्। पहिलोपटकको अवधि सकिएपछि २०४१ सालमा फेरि मनोनीत भएँ। र, अहिले यो २०४५ सालको अन्त्यदेखि २०४६ सालको प्रारम्भ भएपछि म त्यहाँको सदस्य छैन।

म त्यस्तो परिवारमा जन्मेँ जहाँ मेरा पिताजी र दाइहरू रक्सी खाँदैनथे। तर, केही वर्ष मैले विशेष परिस्थितिवश रक्सी खानुपर्‍यो।

७) कविज्यूको अस्वस्थताको कारण केलाई मान्नुहुन्छ ? यसबारेमा केही जानकारी दिनुहुन्छ कि ?      

हुन त यो तपाईंको बडो राम्रो प्रश्न हो। तर, यसको उत्तरमा म के भन्छु भने सुरेन्द्रजी व्यक्तिको शरीरको प्राकृतिक बनोटअनुसार प्रतिरोध शक्ति बेग्लाबेग्लै हुँदो रहेछ। म आफ्नो भनाइलाई अहिले खुलस्त पार्छु। यद्यपि म त्यस्तो परिवारमा जन्मे जहाँ मेरा पिताजी र दाइहरू खाँदैनथे तर केही वर्ष विशेष परिस्थितिवश मैले खानु पर्‍यो। यदि म कवि लेखक केही नहुँदो त सायद यो बडो सीमित मान्छेहरूबीचमा बढी खान्छ भनेर सकिन्थ्यो। तर, म एउटा कवि पनि भएको हुनाले चर्चाको विषय भयो। तर, २०२८ सालदेखि मैले छाडेँ। म के भन्छु भने ८, ९, १० वर्ष जति मैले खाएँ त्यसले मलाई असर पारेको होइन। किनभने, त्यसबाट प्रभावित हुने मेरा जम्मै अंगहरू बिलकुल ठीक छन्। अर्को कुरा चुरोट। मलाई शंका के लाग्छ भने मेरो किशोरावस्थादेखिको जीवन बैंसभरि म राजनीतिमा लाग्दाखेरि खान पिउन इत्यादि समय हुँदैन थियो। कहिले रातभरि मिटिङ हुन्थ्यो। मुस्किलले एक छाक खाएर १७, १८ घन्टा डाँडाकाँडा हिँडिन्थ्यो। त्यस बेलाको अनियमित जीवन र अतिशय चुरोट खाने जुन मेरो बानी थियो, त्यसले गर्दा मुख्य गरी यो रोग लागेको हो कि जस्तो लाग्छ। तर, यसका साथमा अरू रोगहरू पनि छन्, जस्तो मधुमेह। त्यो त चुरोटले गर्दा हुनु नपर्ने हो।

८) यसमा चाहिँ कविज्यूको भावना कस्तो हो ? साँच्चै नै सोचाइका लागि चुरोट आवश्यक पर्छ ?      

सुरेन्द्रजी कस्तो छ भने आवश्यक पर्छ पनि, पर्दैन पनि। कारण भन्नुहोला, संसारमा कैयन् यस्ता कवि लेखक छन् जसले जीवनमा कहिल्यै चुरोट छोएनन्। फेरि उनीहरू कसरी त्यति ठूला कवि लेखक भए ? यदि चुरोट नै चाहिने भए। तर, के भने चुरोट खाने अम्मल भइसकेका कवि लेखकलाई चाहिँ लेख्ने बेला सबभन्दा बढी चाहिन्छ। किनभने ध्यान केन्द्रित गर्नुपर्‍यो। ध्यान केन्द्रित गर्नेले लेख्दालेख्दा कुनै चिज छ भने चुरोट स्वाट्ट तानेर त्यसलाई यसो सोच्दाखेरि तेस्रो आँखा खुलेको जस्तो, नदेखेको चिज देखेको जस्तो हुन्छ। यो अम्मलीहरूलाई हुन्छ। मलाई पनि त्यो हुन्थ्यो। तर, लेखक कविहरूलाई त्यही चाहिन्छ भन्ने म पत्याउँदिनँ।                                  

९) कविताबाहेक अरू कुन कुन विधामा कलम चलाउनुभएको छ ?

मेरो किशोर अवस्थामा परिवर्तन भन्ने नाटक लेखेँ। त्यो नाटक २००७ सालको क्रान्ति र क्रान्तिको विफलता आंशिक बिन्दु भन्नुपर्छ। त्यसलाई विषय बनाएर मैले बनाएको। त्यसको मञ्चन पनि ठाउँठाउँमा भएको थियो। पछि गएर कवितामा नै मलाई रस प्राप्ति हुन थाल्यो बढी। र, कवितामै मैले आफूलाई सीमित राखेँ।

१०) नयाँ आउने पिँढीहरूलाई कविज्यूको सन्देश ?      

