MENU

'हजार कोसिस गरेँ, मार्क्‍सको पुँजी बुझिएन'

635x90_3

कृष्ण धराबासी शनिवार, कात्तिक २५, २०७४ 5173 पटक पढिएको

Share This

635-X-85_1

किताब यात्रा

मेरा पिताजी ज्योतिषी हुनुहुन्थ्यो। त्यसैले घरमा संस्कृत र ज्योतिषका किताबहरू थिए। ती मेरा लागि खासै महत्वका थिएनन्। कहिलेकाहीँ यसो पल्टाएर हेर्थें तर बुझ्ने कुरा केही थिएन। पिताजी चाँडै बितेपछि घरमा ती किताबका कुनै काम आएन। तैपनि ती पछिसम्म नै थिए। त्यस बेलासम्म घरमा अक्षर चिन्ने भनेका पिताजी र म मात्र थियौं।

 

मैले नै वास्ता नगरेपछि ती किताबको कुनै स्याहार भएन। बेलाबेला आमा भन्नुहुन्थ्यो कुनै ज्योतिषीलाई दिन पाए किताबको उपयोग हुने थियो होला। दई हजार सालदेखिका पात्रोहरू र रामायण, महाभारत, गीता, चण्डी आदि किताब थिए। त्यत्तिकै कुनामा थन्किएका ती पनि घर आगोलागी भएपछि खरानीमा परिणत भए।

कक्षा ५ मा हुँदा पाठ्यपुस्तकभन्दा बाहिरको मैले सबैभन्दा पहिला पढेको भनेको कृष्णप्रसाद पराजुलीले लेख्नुभएको बालसाहित्यको किताब थियो, 'रमाइलो नानी'। बाहिरी कभरमा राम्रो फोटो देखेर किनेर लगेको थिएँ बजारबाट, आमासँग झगडा गर्दै पैसा मागेर। मलाई कालान्तरमा लेखक बन्ने प्रेरणा दिने किताब नै त्यही थियो। यसको बारेमा मैले अन्यत्र धेरै ठाउँमा चर्चा गरिसकेको छु।

शनिश्चरेमा हरेक शनिबार हाट लाग्थ्यो।भुइँमा चट्टी ओच्छ्याएर किताब फिँजाएर बेचिन्थे। त्यस बेलाका पुस्तक पसलमा अधिकांश किताब धार्मिक विषयका हुन्थे। गाउँमा बौद्धिक पाठक नै कति हुन्थे होला र ? आधुनिक शिक्षा पढेकै मानिस पो कति थिए होलान् र ! अधिकांश किताब सर्र्वहितैषी कम्पनी वाराणसीले छापेका हुन्थे।

रातो कपडाको गाताले मोरेका मोटा किताबहरू रामायण, महाभारत, पुराणहरू, निर्णय सिन्धु, आदिहरू र सानाहरू कर्मकाण्डसम्बन्धी हुन्थे। प्रेमलहरी, तोतामैनाका कथा, अकबर वीरबल, गुलबकावलीका कथा , गुणरत्नमाला, हिन्दी फिल्मी गीतका किताबहरू हुन्थे।

म ती पसलका छेउमा बसेर किताब पल्टाएर हेरिरहन्थेँ। कहिलेकाहीँ मौका पर्दा सानासाना किताबहरू चोर्ने पनि गर्थें। मैले धेरैजसो किताब र गुच्चाहरू चोरेरै काम चलाउँथेँ। हुर्किंदै गएपछि गुच्चा खेल्न छोडे पनि किताब चोर्ने बानी भने पछिसम्म नै थियो।

बिस्तारै मलाई किताबको संकलन गर्ने रुचि बढ्दै जान थाल्यो। संकलन गर्ने भएपछि पढ्न पनि थालियो होला। उमेर र अध्ययनको दायरा बढ्दै गएपछि मोटा किताबहरू पनि हेर्न थालियो। मोटा किताब हेर्न थालेपछि तिलस्मी किताबहरूतिर ध्यान जान थाल्यो। अनौठो कल्पना लोकमा पुर्‍याउन थाले त्यस्ता किताबहरूले।

यसै पनि केटाकेटी मन बढी तरल भावुक र काल्पनिक हुने नै हो, त्यसमा पनि भुराहरू अनेक अभावमा हुर्किन बाध्य हुन्थे नै। त्यस्तो उमेरमा भेटिएका त्यस्ता तिलस्मी किताबहरूले अचम्मैसँग तान्यो मलाई।

