MENU

कुन पार्टी चाहिँदैन ?

635x90_3

रमेश सुनुवार सोमवार, कात्तिक २७, २०७४ 3438 पटक पढिएको

Share This

635-X-85_1

 वरिष्ठ मार्क्सवादी विद्वान तथा समाजशास्त्री लेखक प्रा.डा. चैतन्य मि श्रको माक्र्सवादसम्बन्धी धारणा विभिन्न सञ्चारमाध्यमबाट जान्ने सुअवसर मिलेको छ। उनका ती धारणा पाठकबीच आएपछि त्यसले प्रायः सबैलाई आफ्नो विचार प्रकट गर्न उत्प्रेरित गरेको छ। मिश्रप्रति नेपाली बौद्धिक जगत्मा जुन दृष्टिकोण बनेको छ, उनको धारणा त्यसको ठीक विपरीत देखिएको छ। यसबाट माक्र्सवाद त विकृत भएकै छ, सँगसँगै उनको गरिमा पनि धरापमा परेको छ।

नेपाली कम्युनिस्ट आन्दोलनको सम्बन्धमा लेखकको विश्लेषण अत्यन्त सतही छ। उनले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना र कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय प्रभावमात्र भनेका छन्। यो सही होइन, किनभने ‘नेपाली समाज अर्धसामन्ती तथा अर्धउपनिवेशी छ र यस्तो समाजमा क्रान्तिको कार्यक्रम नयाँ जनवाद हुन्छ’ भन्ने दृष्टिकोणको आधारमा यहाँ कम्युनिस्ट आन्दोलन सुरु भएको हो। २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएदेखि आजसम्म लगभग सबै कम्युनिस्ट पार्टीहरू यो दृष्टिकोणमा सहमत छन्। यद्यपि यो दृष्टिकोण चीनबाट आएको थियो।

‘वर्तमान युग पुँजीवादको युग हो। नेपालमा पनि पुँजीवाद आइसकेको छ र यसको विकास गर्नु अहिलेको आवश्यकता हो। पुँजीवादको विकास गर्नको लागि पुँजीवादी पार्टी चाहिन्छ। त्यसकारण अब नेपालमा कम्युनिस्ट पार्टी चाहिँदैन’ भन्ने मि श्रको निष्कर्ष छ। यो अभूतपूर्व, युगान्तकारी निष्कर्षको लागि लेखकलाई नेपाली कांग्रेसले नागरिक अभिनन्दन गर्नुपर्ने हो।

२००४ सालदेखि निरन्तर रूपमा पुँजीवादी पार्टी नेपाली कांग्रेस अस्तित्वमा छ। तर, यसले नेपाली समाजको रूपान्तरणमा कुनै ठोस भूमिका निर्वाह गरेको छैन। यदि नेपालमा पुँजीवाद आइसकेको मान्ने हो भने, यहाँ कांग्रेसले प्रमुख भूमिका निर्वाह गर्नुपर्ने हो। यदि पुँजीवादी पार्टीद्वारा नै नेपाली समाजको रूपान्तरण सम्भव हुन्थ्यो भने नेपाली कांग्रेसद्वारा किन भएन त ? के नेपाली कांग्रेस पुँजीवादी पार्टी होइन ?

कम्युनिस्ट पार्टीको आवश्यकता मुख्यतः दुई अवस्थामा पर्छ। एक, पुँजीवाद चरम उत्कर्षमा पुगेर संकटमा परेको बेलामा, जस्तो उन्नाइसौं शताब्दीको उत्तराद्र्धमा परेको थियो। अर्को, पुँजीवाद नआउने अवस्थामा, जस्तो बीसौं शताब्दीमा चीनलगायत अविकसित देशहरूमा भएको थियो। नेपाल दोस्रो प्रकारको देशमा पर्छ भन्ने निष्कर्षको आधारमा यहाँ कम्युनिस्ट आन्दोलन सुरु भएको हो। तर, कम्युनिस्टहरूले भनेअनुसार यहाँ नयाँ जनवाद आएन। त्यसको कारण कम्युनिस्टहरूको निष्कर्ष गलत भएर होइन, विश्वपरिवेश बदलिएर हो। जसरी सय डिग्री सेन्टिग्रेडमा पानी उम्लने सत्य पनि वायुमण्डलको चाप बदलिँदा फेरिन्छ, त्यसैगरी सामाजिक परिस्थितिले निर्माण गर्ने सत्यहरू परिस्थिति फेरिँदा हुबहु लागू हुँदैन। नेपालजस्तो देशमा नयाँ जनवादी क्रान्ति हुन्छ भन्ने निष्कर्ष एकाधिकारी पुँजीवादको चरणमा निकालिएको थियो। अहिले पुँजीवाद एकाधिकरणको चरणमा प्रवेश गरेको छ। यो नयाँ परिवेशमा पुँजीवादविरुद्ध संघर्ष गर्न र यसलाई परास्त गरेर समाजवाद स्थापित गर्न पनि कम्युनिस्ट पार्टीकै आवश्यकता पर्छ। विगतमा हरेक परिवर्तित परिवेशमा पुँजीवादविरुद्ध संघर्ष गर्ने काम कम्युनिस्ट पार्टीले गरेको थियो। अहिले पनि नयाँ चरणको पुँजीवादविरुद्ध संघर्ष गर्ने कार्यभार कम्युनिस्ट पार्टीले नै निर्वाह गर्छ, किनभने पुँजीवादले जतिसुकै रूप बदले पनि त्यो पुँजीवाद नै रहन्छ।

