MENU

कर्मचारीले पेसागत मर्यादा जोगाउनुपर्छ

लोकदर्शन रेग्मी सोमवार, कात्तिक २७, २०७४ 868 पटक पढिएको

Share This

635-X-85_1

 

नेपालमा नागरिक र सरकारले विश्वास गरेको संस्था भनेको निजामती सेवा हो । त्यही सेवालाई समयसापेक्ष जिम्मेवार र क्रियाशील बनाउन उद्यत छौं हामी । सरकारले दिने जिम्मेवारी चुनौतीपूर्ण भए पनि हामीले विश्वासका साथ सफलतापूर्वक सम्पन्न गर्नु जरुरी छ ।

सरकारको उपस्थितिलाई विश्वसनीय बनाएर लैजाने सन्दर्भमा होस् वा विपद् व्यवस्थापनका जटिल घडीमा वा सुरक्षा संवेदनशीलता जोखिम रहेको बेला राज्यले विश्वास गरेर दिएका अपत्यारिला काम पनि निजामती सेवाले पूरा गर्दै आइरहेको छ । यी जिम्मेवारी पूरा गर्दै आम नागरिक र समग्र मुलुकको सेवामा समर्पित रहन पाउनु हामी सबैका लागि गर्वको विषय हो ।

मुलुक संघीय शासन प्रणालीमा प्रवेश गरेकाले पनि निजामती सेवालाई रूपान्तरणसहित सुधार गरेर लैजानुपर्ने दायित्व छ । यसका लागि प्रशासनमा पुनर्संरचना र रूपान्तरण जरूरी छ । यो सेवालाई प्रभावकारी र सबैको विश्वसनीय बनाउनु हाम्रो कर्तव्य छ । हामीले अहिले माहुरीको रूपमा रहेर कमिला जस्तै लगनशील हुने प्रण गर्नु परेको छ । यसो गर्न सकेमा मात्रै हामीले परिकल्पना गरेको नयाँ नेपाल निर्माणमा टेवा पुर्‍याउन सकिन्छ । अनि मात्र संघीय शासन प्रणाली सफल हुन सक्छ ।

संविधान र कानुनी व्यवस्थाकै आधारमा सुशासन कायम गर्ने हो । यो नै प्रशासनको मूल धर्म भएकाले यसलाई अझ सुदृढताका साथ अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो । राज्यका प्रमुख अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालगायत राज्यका सबै संवैधानिक निकाय र अंगका बीचमा समन्वय र आपसी सद्भाव विकास गरेर आम जनताको आकांक्षा पूरा गर्नु हाम्रो दायित्व हो । यसका लागि राज्यका सबै अंगबीच सद्भावपूर्ण र सहकार्यको भावना हुनुपर्छ, अनि मात्र हामीले चाहेको आर्थिक समृद्धि हासिल गर्न सम्भव हुन्छ ।आर्थिक तथा सामाजिक समृद्धिको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार विकासका पक्षमा पनि जोड दिन जरुरी छ ।

बाह्य ज्ञानको आधारमा भन्ने हो भने ‘सिभिल सर्भिस लाइज् एट द हर्ट अफ सिभिलाइजेसन’ ( निजामती सेवा सभ्यताको मुटु हो ) । हामीले दिने सेवा जति राम्रो छ, त्यति नै हामी सभ्य छांै भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्छ । सबै निजामती कर्मचारीको साझा प्रयास मुलुकलाई सभ्य बनाउनका लागि हुनुपर्छ।

 

हामी नेपालका अन्य जुनसुकै संगठन तथा व्यवसायका मानिसभन्दा अब्बल छौं । हामी लोकसेवाको कठिन परीक्षाबाट उत्तीर्ण भएर आएका जनशक्ति हौं । त्यसैले हामीले उच्च मनोबल राखेर प्रतिस्पर्धामा उत्रन सक्छौं भन्ने जोशजागरका साथ अघि बढ्नुपर्छ । अब नेपाल र नेपालीको मुहार हसाएर नेपालप्रतिको गुन तिर्न सक्षम हुनैपर्छ ।

राजनीतिक नेतृत्व विश्वमै राम्रो मानिएको शासनव्यवस्थाको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न सफल भएको छ । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनले अब नेतृत्वको सपना र योजना साकार पार्न दत्तचित्त भएर लाग्नुपर्छ । मुख्य कार्यभारको रूपमा रहेको आर्थिक र सामाजिक रूपान्तरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने दिशामा अग्रसर हुनुपर्छ । ‘आर्थिक समृद्धि’ नेतृत्वको मात्र होइन ८६ हजार निजामती कर्मचारीको सपना र प्रतिबद्धता बन्नुपर्छ

