MENU

१९ नम्बरका ९ च्याम्बर

635x90_3

सुवास खनाल सोमवार, कात्तिक २७, २०७४ 506 पटक पढिएको

Share This

635-X-85_1

अनमोलमणिको हालै प्रकाशित कथासंग्रह ‘१९ नम्बर’ आत्मगत शैलीमा समसामयिक विषय र परिवेशमाथि लेखिएका ९ वटा कथाको संकलन हो। पत्रकारितासँगै कथा, निबन्ध, कविता र गजलमा परिचित अनमोलमणिको यो किताब उनको पहिलो कथासंग्रह ‘नीलिमा र गाढा अँध्यारो’भन्दा निकै फरक स्वादको छ।

अनमोलमणिका कथा प्रायः साइबर कल्चर, प्रेम र विज्ञानका प्रगतिले मानव जीवनमा निम्त्याएका समस्यामाथि केन्द्रित हुन्छन् भन्ने धारणाभन्दा बिल्कुल फरक यी कथामा उनले भाषिक औपनिवेशको प्रभावदेखि माओवादी द्वन्द्वले सिर्जना गरेका सामाजिक, आर्थिक र मनोवैज्ञानिक असरसम्मलाई उठाएका छन्। आम मान्छेको विदेश मोह, विदेश रहनेका पीडालगायत विषयलाई यी कथाले कुशलतापूर्वक समेटेको छ।

संग्रहको पहिलो तथा शीर्ष कथा ‘१९ नम्बर’ले नेपालको शैक्षिक परिवेशले कसरी सिर्जनात्मक क्षमतालाई बहिष्किृत गरिरहेको छ र रटन्ते शिक्षालाई ज्ञानका रूपमा व्याख्या गरेको छ भन्ने विषयलाई पात्र रोहितकुमार ठकुरीमार्फत व्याख्या गर्छ। विद्यालय र विश्वविद्यालयमा अहिले पनि धेरै रोहितकुमार छन् जो अंग्रेजी मोह पनि राख्छन् र त्यही अंग्रेजीमा बल्ड्याङ खाएर विश्वविद्यालयको एउटै तहमा वर्षौँ झुन्डिन वा पढाइ नै छाड्न बाध्य छन्।

कथामा विद्यालयदेखि विश्वविद्यालय तहसम्मको सिकाइको एकसरो तस्बिर देखिन्छ। कथामा सामुदायिक विद्यालय र विश्वविद्यालयको कक्षा कोठा, शिक्षकको शैली देखिन्छ। पश्चिमाहरूले शिक्षालाई पाओलो फ्रेरेले भनेझैं जीवन र समाजसँग गाँस्दै अघि बढिरहेका बेला दक्षिण एसियाको शिक्षाको मूल चरित्र प्रयोगात्मक कम र सैद्धान्तिक बढी छ। यसले बेरोजगारहरू उत्पादन गरिरहेको छ। जीवनको दैनन्दिनमा प्रयोगमा आउने शिक्षालाई पाठ्यक्रम प्रारूपमा समावेश गएिको छैन। अंग्रेजीलाई अन्तर्राष्ट्रिय भाषाको नाममा विश्वविद्यालय तहसम्म अनिवार्य गरिएको छ। अंग्रेजी नजान्ने तर अरू विषयमा अब्बल विद्यार्थीले आफूलाई कसरी आत्मग्लानी अनुभव गर्छ भन्ने कथाको पात्र रोहित कुमारलाई हेरे पुग्छ। ती हाम्रै वरिपरि छन्। यही अनिवार्यताले आत्महत्याको चरणमा पुगेको पात्रचित्रण यस कथामा छ। शिक्षाले मानिसलाई थप बाँच्न प्रेरित गर्नुपर्नेमा जीवनको इहलीला समाप्त गरिदिने मोडमा पु¥याउनु निकै दुःखद् देखिन्छ।

