MENU

एक जुगका गायक रामेश 

635x90_3

डम्बरकृष्ण श्रेष्ठ शनिवार, कात्तिक २५, २०७४ 1096 पटक पढिएको

Share This

635-X-85_1

तिमी देऊ तिम्रा हातहरू, म दिन्छु मेरा हातहरू
आऊ मिलाऊ हाम्रा हातहरू...
राजधानीमा १६-१९ कात्तिकमा सम्पन्न दक्षिण एसियाको प्रतिष्ठित फिल्म फेस्टभिल ‘फिल्म साउथ एसिया (एफएसए) २०१७' को मञ्चमा रामेशले भ्रातृत्व, न्याय र समानताको यो गीत गाउँदा नयाँ पुस्ताका धेरै दर्शक ‘सरप्राइज' भएको हुनुपर्छ । किनभने २०६२/२०६३ पछिको नयाँ पुस्ताका धेरै रामेश र उनका सिर्जनाहरू परिचित छैनन् । किनकि ती नेपाली रेडियो/एफएम/टेलिभिजनहरू र अन्य मिडियामा त्यति सुनिँदैनन्, देखिँदैनन् । एउटा फरक मञ्चमा रामेशलाई यसरी उभ्याएको थियो उनकै जीवन समेटिएको फिल्म ‘डढेलोभित्रका सतिसाल'ले । र, ‘एफएसए'को यो मञ्चले ब्यूँताएको छ रामेशको जीवन र कुनै बेला राल्फा समूह र तिनका सिर्जनाले नेपाली समाजमा ल्याएको हलचलको कथा ।

Image may contain: 1 person, smiling

२०१८ सालमा रेडियो नेपालको राष्ट्रिय लोकगीत प्रतियोगितामा भाग लिन रायनसँग पहिलोपटक ओखलढुंगाबाट काठमाडौँ आएका थिए रामेश । यो जोडीले गाएका लोकगीतले पारिजातसमेत ‘फ्यान' बनिन् । त्यसपछि बन्यो राल्फा समूह, जसमा मञ्जुल पनि मिसिए । र, गुञ्जिन थाल्यो निरंकुश पञ्चायतविरुद्ध जनता जगाउने गीतहरू— गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ, एक जुगमा एक दिन, एक चोटि आउँछ', आऊ मिलाऊ हाम्रा हातहरू, संघर्ष हो जीवन, देश जनताको नाम हो, रोक्ने को हो दूरदर्शी विचारका धारा, सुनको बिहान, गाई त बाँध्यौ ढुंग्रोमा मोही छैन, कोही त भने जहाजमा हरर... आदि ।

यी गीतहरू २०४६ को जनआन्दोलनमा मात्र होइन, राजा फाल्ने २०६२/६३ को अर्को आन्दोलनमा पनि जनता उचाल्ने औजार बने । ऊर्जा बने । कालजयी बने । प्रमाण, अहिले पनि परिवर्तनका हरेक अभियानमा यी गीतहरू गुञ्जिन्छन् । तर, यति भन्दैमा सन्तोष मान्नुपर्ने रहेनछ । २०६२/६३ पछिका नयाँ पुस्ताले उबेलाका राल्फा र रामेशका केही गीत सुनेका त रहेछन् तर यी गीतका सर्जकबारे अधिकांशलाई पत्तै रहेनछ । स्कुलमा ची मुसी ची, लेकका हामी केटाकेटी, आइतबार बिहानजस्ता बालगीत सुनेर हुर्केकालाई पनि ती गीतसंगीत रामेशका सिर्जना हुन् भन्ने थाहै रहेनछ । नेपाली संगीतलाई अर्को आयाम थपेका रामेश, रायन, मञ्जुल, राल्फाजस्ता नामहरू क्रमशः धूमिल बन्दै गएछन् ।

रामेश संघर्ष र निष्ठाको नाम हो । एउटा आन्दोलनको नाम हो रामेश । संगीत, पटकथा र संवाद लेखनमार्फत ‘बलिदान' फिल्मलाई अभिभावकत्व दिने रामेशको जीवनका आरोहअवरोह एउटा सिंगो फिल्मजस्तै छ । तर, पछिल्लो समय समाज र नयाँ पुस्तामाझ रामेश र उनका सहयोद्धाहरू ओझेलमा छन् ।
पञ्चायत फाल्न सक्रिय भए रामेशहरू, पञ्चायत गयो । गणतन्त्र ल्याउन सक्रिय भए रामेश, गणतन्त्र आयो । परिवर्तनका लागि जनगीति यात्राका लागि लामो यात्रा तय गरिसकेका रामेश भने देशको परिस्थितिबाट सन्तुष्ट हुन सकेका छैनन्, अहिलेसम्म ।