कस्तो छ सुरेन्द्रजी भने, पुरानो पिँढीको जहिल्यै कर्तव्य हुन्छ नयाँ पिँढीलाई सन्देश दिनु। मलाई लाग्छ, नयाँ पिँढीलाई केही आधुनिक आविष्कारहरूले गर्दा यति सुविधा बढी प्राप्त हुन्छ कि पुरानो पिँढीको खाली अनुभवमात्रै उनीहरूलाई कामलाग्दो हुन्छ। अन्यथा उनीहरूले अझ बढी जीवनका अनुभवहरू छिट्टै प्राप्त गर्न सक्छन्। मेरो भनाइ हामी पुरानाहरूले जेजति साधनहरूको साथ जीवनकालमा प्राप्त गरेका थियौं, त्योभन्दा बढी सरल उपायहरू भएको हुनाले अहिलेको पिँढी त्योभन्दा बढी अनुभवहरू छिटो सँगाल्न सक्छन्। त्यही पनि मेरो नयाँ पिँढीलाई एउटा सन्देश भन्नुस्, अनुरोध भन्नुस्, के छ भन्देखि नयाँ पिँढीले लक्ष्मी, सरस्वती दुईवटैको समान रूपबाट तपस्या अर्थात् पूजा गर्न छाड्नु हुँदैन। मात्र धन आर्जनपछि लागेर यता सरस्वती भन्नाले ज्ञानपट्टि लाग्दै नलाग्नुले राष्ट्र, समाज इत्यादि अँध्यारो हुन्छ। तर, ज्ञानको खोजीमा मात्रै लागेर पटके जीवनलाई चाहिने साधनहरू उपलब्ध गर्नेतिर नलागेको खण्डमा कवि लेखकहरूले धेरै दुःख पाउँछन्। जस्तै भनौं, हाम्रा महाकवि देवकोटा। उहाँजस्तो योग्य व्यक्ति र कविले पनि आर्थिक रूपबाट निकै दुःख पाउनुपर्‍यो। महान् कवि र नाटककार गोपालप्रसाद रिमालले पनि उत्तिकै दुःख पाउनुपर्‍यो। अहिले पनि कवि लेखकहरूको जीवन अवस्था राम्रो छैन, आर्थिक रूपबाट। त्यो हुनाले मैले नयाँ पिँढीलाई के अनुरोध गरेको छु भने नयाँ पिँढीले सर्वप्रथम काव्यको साधनामा लागेको खण्डमा पनि आफू बाँच्न र परिवारलाई न्यूनतम आवश्यकता पूरा गर्नका लागि केही आर्जन गर्ने एउटा बाटो बनाई छोड्नु पर्दछ, एक। दुई, के भन्देखि नयाँ पिँढीमा खासगरी लेखनमा लागेका युवकहरूमा अन्तर्राष्ट्रिय साहित्यको अध्ययनको बढीभन्दा बढी आवश्यकता छ। अनिमात्रै आफ्नो भाषामा पनि धेरै वजनदार लेख्न सकिन्छ। तीन, निष्ठा चाहिन्छ। बिनानिष्ठा कुनै पनि काम सफल हुन सक्दैन। विशेष गरेर साहित्य साधना त अवश्य पनि पूरा हुन सक्दैन। यिनै कुराहरू हुन् सुरेन्द्रजी।

११) कविज्यूका कविताहरू अन्तर्राष्ट्रिय स्तरमा अरू भाषामा पनि अनुवादित भएका छन् भन्ने सुनिन्छ। यसबारे केही बताइदिनुस् न।

अनुदित भएका छन्। तर, कस्तो भने रुसी भाषामा बाहेक अन्य भाषामा चाहिँ ज्यादै फुटकर किसिमले। रुसी भाषामा चाहिँ त्यहाँ रोरिएन्टल इन्स्टिच्युट भन्ने छ, मस्कोमा। मैले पनि देखेको थिएँ, त्यहाँ जाने बेलामा। त्यहाँ मेरो र मेरा समकालीन केही कविहरूको त्यस दशकका केही कविहरूका र मेरो कविता अनुवाद गरिन थालेको छ। विशेष गरी मेरोमा बढ्ता ध्यान दिएको छ भन्थे, कहाँसम्म सत्य हो। तर, मलाई देखाएको त्यो ओरिएन्टल इन्स्टिच्युटमा हाम्रो दशकको र मेरोलगायत टन्नै कविताहरूको विषयमा विद्वान्हरू लागेका थिए। अनुवाद पनि उनीहरूका थुप्रै भाषामा गरिएका छन्।

१२) अंग्रेजीमा ?      

अंग्रेजीमा केही फुटकर भएका छन्।

१३) थकालीको बारेमा हुन त हजुरलाई धेरै रुचि भएको कुरा हो। थकालीप्रति कविज्यूको के विचार छ ?      