नेपालमा त पुँजीवादका लक्ष्यलाई पनि कम्युनिस्ट पार्टीले नै पूरा गर्नु परेको छ। गणतन्त्र, संविधानसभाको निर्वाचन, संघीयता, धर्मनिरपेक्षताजस्ता विषयहरू पुँजीवादका लक्ष्य हुन्। पुँजीवादी पार्टीको रूपमा स्थापित नेपाली कांग्रेसले उल्टै यिनीहरूको विरोध गर्‍यो। माओवादी पार्टीको जोडबलले मात्र यिनीहरू पूरा हुन सकेका छन्। अब भन्नुहोस्, नेपालमा कुन पार्टी चाहिन्छ ? कांग्रेस वा कम्युनिस्ट ?

आश्चर्य त के भने, लेखकले भएको मार्क्सवादलाई ‘नभएको’ बनाइदिएका छन्। उनले ‘नभएको मार्क्सवाद’मा दुई पक्षको उल्लेख गरेका छन्– एकल पार्टी र सामूहिकीकरण। के यी पक्ष मार्क्सवादमै छैनन् त ?

सर्वप्रथम, एकल पार्टीबारे विचार गरौं। मार्क्सवादमा एकल पार्टी प्रणालीको अवधारणा पछाडि सैद्धान्तिक आधार छ। पुँजीवादी समाजमा वर्ग–संघर्ष हुन्छ। त्यस क्रममा वर्गहरूको ध्रुवीकरण हुँदै जान्छ। कुनै नष्ट हुन्छन्, कुनै एक अर्कोमा विलीन हुन्छन्। कुनै वर्गहरू बीच एकता हुन्छ। परिणामस्वरूप सिंगो समाज दुई ठूला विपरीत वर्गहरूमा विभाजित हुन्छ– पुँजीपति वर्ग र सर्वहारा वर्ग। माक्र्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्रमा भनेका छन्– ‘अन्य युगहरूको तुलनामा पुँजीवादी युगको विशेषता के हो भने यसले वर्ग–विरोधहरूलाई सरल बनाइदिएको छ। आज सम्पूर्ण समाज दुई विशाल शत्रु खेमाहरूमा, एक–अर्कोका विरुद्ध उभिएका दुई विशाल वर्गहरूमा विभाजित भएको छ।’

युरोप र अमेरिकाको प्रगति पनि पुँजीवादको क्षमता र चमत्कारको मात्र परिणाम होइन। त्यसमा सम्पूर्ण विश्वको लगानी छ। अफ्रिकाले दास बनेर लगानी गरेको छ, एसियाले बजार बनेर लगानी गरेको छ र ल्याटिन अमेरिकाले कच्चा पदार्थको स्रोत बनेर लगानी गरेको छ।

यी दुई वर्गहरूबीचको निर्णायक संघर्षको परिणामस्वरूप समाजवादी क्रान्ति हुन्छ र सर्वहारा वर्गको सत्ता स्थापित हुन्छ। सर्वहारा वर्ग स्वयं पनि अन्तिम वर्ग हो, जसले अन्य वर्गलाई उन्मूलन गरेर आफूलाई पनि उन्मूलन गर्दछ। त्यसपछि वर्गविहीन समाज वा साम्यवाद आउँदछ। यसरी एउटा सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टी पनि एउटै हुन्छ।