कक्षा ७ मा पुग्दानपुग्दै मैले आतंक, राक्षसराज्य, रत्न भवन आदि नाम गरेका किताबहरू पढिसकेको थिएँ। एकदेव शर्मा ढकाल नाम गरेका मानिसले अनुवाद गरेका किताब थिए ती। ती किताबहरूको मूल लेखक को थियो मलाई अझै पनि थाहा छैन।

बिस्तारै पुस्तक पठनको रुचि बदलिँदै जाँदै थियो र सायद किशोर वयले जित्न थालेको थियो होला। त्यसै भएर दार्जिलिङ तिरका लेखकहरूले लेखेको प्रेम उपन्यासहरूतिर आँखा पर्न थाले। प्रकाश कोविद, जय धमला, सुवास आदिका उपन्यासहरू प्रशस्त पाइन्थे बजारमा तर त्यस बेला उपन्यास पढ्नु भनेको ठूलै अपराध गरेसरह मानिन्थ्यो।

सबभन्दा बढी डर हुन्थ्यो, स्कुलमा सरहरूको। खैनी चुरोट खानु, तास खेल्नु र उपन्यास पढ्नु एउटै दर्जाका अपराध थिए। तैपनि लुकीलुकी पढ्ने बानी भएपछि त्यो त लत लागेजस्तो पो हुन थाल्यो। मैले सबैभन्दा धेरै प्रकाश कोविदका उपन्याहरू पढेँ। खुब भावुक बनाउँथे उनका ती उपन्यासहरूले। खासमा युवापुस्तालाई लक्षित गरी लेखिएका ती उपन्यासहरूले नेपाली पाठकहरूलाई हिन्दी उपन्यासहरूबाट केही हदसम्म बाहिर निकालेकै थियो होलाजस्तो लाग्छ आज पनि।

यस्ता उपन्यास पढ्दै जाँदा एक दिन एउटा नीलो चोली भन्ने किताब फेला पर्‍यो। यो पनि प्रकाश कोविदको जस्तै प्रेमकथामै आधारित थियो तर पढ्दै जाँदा एक ठाउँमा प्रेमीप्रेमिकाको यौन सम्बन्धको चित्रण गरिएको थियो। किताबमा पनि त्यस्ता कुरा लेखिएका हुन्छन् भन्ने त कल्पनै गरिएको थिएन।

डराउँदै र लुकाउँदै पढिसकेँ। अनि मात्र बुझेँ किन हामीलाई उपन्यास पढ्न बन्देज गरेको हुँदो रहेछ भन्ने कुरा। तर, त्यो किताबले त झन् त्यस्तै किताब पो पढ्न मन लाग्ने बनायो। मलाई जुन साथीले त्यो किताब दिएको थियो ऊसँग त्यो किताबको चर्चा गरेपछि मसँग त्योभन्दा खतरा खतरा छन् पढ्छस् भन्दै उल्क्याउन थाल्यो।

अनि त उसले पछि निना आगोको ज्वालोमा, मीना आगोको ज्वालोमा, आगो भन्ने विभिन्न शीर्षकका किताबहरू दिँदै गयो। म पनि खुब रस मानीमानी पढ्न थालेँ। अब त अरू खाले किताब त हेर्नै मन लाग्न छोड्यो। ती किताब एक प्रकारले हिजोआजका नीला फिल्मजस्तै थिए। कलिलो उमेरमा त्यस्तो साहित्यको प्रभावमा एकपल्ट म नराम्रो गरी फँसेको थिएँ। त्यो नीलो चोली उपन्यासले पूर्वमा उपन्यासमाथि नराम्रो प्रभाव फैलाएको थियो।

कक्षा ८ मा पुगेपछि पहिलोपल्ट जब मैले स्कुलको वार्षिक उत्सवमा कविता लेखेर तेस्रो पुरस्कार पाएँ, त्यसपछि भने मेरो रुचि फरक किताब पढ्नेतिर हुन थाल्यो। अनि फेरि हिन्दीका रानु, ओमप्रकाश, गुल्सन नन्द, प्रेम बाजपेयी, आदिका प्रेम उपन्यासहरू पढ्न थालेँ।

मेरो पठनको भाषान्तर त्यहीँबाट सुरु भएछ। हिन्दीका प्रेम कहानीहरू पढ्दापढ्दै कताकताबाट मेरो रुचि जासुसी उपन्यासतिर आकर्षित हुन थालेछ। जासुसी उपन्यासमा रस पसेपछि अरू त पढ्ने किताब नै होइनन्जस्तो लाग्न थाल्यो। बेदप्रकाश शर्मा, इब्ने सफी बिए, बेदप्रकाश काम्बोज आदिका उपन्यास खुब पढिन्थे।

