MENU

नयाँ पुस्ताका कलाकार चुनावबारे पूरै बेखबर

635x90_3

सिर्जना खड्का सोमवार, कात्तिक २७, २०७४ 2260 पटक पढिएको

Share This

635-X-85_1

 

काठमाडौं : चुनाव लोकतन्त्रको उत्सव हो । अहिले सिंगो देश र सारा जनता यही उत्सव मनाउने तर्खरमा छन् । लोकसँग जोडिएर मनोरञ्जन प्रदान गर्ने नयाँ पुस्ताका कलाकार भने लोकतन्त्र यही उत्सवबारे बेखबरजस्तै छन् । नयाँ पुस्ताका अभिनेता तथा अभिनेत्रीलाई चुनाव केको हो ? कति चरणमा हुँदैछ ? प्रतिनिधिसभा र प्रदेशसभा भनेको के हो ? जस्ता सामान्य जानकारीसमेत छैन । उनीहरूको राजनीतिक चेतनास्तर कमजोर देखिन्छ ।

नयाँ पुस्ताका अधिकांश कलाकारका निम्ति चुनाव ‘नजाने गाउँको बाटै नसोध्नु’ सरह भएको छ । उनीहरूलाई राजनीतिप्रति सामान्य चासो पनि छैन ।नयाँ पुस्ताका धेरै कलाकारले अहिलेसम्म भोट नै हालेका छैनन् । धेरैको मतदाता नामावलीमा नामसमेत छैन । त्यसमध्ये एक हुन्, अनुपविक्रम शाही । चुनावी माहोलले देशलाई छोपिसकेको भए पनि उनी भने बेखबर छन् । ‘खै चुनाव भनेको त सुनेको हो तर, के चुनाव ? कस्तो चुनाव ? त्यो चाहिँ थाहा छैन,’ उनी भन्छन्, ‘मैले त अहिलेसम्म एक पटक पनि भोट हालेकै छैन ।’

यतिमात्र होइन, उनलाई देशमा अहिले को-को नेता चर्चामा छन्, सरकारमा को-को छन् भन्ने पनि जानकारी छैन । आफ्नो यो अज्ञानबारे उनको स्पष्टीकरण छ, ‘स्थिर सरकार भए पो यो-यो छ भनेर थाहा हुन्छ । तीन÷चार महिनामा फेरिने सरकारबारे चासो राखेर साध्य पनि त हुँदैन ।’

उनी भन्छन्, ‘हाम्रा लागि त चुनाव भनेको ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेजस्तै हो । हामी नेता हैन, अभिनेता हौं । अभिनेताले राजनीतिमा किन चासो राख्नुपर्‍यो ? ’

जनताले आफ्नो प्रतिनिधि चुन्ने खास माध्यम चुनाव हो भन्नेमा अभिनेता शाहीलाई विश्वास छैन । उनको चुनावप्रतिको धारणा उदेकलाग्दो छ । भन्छन्, ‘चुनाव भनेको जनतालाई दुःख दिने बाटो हो ।’ उनी यतिबेला तनहुँको दमौलीमा फिल्म ‘आर्या’ को सुटिङमा व्यस्त छन् । ‘सुटिङको बेलामा काममै ध्यान हुन्छ,’ उनी भन्छन्, ‘कुवाको भ्यागुतो जस्तै भइन्छ । देशमा के भइरहेको छ थाहै हुँदैन ? त्यसमाथि राजनीतिमा चासो राखेर के नै हुन्छ र ? ’

अभिनेत्री बेनिशा हमालले निर्णय गरिसकेकी छिन्- यसपालि चुनावमा भोट नहाल्ने । उनको गृह जिल्ला चितवन हो । जहाँबाट माओवादी केन्द्रका नेता तथा देशको राजनीतिका केन्द्रीय पात्र पुष्पकमल दाहाल चुनाव लड्दैछन् । तर, बेनिशा यसबारे पूरै बेखबर छिन् । भन्छिन्, ‘मलाई आफ्नो ठाउँबाट को उठ्दैछ भन्ने पनि थाहा छैन ।’ उनी ठान्छिन्, चुनाव नेतालाई मात्रै लाग्ने हो।

‘हामी कलाकारलाई त फिल्म लाग्छ,’ उनी भन्छिन्, ‘चुनाव त नेतालाई लाग्छ ।’ उनका निम्ति राजनीति भनेको अन्धभक्तहरूको काम हो । ‘कलाकारले राजनीतिमा चासो किन राख्नुपर्‍यो ? ’ उनको प्रश्न छ, ‘कलाकारले राजनीति गर्नुहुन्न भन्ने कथनै छ नि ।’ राजनीतिमा कुनै चासो नराखे पनि उनलाई दुईजना नेता भने मन पर्छन् । ‘केपी ओली र रवीन्द्र मि श्र मलाई मनपर्ने नेता हुन्,’ उनी भन्छिन् ।

उता, अभिनेता पुष्पल खड्काका निम्ति चुनाव भनेको नौटंकीमात्र हो । भन्छन्, ‘चुनाव आयो रे भन्छन् । के आयो, के आयोजस्तो लाग्छ । देशमा यत्तिका चुनाव भए, जनताले सुख पाए त ? विकास भयो त ? त्यसैले मलाई त चुनाव नौटंकी लाग्छ ।’

अभिनेत्री वर्षा शिवाकोटीलाई पनि चुनावबारे खासै ज्ञान छैन । सुटिङका लागि मंसिरदेखि माघसम्म उपत्यकाबाहिरै रहने सीतापाइला काठमाडौंवासी उनले भोट हाल्न पाउने छैनन् । भन्छिन्, ‘भोट हालेर पनि के नै हुन्छ र ? सबैजना भाषणमा तात्तिन्छन्, काम गर्नुपर्‍यो भने पूरै सेलाउँछन् । के भोट हाल्नु ?’