यसका लागि दिगो र निरन्तरतासहितको सुधार प्रणालीलाई मजबुत बनाउने, कर्मचारीतन्त्रलाई पूर्णरूपमा प्रणालीभित्र ढाल्ने, दिगो कानुनी शासन र सुशासन स्थापनालाई मूल कार्ययोजना बनाई अघि बढ्न अब ढिला गर्नु हुन्न । समय अघि बढ्दै जान्छ, यसको पहिचान गरेर अघि बढ्न सके हाम्रो मात्र होइन राष्ट्रकै हित हुनेछ ।

कर्मचारीतन्त्र जनताप्रति उत्तरदायी बन्न नसकेको गुनासो आउने गरेको छ । त्यसैले पनि हरेक कार्यालय प्रमुख र विभागीय प्रमुखहरूलाई कार्यसम्पादन करार गर्नुपर्ने आवश्यकता झन् बढेको छ । अहिले हरेक कर्मचारीसँग कार्यसम्पादन करार गर्ने र सेवाप्रवाहप्रति जिम्मेवार बनाउने योजना अघि सारिएको छ । यसको कुशलतापूर्वक व्यवस्थापन गर्नु उत्तिकै आवश्यक छ । कर्मचारीलाई कामका आधारमा पुरस्कृत र दण्डित गर्ने व्यवस्था स्थापित गर्ने परम्परालाई स्थापित गरिनेछ ।

यसका लागि नविन कार्यक्रम ल्याउन आवश्यक छ । सेवाप्रवाह गर्नका लागि संघीय संरचनाअनुसारका संगठन निर्माण गर्ने, त्यसका लागि पूर्वाधारको विकास गर्ने, जनशक्ति व्यवस्थापन गर्ने, सेवाप्रवाहलाई छिटोछरितो र परिणाममुखी बनाई जनतालाई नजिकबाट सेवा दिने वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो ।

राजनीतिक नेतृत्वले शासन गर्ने र कर्मचारी वर्गले शासनका मूल्यमान्यता स्थापित गर्ने हो । नेतृत्व र कर्मचारीको यही भूमिकालाई प्रभावकारी बनाउने हो भने हामी आर्थिक समृद्धिको गन्तव्यमा अवश्य पुग्नेछौं । यी दुवै पक्षले जनभावना बुझ्न सकेन भने सफल हुन सकिन्न । त्यसो त दुवै पक्षलाई जनताको चाहनाविपरीत काम गर्ने अधिकार हुन्न, किनकि यी दुवै पक्ष जनताप्रति जिम्मेवार हुनैपर्छ ।

अहिलेको पेचिलो विषय भनेको कर्मचारी समायोजन हो । संघीयतामा कर्मचारी समायोजन गर्ने काम चुनौतीपूर्ण भए पनि समायोजन ऐन आइसकेकाले अब सोही ऐनअनुसार नै कर्मचारी समायोजनप्रक्रिया सुरु हुनेछ । यसमा खासै समस्या आउँदैन भन्नेमा हामी ढुक्क छौं । समायोजन गर्दा कर्मचारीको पनि चित्त बुझ्ने, प्रणाली पनि नबिग्रने गरी स्रोत र साधनको सामथ्र्यमा ध्यान दिन सकियो भने यो प्रक्रिया टुंगोमा पुर्‍याउन सकिन्छ ।

निजामती क्षेत्रभित्र काम गर्ने जनशक्तिको सन्तुष्टिको तह र निजामती सेवाबाट सेवा प्राप्त गर्ने सेवाग्राहीको सन्तुष्टिको मात्रा पनि बढाउने गरी विभिन्न कार्यक्रम तथा योजना ल्याउन पनि अब ढिलाइ हुँदैन । त्यसको तयारी थालिएको छ । यसैगरी कर्मचारी सम्बद्ध ट्रेड युनियन तथा पेसागत संगठन अनुशासित हुनुपर्ने र जनतालाई दिने सेवाप्रति उनीहरू प्रतिबद्ध हुनुपर्छ ।
—रेग्मी नेपाल सरकारका मुख्य सचिव हुन् । 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2