‘विश्वका मजदुरहरू एक होऊ !’ भन्ने नारा सर्वप्रथम मार्क्सवादले ल्याएको थियो। यो नारा पनि एकल पार्टीको अवधारणाअन्तर्गत आएको थियो। यसको अर्थ हो– सर्वहारा वर्गको शक्ति एकतामा छ, विभाजन र प्रतिस्पर्धामा होइन। एकताबद्ध भएर मात्र सर्वहारा वर्गले युद्ध जित्न सक्दछ।

सैद्धान्तिक रूपमा मात्र होइन, व्यावहारिक रूपमा पनि मार्क्सवादका संस्थापकहरू मार्क्स र एंगेल्सले एकल पार्टी प्रणालीकै अभ्यास गरेका थिए। सन् १८४७ मा कम्युनिस्ट लिगबाट आरम्भ भएको उनीहरूको यात्रा १८६४ को प्रथम कम्युनिस्ट अन्तर्राष्ट्रियसम्म चलेको थियोे। ती दुवै पार्टी विश्व सर्वहारा वर्गका प्रतिनिधि थिए। के यो नभएको मार्क्सवाद हो त ?

अब सामूहिकीकरणबारे चर्चा गरौं। पुँजीवाद र समाजवादबीचको आधारभूत भिन्नता नै सम्पत्तिको स्वामित्वको स्वरूपमा हो। पुँजीवादमा निजी स्वामित्व हुन्छ भने समाजवादमा सामूहिक स्वामित्व हुन्छ। मार्क्सवादले ऐतिहासिक तथ्यको आधारमा के सिद्ध गरेको छ भने यो सामूहिक स्वामित्व पुँजीवादको अनिवार्य परिणाम हो। पुँजीवाद विकसित हुँदै जाँदा उत्पादन सामूहिक हुँदै जान्छ र उत्पादनका साधनहरू पनि सामूहिक रूपमा मात्र प्रयोग गर्न सकिने गरी विकसित हुन्छन्। तर, स्वामित्व निजी नै रहन्छ। अझ सम्पत्ति निरन्तर थोरै मानिसहरूको हातमा केन्द्रित हुँदै जान्छ। यसरी सामूहिक उत्पादन र निजी स्वामित्वको बीचमा अन्तर्विरोध हुनजान्छ। यसको समाधान समाजवादी क्रान्तिद्वारा हुन्छ, जसले निजी स्वामित्वलाई अन्त्य गरेर सामूहिक स्वामित्व स्थापित गर्दछ।

यसबारे कम्युनिस्ट घोषणापत्रमा लेखिएको छ– ‘संक्षेपमा कम्युनिस्टहरूको सिद्धान्तलाई यसो भन्न सकिन्छ ः निजी सम्पत्तिको उन्मूलन।’

अब यो पनि नभएको मार्क्सवाद नै हो कि ?

लेनिनले मार्क्सवाद बुझेनन् भन्ने तर्क छ, लेखकको। उनले पुँजीवाद ओरालो लग्यो भन्ने निष्कर्ष लेनिन र माओको हो भन्ने दाबी गरेका छन्। तर मार्क्सवादको सामान्य जानकारी राख्ने जोसुकैलाई के थाहा छ भने पुँजीवाद ओरालो लागेपछि नै मार्क्सवाद आएको हो। त्यसको ज्वलन्त उदाहरण सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्र हो, जसमा अब पुँजीवाद अगाडि जान सक्दैन भन्ने निष्कर्ष निकालिएको छ।

कम्युनिस्ट घोषणापत्रमा निकालिएको निष्कर्ष मात्र होइन, पुँजीवाद यथार्थमै संकटमा परेको थियो। त्यसबेला औद्योगिक क्षेत्रहरूमा ठूला–ठूला मजदुर विद्रोहहरू हुन्थे। पुँजीवाद दस–दस वर्षमा आवधिक संकटको चपेटामा पर्दथ्यो। त्यस्ता संकटहरूमा पुँजीवाद क्षत्विक्षत हुन्थ्यो, उद्योगहरू टाट पल्टिन्थे र अनेकौं उद्योगहरू ध्वस्त भएर एकदुई उद्योगहरू मात्र बाँकी रहन्थे। यस्तो परिदृश्यलाई हेरेर कम्युनिस्टहरूले अब पुँजीवादको अन्त्य र समाजवादको आरम्भ हुने बेला आयो भन्ने निष्कर्ष निकालेर समाजवादी क्रान्तिको प्रयत्न थालेका थिए। त्यही प्रयत्नको परिणामस्वरूप सन् १८४७ मा कम्युनिस्ट लिगको गठन र १८४८ मा कम्युनिस्ट घोषणापत्रको प्रकाशन, सन् १८६४ मा प्रथम कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन, १८७१ मा पेरिस कम्युनको स्थापना र १८८९ मा दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन भएको थियो।

