MENU

पुनःनिर्माणमा सहजीकरण गर्न प्राधिकरणको निर्देशन

पूर्णप्रसाद मिश्र सोमवार, कात्तिक २७, २०७४ 773 पटक पढिएको

Share This

635-X-85_1

काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले केही स्थानीय तहले भूकम्पपीडितलाई अनुदान लिन जाँदा बनिसकेका घरको नक्साका विषयमा अप्ठेरो पार्ने गरेको जनाउँदै गुनासो सहजीकरण गर्न निर्देशन दिएको छ।

भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन प्राधिकरणले बोलाएको स्थानीय तहका प्रतिनिधि तथा सरोकार भएका निकायसहितको बैठकपछि यस्तो निर्देशन दिइएको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बनिसकेका घरको नक्साका विषयमा स्थानीय तहबाटै सहजीकरण गरी फरफारकमा सघाउ पुर्‍याउन निर्देशन दिए।

बैठकले निजी आवास निर्माणमा धेरै संख्यामा सिकर्मी तथा डकर्मी परिचालन गर्नुपर्ने देखिएकाले तालीम प्रदान गर्ने विभिन्न निकायसँग छलफल गरी आगामी पुस मसान्तभित्रै सबै तालीम सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका स्थानीय तहको प्रत्येक वडामा कम्तीमा एकजना प्राविधिक, कम प्रभावित १७ जिल्लामा लाभग्राहीको संख्याअनुसार पर्याप्त हुनेगरी प्राविधिक खटाउने व्यवस्था मिलाउन शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाईलाई निर्देशन दिएको छ।

त्यसका लागि एक प्राविधिकलाई बढीमा ५०० लाभग्राही हेर्ने गरी परिचालन गराउन भनिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए।

बैठकमा प्रमुख कार्यकारी अधिकृत भुसालसहित प्राधिकरणका पदाधिकारी र शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख तपेन्द्रबहादुर खड्का, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका नारायण श्रेष्ठ, नगरपालिका संघका कुलनिधि देवकोटा, गाउँपालिका महासंघका विमल पोखरेल लगायतको उपस्थिति थियो।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2