‘ए मेरो हजुर-२’ फिल्मबाट एकाएक चर्चामा आएका अभिनेता सलिनमान बानियाँले पनि अहिलेसम्म भोट हालेका छैनन् । हाल देशमा कस्तो खालको चुनाव भइरहेको छ भन्ने उनलाई जानकारी छैन । ‘म पोलिटिक्समा खासै चासो राख्दिनँ,’ उनी भन्छन्, ‘त्यसैले कहाँ के भइरहेको छ, मलाई केही थाहा छैन ।’ कसलाई भोट हाल्ने भन्ने सम्बन्धमा उनको आफ्नै ‘नियम’ छ । ‘परिवारका जेठाबाठाले जसलाई भोट हाल् भन्छन्, उसैलाई भोट हाल्छु ।’

हालसालै रिलिज भएको फिल्म ‘ऐश्वर्य’ की मुख्य अभिनेत्री दीपिका प्रसाईं पनि चुनावबारे पूर्णतः बेखबर छिन् । उनी आफूलाई राजनीतिको क, ख, ग पनि थाहा नभएको बताउँछिन् । भन्छिन्, ‘राजनीति एक त बुझ्न गाह्रो छ । त्यसमा पनि हामीजस्ता नयाँ पुस्तालाई यसबारे बुझाउने मान्छे नै छैनन् । मलाई त कस्तो चुनाव हुन लागेको हो, त्यो पनि थाहा छैन ।’ राजनीति आफ्ना निम्ति कालो अक्षर भैंसी बराबर भएको उनी बताउँछिन् ।

अर्की अभिनेत्री मेनुका प्रधानले चुनाव हुँदैछ भन्नेसम्म सुनेकी छन् । यसबाहेक उनलाई चुनावसम्बन्धी अलिकति पनि जानकारी छैन । ‘चुनाव भन्ने त सुनेकी हुँ,’ मेनुका भन्छिन्, ‘तर, कस्तो चुनाव हो ? केही पनि थाहा छैन ।’ उनलाई राजनीतिमा रत्तिभर चासो पनि छैन । ‘पोलिटिक्समा कत्ति पनि इन्ट्रेस्ट छैन,’ उनी भन्छिन्, ‘तर, यसको इम्पोट्र्यान्स हुन्छ भन्ने चाहिँ थाहा छ ।’ ‘भोटर लिस्ट’मा मेनुकाको नाम छैन । नाम लेखाउनुपर्छ भन्ने आवश्यकताबोध पनि गर्दिनन् । ‘त्यतातिर कहिल्यै ध्यान गएन,’ उनको स्पष्ट ‘कन्फेसन’ छ, ‘भोट हाल्नुपर्छ भन्ने ‘फिल’ नै आउँदैन, अनि कताबाट लिस्टमा नाम हुन्छ ? ’

राजनीतिबारे खासै अभिरुचि नराखे पनि अभिनेत्री केकी अधिकारीलाई भने चुनावमा भोट हाल्नु नागरिकको दायित्व हो भन्ने लाग्छ । ‘राजनीतिमा खासै चासो छैन,’ उनी भन्छिन्, ‘अहिले हुन लागेको चुनावबारे पनि धेरै कुरा जान्दिनँ । तर, भोट हाल्नु नागरिकको कर्तव्य हो भन्ने चाहिँ थाहा छ । र, भोट हाल्छु ।’


‘चुनाव भनेको नौटंकी हो’,
पुष्पल खड्का, अभिनेता

चुनाव आयो रे भन्छन् । के आयो, के आयोजस्तो लाग्छ । देशमा यत्तिका चुनाव भए, जनताले सुख पाए त ? विकास भयो त ? त्यसैले मलाई त चुनाव भनेको नौटंकी लाग्छ ।
मेरो घर कैलाली हो । त्यहाँ चुनाव पहिलो चरणमा हुन्छ कि दोस्रो चरणमा ? मलाई त त्यो पनि थाहा छैन । मैले अहिलेसम्म भोट हालेको छैन । भोटर लिस्टमा नाम छ कि छैन ? त्यो पनि थाहा छैन ।

राजनीतिमा चासो छैन । तर, देशको परिस्थिति र जनताको समस्या बुझ्नेले नेतृत्व पाओस् भन्ने चाहन्छु । फिल्म क्षेत्रलाई अगाडि बढाउन राम्रो नायकको आवश्यकता भए जस्तै देश र जनताका लागि पनि राम्रो नायक खाँचो छ । धुर्मुस-सुन्तली र कुलमान घिसिङजस्ता मान्छे देशलाई चाहिएको छ।

राजनीतिमा चासो नदेखाउनु हाम्रो गल्ती होइन । हलसम्म दर्शकलाई तान्न सकिएन भने त्यो दर्शकको गल्ती होइन । फिल्म खेल्ने वा बनाउनेको गल्ती हो । त्यस्तै राजनीतिले जनतालाई आकर्षित गर्न नसक्नु राजनीतिज्ञहरूको कमजोरी हो । नेताहरू गतिलो काम गरेको भए पो हामीजस्ता नयाँ पुस्ताले राजनीतिमा चासो राख्थे ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2