लेनिनको पुँजीवाद ओरालो लाग्यो भन्ने निष्कर्ष त दोस्रो चरणको प्रसंग हो। किनभने, मार्क्सवादका अनुसार पुँजीवादले हरेक संकटलाई त्यस्ता साधनद्वारा पार लगाउँछ, जसले अझ ठूलो संकट निम्त्याउँदछन्। पहिलो चरणको संकटलाई त्यसले एकाधिकारद्वारा पार गरेको थियो। तर, त्यही एकाधिकारको परिणामस्वरूप पुँजीवाद अझ ठूलो संकटमा पर्दथ्यो। त्यसकारण लेनिनले एकाधिकार पुँजीवाद (साम्राज्यवाद)लाई मरणासन्न पुँजीवाद भनेका थिए। त्यसले समाजवादलाई निकट ल्याइदिएको छ भन्ने उनको निष्कर्ष थियो।

मिश्रको प्रश्न छ– ‘के पुँजीवाद मर्‍यो त ?’

हो, पुँजीवाद मरेन। तर, जुन आधारमा मार्क्सले पुँजीवाद मर्छ भनेका थिए, त्यही आधारमा पुँजीवाद बाँचेको होइन। त्यो आधार थियो– मुक्त प्रतिस्पर्धा। उन्नाइसौं शताब्दीको आरम्भसँगै पुँजीवादले प्रतिस्पर्धी चरणलाई छोडेर एकाधिकारको चरणमा प्रवेश गर्‍यो। तर पनि प्रतिस्पर्धी चरणमा पुँजीवादको मृत्यु हुन्थ्यो भन्ने प्रमाण सन् १८७१ को पेरिस कम्युन हो। त्यसमा पुँजीवादी सत्ताको अन्त्य भएर समाजवादी सत्ता आएको थियो।

त्यसैगरी लेनिनले जुन आधारमा पुँजीवाद मर्छ भनेका थिए, त्यही आधारमा पुँजीवाद बाँचेको होइन। लेनिनले भनेको आधार थियो– एकाधिकार। बीसौं शताब्दीको आरम्भबाटै सुरु भएको एकाधिकारले पुँजीवादलाई प्रतिस्पर्धाबाट उत्पन्न हुने संकटबाट त बचाएको थियो। त्यही एकाधिकारको आधारमा पुँजीवादको अन्त्य हुन्छ भन्ने लेनिनको निष्कर्ष थियो। लेनिनको त्यो निष्कर्ष सही नै थियो भन्ने प्रमाण दुई विश्वयुद्धहरू हुन्। दुवै विश्वययुद्ध एकाधिकार पुँजीवादले नै निम्त्याएका थिए। ती युद्धमा कति धनजनको क्षति भयो र पुँजीवादी देशहरू कति क्षत्विक्षत भए भन्ने जगजाहेर नै छ। अब यसरी क्षत्विक्षत भएर बाँच्नुलाई पनि बाँच्नु नै भन्ने हो भने त समाजवादी देश पनि बाँचेकै छन्। क्युवा, उत्तर कोरिया र भियतनाम बाँचेकै छन्। अरूले जतिसुकै पुँजीवादी भन्ने आरोप लगाए पनि चीनले आफूलाई समाजवादी नै भन्छ। त्यहाँ कम्युनिस्ट पार्टीको रातो झन्डा नै फहराएको छ। अरूले जस्तो चीनले पार्टी र झन्डा फेरेर हिँडेको छैन।

