MENU

प्रेमका अनुभूतिहरू

हरिमाया भेटवाल शनिवार, कात्तिक २५, २०७४ 997 पटक पढिएको

Share This

635-X-85_1

हातमा सिर्कनु लिएर गल्ती सच्याउन उभिएकी गुरुआमा जस्तो थिएन समय, न थियो पहेँलै फुलेको तोरीबारी जस्तो। ऐँना हेरिरहँदा आधा भाग पछाडि छोपिएजस्तो लाग्थ्यो समयको पनि। बाँच्ने दौडमा यात्रु बोकेर बाँच्नकै लागि रिक्सा चलाइरहेको चालक र जीवनको रिक्सा हाँकिरहेकी म उस्तै लाग्थ्यो मलाई। घर बाहिर पार्टीका काम लुरुलुरु गर्नु र घरभित्र लोग्ने र छोराछोरीका इच्छाहरूलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै हिँड्नु गाह्रो काम थियो र त कहिलेकाहीँ चिप्लिन्थेँ म। जसरी बाटोमा फालिएको केराको बोक्रामा हिँड्दा हिँड्दैका अपरिचितहरू चिप्लिन्छन्।

केरा बेच्नेहरू कुन दुनियाँमा पुगिसकेका हुन्थे तर चिप्लिनेहरू चोट लागेर घर पुग्थे। यसरी चोट लाग्नेहरूको लागि अस्पताल हुनुपर्ने पार्टी तर विशेषगरी यो सवालमा वामपन्थीहरूमा त्यो चेत कमै महसुस भएको हो मलाई। गधा जति उकालो लाग्छ, उति भारी थपिदिएझै थपिन्थ्यो कामको भारी। तर गधालाई तिर्खा र भोक लाग्छ भनेर कमै सोचिन्थ्यो त्योबेला। कुरा उठाउँदा जनताको लागि हामीले नगरे कसले गर्छ त भन्ने तर्क पनि सहज नै लाग्थ्यो। भारी बोकाउँदा भारीले थिचिएर पछारिनु र फेरि उठेर हिँड्नु मेरो दैनिकी थियो। यो काठमाडांै जहाँ एउटै बाटो थाहा पाउनलाई पनि थुप्रै पटक हिँड्नु पर्छ। एकपटक मात्र हिँड्नेलाई चिन्दैन यहाँको बाटोले पनि।

म त यति लाटी थिए कि मान्छेमात्र हैन, पार्टी चिन्न निस्किएकी थिए त्योबेला। जबकि मैले आफैंले आफैंलाई चिनेकी थिइनँ। गरिबीको भेल सानु छ भने बगाउँदैन तपाईंलाई तर ठूलो आयो भने त्यही भेलमा साथ दिनेहरू भएनन् भने मान्छे बगेर मसानघाट पनि पुग्न सक्छ, मान्छे बगेर डोरीको पासो लगाई रूख वा बिममा फल्न पनि सक्छ, अथवा मान्छे बगेर एउटा पार्टीबाट हाम फालेर अर्को पार्टीमा नि पुग्न सक्छ, थुप्रै कुरा हुन सक्छ। तर मेरा आफन्तको साथले म उभिए, कतै पुगिनँ, बरु घटनाहरूले मेरो निद्रा बगाएर पर पु¥यायो। मेरो सपना बगायो तर मलाई बगाउन सकेन। मलाई म बनाउनमा कसले कति भूमिका निर्वाह गरे, त्यसको हिसाब किताब मैले मनको डायरीमा राखेकी छु। समयले साथ दियो भने कुनैबेला त्यो डायरीमा लेख्नेछु मेरो विगत र धन्यवाद भन्नेछु उनीहरूलाई पनि जसले सँगै हिँड्दा छिर्के लाए वा असाध्यै भोकाएको बेला ललीपप देखाए।

यी थिए मेरा थोरै भोगाइ, आज पोखिन मन लाग्यो। पोखिँदै तपाईंहरूसम्म आएँ। अब तपाईंहरूलाई एकछिन लैजान्छु म थाइल्यान्डतिर।

