MENU

इतिहास बन्दैछन् इतिहास गाउनेहरू

शिवराज योगी शनिवार, कात्तिक २५, २०७४ 600 पटक पढिएको

Share This

635-X-85_1

समाज

‘हात, पाखुरा, बरकत गल्यो
सेतै भयो केश !
आङको मासु आङमै सुक्यो
आँगन पनि भयो परदेश !!'

Image may contain: 1 person, beard
विरहलाग्दो सारंगीको धुनमा बूढो जिन्दगीको कथा बोल्योे। पिँडीमा बसेर मिर्मिरे घाम तापिरहेकी सासूआमाको मुहार एकाबिहानै मलिन बन्यो। तनहुँको चुँदीरम्घाबाट परम्परा धान्दै राजधानी आइपुगेका ६३ वर्षीय कृष्णबहादुर गन्धर्वले सारंगी रेट्दा आँगन नै संगीतको झंकारमा तरंगित भएझैं लाग्यो। झ्यालबाट नियालिरहेकी नानीलाई देखेपछि गन्धर्व दाइले अर्को गीत गाएः
‘पाप, धर्म, असन्तुष्टि
यत्तिमात्रै जान्छ साथमा
नानी, बाबु ज्ञानी बनुनभलो गर्नु यो जगत्मा !!'
जमाना फेरिएको छ। अचेल गन्धर्व दाइहरूले रेट्ने सारंगीको धुन र बोल्ने गाउँको कथा पातलिँदै गएको छ। धर्मशास्त्रमा देवगणका गायकको रूपमा गन्धर्व जातिलाई लिइएको छ। तर, फेरिएको समय र साधनसँगै गन्धर्व जातिको पेसा र महत्व पनि ओझेल पर्दै गएका छन्। हिन्दु धर्मअनुसार भगवान्सँगै स्वर्गमा बस्ने गन्धर्व निम्न वर्गका देवता नै मानिन्थे। भगवान्हरूको सभामा उनीहरू गायकका रूपमा गनिन्थे। शास्त्रअनुसार उनीहरू देवता र मानिसका बीच सन्देशवाहकका रूपमा काम गर्थे।

‘त्यो परम्परा हामीले पनि धानेका थियौं, एउटा गाउँको खबर अर्को गाउँसम्म लैजाने गथ्र्यौं', कृष्णबहादुरले भने, ‘राजा, महाराजा, सरकार र अड्डाका रैबार (खबर) हाम्रा पुर्खाले पनि गाउँगाउँ गीति समाचार बनाएर गाए, सुनाए।' अब समय फेरियो, प्रविधि भित्रियो, मानिसको रुचि परिवर्तन भयो र आफूहरूको महत्व कम हुँदै गएको उनको बुझाइ छ।

संगीतका आधुनिक विकासपूर्व उनीहरू गाउँका संगीतज्ञका रूपमा मानिँदै आएको कुरा उनीहरूलाई भारतीयले संगीतज्ञको रूपमा स्वीकारेकोबाट पनि पुष्टि हुन्छ। नेपालको कास्की, तनहुँ, पाल्पा, गुल्मीआसपासका बसोबास भएका अधिकांश गन्धर्वहरू माओवादी द्वन्द्वकालसँगै पातलिएको कृष्णबहादुर बताउँछन्।

‘युद्धकालमा गाउँमा बस्ने वातावरण नभएपछि हाम्रा छोरा नाति सहर पसे', उनले भने, ‘उनीहरू यता आएपछि सारंगी गाउँमै छुट्यो, उनीहरूले अर्कै पेसा अपनाए, अब कस्ले सिक्ने, कसले सिकाउने ? ' गन्धर्वहरूले आफ्ना गीतमा सरकार, सत्ताका सन्देश, राजा, महाराजाका बहादुरीका कथामात्रै होइन एउटा गाउँको घटना, दुर्घटनाको समाचार अर्को गाउँसम्म लगेर सुनाउने मौलिकता रहेको कृष्ण बताउँछन्।

अहिले मानिसको हातहातमा सञ्चारसामग्री छन्। घरघरमा टीभी, रेडियो र इन्टरनेटनको पहुँच छ। सूचना, समाचार र सन्देशको कमी नभएपछि मानिसको जीवन गीतमा पस्केर जीविका चलाइरहेको बताउँछन् कृष्ण। ‘सत र धर्मका कुरा सारंगीको सुरमा भन्छौं, जीवनको सत्यलाई गीतमा ओकल्छौं', कृष्णबहादुरले भन्छन्, ‘तर, हिजो गाउँघरमा जस्तो अहिलेको पुस्तामा सारंगीको सुरमा बग्ने इच्छा देखिँदैन, हामी कथामा डुब्ने समय छैन।'

गाउँको मौलिक संगीतका रूपमा रहेको सारंगी, गन्धर्व गायन, रोधीघरहरू अब सहरका दोहोरी साँझ, डान्सबारमा परिणत भए पनि केही मनकारी र पुरानो पुस्ताले भने चाखपूर्वक सुन्ने गरेको अनुभव उनी बाँड्छन्।

हिजो गाउँघरमा जस्तो अहिलेको पुस्तामा सारंगीको सुरमा बग्ने इच्छा देखिँदैन, हामी कथामा डुब्ने समय छैन।

जीवन बाँच्दै गर्दाका अप्ठ्यारा सारंगीको धुनमा रेटिदिनु, नयाँ पुस्तालाई अर्ती दिनु, पुराना पुस्ताका अनुभव र अनुभूतिलाई सारंगीको सुरमा पोखिदिनु आफूहरूको कर्म नै भएको उनको ठम्याइँ छ। तर, नयाँ पुस्ताले नयाँ पेसा, व्यवसाय रोजेकोमा भने उनी चिन्तित छन्।

‘आफ्नो पुर्खाको पेुा, भगवान्गणका पालादेखिको परिचय नासिँदै गएकोमा कसलाई पीर हुँदैन र ? ', कृष्णबहादुर भन्छन्, ‘आधुनिकताका नाममा धेरै थोक भित्रिएको देख्छु, विकृति पनि समेटिएको सुन्छु, आफ्नो मौलिकता र परम्परालाई जोगाउने जाँजो कसैले मिलाए के पाप हुन्थ्यो र ! यस्तै आँगन बिरानो हुँदै गएका आमाहरूको कथा घरघरमा सुनाउँथ्यौं, नानीबाबुलाई अर्ती उपदेशको क्रम चलिरहन्थ्यो।'

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2