यसरी दुईवटा विश्वयुद्धहरूको कारण मृत्युशय्यामा पुगेको पुँजीवाद अहिले फर्केर त आएको छ, तर अर्कै आधारमा। त्यो आधार हो– एकीकरण र विज्ञान–प्रविधि। अहिले पुँजीवादको प्रमुख चरित्र प्रतिस्पर्धा होइन। सम्पूर्ण विश्वका पुँजीवादीहरू आपसमा मिलेका छन् र विज्ञान–प्रविधिबाट अत्यधिक लाभ लिइरहेका छन्। यसरी उनीहरू प्रतिस्पर्धा र एकाधिकारबाट उत्पन्न हुने संकटबाट मुक्त भएका छन् र श्रमिक वर्गको आन्दोलनलाई पनि दबाउन सफल भएका छन्। सिन्डिकेट, कार्टेल र कर्पोरसन वर्तमान भूमण्डलीकृत पुँजीवादका स्वरूप हुन्। अब फेरि यही विज्ञान–प्रविधि पुँजीवादको काल बनेर आउँदै छ।

पुँजीवादलाई उत्कृष्ट व्यवस्था सिद्ध गर्नको लागि लेखकले यस्तो तर्क गरेका छन्– ‘मार्क्सले पुँजीवादलाई क्रान्तिकारी व्यवस्था भनेका छन्।’ तर, उनी मार्क्सको अर्को यो भनाइलाई चाहिँ बिर्सन्छन्– ‘सामन्तवादको तुलनामा पुँजीवाद क्रान्तिकारी व्यवस्था हो।’ मार्क्सले जति पुँजीवादको कुरूप, अमानवीय पक्षको उद्घाटन गरेका छन्, त्यति अरू कसैले गरेका छैनन्। उनले आफ्नो प्रमुख कृति ‘पुँजी’ को रचना पुँजीवादको महिमामण्डन गर्नको लागि होइन, यसको दाहसंस्कार गर्नको लागि गरेका थिए।

मि श्रले मार्क्सवादपछि आएका लेनिनवाद र माओवादलाई अनावश्यक भनेर खारेज गरिदिएका छन्। ती वादहरू अनावश्यक होइनन्, तिनीहरू त परिवर्तित परिस्थितिका परिणाम हुन्। यदि तिनीहरूलाई अनावश्यक मान्ने हो भने त न्युटनको सिद्धान्तपछि आएका सापेक्षताको सिद्धान्त र क्वान्टम सिद्धान्तलाई पनि अनावश्यक भनेर खारेज गर्दा हुन्छ। जसरी न्युटनको सिद्धान्तपछि उद्घाटित नयाँ घटनाहरू र क्षेत्रहरूमा त्यसले काम नगर्ने हुँदा म्याक्स प्लांकको क्वान्टम सिद्धान्त र आइन्स्टाइनको सापेक्षताको सिद्धान्त आएका छन्, त्यसैगरी विकसित नयाँ परिवेशमा मार्क्सवाद अपर्याप्त भएको हुँदा लेनिनवाद र माओवाद आएका हुन्। लेनिनवाद र माओवाद मार्क्सवादको विकासमा अनिवार्य चरणहरू हुन्। तिनीहरूबिना रूस र चीनमा क्रान्ति सम्भव थिएन।

निरन्तर विकासको क्रममा रहनु हरेक विज्ञानको अनिवार्य सर्त हो। आवश्यकताहनुसार बदलिने पदार्थ नै अस्तित्वमा रहन्छ। पुँजीवादले पनि आफूलाई आवश्यकताअनुसार फेरेर बचाएको छ। नत्र यो कुन युगमै पाताल भासिसक्थ्यो होला।

पुँजीवादले गरेको प्रगति र विकासप्रति मि श्रकोे ठूलो मोह छ, ठूलो गर्व छ। उनी पुँजीवादलाई क्रान्तिकारी व्यवस्था भन्छन्, सुनको अन्डा पार्ने कुखुराको उपमा दिन्छन्, मर्छ भनेको पुँजीवाद बाँचेर प्रगति गरिरहेको दाबी गर्छन् र यसको आयु अझै ७० वर्ष भएको भविष्यवाणी गर्छन्।