‘जूनमा आमा’ ग्रामीण परिवेशमा जन्मेर सानैमा अभिभावकविहीन एउटा बालकको कथा हो। कथामा छोराले आमाको संघर्षपूर्ण जिन्दगीको एउटा पाटोलाई हेरेको छ। आमाहरू जति नै अशिक्षित भए पनि उनीहरू आफ्ना सन्तानले धेरै पढेको र अब्बल भएको हेर्न चाहन्छन्। त्यसका लागि गाउँमा आर्थिक स्रोतको जोहो गर्न उनीहरू कुखुरा पाल्छन् र अन्डा बेचेर छोराछोरीको कापी–कलम किनिदिन्छन्। यसमा त्यस्ती आमाको कथा छ जो लोग्नेबाट घरनिकाला गरिएकी छ, छोराको मोहले ऊ माइतीमा छ र ऊ छोरालाई ठूलो मान्छे बनाउन चाहन्छे। झाडा–पखालाजस्तो सामान्य रोगले मरेकी ती आमा त्यसअघि गोठालो जाँदा खोला दहको भुँमरी देखाएर छोरालाई भन्छिन्, ‘तैँले पढिनस् भने म यहीँ दहमा हेलिएर मर्छु।’ कथाले संसारमा सबैभन्दा फराकिलो हृदय भएका कोही छन् भने ती आमामात्रै हुन् भन्छ।

नेपाली समाजको बढ्दो विदेश मोहलाई चित्रण गर्ने कथा हो, ‘नूरप्रताप किन अमेरिका गए ? ’ व्यक्ति पारिवारिक र सामाजिक जञ्जालबाट कसरी प्रभावित हुन्छ, समाजले व्यक्तिलाई कसरी हेर्छ भन्ने कुरा कथाको पात्र नूरप्रतापलाई उनले अमेरिका ‘नजाने’ भन्दा गरिएको व्यवहारले देखाउँछ। अमेरिका–युरोपप्रति नेपालीको उच्च आकर्षण छ। त्यहाँ गएपछि सबै दुःख छुमन्तर हुन्छ भन्ने सोचले ग्रस्त सामाजिक मनोविज्ञानलाई कथाले राम्ररी उधिनेको छ। अर्थवेत्ताहरू रेमिट्यान्ससित राष्ट्रिय अर्थतन्त्रलाई जोडेरमात्र नेपालीको विदेश मोहलाई विश्लेषण गर्छन्। यसको सांस्कृतिक, आर्थिक, नैतिक र मनोवैज्ञानिक प्रभावबारे नेपालमा खासै अध्ययन भएको छैन। कथाले समाजिक अवस्थाप्रति सोच्न बाध्य बनाउँछ।

बिजुली आएपछि टीभी सहज भयो। इन्टरनेट आयो। यिनले मान्छेका दैनिकीलाई तोडमोड गरिदिए। भर्चुअल वल्र्डले मानिसका सम्बन्धहरूमा मिठास घटायो। सत्यभन्दा भ्रमहरू सही ठानिँदै गए। पतिहरूले फेसबुक, भाइबर र ट्विटरमा आफ्ना श्रीमतीभन्दा राम्रा फोटाहरू देख्न थाले र सम्मोहित भए। श्रीमतीहरूले हिन्दी सिरियलका हिरोहरूलाई आफ्ना श्रीमान्भन्दा बढी आकर्षक ठान्न थाले। पारिवारिक दरार र कम्पन सुरु भयो। अर्काको लागि समय नदेख्ने हुन थाले। योभन्दा प्रिय त अँध्यारो वा अलिक प्राकृतिक लाग्ने ढिब्रीको उज्यालो हो कि भन्ने तर्क ‘अँध्यारो’ कथाले गर्छ। कथा सपाट छ तर लोडसेडिङप्रतिको व्यंग्य र बिजुलीले दिने हैरानी कथामा छ।

इल्युजिभ कथा लाग्छ ‘एउटा अर्को गुलाब’। यो प्रेमकथा हो। कसैले गुलाब हानेर बेहोस भई ब्युँझिँदा प्रेमिकाहरूको भ्रमात्मक रङ धेरै पात्रमा देख्ने युवा पुरुषको चरित्र चित्रण छ यो कथामा। कथा प्रयोगपरक लाग्छ। पढ्दा फरक पात्रहरू सजीव भएर आउँछन्। एउटै नाम भएका पात्रसितको उठबस, प्रेम प्रसंग र सामाजिक द्वन्द्वलाई कथाले उठाएको छ।