रामेशले गाएका गीतहरू गरिब, दीनदुःखी र श्रमजीवी वर्गको पक्षमा छ । विगत ५५ वर्षदेखि निरन्तर गाइरहेका छन् उनी । जनतालाई अँध्यारोबाट मुक्ति दिलाउन जीवन अर्पेका रामेशलाई कसैले एमाले, कसैले माओवादी खेमाको भन्छन् । २०४४ सालतिरै पार्टी राजनीति छाडेका रामेश आफूलाई जनताका सेवक भन्न रुचाउँछन् ।

जनताको मुक्तिका खातिर गाइएका रामेशकै गीतलाई एमाले र माओवादीले समाइरहे, जसलाई उनीहरूले आफ्नो सम्पत्ति बनाए । २०४७ पछि कांगे्रस र एमालेको रवैयाबाट वाक्कदिक्क भएका उनले ‘माओवादीलाई एकपटक हेरौं' भनेर उनीहरूको पक्षमा जनतासँग भोट पनि मागे । अन्ततः उनले माओवादीको पनि रूप र सार दुवै बुझे ।

वर्तमानको यही वास्तविकताको पृष्ठभूमिमा ‘डढेलोभित्रका सतिसाल' वृत्तचित्र निर्माणको सोच पलाएको थियो । भावी पुस्तालाई रामेश, राल्फा र यस्तै उद्देश्य लिई हिँडेका संकल्प र आस्था परिवारको जीवन बुझ्न सहज होस् भनेरै यो वृत्तचित्र बनाइएको हो । अन्ततः हिमायती परिवार, हङकङ र सार्थक जनसंगीत प्रतिष्ठान नेपालको लगानीमा यो सम्भव भयो ।


हरेक जनआन्दोलनमा जनता उचाल्ने औजार र ऊर्जा बनेका कालजयी गीत र तिनका सर्जकहरू बेवास्ता र गुमनाम बन्दै गरेको समाजलाई ऐना देखाउँछ फिल्म ‘डढेलोभित्रका सतिसाल'ले ।

वृत्तचित्रको केन्द्रमा छन् रामेश । ७४ वर्ष टेकेका उनको संघर्षलाई नियालेका सहकर्मी मञ्जुल, रायन, गणेश रसिक, श्याम तमोट, रामकृष्ण दुवाल लगायतले इतिहास कहेका छन् । राल्फाली सांगीतिक आन्दोलनमा प्रत्यक्ष सहभागी मात्र होइन, ती गीतसंगीतसँगको गहिरो प्रभावमा परी राजनीतिमा होमिएका, कलाकार, लेखक, विश्लेषकसमेत वृत्तचित्रमा अटाएका छन् ।

‘नेपाली भनिने गीतहरूले मायापिरती मात्र होइन, देश र जनताको पीरव्यथाका आवाज पनि उठाउनुपर्छ', रामेशको आजसम्मको निष्ठा यसैमा छ । त्यसैले उनका गीतलाई जनताका गीत बनाएको छ र उनलाई जनगायक । परिवर्तनको मुद्दामा राजनीतिक पार्टीभन्दा जनतालाई सधैं शिरमा राख्ने उनको यही अवि श्रान्त र अविचल विचारले नै आजसम्म रामेश निष्ठाका पर्याय बनिरहेका छन् । क्रान्तिका कुरा गरी कहिल्यै नथाक्ने थुप्रै पात्र लोकरिझ्याइको सिकार बन्दै इतिहासका गर्तमा कसरी बदनाम बनेका छन्, हामीले देखिरहेकै छौं । तर, रामेश विचार र व्यवहारमा एउटै मान्छे हुन् । त्यसैले उनी दुर्लभ हुन्, डढेलोबीचका सतिसाल हुन् ।