हिजोआजका हिन्दी धारावाहिकहरूले जस्तै लत बसाएका थिए त्यस्ता किताबहरूले पनि त्यस बेलाका युवामा। ती उपन्यास पढ्न थालेपछि आफूलाई पनि जासुस नै भएजस्तो लाग्ने र गाउँघरमा सानो घटना भए पनि त्यसमा ठूलो रहस्य खोज्न थालियो। ती उपन्यासले शंका गर्ने नराम्रो बानी बसायो। धेरै पछिसम्म पनि हत्तपत्त अरूको विश्वास नलाग्ने भइरह्यो।

हिन्दीबाट नेपाली किताबतिर फेरि तानेकोचाहिँ मुनामदनले हो। त्योचाहिँ मलाई आमाले पढेर सुनाउन लगाउनुभएको थियो। किताब पढेर पनि त्यसरी रोइन्छ भन्ने त मैले कल्पनै गरेको थिइनँ। मैले त्यो निकै दिन लगाएर मात्र पढिसकेँ। त्यो किताब पढ्न थालेपछि आमा र म दुवैजना रुन थाल्थ्यौं।

त्यो किताब मैले आजसम्म बिसौंपल्ट पढिसकेँ होला तर आज पनि जब पढ्न थाल्छु उसै गरी आँखा रसाउन थालिहाल्छन्। मलाई लाग्छ, देवकोटाले मेरा किताबमध्ये मुनमदनबाहेक अरू सबै जलाइदिनू भनेर त्यसै भनेका होइनन्। उनले आफ्नो सम्पूर्ण भावनालाई निखारेर लेखेको किताब हो त्यो। उनका बाँकी सबै किताबमा बुद्धि पसेका छन्। बुद्धि त अस्वीकृत पनि हुन्छ।

कक्षा १० सम्म पुग्दा पनि मेरो पठन व्यावसायिक उपन्यासहरूमै केन्द्रित थियो। गाउँको स्कुलमा राम्रो पुस्तकालय पनि थिएन। खासमा पढ्ने वातावरण नै कहाँ पाउनु। तास खेल्ने, रक्सी जाँड खाने, कि त खेतीपातीमै व्यस्त हुन्थे मानिसहरू। शिक्षकहरू आफैं पनि किताब पढ्दैनथे। आज पनि किताब पढ्ने शिक्षकहरू निकै कम भेटिन्छन् भने उबेलाको कुरै के गर्नु।

किताब लेख्ने मान्छे भनेको त असाधारण हो। त्यस्ता मानिसलाई भेट्नसक्ने त कुरै आउँदैन भन्ने लाग्थ्यो। पहिलोपल्ट मुनामदन पढिसकेपछि मैले एकपल्ट त्यो किताब लेख्ने मान्छेलाई जसरी पनि भेट्छु भन्ने संकल्प गरेको थिएँ तर अलिक पछि उनको बारेमा पाठ्यपुस्तकमा पढ्दै जाँदा उनी त म जन्मनुभन्दा एक वर्ष पहिले नै मरिसकेका रहेछन्।

त्यो थाहा पाएको दिनभरि मलाई नराम्रो लागिरह्यो। हामै्र शिवप्रसाद दाहाल सरले २०३२ सालमा विविध रस भन्ने कवितासंग्रह छापेपछि पो किताब त जसले पनि लेख्न सक्ने रहेछ भन्ने लाग्यो।मुनामदनपछि मैले पढेको कविताको किताब नै विविध रस थियो।

शनिश्चरेमा पहिलो किताब छाप्ने व्यक्ति नै शिवप्रसाद दाहाल हुन्। त्यसपछि दोस्रो काव्य मैले इलामेली कवि विष्णुनवीनले लेखेको उनको स्मृतिमा भन्ने पढेँ। स्व. ज्ञानीराम भट्टराईको जीवनीमा आधारित थियो त्यो।कक्षा १० को अन्तिम अन्तिमतिर अनारमनी माविबाट एकजना शिक्षक सरुवा भएर हाम्रो स्कुलमा आए। उनको नाम राजकिशोर मण्डल थियो।

जनकपुरतिर घर भएका, आईकम पास गरेका, अविवाहित, पच्चीस छब्बीस बर्षका, अग्लो र पातलो जीउ भएका थिए तिनी। अनारमनी स्कुलमा दाताराम खनालले पनि तह लगाउन नसकेर शनिश्चरेका कडा हेड सर मोहन जोशीको स्कुलमा सरुवा गरेको रे भन्ने हल्ला थियो। उनी आउँदै एउटा अनौठो सूचनाका साथ आएका थिए।

