MENU

किसानलाई अझै चुनाव लागेन

गंगा खड्का सोमवार, कात्तिक २७, २०७४ 588 पटक पढिएको

Share This

635-X-85_1

गुल्मी : प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गए पनि जिल्लाका अधिकांश किसानलाई चुनाव लागेको छैन । बाली भित्र्याउने समय भएकाले हिजोआज किसान खेतबारीमै व्यस्त देखिन थालेका छन् । जिल्लाका अधिकांश भूभागमा यतिबेला धान, कोदो भित्र्याउन किसान व्यस्त छन् । बाली भित्र्याएर सकेपछि मात्र चुनावमा लाग्ने खेतबारीमै भेटिएका किसानले प्रतिक्रिया दिए ।

‘पाकेको धान काट्न र झाट्नमै व्यस्त छौं', इस्मा गाउँपालिका-२ हस्तीचौर गुल्मीकी लिला कँवरले भनिन्, ‘धान भित्र्याएर नसक्दासम्म कतै लाग्दैनौँ ।' स्थानीयमा जस्तो यसपाली गाउँमा चुनावले त्यति नछोएको उनले प्रतिक्रिया दिइन् । ‘यो भन्दा अघिको चुनावमा धेरै नेता आएका थिए', उनले भनिन्, ‘यसपाली त्यस्तो छैन । फाट्टफुट्ट आए पनि खेतमै आएर भोट माग्छन् र जान्छन् ।' मंसिर पहिलो हप्तासम्म गाउँका सबै किसान धान भित्र्याउन व्यस्त हुने उनको भनाइ छ ।

गुल्मीमा प्रतिनिधिसभाका लागि दुई र प्रदेश सभाका लागि चारवटा निर्वाचन क्षेत्र छन् । मतदातासँग भोट माग्न जाने सबै पार्टीका उम्मेदवार खेतबारीमै किसानलाई भेट्न पुग्ने गरेका छन् । उम्मेदवारले किसानसँग फोटो खिचाएर सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको पाइएको छ ।

मंसिर दोस्रो सातासम्म जिल्लाका माथिल्लो भेगका किसान आजभोली कोदो काट्न व्यस्त छन् । ‘कोदो काटेर नभ्याउँदासम्म कतै जान फुर्र्सद हुँदैन', मालिका गाउँपालिका-५ छापहिलेकी कमला केसीले भनिन्, ‘चुनाव आयो भन्छन् । खै हामीलाई त्यति जानकारी छैन ।' ३५ वर्षीय केसीले गाउँभरीका महिला दिदीबहिनी कोदो काट्न व्यस्त हुने गरेको जानकारी गराइन् । ‘विहानै बारीमा कादो काट्न जान्छौँ', उनी भन्छिन्, ‘साँझ परेपछि घर आउँछौं । किसानलाई केको चुनाव लाग्ने नी ? '

स्थानीय चुनावमा गाउँका आफन्त, इस्टमित्र उठेकाले चुनावमा प्रचारप्रसार गरेको उनी बताउँछिन् । ‘यसपाली चुनावमा भोट मात्र हाल्ने हो', उनले भनिन्, ‘गाउँमा प्रचारप्रसार गर्ने समय हुँदैन ।' जिल्लाका मालिका, मदाने, धुर्कोटका अधिकांश किसान कोदो, धान काट्न व्यस्त भएको देखिएका छन् । छापहिले, अर्जे, दोहोली, पुर्कोट, धुर्कोट, भनभनेलगायत गाउँका किसानले कोदोखेती गर्ने गरेका छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2