मस्तिष्कभन्दा बढी हृदयसँग सम्बन्ध राख्ने गीतसंगीतबारे ‘फिक्सन' माध्यमको प्रयोगबाट धेरै कुरा भन्न नसकिने होइन । तर, इतिहासका कुनैकुनै विषय यस्ता हुन्छन्, जसलाई ‘नन् फिक्सन'का रूपमा बताउँदा नै त्यसमाथि न्याय हुन्छ । हामीलाई लाग्छ, ‘डढेलोभित्रका सतिसाल' त्यसैको प्रतिनिधि हो ।
पर्दामा रामेश

२०५४ सालको एक मध्याह्न धरान नगरपालिका भवनअगाडि ‘बलिदान' फिल्मको छायांकनस्थलमा मेरो पहिलो प्रत्यक्ष भेट भएको थियो रामेश दाइसँग । त्यसअघि गीतसंगीत र पत्रपत्रिकामा प्रकाशित हुने लेखहरूबाट परिचित थिएँ । राजधानीबाट प्रकाशित हुने प्रतिपक्ष साप्ताहिकमा उनको आरोह-अवरोह स्तम्भको नियमित पाठकमध्येको एक थिएँ म । ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो...', “‘कोही त भने जहाजमा हरर...' जस्ता जीवन र जगत्को यथार्थ बोकेका उनका संगीत र स्वरहरू अरूभन्दा अलग लाग्थे ।

फिल्मको ‘सुटिङ'को बीचको चिया ‘ब्रेक'को मौका छापेर मैले आफ्नो परिचय दिएँ ।
नमस्कार दाइ, म डम्बरकृष्ण श्रेष्ठ, पत्रकारिता सिक्दैछु । तपाईंका लेख र संगीतको ‘फ्यान' ।

‘प्रतिपक्ष साप्ताहिकमा लेख्ने डम्बरकृष्ण तपाईं पो हो ? ', दुब्लो पातलो फुच्चे केटो देखेर दाइले अचम्म मान्दै सोध्नुभयो, “पत्रिकामा तपाईंको रिपोर्टहरू पढेको छु । रिपोर्ट पढ्दा मेरै उमेरको पो हुनुहोला भन्ने सोचेको थिएँ ।' यति भन्दै दाइले तत्कालै ‘बलिदान'का कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि निर्देशक तुलसी घिमिरेसँग मेरो परिचय गराइदिनुभयो । छोटो समयमै दाइसँग आत्मीयता बढ्यो, सोही भेटमा उनैले हो, मेरो उपनाम ‘अनुशील' जुराइदिनुभएको । त्यसअघि म आफ्नो लेखनमा ‘डम्बरकृष्ण श्रेष्ठ'मा सीमित थिएँ ।

धरानको यो भेटले जुराएको सम्बन्ध अटुट बन्दै गयो । धरानबाट काठमाडौं आउजाउ गर्दाको भेटमा रामेश दाइजहिल्यै देश र जनताकै चिन्ता गरिरहन्थे । जति बेला उनी एउटा खिरखिरे साइकल चढेर राजधानीको सडकमा गुडिरहेका हुन्थे । त्यति बेला उनैका गीत सुनेर कम्युनिस्ट राजनीतिमा लागेर नेता बनेकाहरू ‘पजेरो संस्कृति'मा रमाउन थालिसकेका थिए । २०६२ सालदेखि राजधानीमै रहेर पत्रकारिता गर्दाको समयमा दाइको जीवनलाई अझ नजिकबाट नियाल्न पाएँ ।

लामो संगतबाट मैले बुझेँ, रामेशजस्तो इमानदार, आफ्नो आस्थामा सतिसालझैं अडिग अनि देश र जनताको लागि आफ्नो जीवनलाई एउटै गतिमा हिँडाउने मानिस साह्रै कम छन् हाम्रो देशमा । लामो संगतकै परिणाम हो दाइमाथि यो फिल्म ।

२०६१ सालमा मेरै अनुरोधमा दाइ हङकङको मञ्चमा प्रस्तुत हुन तयार भए । दाइको पहिलो एकल सांगीतिक कार्यक्रम भएदेखि नै हङकङमा रहेका उहाँका ‘फ्यान'हरू उहाँको प्रतिभा र योगदानलाई देशले बिर्संदै गएको कुरा गरिरहन्थे ।

