MENU

यू–१९ युथ एसिया कप क्रिकेट : नेपाल बंगलादेशसँग दुई विकेटले पराजित

अन्नपूर्ण शनिवार, कात्तिक २५, २०७४ 2742 पटक पढिएको

Share This

635-X-85_1

नेपालको सम्भावना कठिन

काठमाडौं : बंगलादेशसँग डक वर्थ लेविस नियमका आधारमा दुई विकेटले पराजित भएसँगै एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू-१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कठिन बनेको छ। वर्षाले प्रभावित बनेको खेलमा नेपाल अन्तिम ओभरमा टेस्ट मान्यता प्राप्त बंगलादेशको युवा टोलीविरुद्ध घुँडा टेक्न पुगेको हो।

नेपाललाई सेमिफाइनल सम्भावना बलियो बनाउन बंगलादेशविरुद्धको खेल कुनै पनि अवस्थामा जित्नैपर्ने दबाब थियो। टेस्ट मान्यता प्राप्त भारतको युवा टोलीविरुद्ध आइतबार हुने खेलमा जित अझ मुस्किल मानिएकाले यसपटक पनि नेपालले प्रतियोगिताको समूह चरण पार गर्ने सम्भावना कठिन देखिएको हो। सन् २०१२ बाट सुरु भएको प्रतियोगितामा नेपालले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन।

मलेसियाको किनरारा ओभलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाउएर एक सय ६७ रन बनाएको थियो। त्यसअघि नै वर्षा भएपछि ४३ ओभरमा छोट्याइएको खेल फेरि वर्षाले अवरोध पुर्‍याउँदा डक वर्थ लेविस नियमका आधारमा नेपालको योगफल एक सय ८० रन पुगेको थियो। त्यसअनुसार ४० ओभरमा एक सय ८१ रनको परिमार्जित लक्ष्य पाएको बंगलादेशले निर्धारित ओभरको अन्तिम एक बल अघि (३९.५ ओभर) मात्रै आठ विकेटको क्षतिमा जित भेट्टाएको हो।

नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान भीम सार्कीले ४४ रन तथा रोहित कुमार पौडेलले ४० रनको योगदान गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको थियो। आक्रामक खेल प्रदर्शन गरेका भीमले ४० बलमा तीन छक्का तथा दुई चौका प्रहार गरेका थिए। ५४ बल खेलेका रोहितले समान दुई÷दुई छक्का र चौका प्रहार गरेका थिए।

सुरुआती ब्याट्सम्यान मोहम्मद आसिफ सेखले ३० रन जोड्दा अग्रपंक्तिका अन्य ब्याट्सम्यानलाई भने नेपालले सस्तैमा गुमाएको थियो। अर्का सुरुआती ब्याट्सम्यान जितेन्द्र सिंह ६ रन, तेस्रो क्रमका ब्याट्सम्यान अनिलकुमार शाह १९ रन तथा चौथो क्रममा आएका कप्तान दीपेन्द्रसिंह ऐरी १२ रनमै आउट भएका थिए। विकेटकिपर ब्याट्सम्यान प्रकाश केसी चार तथा कमल सिंह ऐरी ६ रनमा अविजित रहे।

बलिङतर्फ सन्दीप लामिछाने र कमलसिंह ऐरीले दुई÷दुई विकेट लिँदै बंगलादेशी ब्याट्सम्यानहरूलाई रन जोड्न मुस्किल बनाएका थिए। बंगलादेशका सुरुआती ब्याट्सम्यान नइम शेखले ५२ रनको अर्धशतकीय पालि खेलेका थिए। यस्तै मध्यक्रमका ब्याट्सम्यान असिफ हुसेन ध्रुबोले ३३ रन जोड्दा अर्का सुरुआती ब्याट्सम्यान पिनक घोषले २४ रन तथा महिदुल इज्लाम भुइयामले २३ रनको योगदान दिएका थिए।

बलिङतर्फ नेपालका कप्तान दीपेन्द्रसहित रोहित र किशोर महतोले पनि एक-एक विकेट लिएका थिए। बंगलादेशका नइम हसन एक्लैले नेपालको तीन विकेट लिएका थिए। शनिबारको खेलपछि समूह एमा दुई-दुई अंक भएको भारत र बंगलादेश पहिलो र दोस्रो स्थानमा छन् भने नेपाल तेस्रो स्थानमा छ। नेपालसँगै पहिलो खेलबाट अंकविहीन आयोजक मलेसिया चौथो स्थानमा छ। नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ भने मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2