MENU

प्रयोगमा नआउँदै जीर्ण बने पुल

क्रान्ति शाह आइतवार, कात्तिक २६, २०७४ 178 पटक पढिएको

Share This

635-X-85_1

वीरगन्ज : बकरीखोलामा तीन करोड रुपैयाँ लागतमा पुल त बन्यो। तर प्रयोगमा नआउँदै पुलका दुवैतर्फबाट खोला बगिरहेको छ। बनेर प्रयोगमा नआउँदै उक्त पुल अहिले खोलाको बीचमा परिसकेको छ। वीरगन्ज-ठोरी हुलाकी सडकखण्डअन्तर्गत पर्साको ठोरी गाउँपालिकाको सुर्वणपुरदेखि ठोरीसम्म सातवटा खोलामा पुल बनेका छन्। हुलाकी सडकको कालोपत्रे भारत सरकारले गर्ने र उक्त सडकखण्डमा पर्ने १४ वटा पुल भने नेपाल सरकार आफैले बनाउने सम्झौताअनुसार नेपाल सरकारले सुर्वणपुरदेखि ठोरीसम्म सातवटा पुल निर्माण गरेको हो।

तर तीमध्ये दुईवटा पुल प्रयोगमा नआउँदै जीर्ण अवस्थामा छन्। ठोरी गाउँपालिकाको ब्रह्मनगरस्थित बकरीखोलाको पुल प्रयोगमा नआउँदै गत साउन अन्तिम साता आएको बाढीले पुलका दुवैतर्फको रिभरबैंक भत्काइदिएपछि उक्त पुल अहिले खोलाको बीचमा परेको हो। अहिले खोलाको बीचमा परेको पुलका दुवै छेउबाट खोला बगिरहेको छ।

बकरीखोलाको चौडाइ झन्डै एक सय २५ मिटर छ। तर त्यहाँ एक सय एक मिटर लम्बाइको मात्र पुल बनाइएको हो। उक्त पुलको लागत तीन करोड पाँच लाख ५४ हजार रुपैयाँ छ। सात दशमलव दुई मिटर चौडाइ भएको उक्त पुल रसुवा कन्स्ट्रक्सन प्रालि र सेफ कन्स्ट्रक्सन प्रालिले संयुक्त रूपमा बनाएका हुन्।


निर्माणाधीन पुलका दुवैतर्फका रिभरबैंक बाढीले भत्काएपछि प्रयोगमा नआउँदै पुल जीर्ण बनेका हुन्।

ठोरी गाउँपालिकाकै निर्मल बस्तीको रामनगरस्थित सरस्वती इन्द्रावती खोलामा बनाइएको सरस्वती पुल पनि प्रयोगमा नआउँदै जीर्ण बनेको छ। एक करोड ८४ लाख २८ हजार चार सय ५८ रुपैयाँ लागतमा नेपाल सरकारले बनाएको २५ मिटर लम्बाइको उक्त पुलको पनि दुवैतर्फको रिभर बैंकमा बाढीले क्षति पुर्‍याएको छ। उक्त पुल पनि रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्कामा लिएर बनाएको हो।

कुनै पनि पुल बनाउँदा आगामी एक सयभित्रमा खोलामा आउन सक्ने बाढी एवं त्यसले पुर्‍याउन सक्ने क्षतिको पुर्वानुमान गरेर पुलको डिजाइन गरिने हुलाकी राजमार्ग आयोजना योजना कार्यालय काठमाडौँका निर्देशक श्याम खरेलले जानकारी दिए।

तर बकरी र सरस्वती इन्द्रावती खोलामा बनाइएका पुल निर्माण सम्पन्न भई प्रयोगमा नआउँदै जीर्ण अवस्थामा पुग्नुमा ठेकेदारको लापरबाही रहेको स्थानीयको भनाइ छ। सुर्वणपुरदेखि ठोरीसम्ममा बनाइएका सातवटा पुलको कुल लागत ४३ करोड ८८ लाख ३६ हजार रुपैयाँ रहेको हुलाकी राजमार्ग आयोजना योजना कार्यालय वीरगन्जले जानकारी दिएको छ।

यस वर्षको बाढीले सातमध्ये दुईवटा पुलका दुवैतर्फका रिभरबैंक भत्काएका कारण बनेर प्रयोगमा नआउँदै जीर्ण अवस्थामा छन्। बाँकी पाँचमध्ये निर्मल बस्तीको शिकारीवास खोलाको पुलबाहेक अरू चारवटा पुलका दुवैतर्फको रिभर बैंकमा पनि बाढीले सामान्य क्षति पुर्‍याएको छ। आउँदो वर्षामा ती खोलामा पनि ठूलो बाढी आए सबै पुल प्रयोगमा आउन नसक्ने अवस्थामा पुग्ने ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए।

बकरीखोलाको पुल निर्माणाधीन अवस्थामै रहेकै बेला स्थानीयले खोलाको चौडाइभन्दा पुलको लम्बाइ कम भयो भनेर विरोध गरेपछि केही दिन काम रोकिएको अध्यक्ष श्रेष्ठले बताए। ‘तर पछि ठेकेदारसँग मिलेमतो गरेका गाउँका केही दलका प्रतिनिधिले नै जनतालाई झुटा आश्वासन दिएर काम सुचारु गराइदिएका थिए', उनले भने।

सबै पुलको लम्बाइ खोलाको चौडाइभन्दा कम रहेको र डिजाइन गर्ने प्राविधिक (इन्जिनियर) र ठेकेदार दुवै दोषी रहेको श्रेष्ठले बताए। यस विषयमा छिट्टै वीरगन्जस्थित हुलाकी राजमार्ग आयोजना कार्यालयमा पुलको डिजाइन गर्ने प्राविधिकविरुद्ध कारबाहीका लागि लिखित रूपमै निवेदन दिने श्रेष्ठले जानकारी दिए।

बाढीले क्षति पुर्‍याएपछि प्रयोगमा नआउँदै जीर्ण बनेका पुलको आफूले स्थलगत निरीक्षण गर्ने हुलाकी राजमार्ग आयोजना योजना कार्यालय काठमाडौँका निर्देशक खरेलले बताए। ‘पुलको डिजाइनमै त्रुटि भएको हुन सक्छ। ठेकेदारले पनि लापरबाही गरेको हुन सक्छ', उनले भने, ‘म आफै प्राविधिकको टोलीसहित गएर निरीक्षण गर्छु। ठेकेदारको लापरबाही रहेछ भने उसले नै त्यसको पुनर्निर्माण गर्नुपर्छ।'

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2