२०७० सालमा हङकङमा भएको उनको दोस्रो एकल सांगीतिक कार्यक्रमपछि सानैदेखि उनको गीत सुन्दै हुर्किएका इन्द्र वनेमले देशमा रामेशहरूको योगदानलाई बिर्सन थालिएकोमा चिन्ता गर्दै केही गर्न सकिन्छ कि भनेर सुझाव मागे । यता मेरो मनमा पनि उनीमाथि केही गर्नुपर्छ भन्ने लागिरहेको थियो । रामेशका गीत संगीतहरूको संरक्षण र उनको जनसंगीत यात्रालाई समेट्ने एउटा राम्रो काम गर्ने हो भने हङकङबाट आर्थिक सहयोग जुटाउने वचनबद्धतासमेत वनेमबाट प्राप्त भयो । मैले वृत्तचित्र बनाउन प्रस्ताव गरे । हङकङकै किसन राई, शिव सुब्बा, विष्णा सुब्बासहित हिमायती परिवारले सघाउने भयो । यो संयोजनको जिम्मा पर्‍यो मेरो भागमा । असल मनहरूबाट आएको प्रस्ताव सुनाउँदा रामेश दाइबाट स्वीकृति प्राप्त भइहाल्यो ।

वृत्तचित्रबारे परिकल्पनासहितको खाका थियो मसँग । तर, यसबारे प्राविधिक पक्षको ज्ञान ममा पर्याप्त थिएन । निर्देशक खोज्न थालेँ । र, यसअघि ‘इतिहास जित्नेहरूका लागि', ‘क्षमा देऊ तर नबिर्स'जस्ता वृत्तचित्र बनाएका र हालै ‘द स्पोन्सर' फिल्म निर्देशन गरेका प्रणय लिम्बूलाई झट्टै सम्झेँ मैले । रामेश दाइको बारेमा जानकार प्रणय काम गर्न तयार भइहाले । तर, उनले निर्देशन दुई जनाले संयुक्त रूपमा गर्न प्रस्ताव गरे । त्यसपछि २०७२ को फागुनबाट छायांकन सुरु भयो । वृत्तचित्रको छायांकन बाबुराम नेपाली र सम्पादन सन्तोषी नेपालले गरेका छन् ।

विभिन्न राजनीतिक आन्दोलन र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने जनसंगीतको पाटोको इतिहासलाई नयाँ पुस्तासमक्ष पुर्‍याउने उद्देश्यले तयार गरिएको छ, यो वृत्तचित्र । रामेशको ५५ वर्ष लामो गायनयात्रा तथा जीवनको आरोह-अवरोहसँगै नेपाली सार्थक जनसंगीतका सर्जक तथा जानकारहरूको अनुभवसमेत समेटिएको छ यसमा ।

सतिसालजस्तै जीवन

२०१८ सालमा रेडियो नेपालको राष्ट्रिय लोकगीत प्रतियोगितामा रामेश-रायनको जोडी जमिरहेको थियो, राल्फा समूहमा आएर रामेश-मञ्जुलको जोडी चर्चित भयो । तर, विचार र व्यवहारमा भिन्नता आएपछि रामेश-मञ्जुलको जोडी टुट्यो । पछिल्लो समय रामेश फेरि रायनसँगै देखिएका छन् । हामीले वृत्तचित्रमा रायन र मञ्जुलसँगको रामेशको मित्रता र तिक्ततालाई पनि समेटेका छौं । सुरुमा हामीलाई मञ्जुलले वृत्तचित्रमा आफ्नो अनुभव सुनाउन मान्लान्जस्तो लागेको थिएन । तर, छायांकनका क्रममा अस्वस्थ अवस्थामा पनि उनी उत्साहका साथ सहभागी भए ।

२०७२ को फागुनमा सुरु भए पनि पटकपटक गर्दै यसको छायांकन सक्न ६ महिनाको अन्तरालमा ३२ दिन लाग्यो । वृत्तचित्र भए पनि प्राविधिक रूपमा उन्नत बनाउन हामीले फिचर फिल्म खिच्ने अत्याधुनिक रेड क्यामरा प्रयोग गरेका छौं । रामेश जन्मे हुर्केको, पढेको र जनसंगीत अभियानमा लागेका स्थानहरू पाल्पा, ओखलढुंगा, तेह्रथुम, धरान र काठमाडौंमा छायांकन गरिएको छ ।