२०५१ सालबाट सुरु भएको यो काठमाडौंको बसाइमा २०६५ सालसम्म आइपुग्दा पेटको भोकबाट मेरो परिवार अलिकति माथि उठेको थियो, तब भोकको क्षेत्रफल फैलिएको थियो। पेटको भोक आँखातिर सरेको हुनुपर्छ। मेरो जीवन साथीले एकाएक थाइल्यान्ड घुम्न जाने योजना सुनाउनु भो। त्यो पनि कुनै ट्राभल एजेन्सीसँग हैन, आफ्नै सुरले। मैले खासै प्रतिक्रिया दिइनँ। मलाई घुम्न जानुभन्दा कमाउँदै गरेको दुई चार पैसा जोहो गरेर सानु टुक्रा जग्गा किन्न पाए अथवा कतै सेयर किनेर छोडदिन पाए भोलि बढ्थ्यो भन्ने लागेको थियो। तर म असफल भएँ। विष्टजी टिकट बोकेर आउनु भो। जहिल्यै र जहाँ नि यात्रा गर्ने अघिल्लो दिन म रातभरि निदाउन सक्दिनँ। त्यो रात पनि मेरो आँखामात्रै निदायो, मस्तिष्क निदाएन। विवाह गरेको २२ वर्षपछि हामी पहिलोचोटी दुईजना मात्र यसरी घर छाडेर घुम्न जाँदै थियौं त्यो पनि विदेश। २२ वर्षमा कति आए हामी आफंैभित्र पनि भूकम्प, त्यसको पनि टिपोट गरेकी छु मनमा। हामी हाम्रो विगतलाई आआफ्नै मनभित्र काँडेबार लगाएर निस्कियौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतीक ढकालले घरकै विशिष्ट पाहुना जसरी स्वागत गरे। गलामा खादा लगाएर थाई जहाज चढ्दा मलाई निक्कै गर्व लागेको थियो। जाँदाजाँदै पनि मन गोदावरी जसरी फुल्यो।

कहिलेकाहीँ बुद्ध एयरमा झापा जाँदा कान दुखेर हैरान हुन्थँे म। जहाज चढेपछि कान नदुखोस् भनेर रुवा कोच्न बढी ध्यान जान्थे मेरा। हामी थाई एयरवेजमा उड्न सुरु गर्दै थियौ अब। तर हाम्रो देशको जस्तो जहाज थिएन त्यो। ठूलो जहाज भएर होला हामी गाडीमा छौ या ट्रेनमा, पत्तो नहुने गरी उडिरह्यो। उड्न थालेपछि न त कान दुख्यो, न मन। नेपालबाट ४ बजे उडेका हामी साढे ८ बजे बेलुका बैंकक पुग्यौ। राति पनि दिउँसैझै थियो त्यो सहर। बाहिर निस्कने अरूहरूकै पछि लाग्यौं हामी पनि। होटेल नेपालबाटै बुक गरेकोले हामीलाई लिन कोही आएको थियो बाहिर। उसको हातमा विष्टजीको नाम लेखेको प्लेकार्ड थियो। कारमा बसाएर एक घन्टा पछि उनले होटेलमा पु¥याए। तिर्खाले घाँटी सुकेकोले हामीले पानी किन्ने भन्यौ। समुद्रको त्यो देशमा पानी निक्कै महँगो लाग्यो। परिचय गर्दै जाँदा उनी छिमेकी भारतीय रहेछन् भन्ने थाहा पाउँदा खुसी लाग्यो। उनले हामीलाई यात्रा गर्दाका केही टिप्स बताए। घुम्न जाँदा पिंक कलरको ट्याक्सीमा मात्रै चढेर घुम्न सुझाव दिए।