मार्क्सवादका अनुसार हरेक सामाजिक व्यवस्था आफ्नो समयमा क्रान्तिकारी हुन्छ। प्राचीनकालको दासव्यवस्था आफ्नो समयमा क्रान्तिकारी थियो, मध्यकालको सामन्तवाद आफ्नो समयमा क्रान्तिकारी थियो। त्यसैले आधुनिककालको पुँजीवाद आफ्नो समयमा क्रान्तिकारी हुनु कुनै नौलो होइन। तर, एउटा निश्चित चरणमा पुगेपछि हरेक व्यवस्थाको क्रान्तिकारी चरित्र प्रतिक्रान्तिकारी चरित्रमा बदलिन्छ। परिणामस्वरूप त्यसको स्थान अर्को व्यवस्थाले लिन्छ, जुन त्योभन्दा उच्च र क्रान्तिकारी हुन्छ। पुँजीवाद विगतमा क्रान्तिकारी थियो। तर, यो अन्तरविरोधमा फसेको धेरै समय भइसकेको छ, जुन मार्क्सवाद आउनुभन्दा पहिले नै सुरु भएको थियो। त्यसकारण सम्पूर्ण संसारलाई नलुटी यो बाँच्नै सक्दैन। यसको यही लुटतन्त्र बाहिरबाट हेर्दा क्रान्तिकारीजस्तो देखिएको छ। दुईवटा विश्वयुद्धहरू पुँजीवादी देशहरूकै बीचमा भएका थिए। अहिले पनि पुँजीवादी देशहरू युद्धरत छन् र अमेरिका यसमा अग्रणी रहेको छ।

के लेखकले दाबी गरेजस्तै पुँजीवादले प्रगति गरेको गरै छ त ? पुँजीवादले विश्वका केही देशहरूमा मात्र प्रगति गरेको छ, सबै देशहरूमा होइन। अझै पनि एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै देशहरू गरिब नै छन्। ती देशमा पुँजीवाद नआएर विकास नभएको होइन। त्यहाँ पुँजीवाद नै छ। त्यसको कारण त पुँजीवादमा असमान विकास हुनु हो। पुँजीवादमा विकास असमान हुन्छ। यो पुँजीवादको चरित्र नै हो, जसलाई लेनिनले पहिले नै ठम्याइसकेका थिए।

पुँजीवादी पार्टीद्वारा नै नेपाली समाजको रूपान्तरण सम्भव हुन्थ्यो भने नेपाली कांग्रेसद्वारा किन भएन त ? के नेपाली कांग्रेस पुँजीवादी पार्टी होइन ?

युरोप र अमेरिकाको प्रगति पनि पुँजीवादको क्षमता र चमत्कारको मात्र परिणाम होइन। त्यसमा सम्पूर्ण विश्वको लगानी छ। अफ्रिकाले दास बनेर लगानी गरेको छ, एसियाले बजार बनेर लगानी गरेको छ र ल्याटिन अमेरिकाले कच्चा पदार्थको स्रोत बनेर लगानी गरेको छ।

पहिले ‘ब्रिटिस साम्राज्यमा सूर्य कहिल्यै अस्ताउँदैन’ भन्ने कथन प्रचलित थियो। बेलायतको साम्राज्य विश्वभरि फैलिएको थियो र त्यसले सम्पूर्ण विश्वबाट बहुमूल्य साधन–स्रोतहरू संग्रह गर्दथ्यो। त्यसकै परिणाम हो, आजको बेलायत। आज सम्पूर्ण विश्वको ५० प्रतिशत साधनस्रोत संयुक्त राज्य अमेरिका केन्द्रित छ। त्यसकै परिणाम हो अमेरिकाको मनमोहक सम्पन्नता। अमेरिकाको सान पुँजीवादको क्रान्तिकारिता वा महानतामा मात्र टिकेको छैन।

यदि पुँजीवादसँग त्यति धेरै क्षमता भएको भए त हजारौं अमेरिकाहरू बन्थे होलान्, किन एउटा मात्र ? अथवा सबै पुँजीवादी देशहरू अमेरिकाजस्ता बन्थे होलान्, किन पाकिस्तान, बंगलादेश वा श्रीलंका बन्ने ?

विगतमा युरोपका सबै प्रमुख देशहरू साम्राज्यवादी थिए, जसका साम्राज्य विश्वभरि फैलिएका थिए। बेलायत साम्राज्यवादी थियो। फ्रान्स, जर्मनी, स्पेन र पोर्चुगल साम्राज्यवादी थिए। एसियामा पनि सबैभन्दा सम्पन्न मानिएको जापान विगतमा साम्राज्यवादी नै थियो। अहिले अमेरिका साम्राज्यवादी छ। स्वतन्त्रता, समानता र भ्रातृत्वको पुँजीवादी आदर्शले कहाँ प्रगति भएको छ ?