यी ठाउँमा हामीले रामेश दाइलाई लिएर जाँदा धेरै अविस्मरणीय अनुभवहरू सँगालेका छौं । २०१६ सालमा तेह्रथुमको सिंहवाहिनी स्कुलबाट एसएलसी दिएर २०१८ सालमा ओखलढुंगा फर्केपछि रामेश पहिलोपटक हामीसँग तेह्रथुम पुगे । जनआन्दोलनको समयमा देशलाई जुरुक्क उचाल्ने ‘गाउँगाउँबाट ऊठ...' गीत पहिलोपटक रेकर्ड गरिएको धरान चतरालाइनको पुरानो काठ मिलमा गीतका सर्जक श्याम तमोट र पुराना सहकर्मी बम देवानसँग पुग्दा उनी निकै भावुक बने । पाल्पाको जन्मघर र ओखलढुंगाको पुख्र्यौली घरसम्म पुगेर हामीले रामेश दाइको जीवनलाई नजिकबाट नियाल्ने प्रयत्न गरेका छौं ।

राल्फाकालमा जमघट हुने साहित्यकार पारिजात डेरा बसेको पुतलीसडक नजिकैको घर, रामेशहरूले खाली पेट कैयौं रात काटेका टेबहालको घर, उनले शिक्षकका रूपमा काम गरेको नक्सालको बालमन्दिर, डल्लुको स्वर्णिम स्कुल साथै काम गरेको गोश्वारा हुलाक, रेडियो नेपालका दृश्यहरू छायांकन गर्दा फरकफरक अनुभव सँगाल्यौ । उनको जीवनसँग जोडिएका व्यक्तित्वहरूको अन्तर्वार्ताहरू सर्वनाम थिएटरको हलभित्र स्टुडियो बनाएर खिचेका थियौं । २००१ देखि २०७३ सालसम्मको सामाजिक र राजनीतिक कालखण्डलाई छुट्याउन व्यक्तिहरूको पृष्ठभूमिमा फरकफरक रंग संयोजन गरिएको छ ।

रामेश देश र जनताको कुरामा कसैसँग सम्झौता गर्न चाहँदैनन् । यो उमेरसम्म आइपुग्दा अब कसैसँग सम्झौता गर्नु पनि छैन उनलाई । आफ्नो निष्ठा र आदर्शप्रति सतिसालझैं अडिग उनी अहिले नयाँ पुस्ताप्रति आशावादी देखिन्छन् । त्यसैले उनी नयाँ पुस्तालाई देश र जनताप्रति इमानदार बनाउन त्यस्तै सार्थक गीतहरू सिर्जनामा तल्लीन छन् । आज पनि डल्लुको स्वर्णिम हाइस्कुलको एउटा कुनामा बाल र सार्थक गीतहरूको लय खोजिरहेको अवस्थामा उनलाई भेट्न सकिन्छ । देशको हरेक राजनीतिक परिवर्तनको आवाज बोक्ने सार्थक गीतहरू राज्य र तिनका निकायहरूबाटै बेवास्ताको सिकार बनेपछि रामेश, रायन र श्याम तमोटहरू अहिले सार्थक जनसंगीत प्रतिष्ठान नेपाल स्थापना गरेर आफैं गीत संकलन र संरक्षणमा जुटेका छन् । उनीहरूलाई साथ दिइरहेका छन् सौरभ श्रेष्ठ, उदय श्रेष्ठ, हिमायती परिवारका सदस्यहरू ।

राजधानीमा हालै सम्पन्न फिल्म साउथ एसियामा भएको ‘वल्र्ड प्रिमियर'पछि रामेशको यो कथा नेपालका प्रमुख सहर र अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा समेत प्रदर्शन गर्ने योजना छ । च्यारिटी सो र प्रदर्शनीबाट संकलित रकम सार्थक जनसंगीत प्रतिष्ठानको कोषमा जम्मा गरी यस्तै सार्थक संगीतको संरक्षण र प्रवद्र्धनमा लगानी गरिनेछ ।
(हङकङमा बस्दै आएका श्रेष्ठ ‘डढेलोभित्रका सतिसाल'का निर्देशक हुन् ।)

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2