बिहान हामी होटेलबाट निस्कियौं। बिहानै सडक पेटीमा बजार लाग्दो रैछ। त्यही बजारमा अल्मलियांै। मेसिनले बनाएका कागजका टपरीमा भात अन्डादेखि थुप्रै खानेकुरा बेचिरहेकाहरूको जमात थियो। तर त्यहाँ थाई भाषाबाहेक अरू बुझ्दा रैनछन्। हामीले कतै अंग्रेजीमा लेखिएका होडिङबोर्ड छ कि भनेर यताउति नजर लगायौं तर कतै देखेनौं। आफ्नो भाषाप्रतिको उनीहरूको प्रेम भनौं वा सरकारी नियम बडो गजबको लाग्यो मलाई। घुम्दै गर्दा ठूल्ठूला कट्मेरा अम्बा मेरा आँखाले समाए। म त्यतै लागे। जीवनमा पहिलोचोटी त्यति ठूला अम्बा देखेकी थिएँ मैले। कठैबरा हामीले अझै कतिथोक देखेका छैनौं। मलाई आफैप्रति दया लाग्यो। नेपालमा भए बाटोमै खाँदै हिँड्थे होला तर त्यहाँ त्यसो गरिनँ। किन्नलाई नजिक गएँ र औंलाले देखाएँ, भाषाले लाटी जो बनेकी थिएँ। लाटीलाई लाटी नै बनेर जवाफ फर्काइन् साहुनीले पनि। एक केजीको दुईटा अम्बा र केही लुगा किनेर हामी फर्कियौं होटेलमा। कोठामा पस्नासाथै मैले अम्बा काटे। मीठोको सीमा नाघेको त्यो एउटा अम्बाले हामी अघायौं।

तीन दिनको बैंकक बसाइ सकेर पतायातिर जान निस्कियौं हामी। बाटोमा हामीले पिंक ट्याक्सी नै रोक्यौ। त्यो ट्याक्सी सरकारी रहेछ। त्यसमा भाडा पनि फरक नपर्ने र यात्रुलाई सहजताको लागि इन्टरपे्रटरको पनि व्यवस्था हुँदो रहेछ। यदि यात्रुहरूको सामान हरायो वा चोरी भो, भाडा ठगेको कम्प्लेन गरियो भने ड्राइभरको सर्वस्वहरणसहित जेल सजाय गरिँदो रहेछ। हाम्रो भाषा इन्टरपे्रटरले पनि बुझेनन्। अंग्रेजी पनि पटक्कै नबुझ्ने रहेछन्। तिनको थाई भाषा हामीले बुझेनौं। उनले गाडीमा रहेको लेन्डलाइन जस्तो फोन सेटबाट कल गरेर उता कसैलाई बोल्न दिए। उताबाट अंग्रेजीमा कुनै थाई महिलाको मीठो स्वर आयो। हामीले जान चाहेको मार्केटको नाम बतायांै।

ठाउँठाउँमा ट्याक्स तिर्दै ट्याक्सीले मार्केट पुर्‍यो। मैले बाटोमा कुदिरहेका ती सबैखाले गाडीहरूलाई हेरे र मनमनै हिसाब गरे। कति धेरै पैसा उठाउँदो होला दिनमा थाई सरकारले ? मैले बाटोमा पुतलीझै सजिएर बसेका युवतीहरूले विष्टजीलाई समातेर लैजान्छन् कि भनेर लजाउँदै हात समातेर हिँडेको पनि त्यो नै पहिलो पटक थियो। बैंककबाटै हामीले पतायाको होटेल रिजर्भ गरेका थियौ। प्रतिघन्टा एक सय २० किमि स्पिडको रफ्तारमा कुदेको गाडीले हामीलाई चाँडै पताया पुर्‍यायो। भोलिपल्ट हामी समुद्र हेर्न निस्कने योजनाअनुसार बाहिरियौं। हपहपी गर्मी थियो बाहिर। हामी भुरे पानीजहाज जस्तो नौकामा चढेर घुन्न थाल्यौं। त्यो भुरे पानीजहाज पनि हिजो आउँदाको गाडीझै स्पिडमा थियो। एक घन्टापछि रोकियो नौका। ससाना टहरोजस्ता पसलहरूमा गर्मीमा लगाउने लुगा झुन्ड्याइएको थियो त्यहाँ। नरिवल पानीदेखि विभिन्न खानेकुरा बेच्नेहरू उत्तिकै थिए। अलिपर बालुवामाथि स्लिपर ओछ्याएर जीउ मालिस गराउनेहरू उस्तै व्यस्त देखिन्थे। महिलाहरू प्रायः दुई इन्च लुगाले लाज छोपेर गर्वसाथ हिँडिरहेका देखिन्थे। हामी समुद्रमा पस्यौ। त्यो नुनिलो पानीले छोए जति जम्मै ठाउँमा नुनैनुन टल्किएको देखियो।