उनी कक्षामा विषयभन्दा पनि बाहिरका कुराहरू धेर पढाउँथे। खुब टुक्काहरू भनेर हँसाउँथे। चाँडै नै उनी हामीसँग घुलमिल भइसकेका थिए। उनको त्यो हँसाउने र नयाँनयाँ कुराहरू गर्ने बानीले म उनीतिर आकर्षित हुँदै गएँ। स्कुलको समयपछि पनि म उनकै पछिपछि हुन थालेँ। मलाई फाइदा पनि थियो। उनले हिसाब पनि सिकाइ दिन्थे।

बिस्तारै साथीजस्तो हुँदै गइयो। हुन त उनी तास पनि खेल्ने, रक्सी पनि खाने तर मलाई कहिल्यै पनि त्यो संगत दिएनन्। उनकै संगतबाट म गम्भीर पुस्तकहरूको अध्ययन यात्रामा निस्केँ। उनले दर्शनका पुस्तकहरू पढाउन थाले। उनका कोठामा हिन्दी र अंग्रेजीका किताब मात्र हुन्थे तर मैले पहिले पढेजस्ता एउटै पनि किताब थिएनन्।

मैले थाहै नपाई उनले मलाई रजनीशको फ्यान बनाइसकेछन्। म त एकाएक अनौठो संसारमा पुगिसकेको थिएँ। रजनीशका किताबहरू नशालु पदार्थजस्ता नभई नहुने हुन थाले। सय पृष्ठदेखि छ सात सय पृष्ठसम्मका किताब पनि पढाए। पढेर फेरि छलफलमा भाग लिनुपर्ने। अब मेरो पठनले बाटो समातिसकेको थियो। अब मलाई सामान्य आख्यानहरूले छुन छोडिसकेका थिए।

क्याम्पस पुग्दासम्म म दर्शनको विद्यार्थीजस्तो भइसकेको थिएँ। अब खैनी र पुस्तक मेरा कमजोरी बनेका थिए। इलाम क्याम्पसको पुस्तकालयमा भएका हिन्दी र नेपालीका अधिकांश पुस्तक मैले पढिसकेको थिएँ तीन वर्षभरिमा।

प्रतीक ढकाल, दुर्गा भट्टराई, लेखनाथ भट्टराई, गणेश निरौला, प्रकाश बुढाथोकी, मदन अधिकारी, राजेन्द्र परदेशीजस्ता पढन्ताहरूको संगतले पनि मलाई त्यस्तो पढ्ने ऊर्जा मिलेको थियो। त्यसै बेला हो मैले माओका रेड बुकहरू पढेको। हजारपटक कोसिस गर्दा पनि माक्र्सको 'पुँजी' भन्ने किताब मैले बुझ्न सकिनँ। एनिमल फार्म र १९८४ मैले त्यसै बेला पढेको थिएँ।

जब लेखनतिर बढी लाग्न थालियो अनि पठन पनि छनोटमा पर्न थाले। छान्न थाल्दा अब दर्शनका पुस्तकहरू बढी प्राथमिकतामा पर्न थाले। कविता लेख्ने भए पनि पठनचाहिँ गद्य केन्द्रित थियो। तीसको दशकको उत्तराद्र्धसम्ममा म रुसी र फ्रान्सेली किताबहरू निकै नै पढिरहेको थिएँ।

नेपाली उपन्यासमा पहिलोपल्ट खुब मन पराएर पढेको किताब घामका पाइलाहरू हो। त्यसपछि एक पाउला अनेकौं याम, आज रमिता छ, शिरीषको फूल, प्रत्येक ठाउँ प्रत्येक मान्छे। माधवी निकैपछि बडा कष्टका साथ पढिसकेँ र फेरि पढेँ, फेरि पढेँ। मैले लगातार चारपल्ट पढिसिध्याएको किताबचाहिँ माधवी हो। नेपाली साहित्यमा यो एक अद्वितीय किताब हो।

पुस्तकालयको मैले खासै प्रयोग गरिनँ बरु आफैंले घरमा पुस्तकालय बनाउने कोसिस गरेँ।आठ दस हजार किताबमा आफूले रोजेका, छानेका र पैसाको लोभ गर्दै किनेका आधाजस्तो किताब होलान्।कुन किताब कहिले पढियो र तिनले के प्रभाव छोडे भन्ने कुरा अब महत्वको नहोला तर आज आफूलाई जे जति सजिलो भएको छ, कुनै कालमा पढिएका राम्रा नराम्रा किताबहरूकै प्रभाव हो।

म केही लेखिरहेको छु भने पनि कहीँ न कहीँ कुनै न कुनै पुस्तकले अवश्य प्रभाव पारिरहेकै होला। कुनै लेखक पनि सर्वज्ञ हुन्न। जसले पनि कुनै न कुनै युगको विचारको पुनरुक्ति गरिरहेकै हुन्छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2