‘कन्टेनरमा रातो डायरी’ बुर्जुवा शिक्षाको विरोधमा अध्ययन छोडी धनी र गरिब एकै बनाउन भनी बन्दुक बोकेर माओवादीको पछि लागेको युवाको मनोदशा उतारिएको कथा हो। प्रतीकात्मक रूपमा रातो डायरी क्रान्तिको रूपमा र त्यसलाई कन्टनेरमा फाल्नुलाई क्रान्तिकारी विचारको घिनलाग्दो पटाक्षेपका रूपमा कथाले व्याख्या गरेको छ। माओवादीले छाडेको सिद्धान्त र विचारले कसरी सामाजिक, आर्थिक, मनोवैज्ञानिक र राजनीतिक प्रभाव नेपाली समाजमा परेको छ भन्ने सग्लो चित्र कथाले दिन्छ। नेतृत्व शासन–सत्ताको बागडोर सम्हाल्ने हैसियतसम्म पुग्यो, युद्धमैदानमा बाँचेका लडाकु कार्यकर्ता कसरी बहिष्किृत भएका छन् र उनीहरू बाँच्नका लागि सस्तो श्रमबजारको विदेश यात्रामा बाध्य भएर जानु परेको छ, कथाले भन्छ। हिजोको हत्या–हिंसाप्रति ग्लानी छ र हिंसाको बाध्यकारी अवस्थाको व्याख्या कथामा छ। कसरी सेनाले निर्दोषलाई मा¥यो र बाध्य भएर निर्दोषहरू बन्दुक बोक्न तयार भए भन्ने एकसरो व्याख्या कथामा छ।

नेपालमा क्रान्ति नामका विविध समयमा विविध आयामका घटनाहरू भए। ती घटनाले समाजको सामयिक स्वर त संकलन गरेका छन् तर स्थायी संरचना सिर्जना गर्न सकेका छैनन्। अरू मुलुकमा सरकार परिवर्तन हुने समयमा हाम्रोमा प्रणाली परिवर्तन गरिरहेका छौं। यो किसिमको परिवर्तनशीलता आवश्यक छैन भन्ने हिसाबले यी क्रान्तिका सन्दर्भहरू समयको एउटा स्खलनजस्तो मात्र भएको बयान छ, ‘स्खलन’ कथामा।

‘इल्युजन’ कथामा कथ्यभन्दा बढी तर्क छन्। र, संग्रहको अन्तिम कथा ‘अस्तु’ले विदेशमा रहने नेपालीको जीवन त कष्टकर छ नै, मृत्युपछि अन्त्येष्टि पनि सहज छैन भन्ने भाव बोकेको छ।

‘१९ नम्बर’का कथाले पाठकलाई तान्ने क्षमता राख्छन्। पढ्दा पट्यार लाग्ने तर अनावश्यक चर्चा पाएका पुस्तकभन्दा अनमोलमणिको कथासंग्रह भाषा, शैली र विषयवस्तुका हिसाबले धेरै माथि छ। केही वास्तविक घटनाक्रम कथाको प्लट बनेको छ। ती कथा पढ्दा उनलाई निकै नजिकबाट चिन्नेले कथामा उनको निजत्वसँगको सादृश्यता महसुस गर्छन्। ‘जूनमा आमा’ शीर्षकको कथामा लावण्य देशको राजाका हिसाबले चयन गरिएको पात्र ‘मदन’ लेखिएको छ। ‘मदन’ नभएर ‘नवराज’ हुनुपर्ने हो। सन्दर्भमा लिइएको नामै गलत हुनु शोभनीय देखिँदैन। वर्णविन्यासगत त्रुटि संग्रहमा छन्। २०५२ बाट सुरु भएको सशस्त्र द्वन्द्वप्रति उनका पात्र अलि बढी नै आलोचक देखिनुमा उनको व्यक्तिगत आग्रह बढी देखिन्छ। रातो डायरी कन्टेनरसम्म पु¥याउनु, ‘इल्युजन’ र ‘स्खलन’ कथामा प्रयुक्त वैचारिक पक्ष हेर्दा लेखक माओवादी युद्धको औचित्यमाथि प्रश्न गरिरहेको लाग्छ।

संग्रहले अनमोलमणि समयसित सचेत लेखक हुन् भने देखाउँछ। विदेश बस्ने र हरेक कुरामा असन्तुष्टि जनाउने प्रवृत्तिभन्दा फरक उनी समयका सुल्टो कथा लेख्ने व्यक्ति हुन्। उनका कथाले आडम्बरको खेती गर्दैन। उनी आम मानिसका पीडा अभिव्यक्त गर्न सिपालु कथाकार हुन् र उनको यो सीप ‘१९ नम्बर’मा देखिन्छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2