कतिबेर होटेल पुगेर सफा पानीले नुहाउनु थियो हामीलाई। लिफ्टमा हामीसँगै भारतीयहरू पनि आएर मिसिए। मैले टिसर्ट र पेन्ट लगाएकी थिएँ। म जस्तो शरीर छोपिएको पहिरन देख्न मुस्किल थियो त्यहाँ। ती मान्छेले मलाई लिफ्टमै जिस्क्याउन थाले। अरे ए तो नेपाली लोग है। वडे गजबकी माल है ए। मैले मुख खोल्नुअघि विष्टजीले मेरो मुखमा आफ्नु हातले छोपिदिँदै विस्तारै मेरो कान छेउमा भने– ‘यो अर्काको देशमा जे भने पनि चुपचाप सहेर बस्नुपर्छ। केही नबोल है।’ लिफ्ट नरोकिन्जेल मैले नि सास र आवाज दुवै रोक्ने प्रयत्न गरिरहे। मेरो रिस माछाभन्दा पनि मीठो तरुल फ्राईले बिर्साइदियो।

तीन दिनको पताया बसाई सकेर हामी त्यहाँबाट १५ सय किलोमिटर टाढाको चान्तापुरी भन्ने ठाउँ जाने भयौं। त्यहाँको विशेषता भनेको सिँगै थाइल्यान्डलाई स्टोन सप्लाई गर्ने रैछ। हामीलाई टाढैबाट स्टोनको पहाडहरू तिनै हुन् भनेर देखाए त्यहाँका स्थानीयले। हामी त्यहाँको सबैभन्दा ठूलो केपी ग्रान्ड होटेलमा बस्यौ दुई रात। एकदिन हामी यायावर जसरी बाटैबाटो हिँडेको हिँड्यै गर्‍यौँ। बाटोमा सिँगै हाँस रातो पारेर पकाई सिसाभित्र सजाएर बेच्न बसेका महिलाहरू, सी फुड बेच्नेहरू सबैलाई छोडेर हिँड्दा हिँड्दै थाक्यौ र एउटा डिपार्टमेन्ट स्टोरमा पस्यौ। त्यहाँ आमा छोराजस्ता लाग्ने दुईजना बसेका थिए। हामी भोकले चुर थियौं। अब उनीहरूले हाम्रो भाषा बुझ्ने कुरै थिएन। विष्टजीले एउटा मासुको पकेट निकालेर हेरे र भाले कुखुरा बासेझै निहुरिएर अभिनय गर्दै कुखुरी काँऽऽ हो भनेर सोधे। उनीहरू हामीलाई हेर्दै मरीमरी हाँस्न थाले। आमा चाहिँले अभिनय गरेरै दुईटै ओठलाई जोडेर चुच्चो पार्दै सुँगुरको मासु भएको बताइन्। हाम्रो भोक हाँसेरै गयो। मलाई त्यो दिन थाहा भयो आखिर मान्छेले भाषा नबुझेर पनि भाव बुझे पुग्ने रहेछ। झोलामा नअटे पछि थुप्रै कुराहरूलाई आँखामा बोकेर तीन दिनपछि हामी फेरि बैंकक आयौ। बाटोभरि खेत जोतिरहेका, रोपिरहेका मेसिन मान्छेभन्दा धेरै देखिए। बैंकक पुगेपछि भातको न्यास्रोले हामी इन्डियन होटेल पुग्यौ, थालीभात मगायौँ र घरमाझैं गमगम खायौं। दसौं दिन हामी नेपाल फर्कियौं। हामीसँगै फर्किए लेखेर नसकिने थुप्रै प्रेमका अनुभूतिहरू। 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2