मि श्रले पुँजीवादको आयु अझै ७० वर्ष भएको भविष्यवाणी गरेका छन्। तर यो त विगत ७० वर्षभन्दा पहिले नै मर्न थालिसकेको थियो। पहिलो पटक पेरिस कम्युनमा, दोस्रो पटक सोभियत संघमा, तेस्रो पटक चीनमा, चौथौ पटक उत्तर कोरियामा, पाँचौं पटक क्युबामा र छैठौं पटक भियतनाममा म¥यो। र, अहिले यो मर्ने क्रम ल्याटिन अमेरिकामा अगाडि बढिरहेकै छ।

मि श्रको तर्क छ, पुँजीवाद पूर्णरूपमा विकसित भएपछि आफैं मर्छ, यसलाई जबर्जस्ती मार्नु हुँदैन। तर हामी देखिरहेका छौं, युरोप तथा अमेरिकामा पुँजीवाद विकसित भएर पनि मरेको छैन। अब कति विकास हुँदा मर्छ त ?

यदि पुँजीवादविरुद्ध सर्वहारा वर्गले संघर्ष नगर्ने हो भने, यो नमर्न सक्छ। हरेक व्यवस्थाले अर्को पुरानो व्यवस्थालाई बलपूर्वक नै विस्थापन गर्छ। युरोपमा पुँजीवादले सामन्तवादको बिदाइ राजाको टाउको काटेर गरेको होइन र ? नेपालमा पनि प्रजातन्त्रवादीहरूले सामन्तवादको प्रतिनिधि राणाशासनको अन्त्य सशस्त्र युद्धद्वारा नै गरेका थिए। अब यो पुँजीवाद चाहिँ आफैं अन्त्य हुन्छ अथवा आफैं मर्छ भन्ने आधार के हो ?      

पुँजीवाद आफैं सहजै मर्दैन। यदि पुँजीवादलाई आफैं मर्नको लागि छोड्ने हो भने यसले समाजलाई ठूलो नोक्सान पु¥याउन सक्छ। किनभने, यसले आफ्नो आयु लम्ब्याउनको लागि जुनसुकै अमानवीय, जस्तोसुकै घातक कदम पनि चाल्न सक्दछ। अहिले पुँजीवादले नाफा बढाउनको लागि अत्यधिक मात्रामा निर्मम ढंगले प्रकृतिको दोहन गरिरहेको छ, वातावरण बिगारिरहेको छ र भूमण्डलीय तापमान बढाइरहेको छ।

यदि पुँजीवाद आफैं मर्ने भए त सर्वहारा वर्गले आन्दोलन किन गर्नुपथ्र्यो, कम्युनिस्ट पार्टी किन खोल्नुपथ्र्यो र त्यसको विरुद्ध सशस्त्र संघर्ष किन

गर्नुपथ्र्यो ? त्यसकै लागि त मार्क्सवादले बल प्रयोगको सिद्धान्त ल्याएको हो।

कुनै पनि चीज आफैं समाप्त हुँदैन। यदि त्यसलाई आफैं समाप्त हुनको लागि छोड्ने हो भने, त्यसबाट नकारात्मक परिणाम निस्किन्छ। उदाहरणको लागि, बच्चाका दाँतहरू फेरिँदा तिनीहरूलाई आफैं झरून् भनेर छोडियो भने, तिनीहरूले नयाँ दाँतहरूलाई अवरुद्ध गर्दछन्। फलस्वरूप नयाँ दाँतहरू बांगाटिंगा उम्रिन्छन् र कुरूप बन्दछन्। त्यसकारण पुराना दाँतहरू हल्लिन थालेपछि तिनीहरूलाई जबर्जस्त खोलेर फ्याँक्नु पर्दछ, तबमात्र नयाँ दाँतहरूले सीधा उम्रिन पाउँदछन् र तिनीहरू राम्रा बन्दछन्।

पुँजीवादले आफूलाई बचाउनको लागि अनेक रूपहरू धारण गरिरहेको छ। त्यसकारण यसलाई समाप्त पार्न कम्युनिस्टहरूले पनि अनेक रणनीतिहरू अवलम्बन गर्नु आवश्यक छ।

पुँजीवादमा प्रगति, विकास अचेत ढंगले, बाध्यात्मक रूपमा हुन्छ। तर समाजवादमा विकास र प्रगति सचेत ढंगले र स्वाभाविक रूपमा हुन्छ। त्यसकारण पुँजीवादको विकल्प वैज्ञानिक समाजवादमात्र हुन सक्छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2