साँच्चि भनूँ भने थकाली जाति ज्यादै दुर्गम ठाउँमा भएर पनि धेरै सम्भावना बोकेर जन्मिएको जाति हो। थोरी जाति भए पनि त्यो जमानामा तिब्बततिर गर्मीयाममा त्यस्तो खतरा भए पनि तिब्बतसम्म व्यापार गर्न जाने अनि फेरि जाडोमा भारततिर व्यापार गर्न जाने, नयाँनयाँ कुरा सिक्ने र नयाँ सिकिएका कुरालाई आफ्नो समाजमा लागू गर्ने बडो एडभेन्चरस भन्छन् नि अंग्रेजीमा त्यस्तो एउटा जाति हो। र, व्यापारमा लागे पनि अन्य कुराहरूमा पनि नयाँनयाँ र असल कुराहरूलाई तुरुन्तै स्वीकार गर्नसक्ने जाति हो। यता आएरचाहिँ बरु व्यापारमा नेपाली व्यापारीभन्दा बाहिरका व्यापारीहरूले जितेका छन्। तर मलाई लाग्छ, अझै पनि यो नयाँ पिँढीले आफ्नो पुर्खाले जस्तैे आफ्नो जातिको कल्याणका लागि अरू जातिहरूसँग राम्रो सम्बन्ध राख्नुपर्छ। पुराना हामीहरूको ओरिजिन कहाँबाट भएको हो ? राम्रो एन्थ्रोपोलोजिकल रिसर्चपट्टि लागे भन्देखि मलाई लाग्छ अझ थकाली जातिले धेरै उन्नति गर्छ।

१४) कविज्यू यति लामो समयसम्म साहित्य जगत्मा भिजेर आफ्नो साहित्यिक उपलब्धिहरूसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?      

सुरेन्द्रजी, हुन त यो बासी उत्तरजस्तो लाग्ला। तर, मलाई लाग्छ सुरुदेखि अन्तसम्म कहिल्यै बासी नहुने उत्तर हो। त्यो के भने पूर्ण सन्तुष्टिले, त्यो जुन प्रतिभा छ, त्यसको अन्त्य गराउँछ। जुन दिन मानिस सन्तुष्ट हुन्छ, कवितामा मात्रै होइन तपाईंले पनि जुन आफ्नो काम गर्दै हुनुहुन्छ, त्यसमा कुनै पनि पूर्ण सन्तुष्ट हुनुभयो भने तपाईंले अरू गर्नुको काम छैन। त्यस्तै म पनि एउटा कविको रूपबाट एकातिर म सन्तुष्ट छु। मैले केही गर्न सकेँ। अर्कोतिर मैले गर्नुपर्ने थुपै्र थिए मैले गर्न सकिनँ भन्ने असन्तोष छन्, त्यसको पनि सिकार छु।

१५) २०४६ सालदेखि कविज्यूको स्वास्थ्यको उत्तरउत्तर लाभ होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

धेरै धन्यवाद सुरेन्द्रजी।

००००

अन्तर्वार्ताको अन्तरकथा

  • सुरेन्द्र गौचन

उहाँ लामो समयदेखि बिरामी भइरहनुभएको थियो। पछि के हुन्छ हुन्छ अन्तर्वार्ता लिनुपर्छ भन्ने लाग्यो। त्यसपछि उहाँको घर गएँ। उहाँले एक हप्तापछि आउनु भन्नुभयो। एक हप्तापछि २०४६ वैशाख १६ गते उहाँको घर गएँ। भिडियो क्यामेरा चलाउन भाइ दीपेन्द्र गौचनले सहयोग गरेको थियो।

उहाँको घर नागपोखरी पुग्दा श्रीमती र छोरा सँगै थिए। छोरीसँग चाहिँ भेट भएन। उहाँ ओछ्यानमै पल्टिरहनुभएको थियो। दम बढिरहेको थियो। उठेर बोल्न सक्नुभएन। विस्तारै कुराकानी गर्नुभयो। सुरुमा मैले थकाली जातिसम्बन्धी केही प्रश्न गरेँ। उहाँले यो कुरा अहिले धेरै नगरौं भन्नुभयो। थकाली जातिसम्बन्धी केही कुराचाहिँ भयो। त्यसपछि साहित्यिक कुरा अलि बढी भयो।

मैले भिडियो खास केही पनि प्रयोजनका लागि खिचेको थिइनँ। थकाली कला संस्कृतिमा अलि बढी रुचि राख्थेँ। त्यसैले कुरा गरेको थिएँ। मसँग त्यस बेला नै कम्प्युटर थियो। त्यो बेला अर्कै खालको कम्प्युटर थियो। मैले त्यही राखेँ। त्यसदेखि यता चारवटा जति कम्प्युटर फेरेँ। सबै कम्युटरमा भिडियो सारिरहेँ। त्यसलाई जोगाएर राखेँ। भिडियो खिचेको १५ दिनमा उहाँ बित्नुभयो। यो नै उहाँसँगको अन्तिम भिडियो अन्तर्वार्ता भयो।

(राजु स्याङ्तानसँगको कुराकानीमा आधारित)

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2